जीवनाथ राम्जालीका आठ सिर्जना

प्रकाशित मिति : २०७६ भदौ १५ आइतबार

एक—१
आजभोलि मनमा लाको लेख्न पाको छैन,
मनभरि अटसमटस् मुखमा आको छैन।
कोही कसका फ्यान अरे कोही कसका साथी, 
देख्या कुरा बोल्दा पनि दोष आफैं माथि।।

दुई—२
जुनीभरि माया गर्छु भनी फुर्काउनेलाई, 
जति माया गरे पनि उल्टै घुक्र्याउनेलाई। 
मुटु झिकी दिए पनि नदेखिने रैछ,
आफ्नो जीवन आफैंलाई आज भार भैछ।।

तीन—३
चरी बस्यो रुखैको डाली, भुइँ छोयो है टुप्पैले, 
यो बेलासम्म घरबार छैन, के गर्‍यो यो रुपैले ?
म सुर्ती खान्न बिँडी नि खान्न, के दिन्छौ चुरोट,  
ढल्क्यो उमेर के लाउनु माया, बुझेनौ कुरो त।।

चार—४
यताको माया घट्नलाई उता माया थपिनुपर्छ,
यता मुखले ठिक्क पार्दा उता प्रेम जपिनुपर्छ।
ढुङ्गे मूर्ति हैन हजुर मनको देउता पुज्नुपर्छ
सबै मुखले बोलिँदैन, आँखाको भाव बुझ्नुपर्छ।।

पाँच—५
हितको माया छ पारी गाउँमा, 
नरमाइलो लाको छ यो ठाउँमा।
बर्खे भेल आँधी खोलाको,
सुनेनौ कि मायाले खै कुन्नी,
डिलमा बसी मैले बोलाको।।

आँधीखोला कहाँ होला त्यसको शिर,
कसो गरी मेटाउँ त मनको पीर ?
बर्खे भेल आँधी खोलाको,
सुनेनौ कि सानुले खै कुन्नी,
डिलमा बसी मैले बोलाको।।

झझल्कोमा दिनरात देखिने,
बोलाउँ भने डाँडाले छेकिने।
बाढी चल्यो आँधी खोलाको,
सुनेनौ र मायाले खै कुन्नी, 
डाँडै बसी मैले बोलाको।।

मेरी सानु आउ छिटै भेटनलाई,
यो मनको तिर्सना मेट्नलाई।
बाढी चल्यो आँधी खोलाको,
सुनेनौ कि मायाले खै कुन्नी, 
डिलमा बसी मैले बोलाको।।

छ—६
विदेसिने मन हुनेलाई नजाउ भन्दिन म,
तिम्रा सुन्दर सपनामा पर्खाल बन्दिन म।
उनको एउटा वचनले दिल छोएको छ,
कसको सामु भनौं मैले मन रोएको छ।।
नजाउ प्यारी भन्दा पनि वचन होला सस्तो,
छैन जीवन परदेशीको तिम्ले सोचे जस्तो।
दुखसुख हातमूख जोर्न यहीँ चलेको छ,
आज किन आगो बिनै यो मन जलेको छ।।

सात—७
छैन बरै कुलोमा पानी 
बाँझो खेतमा के फल्छ के खानी
हिउँदभरि हुरी र असिना
किसान को खेरैगो पसिना।
छैन हजुर सुखले बाँच्नु
जिन्दगीको भर छैन के साँच्नु,
बर्खा लागे बाढी र पहिरो 
कस्ले बुझ्ने मनमा पीर छ गहिरो।
कहिले आउँछ भूकम्प थरर
जन्मभूमि सम्झे मन धरर।।

आठ—८
कसैले कसैलाई गन्दैन 
आफैलाई न्यायाधीश ठानेको छ,
कसको भागमा के लेख्या छ
खै कसले जानेको छ ?

सबै जना जान्ने सुन्ने को हो मान्नेगन्ने ?
जसलाई हेर्‍यो षड्यन्त्रको तानाबाना बुन्ने।
कहाँ गयो आदर सत्कार के हो रितिथिति ?
कसले देख्यो दूरदर्शिता देशको परिस्थिति।

मुलूकको अर्थतन्त्र परनिर्भर भयो,
सबले भन्थे राजनेता हुँ, स्वाधीनता कहाँ गयो ?
क्रान्ति त कति भए नारा मात्रै फेर्ने,
आफ्नै धोक्रो भरिँदैन, जनता कसले हेर्ने ?

हजुरबा नि युद्ध लडे, बाजेले नि लडे,
लडेपछि पाइँदो रैछ, सन्तानले यही पढे।
विकास–निकास केही छैन ठूल्ठूला भाषण
वुद्धको यो तपोभूमि, हिटलरको शासन।।

गणितको सुत्र भए जनता भोट गन्ने,
हामी आफैं भेडा भाछौं, नेतालाई के भन्ने ?
पाएँ भने खान्थें जागिर घण्टी बजाउने, 
मठ मन्दिर रैछन् आखिर, मूर्ति सजाउने।
जता गयो माग्ने मात्रै दिने भेटिँदैन,
आफैं खोली नधाई त तिर्खा मेटिँदैन।

नयाँ