संस्कृत ग्रामको लागि ५ गाउँमा काम सुरु, केही वर्षमा नै ३ दर्जन गाउँमा सबैले संस्कृत बोल्ने
प्रकाशित २०७६ असार २३ सोमबार
763
Shares
नयाँ दिल्ली, प्रेट्र। भारतको मानव संसाधन विकास मन्त्रालयका निर्देशनपछि राष्ट्रिय संस्कृत संस्थान (आरकेएस) ले सबै मानिसलाई संस्कृतमा बोल्न सक्ने बनाउनको लागि पाँचवटा गाउँमा काम सुरु गरिसकेको छ । देशभरका विभिन्न पाँच गाउँलाई पहल सुरु भइसकेको भारतको समाचारपत्र दैनिक जागरणले समाचार लेखेको छ ।
राष्ट्रिय संस्कृत संस्थान, दिल्ली, लाल बहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठ र तिरुपति स्थित राष्ट्रिय संस्कृत विद्यापीठ यी तीनै केन्द्रीय संस्थान संस्कृत भाषा प्रचारको लागि सक्रिय छ । जसले अहिले पनि ३५०० सालभन्दा पनि अधिक पुरानो भाषा संस्कृतलाई अघि बढाउनको लागि रणनीतिक रुपमा काम अघि बढाइरहेको छ ।
मानव संसाधन विकास मन्त्रालयले तीनै संस्थानको हरेक शाखामा कम्तिमा पनि दुई यस्ता गाउँ विकास गर्नको लागि निर्देशन दिएका थिए । जहाँ केवल मानिसहरु संस्कृत मात्रै बोल्न सकुन् । अहिले संस्थानको भारतभरी कूल १२ वटा केन्द्र रहेको छ । जसमध्ये पहिलो चरणमा ५ गाउँमा संस्कृत ग्रामको निर्माणका लागि पहल सुरु भएको हो। मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, 'आरकेएसले त्रिपुरामा जुबार्ता, हिमाञ्चल प्रदेशमा मसोत, कर्नाटकमा चित्तेबैल, केरलमा अदात र मध्य प्रदेशमा बराई गाउँलाई संस्कृत ग्राम बनाउने निर्णय लिएको हो ।' संस्कृतको विकासका लागि नै यस्तो गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
संस्थान बाहेक अरुले अहिलेसम्म गाउँ निर्धारण गरिसकेका छैनन् । उनीहरुले विस्तारै यसको खोजी गर्ने बताउँदै आएका छन् । गत महिना मात्रै मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल 'निशंक' को अध्यक्षतामा भएको केन्द्रीय भाषा संस्थानको प्रमुखको बैठकमा संस्कृतलाई अघि बढाउनको लागि कम्तिमा पनि हरेक शाखाको वरिपरि २ गाउँहरु चयन गर्नको लागि निर्देशन दिइएको थियो ।
यी तीन संस्थाले निर्देशन अनुसार संस्कृत ग्राम बनाउन सकेको खण्डमा नयाँ र पुराना गरी अबको १/२ वर्षमा नै तीन दर्जन जति संस्कृत ग्रामहरु बन्ने मन्त्रालयको विश्वास छ ।