arrow

महरा आक्रोसको रहस्य खुल्यो, योगेश र महराको यस्तो छ कनेक्सन

मन्त्रीलाई ताली सचिवलाई गाली, आफ्नै संस्थालाई लाखौं बजेट

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
regmi-mahara.jpg

काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिईओ) का लागि सिफारिस गरिएका ३ जना ब्यक्तिको नम्बरमा अस्वभाविक अन्तर देखिएको छ। पर्यटन बोर्डका सदस्य विप्लप पौडेल अध्यक्ष रहेको सिईओ छनोट समितिले डा. धनन्जय रेग्मीलाई अस्वभाविक नम्बर दिएको पाइएको छ।

डा. रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई समितिले सीईओका लागि सिफारिस गरेको थियो। सिईओ छनोट समितिले डा. रेग्मीलाई ३६ नम्बर दिएको छ भने बस्ताकोटी र ऐरलाई समान २६ नम्बर दिएको छ। बस्ताकोटी र ऐरभन्दा १० नम्बर फरक डा. रेग्मीले पाएको तथ्य र कारण समेत दिनुपर्नेमा नदिइएको स्रोतको दावी छ। 

लोकसेवा आयोगले परीक्षामा १–२ नम्बर बढीघटी दिंदा पनि कारण दिनुपर्छ। तर पर्यटन बोर्डकै सिईओ छनोट समितिले १० नम्बर फरक दिंदा आधार र कारण दिन नसकेको स्रोत बताउँछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डा. धनन्जय रेग्मीलाई सिईओ बनाउनका लागि अस्वभाविक रुपमा नम्बर राख्न छनोट समितिलाई निर्देशन दिएको पर्यटन मन्त्रालयका एक अधिकारी बताउँछन्। 

मन्त्री भट्टराईको निर्देशनपछि सीईओ छनौट समितिका अध्यक्ष विप्लव पौडेल, सदस्यद्वय घनश्याम उपाध्याय र कृष्णबहादुर महरा क्षेत्री सम्मिलित समितिले रेग्मीलाई नै बनाउनेगरी अस्वभाविक नम्बर दिएको खुलासा भएको छ।

छनोट प्रक्रिया नै अपारदर्शी भएकोले सिईओ नियुक्तिको प्रक्रिया नै रद्द गर्ने निचोडमा प्रधानमन्त्री कार्यालय पुगिसकेको छ। माघ ३ गते नै सिईओ छनोट गर्न लागिएकोमा आइतबार सारियो। आइतबार डा. रेग्मीको सहित तीन जनाको नाम सार्वजनिक भयो। 

सोमबार बिहान डा. रेग्मीलाई नियुक्ति गर्ने तयारी भएपछि एकाएक अर्को सूचना प्रकाशित नभएसम्मका लागि बोर्डको सिईओ प्रक्रिया रोकिएको छ। यसैबीच, सिईओ छनोट रोकिएपछि बोर्डका सदस्य कृष्णबहादुर महराले फेसबुकमै आक्रोस प्रकट गरे। उनले पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नै सिईओ नियुक्ति रोकेको आरोप पनि लगाएका छन्। र, उनको सिईओ नियुक्त हुन नदिने खेल सफल हुन नदिने चुनौती दिएका छन्। 

पर्यटन बोर्डका सदस्य र सिईओ छनोट समितिका समेत सदस्य रहेका महराले बोर्ड अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीप्रति आक्रोस प्रकट गर्नुको रहस्य खुलेको छ। उनले पर्यटन बोर्डका पर्यटन बोर्डबाट सुदूरपश्चिमको पर्यटन विकासका नाममा चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ लगेका छन्।

महराको पर्यटन विकास समाज(टीडीएस) नामक संस्थालाई उक्त रकम बोर्डले दिएको छ। बोर्डको अनुसन्धान, योजना तथा अनुगमन महाशाखाले चालु आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश तथा स्थानीय विकास साझेदार संस्था टीडीएस लगायत संस्थाहरुको सहकार्यमा पर्यटकीय प्रोफाइलसहित प्रदेशको १० बर्षे पर्यटन गुरुयोजना तर्जुमा गर्ने शीर्षकमा ५० लाख दिइएको छ। त्यसैगरी महराको पर्यटन विकास समाजलाई बोर्डले आर्थिक बर्ष २०७५–०७६ मा पर्यटन सम्पदा तथा संस्थागत विकास महाशाखाबाट पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु गर्ने शीर्षकमा १८ लाख रुपैयाँ भुक्तानी लिएका छन्।

सोही आवमा महराको संस्थाले होर्डिङ बोर्ड राख्नका लागि अर्को २० लाख बजेटको काम लिएको छ। यसरी महराले पर्यटन बोर्डको सदस्य भएर आफ्नै हात जगन्नाथ जस्तै गरी आफ्नै संस्थालाई पर्यटन प्रबद्र्धनका नाममा बजेट छुट्याउन लगाएको खुलेको छ।

अख्तियारको दुरुपयोग गर्ने बोर्ड सदस्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्नुपर्ने माग हुन थालेको छ। बोर्डका सदस्यहरुले पर्यटन पर्यबद्र्धनको बजेट कसरी दुरुपयोग गर्दछन् भन्ने यो एक उदाहरण हो। यसरी मनपरी बजेट खर्च गरेकाले महरा सिईओमा आफूलाई अनुकूल हुने डा. रेग्मीलाई ल्याउनका लागि मन्त्री भट्टराईसँग मिलेको आरोप छ। तर प्रधानमन्त्री कार्यालयबाट रोकिएपछि उनी आक्रोसित भएका छन्।

भोलि आफू अनुकूलको सिईओ नआएमा उनले बोर्ड सदस्य पदको दुरुपयोग गरी लगेको बजेटको पारदर्शीता खोजी हुने र अख्तियारले छानबिन हुने त्रासमा रहेको स्रोतको दावी छ। बोर्ड सदस्य महराले सोमबार सिईओ नियुक्ति नभएपछि सचिवका कारण नभएको भन्दै फेसबुकमा आक्रोस प्रकट गरेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ