- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। हिन्दूहरू मन्दिरमा गएर बिहान-बेलुकी दुवै समय दियो-बत्ती जलाएर पूजा-आरती गर्छन् । मुसलमानहरुले मस्जिदमा गएर पाँच पटक नमाज पढ़छन् । तीर्थ-यात्रीहरू तीर्थमा गएर स्नान. दान आदि गर्छन् । कति मानिसहरू सन्ध्या, यज्ञ-हवन आदि गर्दै वेद-मन्त्रहरूको उच्चारण गर्छन् । तर ती सबै कर्महरू गर्दै यदि भगवानलाई याद गरेन भने, त्यस्ता मानिसहरूको लागि भगवान कहिं पनि हुनुहुन्न । तर यदि पसलमा बस्दा, बाटो हिंड्दा अथवा संसारको कुनै पनि काम गर्दा भगवानलाई याद गरिरह्यो भने, भगवान हमेशा सधै साथैमा हुनुहुन्छ। भगवान सर्वव्यापक हुनुहुन्छ, सबै ठाउँ विद्यमान हुनुहुन्छ, देश- विदेश, जंगल, बस्ती सबै ठाउँमा शान्त स्वरूप ब्रह्म छ। जसरी माछा समुद्रमा बस्छ, त्यसको अगाड़ि-पछाडि, दाहिने-देब्रे, तल-माथि पानी नै पानी छ। उस्तै प्रकार भगवानलाई हृदयमा याद गर्नेको लागि सर्वत्र भगवान छ।
भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन! कमिलादेखि लिएर हात्तीसम्म हामी, तिमी सबै शरीरधारी पहिले बिना शरीरका थियौं अनि पछि पनि बिना शरीरको हुनेछौं। आज जति पनि शरीरहरू देखिइरहेका छन्, यो बीच- बीचमा भास्छन् । तर मनुष्यले नाम, रूप र जातिको झूटो अभिमानले गर्दा सत्य परमात्मालाई भूल्छ । यति पनि विचार गर्दैन कि शरीर हुनुभन्दा पहिले के जाती थियो? के नाम थियो? अनि के स्वरूप थियो ? रंग, रूप, जाति र झुटो सबैले राम्ररी जान्दा नामको कामनामा फसेर अघि-पछिको परिणामलाई बिर्सन्छ । संसारको रचनामा दुई प्रकृतिले काम गर्छन् । एक अपरा प्रकृति जसलाई जड (माया) भनिन्छ । अग्नि, जल, वायु, पृथ्वी, आकाश, मन, बुद्धि र अहंकारलाई अपरा प्रकृति भनिन्छ । यसैबाट सबैको शरीर बनेको छ। यसैद्वारा सबैको पालन र संहार हुन्छ ।
दोस्रो परा अर्थात चेतन शक्ति (प्रकृति) छ । शरीरहरू त साना-ठूला छन, तर चेतन सबैमा एक समान छ । त्यो जाति, रूप, नाम र गुणहरू रहित छ । सबै जीवहरूले एक न एक दिन एउटा शरीर त्यागेर अर्को शरीर धारण गर्नु छ । कसैको पनि शरीर स्थिर छैन । जाति, रूप, विद्या, गुण या देशलाई यस बदलिरहने गतिबाट बचाउँन सकिंदैन । सबैले राम्ररी जान्दछन् कि एक दिन मर्नु छ, शरीर छोड़नु पर्छ, तर पनि मनुष्यले नराम्रो कामहरू र संसारको मोहलाई छोडेर भगवानको भजन गर्दैन । यसको कारण यो हो कि मर्ने कुराको ज्ञान केहिबेर मात्र रहन्छ । जब मुर्दालाई जलाउन लगिन्छ, तब संसार झूटो र स्वार्थी लाग्दछ, तर मसानघाटबाट फर्कन साथै फेरि संसारको कार्य-व्यवहार सत्य लाग्न थाल्छ । जसलाई मर्ने समय याद रहन्छ अर्थात् जीवन र मृत्युलाई जानेर जड- चेतनको ग्रन्थीलाई खोल्छ, उसको जन्म-मरण मेटिन्छ, उसैलाई ज्ञानी वा महापुरुष भनिन्छ ।
समझदार मानिसले संसारलाई धर्मशाला या बटुवाघर सम्झेर त्यसबाट मनलाई हटाएर भगवानको चिन्तनमा लगाउँछ । तर जसले संसारका चीजहरू तथा भागहरूलाई सत्य ठानेर मनुष्य जन्म पाउनुको उद्देश्य के हो विचार गर्दैन, त्यस्ताहरुले आयु-पर्यन्त विषय-भोगहरू भोग्ने ताकत नरहँदा पनि मर्ने बेलासम्म लोभ मोह तथा मायाको लालच छोड़न सक्दैन । एउटा राजाले ठूलो प्रदर्शनी लगाए, जसमा अनेक प्रकारका राम्रा राम्रा चीजहरू सजाएर राखे । अनि प्रत्येक चीजमा यो लेखेर राखे कि प्रदर्शनी हेर्न आउनेहरू जसले जुन चीजलाई छून्छ, त्यो चीज उसैलाई दिइने छ । मानिसहरू प्रदर्शनी हेर्न आउँथे अनि जसलाई जुन चीज मनपर्यो, त्यो चीजलाई छोए पछि उसलाई मिल्थ्यो । गाउँको एकजना अनपढ़ किसान पनि त्यो प्रदर्शनी हेर्न गए । उनले प्रदर्शनीमा एक ठाउँ एउटा राम्रो हलो राखेको देखे तर त्यहाँ गोरु थिएन । हेर्दे केहि अगाडि जाँदा एक ठाउँ एक हल गोरु बाँधेको देखे, तर त्यहाँ हलो थिएन । किसानले सोचे नियम अनुसार हलो छोएर लिएँ भने, गोरु पाउँदिन, गोरुलाई छोएर लिएँ भने, हलो पाउँदिन । गोरु बिनाको हलो र हलो बिनाको गोरु के कामको ? किसानलाई सबै चीज अधुरो लाग्यो । उनले सोचे कुनै चीज लिनभन्दा पहिले पूरा प्रदर्शनी घूमेर हेर्नेछु । प्रदर्शनी हेर्दै बीचमा पुगे। त्यहाँ फूलहरूको बगैंचाको बीचमा राजा बसेका थिए । किसानले राजालाई देखेर प्रणाम गरे ।
किसानको श्रद्धा-भाव देखेर राजा खुशी भए र सोधे,' तिमीले प्रदर्शनीमा कुनै चीजलाई छोएनौं ?'
किसानले भने, ' महाराज ! मलाई प्रदर्शनीमा सबै चीज अधुरो लाग्यो, यसकारण केवल हेर्ने र घुम्ने इच्छाले यहाँसम्म आएको हुँ ।'
तब राजाले भने, 'यहाँ आएर तिमीले मलाई छोयौ, यसकारण यहाँको नियम अनसार अब म तिम्रो भएँ।'
किसानले भन्छन्, 'महाराज! मैले हजुरलाई आफ्नो बनाउन छोएको होइन, अपितु राजा सम्झेर प्रणाम गरेको हैं। यदि यहाँको यस्तै नियम छ अनि छोएकाले हजुर मेरो हुनुभयो भने यसमा म के गरूँ।'
प्रदर्शनीको नियम त यहि थियो कि एउटै चीज मात्र दिने, यदि राजाले चाहेको भए दुईटा चीज पनि दिन सक्थ्यो । तर जब राजा नै आफ्नो भएपछि त सबै कुरा उसलाई मिल्यो । अरु मानिसहरु प्रदर्शनीमा जान्थे अनि रंगरस र राम्रो चीजहरुको लोभमा पर्थे, उनीहरू राजा बसेको ठाउँसम्म पुग्न सकेनन्, यसकारण उनीहरूले केहि पाएनन् । यसरी नै भगवानले संसाररूपी प्रदर्शनी लगाउनुभएको छ । यहाँको पनि यहि नियम छ कि एक व्यक्तिले एउटै चीज मात्र पाउँछ । एकातिर माया छ अनि अर्कोतिर भगवान । जसले केवल मायालाई चाहन्छ, उसलाई भगवान मिल्दैन, तर जसले भगवानलाई चाहन्छ, उसलाई भगवान पनि मिल्छ अनि माया पनि मिल्छ ।