- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गुठी संस्थानका प्रमुख प्रशासक नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको छ ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१ नक्सालको नन्दीकेशर गुठीको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
काठमाडौं महानगर–१, नक्सालस्थित संस्थान मातहतको नन्दीकेशर गुठीको रैतानी जग्गामा जनआन्दोलन स्मारक पार्क निर्माण गर्न नेपाल सरकारले २०६६ पुस ६ मा निर्णय गरेको थियो । सोअनुसार गुठी अन्तर्गतको कि.न.४७९ को १९ रोपनी ३ आना २ पैसा ३ दाम जग्गाको नामसारी गरिदिन भनी २०६६ पुस २१ मा पत्रमार्फत संस्थानमा अनुरोध गरेको छ । सोही जग्गा पुनः गुठीमै कायम गराइदिन्छु भनी प्रशासक चौधरी र रेग्मीले घुस लिएका थिए । तर गुठी कायम गराउन नसकेपछि उक्त घुस फिर्ता गर्न खोज्दा उनीहरु पक्राउ परेका छन्।
प्रशासक नारायण चौधरी नापी विभागका पूर्व उपमहानिर्देशक हुन् । उनी काठमाडौंको तत्कालीन ६ नम्बर नापी गोश्वारादेखि डिल्लीबजार नापी कार्यालय जस्ता धेरै आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्ने पूर्व सहसचिव हुन् । ६ नम्बर नापी गोश्वाराको प्रमुख हुँदा काठमाडौका धापासीदेखि भक्तपुरसम्मका पचासौं रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिको नाममा नापी गरेको आरोप उनीमाथि छ । उनको अकूत सम्पत्तिमा पनि छानबिन हुनुपर्ने नापी विभागका कर्मचारी बताउँछन् । उनी २०७० मा घुस बुझाएर गुठीको प्रशासक नियुक्त भएका थिए । २०७३ मा कार्यकाल सकिएपछि उनी पुनः नियुक्त भए । तर केपी ओली सरकारले उनलाई अरु सबैलाई हटाउँदा हटायो । तर सर्वोच्च अदालतमा रिट हाली विगत डेढ बर्षदेखि अन्तरिम आदेश लिएर काम गरिरहेका थिए ।
जयप्रसाद रेग्मी जनकपुर गुठीदेखि काठमाडौं गुठीको प्रमुख भएर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका अर्का उपप्रशासक हुन् । रेग्मीले गुठीका सयौं रोपनी जग्गा हिनामिना गरेका छन् । उनी काठमाडौंको लामो समय प्रमुख भएका हुन् ।
जनकपुर गुठीमा हुँदा जानकी मन्दिरको घर नै नभएका जग्गामा पनि २०४५ अघि नै घर बनाइएको भन्दै करोडौं रुपैयाँ महन्तसँग मिलेर घुस खाएको आरोप रेग्मीमाथि लागेको छ । रेग्मी र गतबर्ष अवकाश पाएका उपप्रशासक दीपकबहादुर पाण्डेलाई गुठीको जग्गा हिनामिना गरेकोमा जनकपुरमा जनसमुदायले कालोमोसो नै दलेका थिए । जानकी गुठी, राम मन्दिरको गुठी र बेला गुठीको हजारौं रोपनी जग्गा महन्तसँग मिलेर ब्यक्तिका नाममा दर्ता गर्ने काम संस्थानका रेग्मी र पाण्डेले गरेका थिए । रेग्मीले गुठीको देवस्व खाएबापत अख्तियारको हिरासतमा जानुपरेको छ भने पाण्डेमाथि संस्थानले पोखराको जग्गाको समेत छानबिन गरिरहेको छ ।