arrow

नेपाली फुटबलमा गणेश थापाको उदयदेखि पतनसम्म !

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
ganesh-thapa-new-pic.jpg.jpeg
काठमाडौं। वर्ष २०७२ नेपाली फुटबलका लागि सुरुवात देखि मध्यसम्म दुःखद् र कालो समय सावित भयो। वर्षको सुरुवातमा वैशाख १२ को भूकम्पले खेल मैदान तथा भौतिक संचनामा क्षति पुगेपछी जारी राष्ट्रिय लिग समेत रोकियो। पछि अखिल नेपाल फुटबल संघ एन्फाले अधिकांश खेल उपत्यका बाहिर खेलायो । अन्तिम चरणका खेल मात्रै राजधानीमा खेलायो । लिग सकिएपछि फुटबल गतिविधि खासै हुन सकेनन् । 
 
यस्तै, वर्षको मध्यान्तर अघि नेपाली फुटबलको कालो जालो (खेल मिलेमतो प्रकरण) र अखिल नेपाल फुटबल संघ एन्फामा लामो समय नेतृत्व गरेका गणेश थापाको भ्रष्टाचार प्रकरण नेपाली फुटबलले लहरै सामना गर्नु पर्यो । जहाँबाट नेपाली फुटबल समर्थक र नेपाली खेल जगत निराश बन्यो । लज्जित वातावरणकैबीच नेपाली फुटबल टोलीले भारतमा भएको ११औं साफ च्याम्पियनसिप खेल्यो । साफमा अपेक्षित प्रदर्शन गर्न सकेन । श्रीलंकासंग हार बेहोरेपछि नेपाल रित्तोहात घर फर्किन बाध्य भयो । 
 
पछि नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप र भारतमा भएको १२औं दक्षिण एसियाली खेदकुद सागको उपाधि जित्दै नेपाली फुटबलमाथिको कालो दाग मात्रै हटाएन । इतिहास रच्यो । वर्षको मध्यान्तरपछिको सयम नेपाली फुटबलका लागि ऐतिहासिक सिद्ध भयो । जसले भूकम्पको पीडा विर्सायो भने, नेपाली खेल जगतको नैराश्यता आशा र सम्भाव्यतामा बदलिदियो ।  
 
नेपाली फुटबलको सु–दिन फर्किन खेल मिलेमतो गर्ने खेलाडीको हातमा लागेको हत्कडी र नेपाली फुटबलको व्यवस्थापन खोक्रो पार्ने थापामाथिको प्रतिबन्ध र कारबाही नै महत्वपूर्ण रहेको विश्लेषण पनि कयौंले गरेका छन् । यद्यपि, त्यसको प्राविधिक कारण खोज्ने निकाय, सरकार आफै अस्थिर छ ।   
 
थापाको उदय   
विक्रम सम्वत् २०१७ सालमा जन्मिएका गणेश थापा सामान्य परिवारका होइनन् । पहिलेदेखि राज परिवार र राजाको शाही शासन सत्तासंग जोडिएको घरानाका व्यक्ति हुन् । थापा अहिले आफ्नै दाजु कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सांसद समेत छन् । दाजु कमल थापा अहिले उप–प्रधानमन्त्री छन् । १५ वर्षको उमेरमै २०३२ सालमा फुटबल क्षेत्रमा लागेका थापा २०३८ (सन् १९८२) मै राष्ट्रिय टोलीमा परे । संयोग भनौं वा उनलको भाग्य राष्ट्रिय टोलीमा परेकै वर्ष नेपालले विश्व फुटबल संघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारीक प्रतियोगिता खेल्यो । दिल्लीमा भएको सो प्रतियोगिता नै नेपालको पहिलो औपचारिक प्रतियोगिता थियो । 
 
थापा विक्रम सम्वत् २०४५ (सन् १९८९) सम्म राष्ट्रिय टोलीमा रहे । थापाको प्रवेशकै वर्ष नेपालले आधिकारीक पहिलो प्रतियोगिता खेल्नुमात्रै उनको जीवनको सफलता थिएन । २०४३ (१९८७) मा भुटानविरुद्ध खेल्दा नेपाली टोलीबाट नेपालको फुटबल इतिहासमा ह्याट्रिकको खाता थापाले नै खोले । उनले नै नेपाली फुटबल इतिहासमा पहिलो ह्याट्रिक गर्ने खेलाडीको नाम लेखाए । 
 
थापाले बंगलादेशको क्लबबाट समेत फुटबल खेलेका थिए । पछि २०५१ (१९९५) मा थापा अखिल नेपाल फुटबलसंघ एन्फामा प्रवेश गरे । २१ वर्षीय एन्फा यात्रामा थापा १९ वर्ष नेतृत्वमा रहे । दक्षिण एसियाकै फटबल इतिहासमा थापानै सबैभन्दा लामो समय फुटबल संघको नेतृत्व लिने अध्यक्ष ठहरिन्छन् । थापा दक्षिण एसियाली फुटल महासंघ, एसियाली फुटबल परिसंघको उपाध्यक्ष हुँदै २०६७ मा एसियन फुटबल महासंघको समेत उपाध्यक्ष भए ।
    
थापाको नैतिक पतनको पर्दाफास 
थापाले एन्फामा २१ वर्ष विताए । १९ वर्ष नेतृत्व तहमा बस्दा एन्फामा आर्थिक अनियमितता भएको भन्दै ४ वटा सरकारी छानविन समिति समेत गठन भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन घेरामा समेत थापा परे । गठन भएका समितिले एन्फाभित्र आर्थिक पारदर्शीता भएकै रिपोर्ट दिए भने, अख्तियारले समेत प्रमाण नपुगेको भन्दै छानविन गर्न मानेन ।
 
जसपछी थापा आफुमाथिको आरोप प्रमाणित भए झुण्डिन तयार छु भन्दै हिंडे । नभन्दै वर्ष २०७२ कार्तिक ३० मा थापालाई फिफाले भ्रष्टाचार गरेको प्रमाणित गर्दै सबै किसिमका फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगायो । जसबाट थापाको नैतिक पतनको पोल राम्ररी खुल्यो ।  फिफाको नैतिक तथा अनुशासन समितिले कार्तिक ३० मा विज्ञप्ति जारी गर्दै थापालाई सोही मितिदेखि लागू हुनेगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनैपनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
 
सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समिति र एसियन फुटबल परिसंघ (एएफसी) को चुनावमा थापाले पारिवारिक लाभ पुग्ने गरी घुस लिई भ्रष्टाचार गरेको आचार संहितासम्बन्धी कमिटीले ठहर छ । समितिले थापाले पटक–पटक पदको दुरुपयोग गर्दै आर्थिक अपचलन गरेको भन्दै फिफाले १० वर्षको प्रतिबन्ध लगाएको स्पष्ट पारिदियो ।  
 
थापालाई २० हजार स्वीस फ्र्यांक अर्थात् करिब २१ लाख रुपैयाँ जरिवाना पनि तोकियो । यद्यपि, थापाले भ्रस्ट्राचार गरी अकुत सम्पत्ति कमाएको विषय चर्चामा आइरहेकै बेला वर्ष २०७२ भदौ १३ गते राप्रपा नेपालले उनलाई संसद सदस्यमा नियुक्ति गर्न सिफारिस गरेकामा मन्त्रिपरिषद्को कोटामा थापा सांसद नियुक्त भए ।  थापा राप्रपा नेपालका अध्यक्ष एवं उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाका आफ्नै सहोदर भाई हुन् ।
 
त्यसअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ करोड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । संसदीय समितिले एन्फा अध्यक्ष थापाले अनियमितता गरेको ठहर गरे पनि लोकमान सिंह कार्की प्रमुख आयुक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान रोक्ने निर्णय गरेको थियो ।
 
थापाविरूद्ध अख्तियारले अनुसन्धान नगर्नुको पछाडी थापा—कार्कीबीचको पारिवारिक सम्बन्धनै मुख्य कडी रहेको टिप्पणी हुने गरेको छ । गणेश थापा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा कमल थापा गृहमन्त्री थिए भने कार्की ज्ञानेन्द्र सरकारका मुख्य सचिव थिए । यस्तै, अब त झन् लोकमानसिंह कार्की र कमल थापा, गणेश थापाको नाता नै गाँसिएको छ । कार्कीकी कान्छी छोरी आकृती कार्कीसंग उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाका भान्जा प्रवल थापाको विवाह भएसंगै साइनो गाँसिएको हो । प्रवलले आफ्ना मामा कमल थापा र गणेश थापालाई कार्कीको मामा सम्धी बनाइदिएका छन् । 
 
पतनमा छोराको पनि हात
गशेण थापाका छोरा गौरव थापाको चर्चा त्यति भएन । तर,एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हमामसंग एक लाख अमेरिकी डलर लगेको आरोप लागेको छ । उनले २०६५ मा हमामसंग रकम लिएका बताइन्छ । गौरवले खेलाडीको खेल मिलेमतोमा समेत सघाएको आरोप लाग्दै आएको छ । 
 
को थिए हमाम ? 
कतारी मोहम्मद विन हमाम सन् २००२ देखि २०११ सम्म एएफसीको अध्यक्ष रहे । यस्तै १९९६ देखि २०११ सम्म फिफाको कार्यकारी बोर्डमा सदस्य रहे । २०११ मा फिफाले उनीमाथि आजीवन प्रतिबन्धको निर्णय गरेकामा एक वर्षमै प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्धको निर्णयले उनी २०११को फिफा निर्वाचनमा उम्मेद्वार बन्न पाएनन् । उनले फिफाको निलम्बित अध्यक्ष सेफ ब्लाटरविरुद्ध चुनाव लड्ने निर्णय गरेका थिए । फिफाले पर्याप्त प्रमाण नपुगेको भन्दै हमाम माथिको अजीवन प्रतिबन्धको निर्णय २०१२ जुलाईमा फुकुवा गरेकामा ४ महिना पछि डिसेम्बरमै पुनः प्रतिबन्ध लगायो । हमामले ४ महिना मात्रै मोज गर्न पाए । 
 
हमाम संगको सम्बन्धले समेत बाबु छोरालाई नै संकटमा पार्ने काम गरेको छ । यी विभिन्न काण्डहरुले वर्ष २०७२ गणेश थापाको पतनको वर्ष सावित भयो । नेपाली फुटबलमा यसको दुष्प्रभाव रहयो नै । यद्यपि, नेपाली फुटबलले यस्तो नेतृत्वको विकल्प खोज्ने महत्वपूर्ण बाटो सरकारलाई देखाइदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ