arrow

भगवान शिवसँग पार्वतीको जिज्ञासा- विश्वनाथ तपाई कसको ध्यान गर्नुहुन्छ ?

राम को हुन्, राजाका पुत्र हुन भने ब्रह्म कसरी हुन्?

logo
ज्ञान,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
shiva2.jpg

एकपटक अत्यन्त प्रसन्न मुद्रामा बस्नुभएका भगवान शिवलाई माता पार्वतीले अनुकूल समय जानी करबद्ध विनम्रपूर्वक प्रश्न गर्नुभयो, 'हे विश्वनाथ! तपाइ त्रिभुवनका गुरु हुनुहुन्छ, कृपा गरेर मलाई सम्झाउनुहोस् कि राम को हुन्? यदि उनी राजाका पुत्र हुन भने ब्रह्म कसरी हुन्? सतीका रूपमा मैले उनको जुन लीला देखें, त्यो मैले तपाईलाई बताईन, तर त्यसको फल मलाई राम्ररी मिलिसकेको छ।  हे नाथ! म मन, वचन, कर्मले तपाईंकी दासी हूँ, कृपा गरेर रामको निर्गुण र सगुण रहस्य तथा भक्ति, ज्ञान, वैराग्यको विवेचन गरेर यो बताउनुहोस् कि त्यो नाम के हो? जसको तपाईले सदा ध्यान गर्नुहुन्छ ।'

भगवान शंकर यस्तो लोक कल्याणकारी प्रश्न सुनेर अति प्रसन्न हुनुभयो अनि आफ्नो सहज राममय स्वरुपको ध्यानमा केहिबेर मग्न रहेपछि रामकथाको वर्णन गर्दै भन्नुहुन्छ-
झूठेउ सत्य जाहि बिनु जानें।
जिमी भुजंग बिनु रजु पहिचानें।।

नजानेसम्म झुटो पनि सत्य लाग्छ, जसरी नचिन्नाले डोरी सर्प जस्तो देखिन्छ। उस्तैप्रकार जसलाई जानेपछि यो जगतको माया समाप्त हुन्छ, जसरी सपनाबाट जागेपछि सपनाका भ्रम समाप्त हुन्छ उस्तै प्रभु राम हुनुहुन्छ जसको नाम जप्नाले समस्त सिद्धि प्राप्ति हुन्छ । जसले अमंगललाई हरेर मंगल गर्दछन ।

माता पार्वतीद्वारा रामकथा प्रसंग सोधिएकोमा प्रसन्न भगवान शंकर फेरि भन्नुहुन्छ, 'हे उमा। तिमी समान उपकारी व्यक्ति कोहि छैन, किनभने यो प्रसंग समस्त जगतका कल्याण गर्ने पवित्र गंगा समान छ। रघुवीरको श्रीचरणको अनुरागी भएर लोक-कल्याणको लागि यस्तो प्रश्न सोध्ने हे पार्वती ! रामको कृपाले तिम्रो मनमा सपनामा पनि कुनै शोक, मोह, सन्देह वा भ्रम छैन।'

भगवान शंकर भन्नुहुन्छ, 'हे उमा तिमिले यो शंका रहित प्रश्न यसकारण सोध्यौ किनकि यसको विवेचन गर्नाले र यसको श्रवण गर्नाले सबैको कल्याण हुनेछ। जसले आफ्नो कानले हरि कथा (सत्संग) सुन्दैन, उसको कान सर्पको प्वाल समान हो, जसले आफ्नो आँखाले सन्तहरुको दर्शन गर्दैन,  उसको आँखा मयुरको प्याँख समान हो । जसले गुरु महाराजको  चरणकमलमा प्रणाम गर्दैन उसको शिर तितो चिण्डो समान हो। अनि आफ्नो हृदयमा भगवान भक्ति नराख्ने व्यक्ति जीवितै मुर्दा समान हो। प्रभुको गुणगान नगर्नेको जिब्रो भ्यागुताको जिब्रो समान हो, हरि कथा अर्थात् सत्संग सुनेर खुशी नहुनेको हृदय कठोर वज्र समान हो । हे पार्वती! रामको लीला दैवी प्रकृति भएको मनुष्यको लागि हितकर छ अनि असुरहरूलाई  विमोहित गर्छ । कामधेनु समान यो रामकथा जसले श्रद्धापूर्वक श्रवण गर्छ, उसलाई यसले सबै सुख प्रदान गर्छ । यो कथाको गुणगान सुन्ने सत्संगीहरूको समाज नै देवलोक हो।'

भगवान  शंकर भन्नहन्छ,'यस्तो अभागी को होला जसले यस्ता परम कल्याणकारी कथालाई सुन्दैन।
 निज भ्रम नहिं समुझहिं अज्ञानी।
 प्रभु पर मोह धरहिं जड़ प्रानी।।

अज्ञानीहरू आफ्नो अज्ञानको कारण 'राम'लाई जान्दैनन् । यस्ता जड प्राणीले आफ्नो मोहको आवरणमा प्रभुलाई अरु नै केहि सम्झन्छन् । जसरी आकाशमा बादलले घामलाई छोपेको देखेर क्षुद्र बुद्धिका मानिसले भन्छन्, बादलले घामलाई खायो।

राम सच्चिदानन्द दिनेसा।
नहिं तह मोह निसा लवलेसा ।।

राम सच्चिदानन्द अविनाशी ब्रह्म हुन्, जो सबैदेखि पर सबैको हृदयभित्र वास गर्छन, जसको दर्शन आफ्नो हृदयमा  हुनसाथ हामी यो स्वप्नवत् संसारबाट जाग्छौं। अनि यो त्यो नररूप हरि अर्थात् सद्गुरुदेव महाराजको शरणमा गएर त्यो  राम नामलाई जान्नाले नै सम्भव हुन्छ । तब श्रीरामचरितमानसलाई बुझ्न सकिनेछ।'

धर्तीमा अधर्म र अधर्मिहरुको नाश गर्न त्यस प्रभुको हर युगमा अवतार हुँदै आएको छ। त्रेतायुगमा यज्ञहरूमा विघ्न गर्ने, ऋषि-मुनिहरुलाई सताउने- मार्ने रावणका अनुचर राक्षसहरूदेखि यज्ञको रक्षा गर्न जब मुनि विश्वमित्रले राम र लक्ष्मणलाई राक्षसी ताडका भएको बाटो भएर लिएर गए, तब प्रभु रामले एउटै बाणले ताडकाको वध गर्नुभयो। तब ऋषिले आफ्नो मनमा प्रभुलाई विद्याको भण्डार हुन् भनेर जानेर पनि (लीला पूर्ण गर्नका लागि) यस्तो विद्या दिए जसद्वारा भोक-प्यास लाग्दैन थियो अनि शरीर अतुलित तेज र बलशाली बन्थ्यो। रामले मारीचलाई एउटै बाण हानेर सय योजन समुद्रको पारी पुयाएर फ्याँक्नु भयो अनि सुवाहुलाई अग्नि बाणले मार्नुभयो । लक्ष्मणले राक्षसहरुको सेनाको संहार गरे । मुनि विश्वामित्रको साथ दुवै भाई सीताको स्वयंवरमा भाग लिन जनुभयो। मुनिको आदेशले दुवै भाई जनकपुरीको अद्भुत शोभा हेर्न घुम्न जानुभयो, जहाँ गौरी पूजन गर्न सीता सखीहरुको साथमा आईन् । सीताको विलक्षण  सौन्दर्यलाई देखेर रामले उनको त्यो अद्भुत सुन्दरताको कुनै  उपमा दिन सक्नु भएन।

राम रमापति कर धनु लेहू ।
खेंचहु चाप मिटै संदेहू ।।

सारा राजागणले जब धनुषलाई तोडनु त परै रह्यो त्यसलाई हल्लाउन पनि सकेनन्, तब मुनिको आज्ञा पाएर प्रभु राम उनलाई प्रणाम गरी अगाडि सर्नुभयो । माता जानकीकी माता सुनयनाको मनमा यो शंका हुनगयो कि यस्ता सुकोमल सुकुमार रामले यो पर्वतराज जस्तो शक्तिशाली धनुषलाई  कसरी उठाउन सक्ने छन्! तब एक सखीले उनलाई सानो कुम्भज ऋषि (अगस्त्य मुनि) द्वारा अपार समुद्रको सारा पानी पिएको प्रसंग सुनाएर भन्छिन्, हेर्दा सूर्यको आकार कति सानो देखिन्छ, तर त्यो सूर्य उदय हुनसाथै त्रिभुवनको अन्धकार भागेर जान्छ। उस्तै ब्रह्मा, विष्णु, महेश, सारा देवता र समस्त सृष्टि जुन परमलघु मन्त्रको वशमा छन्, उस्तै प्रकार विशाल मदमस्त हात्तीलाई एउटा सानो तीखो अंकुशेले तत्काल वशमा गर्छ । जसरी काम देवताले फूलको धनुष-बाणद्वारा सारा संसारलाई वशमा गर्छ, उस्तै प्रकार हे महारानी!  तेजवान पुरुषको शरीरलाई देखेर उनलाई सानो नसम्झनुहोस्, निश्चित रूपले रामले यो शिव धनुषलाइ अवश्य तोड्नु हुनेछ।

त्यसपष्ठि प्रभु रामले त्यो शिव धनुषलाइ सहज उठाएर तोड्नु भयो । धनुष तोड़न साथै श्री रामका जय-जयकार हुन थाल्यो । सन्त तुलसीदासजी भन्छन्, शिव धनुष जहाज हो अनि रामको भजनहरूको बल समुद्र हो, धनुष टूट्नाले उनीहरु सबै डुबे जो पहिले यो जहाजमा चढेका थिए । राम र सीताको अनुपम विवाहको विचित्र मण्डप, नानाप्रकारका वाद्ययन्त्र, ढोल, नगाड़ा तथा नानाप्रकारका अलोकिक रचनाहरूलाई देखेर असंख्य पुरवासीहरू साथै आकाशमाथि आश्चर्यचकित देवताहरूलाई शिवजी भन्नुहुन्छ, धैर्य राखेर विचार गर कि यो प्रभूको महा-महिमामयी शक्ति सीताजी र अखिल ब्रह्माण्डको परम ईश्वर श्री रामको विवाह हो। अनि भगवान शिव स्वयं पनि प्रभुको सुन्दर रूपलाई पार्वतीसहित आफ्नो सजल नेत्रले हेरेर अति प्रसन्न हुनुभयो ।

जय ध्वनि, बन्दी ध्वनि, वेद ध्वनि, शंख ध्वनि, मंगलगान अनि नमाडाहरुका गान सुनेर दवगण हर्षित भई कल्पवृक्षको फूलहरु वर्षा गर्न थाले। रामद्वारा धनुष भंग एवं सीतासंग विवाहको शुभ समाचार धर्ती, आकाश,  पाताल र नागलोक सर्वत्र फैलियो। समयअनुसार मुनि विश्वामित्रको आज्ञा अनुसार प्रभु रामले अवधपुरीमा प्रवेश  गर्नुभयो जहाँ सबै नर-नारी प्रभुलाई देखेर आफ्नो नेत्र सफल गरी अत्यन्त खुशी भए । सबैले आफ्नो घर, नगर, द्वार, बाटो, दोबाटो, चौबाटो सजाए। खुशीले आँखाबाट प्रेमको आँसु झार्दै सबैले भेंट, पूजा, मणि, भूषण, वस्त्र आदि चढ़ाउँदछन् ।

यसप्रकार भगवान शंकरको हृदयस्थित मानसरोवरबाट प्रवाहित भइरहेको महामन्त्रको सदृश्य मानस कथाको व्याख्या गर्दै तुलसीदासजी भन्छन्-

मन्त्र महामनि बिषय व्याल का
 मेटत कठिन कुअंक भाल के।।

त्यो नामरूपी महामन्त्र यस्तो अद्भुत मणि हो जसको स्मरण गर्नाले मात्र संसारको विषय-वासनारूपी सर्पको विष तत्काल समाप्त हुन्छ । त्यो महामन्त्रले हाम्रो भागमा (निधार) लेखेको कठिन, नमेटिने नराम्रो लेखलाई पनि मेटाइदिन्छ । हाम्रो भाग्यलाई उल्टाइदिन्छ, यस्तो छ त्यो परम शक्तिशाली प्रभुको नामरूपी मन्त्र।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ