arrow

जोखिम घर निर्माणमा सहयोग गर्दै सर्भ परियोजना

logo
पुस्कर थापा,
प्रकाशित २०७६ साउन ९ बिहिबार
dorkumari.jpg

सिन्धुली । २०७२ सालको भुकम्पको कारण घर क्षतिग्रस्त भएर पनि पुरानै घरमा बसिरहेकी सुनकोशी गाउँपालिका वडा नं. –७ निगुलीकी ७० वर्षीय वृद्धा एकल महिला डोरकुमारी दाहाल अहिले चिटिक्क परेको नयाँ घरमा बस्न थालेपछि दङ्ग छिन् । घरमा एक्लै बस्दै आइरहेकी डोरकुमारी एक्लैले घर बनाउन नसक्ने भनेर घर बनाउने सपना समेत त्यागेकी थिइन् ।

तर, मर्सिकोर नेपालको सहयोगमा सामुदायिक विकास कार्यक्रम सिन्धुलीद्वारा संचालित भुकम्प प्रभावित जोखिम घरधुरीका लागि पुनःर्लाभ सहयोग कार्यक्रम (सर्भ परियोजना) को सहयोग पछि उनको नयाँ घरमा बस्ने सपना पुरा भएको छ । परियोजनाले प्राविधिक सहयोग सँगै थप ५० हजार आर्थिक सहयोग समेत प्रदान गरेपछि उनको खुशीको सीमा रहेन ।

मर्सिकोर नेपालको सहयोगमा सामुदायिक विकास कार्यक्रम सिन्धुलीद्वारा संचालित सर्भ परियोजनाले डोरकुमारी जस्तै सुनकोशी गाउँपालिका सिन्धुलीका ३६ घरधुरीलाई भुकम्प प्रतिरोधी घर बनाउन प्राविधिक सहयोगसँगै थप ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

भुकम्प पछिको पुनःनिर्माणमा जोखिम घरधुरीलाई सुरक्षित आवास निर्माणमा सहयोग गरेर परियोजनाले जोखिम वर्गलाई सुरक्षित आवासमा फर्काउन महत्वपूर्ण भुमिका खेलेको कुरा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताए ।

सामुदायिक विकास कार्यक्रम सिन्धुलीका अध्यक्ष रामधन माझीले दिएको जानकारी अनुसार पुनःनिर्माण, जीविकोपार्जन र वित्तीय सेवा गरी ३ क्षेत्रमा सर्भ परियोजनाले विभिन्न क्रियाकलाप संचालन गरिरहेको छ ।

३६ जोखिम घरधुरी (बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका र बालबालिका घरमुली भएको) लाई सुरक्षित आवास निर्माणमा सहयोग गर्नुका साथै अन्य ११८ घरधुरीलाई पनि सुरक्षित आवास निर्माणका लागि परियोजनाले प्राविधिक सहयोग पुर्‍याएको छ ।

वहाँका अनुसार परियोजनाको सहयोगमा ११ वर्षीय बालक सुजन अछामीको समेत भुकम्प प्रतिरोधी घर निर्माण सम्पन्न भएको छ । सुनकोशी गाउँपालिकासँगको साझेदारीमा सुनकोशी गाउँपालिका वडा नं. ५, भुगोलछापमा ८० हजार लिटर क्षमताको पक्की ट्यांकी निर्माण गरी स्वच्छ पिउने पानी व्यवस्थापनमा परियोजनाले सहयोग गरेको छ भने सुनकोशी गाउँपालिका वडा नं. ५, रामटारमा बहुउपयोगी कृषि संकलन केन्द्र समेत निर्माण गरिएको जानकारी संस्थाका सचिव मिलन कुमार श्रेष्ठले दिए ।

वित्तीय सेवा अन्तर्गत सुनकोशी गाउँपालिकाका ६ वटा सहकारी संस्थासँगको सहकार्यमा ५८ वटा वित्तीय साक्षरता तालिम संचालन गरी १४८२ जनाले वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान सीप पाएका छन् । यसैगरी ५ वटा विद्यालयसँगको साझेदारीमा २५ वटा युवा वित्तीय साक्षरता तालिम संचालन गरी ६३६ जना युवा विद्यार्थीहरु सहभागी भएका छन् ।

यसैगरी ६ वटा कृषक समूहका सदस्यलाई व्यवसायिक तरकारी खेति र बजारिकरण सम्बन्धी तालिम प्रदान गर्नुका गरी मूल्य श्रंखला बैठक समेत गरिएको छ । यसबाट कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरु बजार सम्म पुर्‍याउनका लागि सहज भएको कुरा सुनकोशी गाउँपालिका –७ नागीका कृषक नरसिं बहादुर थिङ्गले बताए ।

मझुवाका अर्का कृषक रमा वि.क. का अनुसार तरकारी खेति सम्बन्धी प्राविधिक तालिम पहिलोपटक लिएको र अहिले २ वटा टनेलमा टमाटर र खुला जमिनमा काउली, बन्दा लगायतका तरकारी खेति गरिहेकी छिन् ।

सर्भ परियोजनाका कार्यक्रम संयोजक कुमार भण्डारीका अनुसार व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्नका लागि कृषकहरुलाई तालिमका अतिरिक्त प्रविधिमा आधारित प्लाष्टिक टनेल, थोपा सिंचाई, प्लाष्टिक पोखरी, विउ विजन आदि सहयोग प्रदान गरिएको छ ।

विपद् व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जनप्रतिनिधिहरु जलवायु उत्थानशील विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ भने सुनकोशी गाउँपालिकाको रातमाटा प्रहरी चौकी र नेपालथोक प्रहरी चौकीलाई विपद् व्यवस्थापनमा प्रयोग हुने विभिन्न सामाग्री समेत प्रदान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ