शिवपुरी बाबालाई भेट्न आएका सात सय बर्षीय युवा को थिए ?

शिवपुरी बाबाको ५७ औँ पुण्यतिथि बिशेष

गोबिन्द अधिकारी, प्रकाशित मिति : २०७६ माघ १२ आइतबार

काठमाडौं । शिवपुरी बाबा भन्ने वित्तिक्कै एक आध्यात्मिक चिन्तकको चित्र मानसपटलमा आउने गर्छ । काठमाडौंको उत्तरको शिवपुरी जंगलमा आफ्नो आश्रम बनाएर बसेका भारतका केरलामा जन्मेका गोविन्दानन्द भारती कालान्तरमा शिवपुरी बाबा भनेर प्रख्यात भए।

बाबा पहिलोपटक बिक्रम संवत १९०३ मा आफ्ना बाजेका साथमा कोतपर्वको समयमा नेपाल आएका थिए। जताततै सैनिकहरू बन्दुक लिएर हिँडेको देखेपछि बस्नु उचित हुँदैन भनेर उनीहरू त्यसबेला पशुपतिनाथको दर्शन गरेर फर्किए। उनीहरु बागमतीको किनारै किनार भएर काठमाडौं उपत्यका पसेका थिए ।

उनै शिवपुरी बाबा दोस्रोपटक १०० वर्षको उमेरमा विक्रम संवत् १९८२ मा कैलाश मानसरोवर हुदै नेपाल आएका थिए । आफ्नो जीवनको अन्तिम भाग नेपाल मै बसेर बिताउने निर्णय गरेका उनले यहि समाधी लिएका थिए ।

नेपाल प्रवेश गरेपछि केही दिन पशुपति राजराजेश्वरी सत्तलमा बिताएका बाबाले पशुपति मन्दिरको पूर्वकोकुटीमा र गौरीघाटको पूर्वतर्फको किराँतेश्वरको थुम्कामा कुटी बनाई बसेका थिए । त्यसैगरी उनी केही समय गोकर्णेश्वर महादेवस्थानको दक्षिणपूर्वतर्फको जङ्गलमा तथा बुढानीलकण्ठको उत्तरतर्फ रहेको शिवपुरी डाँडामा पनि बसे ।

बाबालाई काठमाडौं आएको भोलिपल्ट माधव तिमिल्सिना (माधव बाजे) का बुवा सूर्यनाथ शर्माले भेटेछन् । सो समय सूर्यनाथ दिनैपिच्छे पशुपति जाने गर्दथे। उनको संयोगबश बाबसँग भेट भएको उनका उत्तराधिकारीहरु अहिले पनि सम्झिन्छन्। उनी मांसहरी थिए तर भेट भएसँगै भोलिपल्टबाटै उनी आध्यात्मिक मार्गमा अघि बढे । मांसाहार प्रथा परिवारमा बन्द भयो । बाबाको सेवामा लागे । सूर्यनाथको निधनपछि माधव बाजेले बाबाको आजीवन सेवा गरे ।  

बाबा नेपाल आउदा करिब सात दिन बिताउने विचार लिएर पदार्पण गरे पनि नेपालको प्राकृतिक सौन्दर्य, शान्ति आदिले गर्दा यहीं नै अन्तिम विश्रामस्थल बनाउने बिचार लिए। त्यस बखत नेपालमा शिवरात्रिको समयमा दर्शन गर्न आउने भारतीय साधुमहात्माहरूलाई सात दिन मात्र बस्न दिने नियम थियो ।

त्यही नियमको अनुसरण गरेर बाबा काठमाडौंको पुतलीसडक (अहिलेको रामशाहपथ) को बाटोबाट पैदल फर्कदै गर्दा सिंहदरबार गएर फर्केर आएका एक व्यक्ति चढेको बग्गी उनको अघिल्तिर रोकिएछ । बग्गीबाट एकजना उत्रेर “हजुर गोविन्दानन्द होइन ?" भनेर प्रश्न गरेछन् । ती व्यक्ति तत्कालीन बेलायती प्रतिनिधि (राजदूत) विल्किन्सन थिए।

बेलायत भ्रमणका अवसरमा बाबा उनको घरमा पुगेका रहेछन् । उनी सो समय केटाकेटि थिए । स्कुलमा पढ्थे । बीस वर्षपछि बाबालाई भेटेका उनले कुरा सुनेपछि  सो समयका शासकलाई अनुरोध गरेर बाबालाई नेपालमा बस्ने प्रबन्ध पनि मिलाए। नेपालमा आफ्नो कार्यकाल रहुन्जेल उनी प्रत्येक आइतवार घोडामा चढेर शिवणी जान्थे र कुचो लगाउने, खाना तयार गर्ने, पानी ल्याउने, दाउरा बटुल्ने  (चेलाले गुरुको लागि गर्नुपर्ने) काम गरेर उनको सेवामा लाग्दथे । साँझ फर्केर आफ्नो काममा हाजिर हुन्थे ।

गोविन्दानन्द भारती शिवपुरीमा बसेपछि उनलाई भक्तहरूले शिवपुरीबाबा भन्न थाले र नेपाल तथा विश्वमा उनी शिवपुरी बाबाका नामले प्रख्यात भए । आफ्नो जीवनी र शिक्षा प्रचार गर्ने, लेख्ने वा प्रवचन गर्ने उनको इच्छा थिएन । कसैले लेख्ने इच्छा व्यक्त गर्दा - “मेरो जीवनमा अरू व्यक्तिहरूको जस्तो उतारचढाउको घटना घटेन । म सचेत भएर परमात्माको मार्गमा लागें र परमात्माको दर्शन गरे । त्यसैले मेरो जीवनी लेख्ने जरूरत छैन । लेख्ने भए मेरो शिक्षाका बारेमा लेख्नु' भन्थे।

शिवपुरी बाबाको जन्म भारतको केरला राज्यमा (इस्वी सम्वत १८२६) विक्रम सवंत १८८२ भदौ महिनाको मूल नक्षत्रमा भएको हो । उनी जन्मनासाथ मुसुक्क हाँसेका थिए । उनी हाँसेको कुरा उनको हजुरबुबा आच्युतमलाई कसैले सुनाए । सुनेपछि हाम्रो कुल यीनिमै टुंगिने भयो, योगी हुने लक्षण भएको बच्चा जन्म लिएछ भनेर भविष्यवाणि गरे । शिवपुरी बाबाका हजुरबुवा आच्युतम् सो समयका प्रख्यात ज्योतिषि थिए ।  

शिवपुरी बाबा सानै छंदै बुबाआमाको स्वर्गारोहण भयो । स्वर्गारोहणपछि हजुरबुबाले नै उनको रेखदेख, विद्या आदिमा ध्यान पुर्‍याए। हजुरबुबा बानप्रस्थ आश्रममा जाने बेलामा शिवपुरी बाबालाई पनि साथमा लिएर गए ।  

वैदिक शास्त्रले मनुष्यलाई दुई प्रकारको बाटो खुला गरेको छ । एउटा बाटो हो - सांसारिक, जसमा ब्रह्मचर्याश्रम र गुरुकुल वेदाध्ययनपछि गृहस्थमा बस्ने, बालबच्चाको पालनपोषण शिक्षा  विवाह, आदिको कार्यक्रम पूरा गर्ने । त्यसपछि धर्मपत्नीले इच्छा गरेमा उनलाई पनि साथै लिएर वानप्रस्थाश्रममा प्रवेश गर्ने र अन्तिममा संन्यासाश्रम ग्रहण गर्ने । संन्यासाश्रम ग्रहण गरेपछि उसले जेजस्तो जुर्छ उस्तै ग्रहण गर्छ भन्ने अठोट लिएर जङ्गलमा गएर तपस्या गर्ने र एक छाक खान भिक्षाटन वृत्ति अपनाउँदै परमात्माको चिन्तनमा समय बिताउने गर्नुपर्दछ।

अर्को बाटो हो - गृहस्थाश्रम र वानप्रस्थाश्रममा प्रवेश नगरी ब्रह्मचर्याश्रमबाट नै परमात्मा-दर्शनको बाटो अपनाउने । आदि गुरु शंकराचार्यका मतअनुसार संन्यास ग्रहण गर्नेहरूलाई गिरी, पुरी, भारती, सरस्वती आदि (दशनाम) को उपनाम दिइन्छ । शिवपुरी बाबालाई भारतीको उपनाम प्राप्त थियो । उनले ऋतम्भराप्रज्ञा अर्थात् आकार अथवा मूर्तिबिनाको परमात्माको साक्षात्कारको बाटो अनुशरण गरेका थिए ।

आफ्ना बाजे वानप्रस्थाश्रमका लागि प्रस्थान गर्दा शिवपुरी बाबालाई पनि नर्मदा नदीछेउको अमरकण्टकको  जङ्गलमा लिएर गएका थिए । हजुबाबले सेवा गर्न र तपस्या गर्न सुझाए ।  त्यसरी तपस्या गर्दा गर्दै हजुबुबाको स्वर्गारोहण भएछ । स्वर्गारोहण भएपछि तीनै स्थानमा सदगद गरि बाबा जंगलबाट बाहिर गाँउतिर फर्किए ।

त्यसपछि पुन : बाबा अमरकण्टकको  जङ्गल तपस्या गर्न गए । तपस्या गर्दा कयौ ऋतुहरु बिते त्यसको उनलाई थाहा भएन तर एक दिन उनलाई सबै कुराको बोध भयो, ज्ञान प्राप्त भयो । सो समय परमात्माले दर्शन दिए ।  त्यसपछि उनी त्यहाँबाट बाहिर निस्किए । आदि गुरु शंकराचार्यले श्रृङ्गेरीमा स्थापना गरेको शंकर मठ गएर सन्यासको दिक्षा लिए ।  सन्यासपछि उनको नाम गोविन्दानन्द भारती रहन गयो । हजुरबुबाको बचन अनुसार उनी विश्व भ्रमणमा निस्किए । बाबाले  ४० बर्ष विश्व भ्रमण गरे ।  खैबरपास हुदै अफगानिस्तान, रूस, इरान, साउदी अरेबियाको मक्का, रोम, टर्की, ग्रीस, बेलायत, स्कटल्यान्ड, अमेरिका, मेक्सिको, जापान, चीन आदि देशको भ्रमण उनले चालीस वर्षमा पूरा गरे ।

भ्रमणका क्रममा उनी बेलायत पुग्दा महारानी भिक्टोरियाको राज्यकाल थियो। उनि बेलायतमा चार वर्षसम्म रहँदा महारानी भिक्टोरियासँग अठार पटकसम्म भेट भएको रहेछ । बाबाको कोलकातामा स्वामी श्रीरामकृष्ण तथा बरोदामा स्वामी श्रीअरविन्द, पेरिसमा म्याडम क्युरी तथा इटालीमा मार्कोनी आदिसँग भेट भएको थियो। जानकारहरुले विख्यात वैज्ञानिक आइन्सटाइनलेपनि बाबासँग भेट गरेको बताउँछन्।

सो समय बाबा बनारस पुग्दा पण्डित मदनमोहन मालवीयले बनारस हिन्दू विश्वविद्यालय स्थापनाका लागि चन्दा सङ्कलन गरिरहेका थिए । सो समय उनले उक्त विश्वविद्यालयको निम्ति पचास हजार चन्दा प्रदान गरे । मालवीयले उनलाई उक्त विश्वविद्यालयको कुलपतिको पद ग्रहण गर्न आग्रह पनि गरे तर बाबाले त्यसलाई स्वीकार गरेनन्।

बाबा सबै धर्म मान्नेहरूका लागि समान थिए । उनी इस्लाम धर्म मान्नेहरूसँग कुरा गर्दा कुरानकै बारेमा र हिन्दूधर्म मान्नेहरूसँग कुरा गर्दा हिन्दू धर्मशास्त्रकै प्रसङ्ग, क्रिस्चियन धर्मावलम्बीहरूसँग बाइबलकै दृष्टान्त र बुद्धधर्म मान्नेहरूसँग प्रज्ञा, शील, समाधि आदिकै बारेमा व्याख्या गर्दथे । यसले गर्दा विभिन्न मतअनुसारका अनुयायीका जिज्ञासाको सजिलैसँग समाधान हुन्थ्यो।

बाबाले कसैलाई पनि मन्त्र दिक्षा दिएनन् । बाबाको शिक्षालाई स्वधर्म भनिन्छ । बाबाले स्वधर्मलाई (शारीरीक, मानसिक र अध्याध्मिक) तीन किसिमको अनुसाशन पालना गर्नुपर्छ भनेर शिक्षा दिन्थे । 'स्वधर्ममा मानिसलाई आफ्नो शरीर रक्षाका लागि अपनाउनुपर्ने लगायत परमात्मा चिन्तनका विविध बिषय समाविष्ट छ, जसअनुसार मानिसले सबभन्दा पहिले आफ्नो शरिर ठिक गर्नुपर्छ । जीवन व्यवहार चलाउनको लागि कुनै पेसा गर्नुपर्छ । अनि यति गरेर बाकी रहेको समय परमात्माको भजन किर्तन (धारणा, ध्यान, समाधि) आदिको अभ्यास गर्दै परमात्माको चिन्तन बढाउदै जानुपर्दछ, यसरी परमात्माको चिन्तन बढ्दै गएपछि समाधि बस्न सकिन्छ। एकदुई प्रहरको अखण्ड समाधिमा रहेपछि र परमेश्वरको परमकृपा भएपछि उनको दर्शन मिल्छ। जब तपाई मौन ध्यानमा रहेर परमात्मा चिन्तनमा नै रमाइरहनुहुन्छ तब परमात्माको जाज्वल्यमान ज्योति तपाईको अगाडि प्रकट हुन्छ जुन तपाई स्वयंले अनुभूति गर्नुहुन्छ तर त्यसलाई शब्दमा भने वर्णन गर्न सक्नुहुन्न ।'  उनले दिएको स्वधर्मलाई आफ्ना अनुयायीहरुले पालना गरिरहेका छन् ।

बाबालाई भेट्न राजा, मन्त्रीहरु पनि पुग्थे। कुनै महात्मा गधा चढेर आउथे, केहि नबोलि आउथे, कोहि हात माथि राखेर ठाडै पारेर आउथे । माधव बाजेका अनुसार एक जवान पुरुष शिवपुरीमा आउथे । आएपछि सत्संग बेदना आदि बाबालाई पोखे। बाबासँग ६-७ दिन संगत गरेपछि माधव बाजेलाई मैले पाएको कुराको अभ्यास र तपस्या गर्न हिमालय बद्रिनारायण बद्रिनाथ तिर जान्छु र हरिद्वार पुगेपछि एउटा चिठ्ठि पठाउँछु भनेर निस्किए। त्यो चिठ्ठिको बिषय बाबालाई सुनाइदिनु भने ।अन्तिममा ती जवान युवकले भने हेर माधव तिमिले मलाई जवान देखेका छौ तर मेरो उमेर ७०० बर्ष भइसकेको छ । तर यो आध्यात्मिक क्षेत्रमा परमात्माको दर्शन नगरि उमेर मात्र बढि भएर काम छैन । त्यसैले तिमि भाग्यमानी रहेछौ यस्तो महान पुरुषको सेवा गरिरहेका छौं भन्दै आशिर्वाद दिए । भोलिपल्ट बाबाले ती युवालाई तलसम्म पुर्‍याएर आउ भनि आदेश दिए । दुवै आश्रमबाट निस्किए र बिच बाटोमा आएपछि ती युवक कता अलप भए माधव बाजेले थाहा पाएनन् । त्यसको एक महिनापछि हरिद्वारबाट चिठ्ठि पनि आयो ।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन भारतका उप-राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् श्रीबाबाको दर्शनका लागि आश्रम पुगेका थिए । आफ्नो बसाइका लागि तयार गरेको राजकीय अतिथिगृह नगई सीधा बाबाको कुटीमा पुगेका उनले करिब आधा घण्टा बिताएका थिए। बाबासँग उनले “बाबा, हजुरको शिक्षा के हो ?" भन्ने प्रश्न गर्दा उहाँले “म शारीरिक, नैतिक तथा आध्यात्मिक गरी तीन अनुशासनका भारमा बताउछु भनी जवाफ दिएका थिए ।

३७ बर्ष उपत्यकामा बिताएका बाबाले किराँतेश्वर, गोकर्णेश्वर, शिवपुरी डाँडा हुदै करिब ११ बर्ष आफ्नो अन्तिम समय पशुपतिस्थित श्री प्रभु शिवपुरी बाबा आश्रम समाधीस्थलमा बिताए । शिवपुरी बाबा भन्थे नेपाल तपोभूमि भएकोले यहाँ तपस्वीहरू तपस्याका लागि आउछन् । यहाँका वनमा तपस्वीहरू अदृश्य रूपले तपस्यामा तल्लीन भइरहेका छन्  ।  

बाबा ऋतु अनुसार करिब ५ बजे उठ्थे । आफु शौचबाट निबृत भएर गाईको दुधको चिया खान्थे। शरीरको आवश्यकता अनुसार खाना लिन्थे । सिजनको तरकारी आलु साग आदि खान्थे । विहान शिरमा घाम नपर्ने गरि शरिरमा घाम पारेर मेचमा बस्थे । सो मेच अहिले पनि समाधि स्थलमा राखिएको छ । ४ बजेतिर गाईको दूधको सेवन गरेपछि कुटिभित्र बस्थे । परमात्माका बिषयमा कुरा गर्न आएकासँग मात्र कुरा गर्थे।

विसं २०१९ माघ १५ गते सोमबार (इस्‍वि सम्वत १९६३ जनवरी २८) मा बाबाको स्वर्गारोहण भयो ।  तिथि अनुसार माघ शुक्ल पक्ष तृतियामा करिब बिहान छ बजे उनको समाधिमा लिन भए । साधु महात्माहरुले सोहि दिनको २-३ बजे आफ्नो परम्परा  विधि अनुसार खाल्टो खनेर पद्मासनमा पश्चिमतर्फ बाबाको देहलाई राखे। त्यसको माथि पत्थर राखेर पुजा गर्न थालियो । देहको माथि अहिले शिवलिंग छ ।  सोहि समाधिस्थलमा अहिले कयौ मानिसहरु ध्यान बस्ने गरेका छन् ।

बाबाको १६ दिनमा सोढसी भन्ने एक उत्सव गरियो । सो समय महात्माहरुलाई बोलाएर छाता, जुत्ता, ओड्ने क्षमता अनुसार दान दिने र भोजन खुवाइन्छ। अहिले सोहि तिथिमा आश्रमले बाबाहरुलाई बोलाएर भण्डारा गराउदै आएको छ । यसपटक माघ शुक्ल पक्ष तृतिया माघ १३ गते सोमबार परेको छ । सोमबार शिवपुरी बाबाको ५७ औँ पुण्यतिथि हो ।

शिवपुरी बाबाले समाधि लिदा माधव बाजेका छोरा बिष्णुप्रसाद तिमिल्सिना १८ बर्षका थिए । उनी आश्रमबाटै पढ्न त्रिचन्द्र कलेज जान्थे । अहिले सो आश्रमको रेखदेख उनैले गर्दै आएका छन् । स्वधर्म पुस्तका संकलक उनी स्वधर्म पालना गर्दै गए मानिसको वाधा व्यवधान कम हुदै जाने बताउँछन् । सत्य बोल्ने र अरुलाई दुख नदिने बानीले मानिसलाई जीवन जिउन सहज हुने उनले बताए ।

नयाँ