arrow

नयाँ बर्षको आगमनमा छाएको सुनसान

logo
डिकेन्द्र ढकाल,
प्रकाशित २०७२ चैत २२ सोमबार
Dikendra_Dhakal.jpg.jpeg
कतै भनिएको छ - कुनै राष्ट्रलाई नष्ट गर्नु छ भने पहिला उनीहरुको भाषा(संस्कृति)लाई समाप्त पार र अर्को भाषा/संस्कृति भित्र्याऊ अनि त यसले राष्ट्रमा बेग्लै विश्वावलोकन/दृष्टिकोण ल्याइदिन्छ ।
 
पछिल्ला बर्षहरुमा नेपालमा 'नयाँ वर्ष पर्व' मनाइने समयमा ह्वात्तै 'प्याराडाइम सिफ्ट' भएको पाइन्छ । फेसबुकलाई नै आधार बनाएर मैले गरेको सर्भेमा एक नेपाली र अर्को नेपालबिच नयाँ वर्षको शुभकामना ई.सं.को नयाँ वर्ष शुरु हुनु दुई हप्ताभन्दा अघि बाट जति उल्लास र सांख्यिक गणनामा धेरै पाइयो, त्यसको तुलनामा हाम्रो नेपाली संवत् (विक्रम संवत्)को पूर्वसन्ध्या नजिकिँदासमेत सामाजिक संजाल लगभग सुनसान नै रहेको पाइएको छ । अझ आफैलाई राम्रो जानकारी नभएका चाडपर्वमा समेत सम्झी सम्झी होहल्लाका साथ शुभकामना प्रदान गर्ने हाम्रा नेताहरुले समेत नेपाली संवत् (विक्रम संवत्)लाई तिरस्कार गरेको अवस्था उदेक लाग्दो छ र यसले यिनीहरुको फोस्रो राष्ट्रियताप्रति प्रशस्त शंका गर्न ठाउँ बनाएको छ ।
 
ऐतिहासिक तथ्यका आधारमा नेपाली संवत् (विक्रम संवत्) नेपालका लिच्छवि वंशका पहिला राजा धर्मपाल भूमिवर्मा विक्रमादित्यले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि थालिएको हो ।
 
इतिहासविद् श्री नयनाथ पौड्यालअनुसार विक्रमादित्यले राजप्रासादको दक्षिणतर्फ हालको नारायणहिटी चतुर्मुख नारायण स्थापना गरी विक्रमसंवत् चलाएका थिए।
 
अझै पनि साँखु बज्रयोगिनीको नजिकको अर्को मन्दिरमा विक्रमादित्य राजाको टाउको छ र बज्राचार्य वंशका पूजारीद्वारा विक्रमादित्य राजाको टाउकाको पूजा गर्ने चलन छ अहिलेसम्म पनि यो प्रचलन कायमै छ ।
 
इतिहासअनुसार नेपालको प्रशासन र दैनिकीमा चन्द्रशम्शेरले विक्रम संवत् १९६१ मेषसंक्रान्तिलाई वैशाख १ गतेबाट गणना शुरु गरी महिना र गतेमा लेख्ने चलन चलाए। यसभन्दा अघि तिथीको चलन थियो जुन व्यवहारिक रुपले कठिन थियो ।
 
कतै कतै  विक्रम संवत् नेपालको होइन, यसको थालनी भारतको उज्जयनीवाट भएको हो भन्नेहरु पनि छन् । भारतीय इतिहास र पुस्तकहरुमा यहि तोडमोड गरिएको मिथ्यालाई स्थापित गरेको पाइन्छ । तर इतिहास शिरोमणी बाबुराम आचार्यका अनुसार ईशापूर्व ५७ मा विक्रम संवत् शुरु हुँदा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । बरु धेरैपछि मगधका राजा चन्द्रगुप्त द्वितीयले उज्जयनी र अयोध्यामाथि विजय प्राप्त गरी आफूलाई 'विक्रमादित्य' भनेर ई.सं. ४०० तिर तामाको प्रचलित सिक्कामा-'विक्रमादित्य' अंकित गराएका थिए । यसको आधारमा ती चन्द्रगुप्त द्वितीय "विक्रमादित्य"ले विक्रम संवत् चलाएका थिए भन्न तार्किक छैन । किनभने स्पष्टै छ,  ईशापूर्व ५७ बर्षमा यो संवत् थालिएको थियो । त्यसो त विक्रम संवत् १९३७ मा गुजरातका खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा संवत्को अध्ययन गर्न नेपाल आएका थिए र लिच्छविकालमा नेपालमा उल्लेखित संवतलाई नै विक्रम सम्वत् भएको प्रमाणित गरेका थिए ।
 
यति पूरानो र  मौलिक विक्रम संवत् अहिले पश्चिमा संस्कृतिको अतिक्रमणमा परेको छ । परसंस्कृतिलाई पनि श्रद्धा गरौँ तर आफ्नो इतिहास, मुल्य मान्यता र गौरवका प्रतिकको सम्मान गरेमा मात्र हामी सभ्य र सम्मानित हुनेछौँ । विक्रम संवत् हामी नेपालीमात्रको गौरवमय संस्कृति हो । यसको संरक्षण गरौं र नेपाली पहिचानलाई उच्च राखौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने झैँ "नेपाली हामी रहौँला कहाँ नेपालै नरहे; उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।"
 
नयाँ वर्ष २०७३ मंगलमय होस् । हामी सबैलाई नेपाली भएर बाँच्न र प्रतिनिधित्व गर्न गौरव होस् । नयाँ वर्ष २०७३को मेरो शुभकामना । जय नेपाली ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ