- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भगवानले जब संसारको सृष्टि गरे जिवलाई बनाए तब सबैको लागि चालिस चालिस वर्षको आयु निर्धारण गरे । त्यसमा मनुष्यको आयु पनि जब चालिस वर्ष निर्धारित गरियो तब मुनुष्य भगवान भएको ठाँउमा पुग्यो र भन्यो,' प्रभु ! हे जगतका सृष्टिकर्ता !! तपाईले मलाई जुन आयु दिनुभएको छ त्यो निकै कम छ । भगवानले भन्नुभयो,' हे मानव आयुको भागवण्डा त मैले गरिसके । म तिमीलाई अरु आयु दिन सक्दिन तर कसैलाई सो आयु नचाहिए त्यसको आयु तिमीले पाउन सक्छौं ।'
केहि समयपछि भगवानको दरबारमा गधा आयो र भन्न थाल्यो, 'स्वामी तपाईले मलाई चालिस वर्ष आयु दिनुभएको छ । चालिस वर्षसम्म म कति बोझ उठाउ, कति बोकिरहु, ठाँउ ठाँउमा मानिस मलाई हिर्काउछन् । प्रभु मलाई यस्तो लामो यातना चाहिदैन । मेरो आयु केहि कम गरिदिनुहोस् ।' भगवानले भन्नुभयो, 'ठिक छ तिम्रो आयु कम गरिदिन्छु र सो आयु मनुष्यलाई दिन्छु ।' गधाको बिष वर्ष आयु कम गरेर भगवानले मनुष्यलाई दिनुभयो र भन्नुभयो, 'मानव यो बीस वर्षको थप आयु तिमी लेउ । अब त प्रसन्न छौ सन्तुष्ट छौ ?' मुनुष्यले भन्यो, 'भगवान् आयु जति पाए पनि कम छ यदि तपाईको भण्डारमा थप आयु भए मलाई दिनुहोस ।' भगवानले भन्नुभयो, 'मानव यदि अन्य कोहिले आयु छोट्याउन चाहे त्यो हिस्साको आयु पनि तिमीलाई दिनेछु ।'
केहि दिनपछि कुकुर भगवानको दरबारमा पुग्यो र भन्यो, 'प्रभु ! यो जुन आयु मलाई तपाईले दिनुभएको छ मलाई यत्रो आयु चाहिदैन । किनकि दिनभर मैले भुक्नुपर्छ र मानिसहरु मलाई कुटिरहन्छन् । यति धेरै मालिकको सेवा भक्ति गरेपछि पनि मानिसको सेवा गरेर पनि डण्डा खानुपर्छ । प्रभु म त यस्तो जीवनयापन गरेर दुखी भएको छु। मेरो आयु केहि कम गरिदिनुहोस ।' भगवानले भन्नुभयो, 'ठिक छ तिम्रो आयुबाट बीस वर्ष मनुष्यलाई दिन्छु ।'
भगवानले मनुष्यलाई बोलाउनुभयो र बीस वर्षको आयु थपिदिनु भयो र मनुष्यको कुल आयु अस्सी वर्षको भयो । भगवानले भन्नुभयो, 'मानव अब त तिमी सन्तुष्ट छौ ?' मनुष्यले भन्यो, 'महाराज केहि छैन तपाई अरु आयु दिनुहुन्छ भनेपनि म स्विकार गर्छु ।'
लामो समय अन्तरालपछि उल्लु पनि भगवानको दरबारमा पुग्यो र गुनासो गर्न थाल्यो, 'भगवान् तपाईले मलाई जुन चालिस वर्षको आयु दिनु भएको छ त्यो निकै ज्यादा छ । म दिनभर अन्धो भएर भट्कि रहन्छु रातमा मुस्किलले भोजन मिल्छ। कहि बसेर केहि बोल्न थाले भने मानिस अपशकुन भयो मार त्यो उल्लुलाई भन्दै मलाई खेदाउछन् । प्रभु यस्तो जीवनयापन, यति लामो समयसम्म बाच्न मेरा लागि कठिन छ । मेरो आयु कम गरिदिए तपाईको ठूलो कृपा हुनेथियो।'
भगवानले उल्लुको आयुबाट बीस वर्ष मनुष्यलाई दिए यसप्रकार मनुष्यको आयु सय वर्षको भयो। भगवान सोध्नुहुन्छ, 'मानव अब त तिमी सन्तुष्ट छौ ?' मनुष्य भन्छ, 'महाराज अब त लामो आयु मिल्यो, निकै भोग गर्न पाउनेछु।'
यसरी चालिस वर्षसम्म मनुष्य आफ्नो शारीरिक शक्तिको साथ पुरै यौवनसँग आफ्नो जवानीको सहायताले संसारको उपभोग गर्छ । चालिस वर्षपछि जब उसको आयु बढ्न थाल्छ उसले सोच्छ, 'ओहो परिवारको भरण पोषणको लागि मैले काम गर्नुछ र घरको बोझ उठाउनुछ। पत्नी बच्चाहरुको सेवा गर्नुछ ।' यस प्रकार घर गृहस्थीको बोझ उठाउदा उठाउदै उसको समय गधाको जसरी बित्छ। गधाको जुन आयु पाएको थियो उसले त्यसमा उसले घरको बोझ उठाउछ र जुन भगवानको चिन्तन गर्नु थियो त्यो विर्सन्छ । उसलाई केवल नुन, तेल र ग्याँसकै चिन्ता रहन्छ ।बाकि सबै विर्सन्छ ।
जब अझ समय बित्न थाल्छ तब उसले बुढो भएको महसुस गर्न थाल्छ । नाती नातीनाको विवाह गर्नु छ यी सबै चिन्ताले उसलाई सताउन थाल्छ । शरीर रोगको घर बन्न थाल्छ र दमको खोकीले कुकुरको जस्तो रातभर भुकिरहन्छ । छोरो भन्छ, 'अब तिम्रो कुनै काम हुन सक्दैन । दैलोमा बस र चौकिदारी गर। बच्चाको देखभाल गर।' यसप्रकार कुकुरको जस्तै घरको बच्चाहरुको देखभाल र चौकिदारिमा मानव लागि रहन्छ ।
आयु अझ बढ्दै जान्छ तब मानवको आँखामा मोतिबिन्दु निस्कन्छ । आखा देख्न बन्द हुन्छ र मानिस उल्लु बन्छ । स्थिति यो हुन्छ कि यदि उ बोल्छ भने उसको बोलि घरका अन्यलाई अप्रिय लाग्छ । भन्छन्, 'यो बुढा कहाबाट आयो मरेको भए राम्रो हुने थियो ।' तब उसलाई महसुस हुन्छ कि ओहो मेरो जीवन त अब उल्लुको जस्तो भएछ । लाठी, दाउराको सहारामा धर्तीमा हिर्काउदै उ आफ्नो बाटो खोज्न थाल्छ । आफै उठ्न नसकेपछि अन्यले उठाइदिए मात्र उ उठ्ने अवस्थामा पुग्छ ।
यसरी मनुष्यले आफ्नै भागको चालिस वर्ष बिताएपछि क्रमश गधा, कुकुर र उल्लुको जिन्दगी व्यतीत गर्छ ।