arrow

चन्द्रागिरीमा कला, साहित्य र संस्कृतिबारे छलफल

logo
रासस,
प्रकाशित २०७६ असोज ३० बिहिबार
china-south-asia-culture-2019.jpg

काठमाडौं। दक्षिण एशिया र चीनका साहित्यकारहरुले काठमाडौँको पर्यटकीयस्थल चन्द्रागिरीमा मा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको समापन कार्यक्रममा उनीहरुले यस क्षेत्रमा रहेको संस्कृतिक विविधताको चर्चा गरे। प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमले दक्षिण एशिया र चीनको सांस्कृतिक र साहित्यिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताए। दुई वर्ष पहिले चीनमा पहिलो सम्मेलन भएको र अहिले दोस्रो सम्मेलन नेपालमा आयोजना भएको छ।

आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ। यस क्षेत्रको साहित्यिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले दक्षिण एशिया र चीनको सांस्कृतिक पक्षको चर्चा गर्दै सम्मेलनले आगामी दिनमा आपसी हितमा काम गर्न हौसला दिएको बताए। साहित्यकार मञ्जु काँचुलीले नेपालमा भएका अन्तर्राष्ट्रिय कार्यक्रममध्ये यो एउटा महत्वपूर्ण भएको उल्लेख गरे। चिनियाँ साहित्यकार लु मिलले सम्मेलन भाषा र संस्कृति एकापसमा साटासाट गर्ने अवसर भएको उल्लेख गरे। 

कार्यक्रममा नेपालसँगै चीन, पाकिस्तानलगायतका देशका प्रतिनिधिले कला, साहित्य र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। मङ्गलबार शुरु भएको सम्मेलनका नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० साहित्यकारको सहभागिता रहेको थियो। सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवम पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्यले चन्द्रागिरीमा लगिएको बताइएको छ। आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ। यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो। प्रत्येक दुई-दुई वर्षमा सम्मेलन हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ