arrow

विषय सुख मात्र मृगतृष्णा, अन्त्यमा सबै रुदै गए संसारबाट

logo
ज्ञान,
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार

काठमाडौं । परम पवित्र, परम कल्याणकारी नाम एउटै छ जसको ध्यान- स्मरण गर्नाले सारा संसार सागर सुक्छ। रामायणमा उल्लेख गरिएको छ-
नाम लेत भव सिन्धु सुखाहीं।
करहु विचार सुजन मन माहीं।।

भगवानको साचो नाममा समस्त पापहरूलाई नाश गर्ने अपार शक्ति छ अनि त्यो नाम एउटै छ, तर मनुष्यले यो विचार गर्दैन कि शास्त्रहरूले नामको यति धेरै महिमा किन गाएका छन् । मानिसहरू त्यो नामको खोजि नगरेर अरु अनेक नामहरूको जप गर्दछन्, पूजा-पाठ, यज्ञ-हवन गर्दछन, तर ती कर्महरू मात्र कर्मकाण्ड हुन्, जसद्वारा भक्ति गर्नेको मनको गतिमा कुनै परिवर्तन आउँदैन, उल्टो जति त्यस्ता नामहरूको जप तथा कीर्तन गर्दछन् उति नै उनीहरुको मन चञ्चल हुँदै जान्छ अनि बुद्धिमा अभिमानको भाव बढ्छ ।

उनीहरूको मनमा संकल्प र विकल्पको धारा बग्न थाल्छ, विषयहरूको तूफान मनमा उठछ। साँचो-सत्य कुरा त उनीहरुलाई राम्रो लाग्दैन, उल्टो साँचो कुरा भन्दा रिसाउँदछन् वा आफ्नै कुरालाई साँचो मानेर अहंकार देखाउँदछन्।

केहि नभए पनि यो त अवश्य सोच्नु पर्छ आखिर नामको जप किन गरिन्छ? वास्तवमा संकल्प-विकल्पलाई दूर गर्नका लागि नाम जपिन्छ, तर जुन नामहरुको मानिसहरू जप गरिरहेका छन्, ती नामहरूमा मनलाई प्रभावित गर्ने शक्ति नै कहाँ छ र? सत्य नाम त अर्को छ, जसको जप महापरुषहरूले भक्तहरूले गरे अनि अरुलाई पनि त्यसको ज्ञान गराए । तर त्यो सत्य नामलाई नजानेर मानिसहरू झूटो नामहरूको जप गरेर  उत्तम फलको आशा गर्दछन् । भगवान कृष्णले भन्नुभएको छ-

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम्।
स ब्रह्मयोगयुक्त्तात्मा सुखमक्षयमश्नुते ।।
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते।
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः।।

अन्तःकरणमा (हृदयमा) नाम जप्नेले बाहिरका सबै विषय-भोगहरुको आसक्तिलाई त्यागेर हृदयमा भगवद् चिन्तन अथवा भगवद ध्यानजनित परम आनन्दको अनुभव गर्दछ;  किनभने उसले यो रामरी जान्दछ कि इन्द्रियहरूको संयोगले प्राप्त हुने विषय सुख अन्त्यमा महान् दुखको कारण अनि चौरासी लाख जुनीमा पर्ने हुन्छ ।

किनकि विषयले आउँदा सुख अनि जाँदा महा कष्ट दिन्छ, यसकारण बुद्धिमान व्यक्तिले विषय सुखको आशा त्यागेर हर समय भगवानको नामको चिन्तन गर्दछ । यद्यपि विषय सुख मुर्ख र अज्ञानीहरूका लागि अमृततुल्य प्रतीत हुन्छ, तर जसरी विष मिसिएको पदार्थ मृत्युको कारण बन्छ, उसरी नै विषय पनि बार-बार जन्मनु र मर्नुको  कारण बन्छ । यसकारण बुद्धिमान, विचारशील व्यक्तिले विषयलाई विष समान त्यागेर प्रभुको चिन्तनमा आफ्नो मन लगाउँदछ।

स्वयं विचार गर्नुहोस के विषयहरूको जालमा फँसेर आजसम्म कसैले सुख पाएको छ? जसले पनि भगवानलाई भुलेर विषयहरुमा आफ्नो मन लगाए, उनीहरू सबै अन्त्यमा रुदै संसारबाट गए। विषयमा जुन सुख देखिन्छ त्यो मात्र मृग-तृष्णा हो, अन्यथा त्यसमा दुःखै-दुख मात्र छ, तर विषयासक्त मानिसहरू त्यो बिना रहन सक्तैनन् अनि गुरु सेवा, सत्संग, भक्तिको कुरालाई हाँसोमा उडाउँदछन् ।

उनीहरूका लागि आत्म- सुख कनै चीज होइन । पीप र मैला खाएर बस्ने कीरा त्यसैमा बस्न खुशी मान्दछ, त्यसले फूलको सुगन्ध र रसको बारेमा जान्दैन । जसरी लाटोकोसेरोले घाम के हो देख्दैन, उस्तै  विषय-भोगलाई नै सबै कुरा मान्नेहरुलाई आत्म-ज्योतिको  ज्ञान कहिल्यै हुँदैन । गीता अ० ५ को २३-२४ मा भनेको छ-

 शक्नोतिहैव य: सोढुं प्राक्शरीरविमोक्षणात्।
 कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः।।
योऽन्तःसुखोऽन्तरारात्मस्तथान्तज्योतिरेव यः।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोऽधिगच्छति ।।

जुन विवेकी पुरुषले देहका समस्त विकारहरूलाई वशमा गर्दछ, शरीर त्याग्नुभन्दा पहिल्यै काम-क्रोधको वेगलाई पूर्णरुपले  सहन गर्नुमा समर्थ हुन्छ, त्यहि व्यक्ति यस लोकमा योगी हो अनि आत्म-सुखको परम आनन्द उसैले प्राप्त गर्दछ । उसको लागि विषयजन्य दःखलेश मात्र पनि रहँदैन । तर जसले सदा विषयहरूको चर्चा गर्दछ, उसलाई महा दुःखी सम्झनु पर्छ ।

जसले निश्चयपूर्वक अन्तरात्माको सुखलाई जान्दछ, त्यो साधक आफ्नो तथा सबै भूत-प्राणीहरुको हृदयमा रहने परम ज्योतिमा  मिलेर एक भएको सम्झनु पर्दछ; किनभने उसैले मोक्ष गति प्राप्त गर्दछ । कामना, भय र इन्द्रियहरूलाई वशमा गर्ने तथा परमात्माको सदा चिन्तन गर्ने साधक सदा मुक्त नै रहन्छ ।

यो  प्रत्यक्ष देख्नमा पनि आइरहेको छ अनि वेद-शास्त्रहरूमा पनि उल्लेख गरेको छ कि संसारका सारा खेल एक चैतन्य महा शक्तिको इशारामा भइरहेको छ अनि उसैको इच्छाले सारा संसारको रचना भएको छ। मनुष्यको शरीरमा जबसम्म  चेतना रहन्छ तबसम्म हामीलाई भोक-तिर्खा, सर्दी-गर्मी लाग्दछ। 

अनि मल-मूत्र त्याग्ने प्रवृत्ति रहन्छ, तर जसै शरीरबाट चेतना  निस्केर जान्छ तब केहि रहँदैन, शरीर मुर्दा बन्छ । जसले त्यो चेतन शक्तिलाई जान्दछ उसैलाई ज्ञानी, तत्वदर्शी भनिन्छ। एक चैतन्य ज्ञानी व्यक्तिले नै अर्को चेतन व्यक्तिलाई चेतन शक्तिको बारेमा सम्झाउँदछ जसलाई आम भाषामा गुरु र शिष्य भनिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ