arrow

बारम्बार आणविक परीक्षण गर्दै विश्वसामू आफ्नो शक्ति प्रदर्शन गर्ने देश उत्तर कोरिया

आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरुले हठको सङ्ज्ञा दिएका छन्

logo
मोहिनी मिश्र रिसाल
प्रकाशित २०७२ चैत २८ आइतबार
Kim_Jong_UN.jpg.jpeg
काठमाडौँ। विश्व मानचित्रमा लगभग एक्लिएजस्तो देखिने उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरुले हठको सङ्ज्ञा दिएका छन् । यो हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता बढाएको धारणा उनीहरुको छ । दई हप्तामात्र अघि संयुक्त राज्य अमेरिकामा भएको आणविक विषयको सम्मेलनमा यस्तै प्रतिक्रिया विश्वका नेताहरुले व्यक्त गरे । 
 
त्यस सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका नेताको सहभागिता थियो । उनीहरुको चिन्ता पनि उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणमा केन्द्रित थियो । उनीहरुले उत्तर कोरियाको यस कार्यलाई हठको संज्ञा दिएका छन् । विश्वले नै बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नुलाई हठबाहेक अरु केही भन्न नसकिने उनीहरुको भनाइ छ । तर उत्तर कोरिया भने उनीहरुका विरुद्ध खनिन छोडेको छैन । उसले गतहप्ता एक उत्तेजक भिडियो बनायो वासिङ्टनमा बम हानेको । त्यस्तै दुई दिनअघि पनि दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयमा हानेको अर्का त्यस्तै प्रचारक भिडियो बनाएको थियो । जसलाई संसारले नै निन्दा पनि गरेको छ । 
 
शुक्रबार उत्तर कोरियाका एकजना उच्च अधिकारीले निकै नै आपत्तिजनक शब्दमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाईलाई गालीगलौज गरे । जुन शब्द यति आपत्तिजनक छ कि त्यसले हाईको मानहानी गरेको स्पष्ट देखिन्छ । तर यसप्रति दक्षिणले भने त्यस्तो कुनै आक्रामक प्रतिक्रिया दिने गरेको छैन । 
 
विश्वका प्रायः देशसँग राम्रो सम्बन्ध नभएको देश उत्तर कोरियाले पछिल्लो समयमा किन यस्तो उत्तेजक कार्य र प्रचार गर्ने गरेको हो भन्ने उत्सुकताको विषय हो । बारम्बार आणविक परीक्षण गर्दै विश्वसामू आफ्नो शक्ति प्रदर्शन गर्ने देश उत्तर कोरिया गएको केही समययता त निरन्तर रुपमा नै आणविक परीक्षण गरेको छ । 
 
आणविक परीक्षणको कारण नै उत्तर कोरियालाई पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी लगाएका छन् । तर उसले भने सो नाकाबन्दीको विरोधगर्दै पुनः परीक्षणको तयारीसमेत गरेको छ । बारम्बाारको यस परीक्षणले भाषा, संस्कृति र रगतको नातासमेत रहेको दुई कोरियाबीचको सम्बन्ध पनि झनै बिग्रिदो अवस्थामा रहेको छ । उत्तर कोरियाको कुनैपनि परीक्षणका विरुद्धमा आफुहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले दाबी गर्ने गरेको छ । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा गरेको लामो दूरीको रकेट परीक्षणपछि निरन्तर रुपमा व्यालेस्टिक क्षेप्यास्त्रसमेत परीक्षण गरेको थियो । 
 
सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि देशसँगै आफन्तहरु पनि छुट्टिएका छन् । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुने गरेको पाइन्छ । बाबु छोरा, दिदीबहिनी, भाईभाईको नाता रहेको यी दुईदेशलाई आणविक परीक्षणले आपसमा झन् शत्रुता थपिरहेको छ । यसले आपसमा झन् बेमेलको स्थिति पैदा गर्ने गरेको छ । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको छ । लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । गत फेब्रुअरी ६ बाट उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरियाविरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसङ्घलाई सघाएका हुन । 
 
उत्तर कोरियाको बेलाबेलाको धम्कीले अर्थात पुनः अर्का शक्तिशाली आणविक परीक्षण गर्न सक्ने सङ्केतले गर्दा दक्षिण काोरियालाई एक टाउको दुखाइको विषय बन्दै गएको छ । उत्तर कोरियाले आणविक परीक्षणको सङ्केत दिनेबित्तिकै दक्षिण कोरियाले सेनालाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुपर्ने हुन्छ । हालै उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणपछि दक्षिणी कोरियाली राष्ट्रपति पार्क गेउन हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापलाई बढाउन आग्रह गर्नुभएको थियो । 
 
उत्तर कोरियाको निहुँ खोज्ने तरीका यही परीक्षणमा नै झल्केको देखिन्छ । त्यस्तै बेलाबेलामा छिमेकी एवम् अमेरिकालाई तर्साउने, दक्षिण कोरियाका आधिकारिक फोनहरु ह्याक गर्ने गर्दछ । केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा हानेको भिडियो सार्वजनिक गरेको थियो भने सरकारी वेभसाइटमा यो भिडियो गत मङ्गलबार मात्र राखिएको थियो । यस भिडियोमा उत्तर कोरियाका तर्फबाट पटकपटक दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा रकेट हमला गरेर ध्वस्त बनाएको देखाइएको छ । यसअघि पनि उत्तर कोरियाले वासिङ्टनमा यसैगरी रकेट हानेको भिडियो सो वेभसाइटमा राखेको थियो । उत्तरले पछिल्लो समयमा गरेका यी क्रियाकलापहरुलाई उत्तेजनात्मक भनी विश्वव्यापी रुपमा विरोध भइरहेको छ । 
 
इतिहासको पाना पल्टाउँदा दक्षिण र उत्तर कोरिया विभाजनपश्चात् सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्मको तीन वर्ष एक महिनाभन्दा बढी समयसम्म चलेको युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाएका थिए । नागरिकका भाषा, वेशभूषा, धर्म, संस्कृति, संस्कार, इत्यादि मिल्दोजुल्दो भए पनि त्यस बखतदेखि नै दुई राष्ट्रका राजनेताबीच परम शत्रुता चल्दै आएको र युद्धको लगभग पाँच दशकपश्चात् दुई राष्ट्रबीच सम्बन्धमा केही सुधार आएको भए पनि पुनः आणविक परीक्षण सुरु गरेर सम्बन्धमा दरार आएको देखिएको छ । 
 
उत्तर कोरियाको वैदेशिक सम्बन्ध पनि कम्युनिष्ट राष्ट्रसँग मात्र राम्रो रहेको पाइएको छ । सन् १९६० देखि १९७० सम्म उत्तर कोरियाले स्वतन्त्र विदेश नीति अवलम्बन गरेको थियो । सन् २०१२ सम्ममा उत्तर कोरियाको १६२ राष्ट्रसँग कूटनीतिक सम्बन्ध रहेको र त्यसमा युरोपियन युनियनसँग समेत रहेको थियो । त्यसैगरी ४२ वटा राष्ट्रसँग उत्तर कोरियाली राजदूतावास रहेको छ । उत्तर कोरियाको बलियो द्विपक्षीय सम्बन्ध साम्यवादी राष्ट्र भियतनाम, लाओस र कम्बोडियासँग रहेको पाइन्छ । 
 
एकातिर उत्तर कोरियाले आफ्नो शक्ति आणविक परीक्षणबाट देखाउँदै जाने र अर्कातर्फ विश्वका नेताले यसलाई राष्ट्रसङ्घीय शान्ति र निशस्त्रीकरणको मूल्यमान्यता विपरीत भएको भन्दै एक्लाउने जाने क्रियाकलाप जारी नै छन् । यसरी यो शृङ्खला कतिसम्म जारी रहने हो वा यसले विश्वलाई अर्का विश्वयुद्धका लागि धकेल्ने त होइन भन्ने त्रास विश्वमा चर्चाको विषय छ । त्यसले विश्वमा आतङ्कवादसँगै अर्का चिन्ता यो पनि छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ