- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुरु नानकदेव सिखहरूका आदि गुरु हुन् । अन्धविश्वास र अडम्बरका कट्टर विरोधी गुरु नानकदेवको जन्मदिन कार्तिक पूर्णिमामा मनाइन्छ तर उनको जन्म १५ अप्रिल १४६९ मा भएको थियो । गुरु नानकको जन्म पन्जाबको तलवन्डी नामको स्थानमा एक किसानको घर भएको थियो। तलवन्डी पाकिस्तानको लाहौरबाट ३० माइल पश्चिममा अवस्थित रहेको छ । सो स्थान गुरु नानकसंग जोडिएको हुनाले पछि ननकनाना भनिन थालियो ।
नानकदेवको जन्मदिन गुरु पर्वको रूपमा मनाइने गरिएको छ । सो स्थानमा तीन दिन पहिलेदेखि नै प्रभात फेरि निकाल्ने गरिन्छ । ठाँउ ठाँउमा भक्त पानी र शर्बत आदिको व्यवस्था गर्छन् । गुरु नानकको निधन सन् १५३९ ई- मा भएको थियो । उनले आफ्नो उत्तराधिकारीको जिम्मा गुरु अंगददेव (बाबा लहना)लाई सुम्पिए र स्वयं 'ज्योति' मा लिन भए ।
केहि मानिसहरु भन्छन् कि गुरु नानकका कुनै गुरु थिएनन्, फेरि उनलाई आत्माज्ञान कसरी प्राप्त भयो ? तर नानक साहेव आफै भन्छन् कि हरि कृपाबाट सन्तँग भेट भएर ज्ञानको प्राप्ति भयो ।
एक पटक नानकदेवलाई आमा बुवाले केहि धन दिएर भने, 'छोरा तिमी गएर केहि व्यापार गर ।' बाटोमा सन्तहरुको जमात देखे तब उनले सन्तहरुलाई भण्डारा गराए, उनिहरुको सेवा गर्न थाले । यसप्रकार जब सन्तको हृदय प्रसन्न भयो तब उनिहरुले नानकदेवलाई ज्ञान प्रदान गरे ।
ज्ञान प्राप्त गरेर जब उनि घर फर्किए तब बुवाले सोधे,'छोरा तिमीले व्यापार गर्यौ ?' उनि भन्छन्,' पीताजी मैले यस्तो व्यापार गरे जो जन्म जन्मको व्यापार हो , यस्तो धन कमाए जुन किहिल्यै पनि समाप्त हुन सक्दैन ।' गूरु नानक भन्छन् -
ज्ञानंजन सतगुरु दिया, अज्ञान अन्धेर विनाश,
हरि कृपा ते संत भेटिया, नानक कन प्रकाश।
उनि आफै भन्छन् ज्ञानंजन सदगुरुले दिएको ज्ञानको काजलबाट अज्ञानको जुन अध्यारो थियो त्यो समाप्त भयो, हट्यो र हृदय प्रकाशमय भयो । यसप्रकार गुरु नानकदेवले पनि आफ्नो सद्गुरुको महिमा गाए जसबाट उनलाई आत्माज्ञान रुपी काजलको प्राप्त भयो, जसलाई प्राप्त गरेर उनि महान बने । सिखहरुका आदि गुरु बने ।
भागवतमा एक प्रसंग आउछ भगवानले जब जीवलाई बनाउनुभयो तब सोच्नुभयो कि आफ्नो ज्ञानलाई कहाँ लुकाएर राखु जसलाई योग्य व्यक्तिले नै प्राप्त गर्न सकोस, अयोग्य व्यक्तिले त्यसलाई प्राप्त गर्न नसकोस ?
देवताहरुले भने,' भगवान! त्यस ज्ञानलाई हिमालय पर्वतको शिखरमा राखिदिनुहोस जसलाई जीवले ठूलो संघर्ष गरेर त्यसलाई प्राप्त गर्नेछ ।'
भगवानले भन्नुभयो, ' हुँदैन, त्यहा अयोग्य व्यक्ति पनि पुगेर ज्ञानलाई प्राप्त गर्न सक्छ ।'
फेरी देवताहरुले अनुरोध गरे, 'प्रभु समुन्द्रको गहिराइमा त्यो ज्ञानलाई लुकाइदिनुहोस ।'
भगवानले भन्नुभयो, 'त्यहाँ पनि अयोग्य व्यक्ति गोता लगाएर यस ज्ञानलाई प्राप्त गर्न सक्नेछ ।'
अन्तमा देवताहरुलाई उपयुक्त कुनै स्थान लागेन । तब भगवानले स्वयं भन्नुभयो,' यस ज्ञानलाई मनुष्य भित्र नै लुकाएर राखिदिन्छु। जो मानव छ त्यो यस संसारमा खोज्दै हिड्नेछ आफूलाई विर्सनेछ तर जो आफूलाई भुल्ने छैन, त्यस ज्ञानलाई आफूभित्र खोज्नेछ त्यहि मानव योग्य हो र त्यसैले सो ज्ञानलाई प्राप्त गर्न सक्नेछ ।'
सो ज्ञानलाई नै भगवान राम, कृष्ण, महात्मा बुद्ध, महात्मा कबीर, सन्त ईसामसीह, सन्त तुलसीदास, सन्त सुरदास, हजर मोहम्मद साहब, महावीर स्वामी, गुरु नानक, स्वामी रामकृष्ण परमहंस आदि सन्त महापुरुषहरु आफ्नो जीवनमा खोजेर लागु गरे ।
कुरुक्षेत्रको मैदानमा भगवान कृष्णले कर्मको एक महान सिद्धान्तको उपदेश दिइरहनुभएको थियो। साथै उहाँले अर्जुनलाई अनुभूति पनि दिइरहनुभएको थियो।अर्जुन आफ्नो जीवनमा पहिलो पटक त्यस विराट स्वरुपको अनुभव गरिरहेका थिए। त्यसक्रममा श्रीकृष्णले विवेचन गर्दै अर्जुनलाई सिद्धान्तहरु बताइरहनु भएको थियो। त्यस सिद्धान्तको पछि-पछि एक अनुभूतिको आधारशिला पनि दिइदै थियो। जुन अनुभुतिको अघि अर्जुन नतमस्तक हुँदै प्रार्थना गर्छन्,'प्रभु मैले तपाईलाई यादव भने, साथी भने यसको लागि मलाई क्षमा गर्नुहोला किनभने तपाई त गुरुहरुको पनि गुरु हुनुहुन्छ ।'
त्यहि अनुभुति प्राप्त गरेपछि गुरु नानकदेवले तिम्रो-तिम्रो भनेर आफ्नो दोकानको सबै सामान, अन्नलाई जनता जनार्दनमा बाँडे । सिख ग्रंथहरुका अनुसार गुरु नानक नुहाउन प्राय बेई नदीमा जान्थे। एक दिन उनि स्नान पछि जंगलमा अन्तर्ध्यान भए । सो समयमा उनको परमेश्वरसँग साक्षात्कार भयो। परमेश्वरले उनलाई अमृत दिएर भन्नुभयो, 'म सधैं तपाईंसंग छुँ, जो तिम्रो साथ सम्पर्कमा आउनेछन् उनिहरु पनि आनन्दित हुनेछ।' जाँउ दान देउ, उपासना गर, नाम लेउ र अरूलाई पनि नामको सुमिरण गराउ । यस घटनापछि उनि आफ्नो परिवारको बोझ ससुरालाई छोडेर धर्म प्रचार गर्न थाले। उनले देशको विभिन्न भागहरुसंगै विदेशको पनि यात्रा गरेर जनसेवाको उपदेश दिए । उनि करतारपुरमा ई- १५२१ देखि १५३९ सम्म धर्म प्रचारको सिलसिलामा बसे ।
हाम्रा सन्तहरूले एउटा यस्तो लोकको कुरा गरेका छन्, जहाँ पुगेपछि जीव संसार-चक्रमा फर्केर आउँदैन । मन प्रभुको नाममा एकाग्र भयो भने मनुष्य यो भवसागरमा डुब्न सक्दैन । हाम्रा सन्तहरू भन्छन् कि यदि प्रभुसंग मिल्यौ भने तिम्रो उद्धार हुनेछ । मनको त्यहि एकाग्रताको बारेमा भनेको छ-'नाम जपु नाम जपु, कलु आयो, कलु आयो'। कलिकाल आइरहेको छ, प्रभुको सच्चा नामको सुमिरण गर, गुरु नानकदेवले यो भनेका छन् । यहि कुराको प्रतिपादन गर्दै तुलसीदासजीले रामायणमा भनेका छन्-
कलयुग केवल हरि गुन गाहा।।
गावत नर पावहिं भव थाहा।।
एक व्यक्तिलाई गूरु नानकदेव भन्छन् हेर, भगवानले हामीलाई कति सुन्दर आँखा दिनुभएको छ जसले हामी ठूलठूला चमत्कार देख्छौ, सुन्दर भन्दा सुन्दर दृश्य देख्छौ । तर म सोध्छु के तिमि आफ्नो आँखबाट आफ्नो अनुहार देख्छौ ?' ती व्यक्ति भन्छन्, 'देख्न सक्दिन, यसका लागि हामीलाई ऐनाको आवश्यकता पर्छ , जब ऐना हामी सामु हुन्छ तब हामी आफ्नो अनुहार देख्छौ।'
नानकदेव भन्नुहुन्छ, 'जस प्रकार आफ्नो अनुहार हेर्नको लागि, आफ्नो मुख नाकको बनावटको देख्नको लागि हामीलाई एक ऐनाको साहारा लिनुपर्छ, यसैप्रकार सन्तहरुले पनि भने तिमिसँग देख्ने शक्ति छ, जान्ने क्षमता छ, तर बिना ज्ञान, बिना तत्वदर्शी सदगुरु रूपी ऐना तिमि आफुले आफुलाई देख्न सक्दैनौ । आफुले आफुलाई जान्नको लागि तिमि अवश्य गुरु भएको ठाँउमा जानुपर्नेछ, महापुरुष रूपी ऐनालाई प्राप्त गर्नु पर्नेछ, सद्गुरुको शरणागत हुनुपर्नेछ।'
गुरु नान देवले जात पातको अन्त्य गर्न र समान दृष्टिसँग सबैलाई हेर्नको लागि कदम उठाउदै 'लंगर' प्रथाको सुरु गरे। लंगरमा सबै साना ठुला, धनी गरीब एकै समान लाइमा बसेर खाना खाने गर्दथे । आज पनि गुरुद्वारहरुमा सोहि लंगरको व्यवस्था चलिरहेको छ । जहाँ सबैको लागि भोजन उपलब्ध हुन्छ। यसमा, सेवा र भक्तिको मुख्य भाव हुन्छ। जातिको अभिमानमा अन्धा बनेका कति मानिसहरुले उनको यस पुनीत कार्यको विरोध गरे अनि भने गुरु ' शीख गुरु ले सानो-ठूलो सबै जातिको मानिसहरूलाई एक साथ खाना खुवाएर हाम्रो धर्म नष्ट गरिरहेका छन् ।'
एकजना ब्राह्मण गुरु नानादेवका चेलासंग भेट गर्न आए, उनले पनि लंगरमा एक साथ बसेर खाना खानुको विरोध गरे। गुरुले उनलाई सोधे, 'के तपाई ब्राह्मण,'उनले उत्तर दिए, 'हो म ब्राह्मण हुँ।' तब गरु अमरदासजीले शास्त्रको एक श्लोक पढेर भने, ब्राह्मण उसलाई भनिन्छ जसले ब्रह्मलाई जानेको हुन्छ । यदि तपाईं ब्राह्माण भएको भए के सबैमा तपाईले भगवानलाई देख्न हुने थिएन । ब्रह्म सर्वव्यापी छ भने गरीबहरूमा कसरी छैन?'
गुरु अमरदासको मुखबाट शास्त्र-वचन सुन्न साथै ती ब्राह्मणको अहंकार दूर भयो। त्यहि समय लंगरमा बसेर सबैको साथ खाना खाए। पछि ती नै ब्राह्मणले आफ्नो सारा जीवन गुरुको सेवामा समर्पित गरेर महान सेवक बने।
कर्मयोग शास्त्र गीतामा भगवान कृष्णले परम प्रकाशको बारेमा सम्झाउँदै भन्नुभएको छ-
न तद्भासयते सूर्यो न शशांको न पावकः।।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम् ।।१५/६ ।।
प्रभु परमात्माको यस्तो अविनाशी धाम छ जहाँ पुगेपछि जीव फेरि जन्म-मरणको चक्रमा फर्केर आउँदैन, फेरि बार- बार जन्म लिएर संसारमा आउँदैन । गुरु नानकदेवले यस बारेमा भनेका छन-
लख चौरासी भरम दियां मानुष जनम पायो।
कह नानक नाम सम्भाल सो दिन नेडे आयो।।
चौरासी लाख योनीहरुमा भटका खाँदा-खाँदा जब भगवानको कृपा हुन्छ, तब जीवलाई मनष्य शरीर मिल्छ । सत्संग,सेवा,भजन दर्शन आदिबाट ज्ञानको बीज हाम्रो जीवनमा प्रकट हुन सक्छ तर त्यस सूक्ष्म बीजलाई जान्नको लागि, त्यसलाई जागरुक गर्नको लागि सबैभन्दा पहिले त्यस सूक्ष्म ज्ञानको आवश्यकता पर्दछ। सोहि ज्ञानले बीजरुपी परमपिता परमात्मा कति सूक्ष्म छ भन्ने जान्न सक्छौं। सोहि सूक्ष्म ज्ञानले हामी भित्रको सम्पूर्ण संभावनाहरुलाई प्रकट गरेर हामी आफैलाई आफैलाई चिन्न सक्छौ। त्यसै सुक्ष्म ज्ञान नै आत्माज्ञान हो। र आत्मज्ञान नै एकमात्र सत्यको मार्ग हो । र त्यो जुन एक मात्र मार्ग हो ईश्वर प्राप्तिको।
यहि मार्गमा भगवान राम, श्रीकृष्ण, बुद्ध, नानक आदी सबै महानपुरुषहरु हिडे जसको वर्णन सबै धर्मशास्त्रमा छ। त्यस एक सुगम एवं सीधा मार्गको ज्ञान यस युगमा प्राप्त गर्नको लागि हामीले वर्तमानमा मौजुद महापुरुषलाई खोज्नु पर्नेछ । जसले हामीलाई त्यही दुर्लभ आत्माज्ञान, ब्रह्मज्ञान, तत्वज्ञान प्रदान गरुन्। यही मानवको एक मात्र वास्तविक धर्म हो ।
यसकारण महानपुरुषहरुले भने 'नान्य पंथा विद्यते अनाय' कि त्यो ज्ञानलाई जान्न अनेकौ नभइ एक मात्र मार्ग छ। 'महाजनो येन गत: स पंथा' त्यो मार्ग जसमा सबै महान पूरूषहरु चले त्यसलाई अनुसरण गर्नुपर्छ त्यसको बाटो फरक फरक छैन एकै छ। त्यो महान पुरुषहरुको मार्ग के हो जसमा भगवान राम चल्नुभयो, श्रीकृष्ण चल्नुभयो, महात्मा बुद्ध, महावीर स्वामी चल्नुभयो, गुरु नानकदेव चल्नुभयो आखिर त्यो बाटो के थियो यो हामीले सोच्नु विचार गर्नुपर्नेछ ।
गुरु नानकदेवले एक धनी सेठलाई एक थैलो दिएर भने, 'यसमा केहि अन्न छ, मलाई पछि फिर्ता गर्दिनु ।'
सेठले भने,' हुन्छ । कहा दिनु ?'
गुरु नानकले भने, 'स्वर्गमा दिनु ।'
सेठले भने, 'महाराज यो थैलो स्वर्गमा कसरी जान्छ ?'
तब गुरु नाकनले भने,' सेठ जब यो थैलो स्वर्ग जान सक्दैन भने तिमिले जुन यत्रो धन संग्रह गरेका छौ । के यो तिमिसँग जानेछ ?'
गुरु नानक भन्छन्, 'सेठ सबै कुरा यहि रहनेछ र जे जति तिमिले गरेका छौ त्यसको हिसाब तिमिले प्रभुको सामु दिनुपर्नेछ । त्यहाँ तिम्रो कर्मको फिल्म तिम्रो सामु आउनेछ । तिमिले के राम्रो काम गर्यौ र के नराम्रो । त्यसबाट संसार भित्र रहेका कोहि पनि बच्न सक्दैन । यो घुस, भ्रष्टाचारका काम यी सब यहाँ मात्र चल्छ। भ्रष्टाचार यही रहन्छ । यसभन्दा माथि चल्दैन । यसकारण आफ्नो कर्मलाई सुधार, आफ्नो बिचारलाई पवित्र बनाउ र प्रभुको नामको जुन माला छ त्यसलाई आफ्नो हृदय भित्र जान । त्यस खजानालाई प्राप्त गर, जुन शाश्वत छ, जसलाई अग्निले जलाउन सक्दैन । शरीर त जलेर खाक हुनेछ तर त्यो प्रभुको नामको कमाइ तिमिसँग जानेछ ।' तब सेठले गुरु नानकसँग क्षमायाचना गरे ।
हामी संसारमा किन आयौ, के प्रयोजन हो संसारमा आउनुको ? संसारका जे छ ती सबै संसारमै रहनेछ । मृत्यु हरेक चीजलाई अर्थहीन गरिदिन्छ। तपाईले निकै ठुलो महल बनाउनुभयो तर तपाईको मृत्यु भए त्यो महल के काम, तपाईले धेरै धन कमाउनुभयो तर तपाई नै नरहे त्यो धन तपाईको के कामको भयो ? तपाईले औषधीहरु जम्मा गर्नुभयो तर तपाई नरहे औषधीको के काम ? चाहे परिवार होस वा ठुला ठुला महल, चाहे धन होस वा औषधी मानिसको जब मृत्यु हुन्छ तब सबै बेकार बन्छन् यी कुनै जानेवाल छैंनन् । गुरु नानकदेवले यहि सेठलाई सम्झाएका हुन् -
गुरु नानकको मूल शिक्षा भनेको ईश्वरीय एक, अनन्त, सर्वोपरि र सत्यमय हो । इश्वर सर्वव्यापक छ। मूर्ति−पूजा आदि निरर्थक हो। प्रभुको नाम सुमिरण गर्नेु नै सर्वोच्च तत्व हो र त्यो नामको सुमिरण गुरुद्वारा मात्र प्राप्त गर्न सकिन्छ भन्ने हो । गुरु नानकको वाणि भक्ति, ज्ञान र वैराज्ञवाट ओतप्रो छन् । उनले आफ्ना अनुयायीहरूलाई महत्वपुर्ण पाठहरू दिएका छन् -
- ईश्वर एक छन् ।
- सधैं एकै ईश्वरको उपासना गर ।
- ईश्वर सबै ठाँउ र जीवित प्राणीमा मात्र उपस्थित छन् ।
- ईश्वरको उपासना गर्नेलाई भय रहदैन ।
- ईमानदार र कडा परिश्रमले उधारो तिर्नुपर्छ।
- खराब काम गर्ने बारे नसोच र कसैलाई नसताउ।
- सधैं प्रशन्न हुनुपर्छ । परमेश्वरसँग सधै आफ्नो लागि माफी माग्नु पर्छ।
- मेहनत र ईमानदारीको कमाईबाट केहि हिस्सा भगवानलाई दिनुपर्छ ।
- सबै पुरुष र महिला समान छन्।
- भोजन शरीरलाई जीवित राख्नको लागि आवश्यक हो, तर लोभ-लालच वा संग्रहवृत्ति खराब कुरा हो ।
संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलङ्का, नेपाललगायतका देशको भ्रमण गरेका थिए । काठमाडौँ उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ ।
उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यताको प्रवद्र्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ । हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो ।