arrow

बुद्धिमान र चतुर व्यक्ति त्यहि हो...

logo
ज्ञान,
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
guru-nanak1.jpg

काठमाडौं । सर्वव्यापक चेतन आत्मा अति सूक्ष्म छ, जुन मन, बुद्धि  र इन्द्रियहरूको विषय होइन । त्यो आत्मालाई यो चर्म-नेत्रले देख्न सकिदैन, जिब्रोले चाख्न सकिदैन, यसैकारण त्यो आत्म- शक्तिलाई अगोचर (इन्द्रियहरुदेखि पर) बताएको छ।

भगवानको अव्यक्त स्वरूपको ज्ञान संसारका कुनै बाहिरी साधनद्वारा हुन सक्तैन, किनभने ज्ञान बाहिरको वस्तु होइन अनि ध्यान पनि बाहिरको वस्तु होइन, यसकारण बाहिरको साधनले मन कसरी एकाग्र हुनसक्छ? जबसम्म मनले संसारको चिन्तन गर्न छोडदैन, तबसम्म निष्काम कर्म हुन सक्तैन । निष्काम कर्म भएन भने परमात्मा प्राप्ति पनि हुन सक्तैन । आत्माको ज्ञान छैन भने सपनामा पनि सुख-शान्ति मिल्दैन । भक्तिको बारेमा रामायणमा भनेको छ-

राम भगति मणि उर बस जाके।
दुःख्न लवलेस न सपनेहूँ ता के।।
सो मणि जदपि प्रगट जग अहई।
राम कृपा बिनु नहिं कोउ लहई ।।
चतुर सिरोमणि तेइ जग माहिं।
जे मनि लागि सुजतन कराहिं।।

रामको प्रकाशरूप भक्ति जसको हृदयमा निवास गर्दछ, उसलाई सपनामा पनि दुःख हुँदैन । यस्तो प्रकाशमान भक्ति सबैको हृदयमा भएर पनि मानिसहरु बाहिरका साधनहरूमा लागेर भटकिरहेका छन् । बुद्धिमान र चतुर व्यक्ति त्यहि हो जसले साँचो भक्तिलाई जान्ने प्रयत्न गर्दछ अनि सदगुरुको शरणमा गएर साँचो ज्ञान प्राप्त गर्दछ।

यो त्यो ज्ञान हो जुन ज्ञान परम्परादेखि ऋषि-मुनिहरुले आफ्ना शिष्यहरूलाई जनाउँदै आएका छन, जसरी भगवान कृष्णले अर्जुनलाई जनाउनुभयो। यो ज्ञान गृहस्थी मानिसले लिन सक्छन्। भगवान राम, भगवान कृष्ण, गुरु वशिष्ठ, ऋषि भारद्वाज, ऋषि आगरा आदि पनि त गृहस्थी थिए। उनीहरुका पनि शिष्यहरू थिए जो आश्रममा बसेर सेवा गर्दथे। सारा संसार ऋषिहरूका सन्तान हुन् । उनीहरूले शास्त्रहरूको रचना पनि गरे, गुरु बनेर मानव मात्रलाई सत्यको ज्ञान पनि गराए, तर आजका झूटो गुरुहरूले त संसारलाई भ्रमित पारेर सत्यको मार्गबाट वञ्चित गराइरहेका छन्।

पाँच ज्ञानेन्द्रियद्वारा संसारको ज्ञान हुन्छ अनि पाँच कर्मेन्द्रियद्वारा हामी कर्म गर्दछौं। यदि कसैले हठपूर्वक कर्मेन्द्रियलाई रोकेर कर्म गर्न छाड्यो भने पनि ज्ञानेन्द्रियले आफ्नो काम गर्न छोड्दैन । मानि लिउँ कर्म गर्न छोडेर कोहि संन्यासी बन्यो, तर उसले के छोड्यो? अन्न नखाए पनि दूध त पिउनै पर्छ वा फल-फूल खानै पर्छ, पलंगमा नसुते पनि भइँमा सुत्नै पर्छ, वस्त्र पहिरनु छोडे पनि धूनी (आगो) त ताप्न  पर्छ । भन्नको अर्थ कर्म गर्न छोडे पनि शरीर सम्बन्धी यस्ता कर्महरू त गर्ने पर्छ, फेरि कर्मको त्याग कसरी भयो? किनभने खानु, सुत्नु, हिंडनु, बस्नु, नुहाउनु आदि पनि कर्म हो ।

ऋषिहरुले समाजको सुख-सुविधाका लागि कामकाजको  हिसाबले मनुष्यलाई वर्णमा (वर्गमा) विभक्त गरे, किनभने  एउटा मानिसले सबै काम गर्न सक्तैन। यसकारण मनुष्यलाई चार वर्णमा बाँडेर अलग-अलग वर्णलाई अलग-अलग काम दिए। त्यस अनुसार एक वर्णले खेती-किसानको काम सम्हाल्ने भयो, अर्को वर्णले व्यापारको काम सम्हाल्ने भयो, फेरि अर्को वर्णले विद्या दान दिने (पढाउने) काम सम्हाल्ने भयो अनि अर्को वर्णले सबैको सेवा गर्ने काम सम्हाल्ने भयो।

यसप्रकार सबैको सहयोगले समाजमा सबै मानिसहरूको दैनिक आवश्यकताहरूको पूर्ति सहज रूपले पूरा हुने ऋषिहरुले प्रबन्ध गरे । कर्म अवश्य गर्नै पर्छ अनि कर्महरू गर्नको साथ- साथै भगवानको भजन-भक्ति पनि गर्नुपर्छ । शरीरमा चेतन  शक्ति रहजेलसम्म मात्र हामी कर्म र भजन-भक्ति गर्न सक्छौं ।

त्यो चेतन शक्ति आत्मा के हो, यो जानेरै मात्र हामी भजन- भक्ति ध्यान गर्न सक्दछौं अनि यसैमा हाम्रो आत्माको कल्याण निहित छ। यसकारण संसारको बाहिरी कर्मकाण्ड र तन्त्र- मन्त्र आदिमा लागेर हामीले आफ्नो अनमोल मनुष्य जीवन व्यथै गुमाउनु छैन । समयको सद्गुरुको शरणमा गएर उनीबाट भगवानको सच्चा नाम र प्रकाश स्वरुपको ज्ञान प्राप्त गरेर  हामीले भजन-साधना गर्नुपर्छ।

सद्-चित्-आनन्द स्वरूप परमात्मा सारा संसारमा व्यापक छन्, तर राम वा ॐ जप्नाले मात्र परमात्माको  सर्व-व्यापकताको ज्ञान हुँदैन । मानिसहरू हरे राम हरे कृष्ण ॐ नमो शिवाय आदि जप्नुलाई नै भक्ति र जान सम्झेर बसेका  छन्, तर त्यसदेखि अगाडी के छ जान्ने इच्छा र प्रयास गर्दैनन । भगवानको साँचो भक्तिको ज्ञान ज्ञानी गुरुबाट मात्र हुन्छ, यसकारण गुरुको शरणमा जान नितान्त आवश्यक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ