शिक्षक र डाक्टर (कविता)

दीपक एम.सी., प्रकाशित मिति : २०७६ श्रावण २९ बुधबार

तिमीलाई पढाउदा पढाउदा मेरो घाँटी सुक्थ्यो
तिमीलाई पढाउदा पढाउदा मेरो छाती दुख्थ्यो
तर पनि खोकी रहन्थे
तिमीलाई पढाउन घोकिरहन्थे!
तिमीलाई पढाए
तिमीले पढ्यौ
अघि बढ्यौ
डाक्टर बन्यौ!
तिमी भन्दा खुशी म भए हुँला।
दुख्ने छाती गर्वले फुलेको थियो
दुख पिर सबै भुलेको थियो
यो सेतै फुलेको बूढो मनुष्यले।
तर आज यही मानिसको पेशासँग
तिम्रो बेतन तुलना गर्दै अपमान गर्दै छौ तिमी?
एकपटक तिम्रो बिगत फर्केर हेर
तिमीलाई "क क न न" गराउने को हो?
तिमीले शिशुमा पढ्दा तिम्रो नाकमा बग्ने
सिंगान सफा गरिदिने को हो?
आज तिनै मान्छेहरूलाई अपमान गर्दछौ है?

उमेरमा तिमीभन्दा म बूढो भएपनि
डाक्टर साब नमस्कार भनेकै छु,
तिमीलाई भन्दा पनि
तिम्रो पेशा र ओहोदा मानेकै छु।
बरु वरिपरिका बिरामीहरु अचम्म मान्दछन्
किन यति बूढो सेतै फुलेको बूढो मान्छेले
यति साह्रै निहुरिएर नमस्कार गर्दछ,
यो फुच्चे केटालाई?
तर  तिमीले आफ्नो पृष्ठभुमि बिर्सिएछौ क्यार!
त्यही मान्छे जसले तिमीलाई
अबोध बालकबाट चिकित्सक बनायो
ट्याक्टरको पछि कुद्ने केटोलाई डाक्टर बनायो
त्यही मान्छे संग्लग्न भनेको पेसालाई
अपमान गर्दछौ?

थाहा छ तिमीलाई आजको यो तलब बुझ्ने हुन
कति वर्ष निरन्तर प्रतीक्षा गरेको हो?
तिमी सानो छदा मैले सुनाउने,
भोकमरीको बेलामा एक आमाले आफ्नो,
बच्चाहरुलाई ढुङ्गा पकाउदै पर्खन भनेको कथा जस्तै!
बूढो मान्छे पसिना पुछ्दै उकाली निक्ले जस्तै
दुई सिडि माथी उक्किए पछि बल्ल भएको हो।

मलाई या भनौ मेरो पेशालाई त सबै सँग तुलना गर्दछ्न्
कहिले काहीँ "माष्टर" भन्दै लुगा सिलाउने दाइसँग दाज्छन,
हो मलाई त खुशी लाग्दछ,
सोच्दछु मैले पनि त बालबालिकाको रङ्गीन सपना बुन्छु, सिलाउछु
उनले कपडा सिलाएजस्तै।
कहिले काहीं माझी दाइसँग तुलना गर्दछन
खुशी लाग्दछ,
सोच्दछु मैले पनि त विद्यार्थीलाई तराउछु
अघि बढाउछु
माझी दाइले नदी तराए जस्तै।
मैन बत्ती, गोठालो, ड्राइभर...
के के सँग तुलना गर्दछ्न् भनी साध्य छैन
तै पनि त खुशी छु।
तर किन तिमी शिक्षक सँग दाज्दै
अपमान गर्दछौ?
तिम्रो बेतन यत्ति होस्  म भन्दिन
हुनत मैले भनेको पनि त हुदैन!
सक्छौ संसारको सबैभन्दा बढी बनाउ
तिमी नै रमाउ!
म केही भन्दिन,
झुक्किएर पनि आँखा लाउदिन!
तर मेरो पेशासँग तुलना नगर,
यसलाई अपमान नगर!

(एम.सी. बलभद्र मा.बि., प्युठानका शिक्षक हुन।)

नयाँ