- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मुख्यमन्त्री 'बेटी पढाउ बेटी बचाउ' कार्यक्रम अन्तर्गत छात्राहरुलाई बिहीबार साइकल प्रदान गरेका छन् ।
जनकपुरधाम स्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत १ सय १४ जना छात्राहरुलाई मुख्यमन्त्री राउत लगायतका अतिथिहरुले साइकल प्रदान गरेका हुन् ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गरिदै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपक्तिमा राख्ने सोच लिएको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारलेएक पछि अर्को कार्यक्रम ल्याउन लागेको बताए ।
मन्त्री यादवले प्रदेश सरकारले छोरिहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।
त्यसै गरि समाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढि रहेको तर्क राखे ।
प्रदेश सभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, जयनुल राइन, प्रमिला देवी दास, चमेली देवी दास सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नम्बर दुई भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।