दानवमाथि देवीको विजयको खुसीयालिमा शुरु भएको थियो सन्थालहरुको दासाई नृत्य
तेजन खड्का,
प्रकाशित २०७६ असोज २० सोमबार
570
Shares
मोरङ्ग। दशैंको रौनक बढेसँगै मोरङ र झापामा बसोबास गर्ने सन्थालहरू यतिबेला परम्परागत जातीय नृत्य दासाइमा रमाई रहेका छ्न । खासगरी प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । अहिले दशैं मेलामा उनीहरु नाचिरहेका छ्न्।
दशैं र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाहरूको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ । सन्थाल नाच नभएको दशैं मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन् ।
दासाई नाचले सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाई राखेको बताउँछन्, मोरङ उर्लाबारीका स्थानिय गोरे हेमरन । ‘तर सरकार पक्षले हाम्रो परम्परा र संस्कृतिको लागि कुनै सहयोग गरेको छैन ।' उनले भने, ‘दासाई नृत्यमा लगाउने पोशाकमा समेत एकरुपता ल्याउन सकेका छैनौं ।'
धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ । तर, सधैं अर्काको घर खेतीमा कृषिजन्य काम गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेको सन्थाल जाति पहिचान र संस्कृति जोगाउन एक छाक खाएर बाँचिरहेको बताउँछन् ।
खासगरी मोरङको रंगेली, रामचौक, दोहमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, विसनपुर र लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन र केरौनमा सन्थालहरूको बसोवास रहेको छ । त्यस्तै झापाको गरामुनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलवारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, लखनपुरमा पनि सन्थालहरू उल्लेख्य बसोवास रहेको सन्थाल जातिका अगुवाहरू बताउँछन् । झापा र मोरङका प्राय सबै गाउँहरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रर्दशन गर्ने गरेका छन् ।
तर पनि राज्यले सन्थाल जातिको कला, संस्कृति संरक्षण तथा सम्बद्र्धनमा चासो नदेखाउँदा लोपोन्मुुख अबस्थामा पुगेको यो नृत्य संकटमा परेको छ । नेपालका सन्थालहरू आर्थिक, सामाजिक र राजनैतिक रूपमा पिछडिएको जाती मानिन्छन् । उनीहरूले प्रकृतिको पूजा गर्ने, पहाड र सालको रुखलाई पवित्र मान्ने भए पनि मधेशी अल्पसंख्यकको सूचीमा सूचीकृत रहेका छन् । संरक्षणको अभावमा उनीहरूको धर्म लिपि र भाषा लोपोन्मुख छ । माता भगवतीको पूजा उपासनाको रूपमा प्रस्तुत गरिने यो नृत्य निकै प्राचीन भएकोले यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने सम्बन्धमा कुनै ऐतिहासिक तथ्य भने उपलब्ध छैन । तथापि यो परम्परागत नृत्यको इतिहास निकै पुरानो रहेको अनुमान गरिन्छ ।
सन्थालको जातीय इतिहास कियो सिन्दूरमा उल्लेख भएअनुसार परापूर्व, दैवी कालमा दानवको अत्याचार खप्न नसकी देवताहरू भगवतीको शरणमा पुगे । देवताहरूको अनुरोध स्वीकार गरी माता भगवती सतिनसार आफ्नो भयङ्कर रूपमा प्रकट भइ र दानवीय शक्तिलाई परास्त गरिन । अन्तमा बाँचेखुचेका दानव सेनाहरू डरले काम्दै आआफ्ना हातहतियार हल्लाउँदै भगवतीको शरणमा परे । भगवतीको सहायतामा देवताले प्राप्त गरेको सोही विजयको खुसियाली एवम् सम्झना स्वरूप सतारहरूले पनि काम्दै, लठ्ठी हल्लाउँदै भगवतीको शरणमा परी नृत्य प्रस्तुत गर्न थालेको बताइन्छ । यही परम्परा आज विकसित र परिमार्जित हुँदै सन्थाल नृत्य बन्न पुगेको नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष लुखीराम हस्दाले बताए ।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचीरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन् ।
दशैंमा देवीपीठमा नृत्य प्रस्तुत गर्न प्रत्येक सन्थाल गाउँबाट मूलीको नेतृत्वमा सन्थालहरू भंगी पहिरनमा अपरान्ह जम्मा भई लठ्ठी बजार्दै, ढोल ठोक्दै, बाँस माथिको मयूरको लिंगो बोकेर छुट्टाछुट्टै समूहमा मेलामा प्रवेश गरी भगवती पीठ परिक्रमा गर्दछन् । अनि एक निश्चित ठाउँमा लिंगो गाडी त्यसैलाई केन्द्र मानेर आफ्नो नृत्यकला प्रदर्शन गर्दछन् । विशेषतः उनीहरू बढी मात्रामा हात र खुट्टाको चाललाई प्रयोग गर्दछन् । साथै केही समूहले गाइजात्राको प्रतिनिधित्व गर्दछन् । भने कोही कालीको शक्ति आफूमा चडेको देखाउन कोर्रा, लठ्ठीको सहजरूपमा सामना गर्दछन् ।
मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छे माथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिगत नृत्यका केही डरलाग्दा रोमाञ्चक आश्चर्यजनक दृश्यहरू हुन् । त्यस समयमा आफूहरूलाई कालीको शक्ति चढेको हुनाले खासै असर नहुने जेठा सन्थालले बताए । अरू जातिको भन्दा पृथक शैली, प्रस्तुती र आश्चर्यजनक दृश्य भएकोले नै यस नृत्य मनमोहक र मनोरञ्जनपूर्ण हुने गर्दछ ।