arrow

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
us-senate.jpg

वासिङ्टन। अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ। बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन्। प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराएका थिए। माथिल्लो सदनका कुल १०० सदस्यहरु मध्ये ९९ जनालाई उनले सपथग्रहण गराएका थिए।

सपथग्रहण गर्ने सवैले सपथग्रहणका क्रममा “पक्षपात रहित न्याय” गर्ने कसम खाएको समाचारमा जनाइएको छ। उनीहरुले महाअभियोग प्रस्ताव माथी स्वविवेकले आफ्नो मत जाहेर गर्ने बताएका थिए। महाअभियोग प्रस्तावमाथी माथिल्लो सदनमा आगामी मङ्गलबारदेखि प्रधानन्यायाधिश रोबर्टसको अध्यक्षतामा सुनुवाई हुनेछ।

सुनुवाईका क्रममा दुवै पक्षले आ आफ्नो पक्षमा तर्क र प्रमाणहरु पेस गर्दै आफ्नो पक्ष सही भएको दाबी गर्ने भएका छन्। हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेकाले बिहीबारदेखि माथिल्लो सदनमा प्रक्रिया सुरु भएको हो। 

माथिल्लो सदनमा ट्रम्पविरुद्धका आरोपहरू पढेर सुनाइएको थियो। आरोपपत्रमा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्गन गरेको, शक्तिको दुरुपयोग गरेको, कङग्रेसको प्रक्रियामा अवरोध पुर्‍याएको लगायतका आरोपहरु उल्लेख गरिएको छ।

आरोपपत्रमा उल्लेखित सवै आरोपको राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्दै खण्डन गर्दै आएका छन्। सिनेटबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने प्रावधान रहेको छ। माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको संख्या धेरै रहेकाले पार्टीको लाईनअनुसार मतदान भएमा महाअभियोगको पक्षमा दुई तिहाइ पुग्ने संभावना कम देखिएको छ।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका ’अन्धसमर्थक’ नबन्न र स्वविवेक प्रयोग गर्न आह्वान गरेकीछिन्। उनले महाअभियोग सम्वन्धी कागजपत्रले राष्ट्रपति ट्रम्पले गलत काम गरेको पुष्टि भएको दाबी गर्दै उनलाई गलत कामप्रति जवाफदेही बनाउन महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिइन्।

उनले भविष्यमा पनि कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसक्ने गराउनका लागि पनि अहिले महाअभियोग लगाउनु पर्ने तर्क गरीन्। तर ट्रम्पका समर्थक तथा रिपब्लिकन सांसदहरूले भने महाभियोग प्रक्रियालाई ‘पक्षपातपूर्ण आक्रोशबाट प्रेरित कदम’ को संज्ञा दिदै आएका छन्। हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो। अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ