- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धम्बोझी । प्रदेश नं ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय शुभारम्भ बुधबार बर्दियाको ठाकुरद्वाराबाट गर्दैछ । प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशस्तरीय भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति बर्दियाका संयोजक शङ्करप्रसाद थारूले बताए ।
विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज पनि एक हो । यहाँ हात्ती सफारी, पैदल सफारी तथा जीप सफारीबाट पाटेबाघ र गैँडाको अवलोकन गर्न पाइन्छ । साथै मनोरम प्राकृतिक छटाले पनि यो निकुञ्जप्रति जो कोही मोहित हुन पुग्छ । ‘घुम्न जाऊँ बर्दिया’ मुख्य नाराका साथ बर्दियामा भ्रमण वर्षको तयारीलाई पनि तीव्र पारिएको छ ।
हलिउड नायक लियोनार्दो डिकाप्रियोसँग आएका फोटोग्राफरले निकुञ्जमा खिचेको फोटो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज बाघको खानी रहेको थाहा भएको प्रदेशसभा सदस्य तिलक शर्माले बताए । नायकसँग रहेका फोटोग्राफरले समूहमा रहेका बाघको फोटो सार्वजनिक गरेपछि अन्तर्राष्ट्रियजगत्मा बाघको वैभव भनेर बर्दिया जिल्ला चिनिन थालेको हो । यस वर्षको पर्यटन वर्ष बर्दियाबाट शुरु भएपछि बर्दियाको उचाइ अझै बढेको शर्माले बताए ।
बर्दियामा बाघ, गैँडा र हात्ती हेर्न हजाराँै पर्यटक आउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने । ‘घुम्न जाऊँ बर्दिया’ मुख्य नाराका साथ पर्यटन वर्षमा बर्दियामा जङ्गलको राजा पाटेबाघ बाघ हेर्न प्रदेश नं ५ का ३०० पत्रकारसमेत आउन लागेका छन् ।
घुम्नैपर्ने बर्दिया उही स्थान हो, उही गन्तव्य हो तर अहिले पहिचान फरक भएको छ । एक दशकअघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज ओझेलमा थियो । पाटेबाघकै कारण अन्तरराष्ट्रिय जगत्मा बर्दिया चिनिएको छ ।
बर्दियामा एक मात्र पिलर भएको कर्णाली पुल, ठाकुरबाबा मन्दिर, थारू सङ्ग्रहालय, गोही प्रजनन केन्द्र, मधुवन नगरपालिकाको खाटा करिडोरमा ८७ बाघ, ३७ गैँडा र १०० जङ्गली हात्ती छन् । राजापुर नगरपालिकामा पर्ने कर्णाली ९गेरुवा०मा छ डल्फिन, गेरुवा गाउँपालिका पर्ने बाह्रसिङ्गे जरायो क्षेत्रमा नेपालकै दोस्रो धेरै ७९ बाह्रसिङ्गे जरायोे छन् ।
स्तनधारी ६१, संरक्षित प्रजाति १०, पक्षी ४३४ मध्ये संरक्षित प्रजाति छ, घस्रने वन्यजन्तु ४२, संरक्षित प्रजाति तीन, माछा प्रजाति १२०, साल वन ७० प्रतिशत, सुनगोही, घडियाल गोही मुख्य गरी कर्णाली नदी, बबई नदी, औरिही, करेलिया खोला, महेन्द्र राजमार्ग दानव ताल निकुञ्जभित्र छन् ।
गुलरिया नगरपालिकामा ७०८ बिघामा फैलिएको कृष्णसार संरक्षण क्षेत्रमा विश्वकै दुर्लभ २२९ कृष्णसार छन् । बारबर्दिया नगरपालिकामा परेवाओढार, रानी जरुवा, सत्तखोलुवाताल छन् । बढैयाताल गाउँपालिकामा १०७ बिघामा फैलिएको बढैयातालमा ४३४ प्रजातिका साइबेरियाली चरा पाइन्छ । बाँसगढी नगरपालिकामा १०८ फिट अग्लो शिवलिङ्ग भएको धार्मिक तीर्थस्थल ओम केदाश्वरधाम छ ।
पैदल जङ्गल सफारी, हात्ती सफारी, जीप सफारी गर्दै पाटेबाघ हेर्दै राति निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र रहेका ६२ थारू घरबासमा थारू संस्कृतिको नाचगान, थारू वेशभूषा गरगहना, देवीदेउता, थनुवा, ठाकुरबाबा मन्दिर, धार्मिक तीर्थस्थल बागेश्वरी मन्दिर, कोटहीलगायत सयौँ मठमन्दिरहरु हेर्दै थारूका विभिन्न परिकार चाख्न पाइन्छ ।
निकुञ्ज आसपासमै ३५ होटलले पर्यटकीय गन्तव्यको पहिचान दिएको बर्दिया जिल्ला समन्वय समितिका संयोजक शङ्करप्रसाद थारूले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष २४ हजार ५५८ पर्यटकमध्ये सात हजार ४५५ विदेशी पर्यटकले अवलोकन गरेको तथ्याङ्क छ । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ९६८ वर्गकिलोमिटरमा फैलिएको छ । निकुञ्जमा २६३ उपभोक्ता समिति, १९ मध्यवर्ती व्यवस्थापन समिति, १३३ मध्यवर्ती सामुदायिक वन समूह गठन भएका छन् ।
सन् २००८ को गणनाअनुसार बर्दिया निकुञ्जमा १४ बाघ थिए । सन् २०१३ को गणनामा निकुञ्जमा बढेर बाघको सङ्ख्या ३७ पुगेको थियो । सन् २०१८ मा गरिएको गणनामा बाघको सङ्ख्या ८७ पुगेको छ । आगामी गणनामा बाघको सङ्ख्या १०० पुग्ने निकुञ्ज कर्मचारीको अनुमान छ । (प्रजनन गर्न सक्ने) वयस्क बाघको गणना हुने भएकाले निकुञ्जमा १०० को हाराहारीमा बाघ रहेको निकुञ्ज कर्मचारीको भनाइ छ ।
सँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले विस्तार गरेपछि बर्दिया निकुञ्जमा बाघको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । पछिल्लो समयमा निकुञ्जभित्र बाघको सङ्ख्या बढ्दै गएपछि पूर्वपश्चिम राजमार्गको अम्रेनी र चिसापानी पोष्ट नजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन् । कहिलेकाहीँ पूर्वपश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्केर बाटोमा बस्दा केहीबेर ट्राफिक जामसमेत हुने गरेको छ ।
विसं २०४२ सम्म बाघको सङ्ख्या न्यून भएको पूर्व वार्डेन रमेश थापाले बताए । “निकुञ्जमा बाघ संरक्षणमा ठूलो चुनौती थियो”, उनले भने, “बाघको पाइला गनेर बाघको सङ्ख्या अनुमान लाथ्यो ।” उनका अनुसार सचेतना, बाघको बासस्थान र आहारा प्रजातिको उचित व्यवस्थापन नहुँदा बाघको सङ्ख्या न्यून थियो । अहिले आहारा र पानीको व्यवस्थापनसँगै बाघ बढेका छन् ।
चोरीसिकार नियन्त्रणका लागि युवा परिचालनले बाघ संरक्षणमा टेवा पुगेकाले अहिले भ्रमण वर्षमा युवाहरुले पनि पाहुनाको सत्कारका लागि तयारी गरिरहेका छन् । “वयस्क बाघले बासस्थान र बघिनीले बाघबाट डमरु बचाउन हिँड्डुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिने पर्यटकहरुले पाउनुहुनेछ”, पूर्व वार्डेन थापाले भने ।
बाघ बढेपछि पर्यटन व्यवसायी उत्साहित भएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहन थारूले बताए । उनका अनुसार नेचर गाइडले पहिले बाघ देखाउनका लागि एक सातासम्म रातभर जङ्गलमा बस्नुपथ्र्यो । “तर अहिले त्यसो गरिरहनु पर्दैन, निकुञ्जमा बाघ सहजै देख्न सकिन्छ, अहिले निकुञ्जमा समूहमा बाघ भेटिन थालेका छन्, बाघ हेर्न निकुञ्ज आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ”, उनले भने ।
उनले भ्रमण वर्षमा बर्दिया आउने पर्यटकका लागिसम्पूर्ण तयारीमा जुटिसकेको बताए । स्थानीयस्तरमा गठन गरिएको चोरी–सिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुञ्ज प्रशासनको सक्रियताले बाघको सङ्ख्या बढेको उनले बताए । “बर्दिया निकुञ्ज घुम्न आउने पर्यटकको उद्देश्य बाघ देख्ने हुन्छ”, उनले भने, “पाहुनाले बाघ देखेको कुरा सुन्न पाउँदा धेरै खुशी लाग्छ ।”
बाघ संरक्षणकै लागि विगतदेखि संवेदनशील क्षेत्रमा नेपाली सेनाको पोष्ट थपेर निकुञ्ज प्रशासनले सुरक्षा रणनीति अपनाएको संरक्षण अधिकृत बरालले बताए । बरालका अनुसार आहार प्रजाति, पानीको व्यवस्थापन र शून्य चोरी सिकारले गर्दा पाटेबाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
पाटेबाघ भारत, नेपाल, भूटान र बङ्गलादेशका सीमित क्षेत्रमा पाइन्छ । प्राकृतिक बासस्थानमा सबैभन्दा बढी भारतमा पाटेबाघ पाइन्छ । भारतमा पाटेबाघको सङ्ख्या दुई हजार २२६ रहेको छ । यस्तै, नेपालमा २३५, बङ्गलादेशमा १०६ र भूटानमा १०३ पाटेबाघ छन् ।