- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता सञ्चालनमा असफल भएपछि कम्युनिष्टहरुले प्रतिगमन आउन लागेको हौवा फैलाएको बताएका छन् । प्रदेश नं. ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि भक्तपुरमा शुक्रबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरु सत्ता सञ्चालन गर्न असक्षम हुन्छन भन्ने पुष्टी भइसकेको बताए ।
उनले भने,‘प्रतिगमन आउन लाग्यो भनेर कम्युनिष्ट नेताहरु अत्तालिन थालेको देखिन्छ । यो केको परिणाम हो ? सत्ता सञ्चालन गर्न नसकेपछि प्रतिगमनको हौवा फैलाउन लागेको छन् । यो सरासर कम्युनिस्ट सरकारको पूर्ण असफलताको परिणाम हो । यो सरकार असफल भएको छ । दुईतिहाइ बहुमत पाएर पनि यो सरकार असफल भएको छ ।’
पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भइसकेको पनि जिकिर गरे । सरकार असफल भएकै कारण सत्ता पक्षका नेताहरु मुलुकमा प्रतिगमन आउन थाल्यो भन्दै आत्तालिन थालेका पौडेलको भनाइ थियो ।
संसदमा दुईतिहाइ बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पनि नपुग्दै जनतामा छाएको निराशाले कम्युनिस्टहरु देश चलाउन असक्षम भएको पुष्टि गरेको नेता पौडेलको भनाइ थियो । पौडेलले भने, ‘सत्तारुढ दलका शीर्ष तहका नेताहरुले बेला बेलामा भनिरहेका छन– हामीले काम गर्न सकेनौं, प्रतिक्रियावादी शक्तिहरुले मुन्टो उठाए । प्रतिगामीले मुन्टो उठाए । यो कम्युनिष्टहरुको अक्ष्मता हो ।’
वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्री, सत्तारुढ दलका ठुला नेता प्रतिगमन आउन लाग्यो अहिलेको व्यवसथामाथि आक्रण सुरु भयो भन्दै हारगुहार गर्न थालेकोमा आपत्ती जनाए । उनले भने,‘प्रधानमन्त्री सर्वदलिय बैठक बोलाएर हारगुहार गर्न थालेका छन् । किन चलाइदै छ प्रतिगमनको हौवा, कतै असफता ढाकछोप गर्नका लागि त होइन् ।’
उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले प्रदेशको नाम र राजधानीसमेत टुंग्याउन नसकेको भन्दै आपत्ति जनाए । ‘दुईतिहाइ बहमुत ल्याएका छन्, प्रदेशको नाम तोक्न सक्दैनन्, राजधानी तोक्न सक्दैनन्’ वरिष्ठ नेता पौडेलले भने, ‘दुईतिहाइ ल्याएका छन्, हामीले २५–२६ किलोमिटर सुरुङ खनेर ओरालिदिएको सुन्दरीजलबाट पानी दिन सकिरहेको छैन ।’