arrow

८१ महिलाले सिके सिलाई कटाई सीप

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख ४ शनिबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। पछिल्लो तीन वर्षको अवधिमा तेह्रथुमको सुदुरपुर्वी ह्वाकु गाविसका ८१ जना महिलाले रोजगारमुलक सिलाई कटाई सीप सिकेका छन्। गाउँ विकास समितिको सहयोगमा महिला अधिकार मन्च र महिला सरोकार मञ्चले विभिन्न चरणमा सन्चालन गरेका तालिमहरुमा सहभागी भई आर्थिक स्तरवृद्धिका लागि गाउँका बेरोजगार गृहणी महिलाहरुले सिलाई कटाई सीप सिकेका हुन्।
 
यसवर्षबाट आधारभुत सीप लिइसकेका ती महिलाहरुलाई रिफ्रेसर तालिम समेत सन्चालन भइरहेको महिला अधिकार मञ्च ह्वाकुकी अध्यक्ष कविता लिम्बुले बताइन। महिलाहरुले सिलाई कटाई सीप प्रदानकालागि संस्थागत रुपमै मेसिन लगायत औजार र अन्य सामाग्रीहरु समेत खरिद गरिसकेका छन्।
 
आयआर्जनका क्रियाकलापमा महिलाहरुको संलग्नता बढाउने उदेश्यले सिलाई कटाई तालिम सन्चालन गरिरहेको मञ्चकी अध्यक्ष लिम्बुले बताइन। तालिममा सीप सिकेका महिलाहरुले अहिले घरमै सिलाई कटाई व्यवसाय सन्चालन गर्न थालिसकेका छन्। सीप सिकेपछि मेसिन खरिद गरेर अहिले डेढ वर्षदेखि आफैँले घर, छरछिमेकका कामहरु गरिरहेको ह्वाकु–२ की सीता गुरुङले बताउछिन्। 
 
सीप सिकेपछि घरका कपडा बोकेर टेलर्स कहाँ धाउनु परेको छैन, उनले भनिन्–त्यो बाहेक गाउँ टोल र छिमेकका कपडा समेत सिलाएर मासिक ५ हजार बढी आम्दानी गर्छु। घरमा भान्साको काम भ्याएर सिलाई कटाई गर्नुपरेकाले सोचेजति प्रगति नभएपनि केही हदसम्म सहज भएको ह्वाकु–७ की मुना विष्टले बताइन।
 
सिलाई कटाई सीप सिकेपछि आफुमा आत्मनिर्मरता बढेको महसुस हुने गरेको महिलाहरु बताउँछन्। परम्परागत रुपमा गाउँ ठाउँमा दमाई जातिले मात्र गर्ने भनिएको सिलाई कटाई पेशा समय वित्दै जाँदा सोचमा परिवर्तन आएको छ। आजभोलि समाजमा दमाई जातिले भन्दा अन्य जातिले यो पेशामा प्रगति गरेको प्रशस्तै देख्न सकिन्छ।
 
मेहिनेत गर्न जाने कुनै पनि काम सानो ठुलो हुँदैन भन्ने बुझेर नै आफुहरुले सिलाई कटाई सीप सिकेर टेलर्स सन्चालन गर्ने सोच बनाएको विष्टले बताइन। महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन आफुहरुले थालेको अभियानबाट आज गाउँका धेरै महिलाहरु आत्मनिर्भर हुनेक्रम बढेको महिला सरोकार मञ्च ह्वाकुकी अध्यक्ष शुशिला थिङलाबुले बताइन। 
 
गाउँमा महिलाहरुको चेतनामा अभिवृद्धि भएसँगै अहिले गाविसबाट विनियोजित हुने महिला शशक्तिकरणको बजेटपनि महिलाहरु आफैँले सदुपयोग गर्न थालेका छन्। तीन वर्ष अघि गाउँमा महिला अधिकारका विषयमा वकालत गर्न देउराली सोसाइटीले गठन गरिदिएको महिला अधिकार मन्चकै माध्यमबाट गाउँका महिलाले आफ्नो दैनिकी बदल्ने क्रम रहेको अध्यक्ष लिम्बुले बताइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ