arrow

सधै राम्रो लेख्न पाइयोस; नयाँ बर्ष २०७३को शुभकामना

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७३ वैशाख ४ शनिबार
hny2073.jpg.jpeg
काठमाडौँ। तपाई हाम्रो घर आँगनमा नयाँ बर्ष २०७३को पहिलो किरण परिसकेको छ। नयाँ बर्षको पहिलो किरणले तपाई हामीलाई नयाँ उत्साह दिएको छ। २०७२ साल प्राकृतिक, राजनीतिक र आर्थिक रुपले हामीमाथि जसरी वज्रिएपनि यस्तो नियती नदोहोरिने आशामा नयाँ बर्षको शुभारम्भ सबैले गरेका छन्। एक अर्कामा शुभकामना पनि २०७२ लाई भुलाउने प्रयास छ। देशले २०७२ सालमा दशकौदेखि नेपालीहरुले आफ्नै प्रतिनिधीबाट संविधान वनाउन देखेको सपना पुरा भयो। 
 
संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा नयाँ युग प्रारम्भ भएको उल्लेख राजनीतिक नेतृत्वले गरे। जनता खुसियाली मनाउन सडकमा आए। दिपावली भयो। तर तराई मधेशमा त्यो महाहौल बनेन। जनताले ६ दशकदेखि देखेको त्यो सपनालाई व्यवहारमा उतार्न देशले धेरै मुल्य चुकाउनु पर्‍यो २०७२मै। तराई मधेश केन्द्रीत राजनीतिक दलहरु आन्दोलित मात्र भएनन उनीहरुले नाका केन्द्रीत आन्दोलन गर्दा देशको अर्थव्यवस्था नै पछाडी धकेलियो। भलै देशको अर्थव्यवस्थालाई रेमिटेन्सको बलले धानिरहेको छ।
 
२०७२को शुरुवातमै देशको अर्थव्यवस्था र सामाजिक जीवन नै थिलथिलो वनाउने गरि भुकम्प गयो। भुकम्पमा परि हजारौले ज्यान गुमाए। हजारौंका अंगभंग भयो। खर्बौको व्यक्तिगत र सार्वजनिक सम्पतिमा क्षती पुग्यो। त्यसको मारबाट पार पाउन नपाउँदै राजनीतिक रुपमा संविधानको विरोधमा गरिएको आन्दोलनले देशको मेरुदण्ड नै कमजोर बनाउने काम भयो। आर्थिक रुपले टाट पल्टाउने प्रयासहरु भए। अनौपचारीक अर्थतन्त्र मौलायो। कालोवजारी संस्थागत रुपमा फस्टायो। सरकारले जनतालाई राहत दिने कार्यमा प्रसंसा पाउन सकेन। उल्टै जनताको ढाड सेकिने काम भयो। 
 
सरकारको नेतृत्वमा रहेकाहरु नयाँ नयाँ योजना बाड्नै व्यस्त रहे। रमाइला भाषण र उखान टुक्काको बर्षा भयो। काम भन्दा कुरा बढी भयो। हावाबाट विजुली निकाल्ने योजना सुनाएको प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणलाई जनताले सवै भन्दा बढी उडाए। यही नै सवै भन्दा बढी चर्चित हावा गफ भयो प्रधानमन्त्री ओलीको। हावाबाट विजुली निकाल्नका लागि उनले जिम्मेवारी दिने भनेको कम्पनी नक्कली रहेको पुष्टी भएको थियो। प्रधानमन्त्री ओलीले घरघरका चुलो चुलोमा ग्यासको पाईप जोड्ने कुरा सुनाए। मुलुकमा ग्यास नपाएर जनताले बजारमा पनि भोकै रहनु परेको, महिनौ लाईनमा बस्नु परेको र दाउराले पकाउनु परिरहेका बेला ओलीको यो हावादारी गफले जनतालाई थप पिडा दियो। उनीहरु ओलीको गफबाट हास्न भन्दा रिसाउन र उनीप्रति आक्रोस पोख्न तम्सिए। एक बर्षमा लोडसेडिङ अन्त्यको कुरा पनि तत्काल पुरा हुने छाँट छैन। राष्ट्रियताको सन्दर्भमा सन्तोष मान्न सकिए पनि त्यो फोस्रो सावित भयो। आर्थिक रुपमा सवल नभइ दिइने राष्ट्रियताको चर्का नारा फोस्रो हुन्छन भन्ने कुरामा ध्यान कम गयो। भारतसँग पेट्रोलियम पदार्थमा रहेको परनिर्भरता विद्युतमा पनि बढ्यो। फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा नेपालमा थप ८० मेगावाट विजुली पठाउने कार्यको शुभारम्भ गरे। अब नेपालको उज्यालो पनि भारतको एक स्वीचमा भर पर्‍यो। 
 
भारतसँग पेट्रोलियम पदार्थमा रहेको परनिर्भरता विद्युतमा पनि बढ्यो। फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा नेपालमा थप ८० मेगावाट विजुली पठाउने कार्यको शुभारम्भ गरे। अब नेपालको उज्यालो पनि भारतको एक स्वीचमा भर पर्‍यो। 
 
सालको अन्तिमतिर भारतसँगको सम्बन्ध सुधार र चीनसँग भएका व्यापार तथा पारवहन सम्झौता जस्ता विषयले राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा पनि स्थान पाएको छ। तर एउटा छिमेकीलाई घुर्क्याउने गरि अर्कोको शरणमा जाने जस्ता व्यवहार हुनुहुन्न। समानता र सहअस्तित्वको आधारमा हामीले हाम्रो छिमेकी र अन्तराष्ट्रिय शक्तिहरुसँग व्यवहार गर्नुपर्छ। यसतर्फ देशको नेतृत्वको ध्यान जानुपर्छ। 
 
२०७२को वैशाखबाट शुरु भएको दुख र पीडाको कथा पेश गर्ने यात्रा हामी जस्ता सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि पनि नियती नै बन्यो। बर्षको अन्त्यको दिन पनि खोटाङ र डोटीमा कहालिलाग्दो सडक दुर्घटनाको तस्विर पेश गर्न हामीहरु वाध्य भयौ। सबैतिर थिलथिलो हुँदा पनि मनलाई दह्रो बनाएर अघी बढ्न सक्नु हाम्रो शक्ति हो। तर यस्तो कतिन्जेल? आखिर मानिस न हो। उसको पनि मन छ। उसलाई दुख्छ। सानो कुरामा खुसी हुन्छ उस्तै गरि दुखी पनि हुन्छ। दुखको पहाड चढ्दा चढ्दा आत्तिन्छ। यस्तो बेलामा सानो सहाराले धेरै भरथेग गर्छ। यस्तो सहारा व्यक्तिगत रुपमा एकले अर्कालाई दिन सक्छ। सबैलाई सहारा दिने राज्य र यसका नेतृत्वकर्ता हुन। जनताले भरोसा चाहेका छन। राहतमा धेरै विश्वास छैन। भुक्मपमा परेका करिव ३० हजार नयाँ घर सरकारको राहत नकुरी जनताले बनाएर पनि यो देखाइदिएका छन्। त्यसैले सरकार भएको अनुभुति दिलाउने गरि भरोसा दिन सकोस। जनता आफै अघी बढ्छन्। 
 
अबको बर्ष नकारात्मक समाचारहरु कम हुँदै जाओस भन्ने कामना मात्र हैन यस्ता समाचार घटाउने गरि काम हुनु जरुरी छ।
 
अभाव दुख पीडा असन्तुष्टी भ्रष्टाचार अनियमितता लगायतका नकारात्मक समाचार पस्किदा हामीहरु पनि हैरान छौ। समाजको प्रतिविम्ब सञ्चारमाध्यममा पनि पर्छ। त्यसैले नकारातम्क नै सञ्चारमाध्यममा प्रतिविम्व भएको छ। अबको बर्ष नकारात्मक समाचारहरु कम हुँदै जाओस भन्ने कामना मात्र हैन यस्ता समाचार घटाउने गरि काम हुनु जरुरी छ। यसतर्फ हामी सबैको साझा प्रयास आवश्यक छ। यो बर्ष राम्रो समाचारको बर्ष होस र रहोस । विकास निर्माण र समृद्धीका समाचार लेख्न पाइयोस। चाहना छ र कामना पनि राम्रा समाचार लेख्न पाइयोस भन्ने। नयाँ बर्ष २०७३को सबै पाठक शुभेच्छुक विज्ञापनदाता र आम नेपालीहरुमा शुभकामना। तपाइ हामी सबैको राम्रो होस। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ