- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भगवान बिष्णुका बाहन गरुडको मनमा प्रभु रामप्रति शंका हुन गयो, त्यो शंकाको निवारण गर्न उनी लोमश ऋषिकोमा गए। लोमश ऋषिले उनलाई सम्झाउँदै भने, प्रभु जसले साकार रूपमा संसारमा आएर लोक हितको निम्ति अनेक लीलाहरू गर्दछन्, उनी भगवानको अवतार हुन्छन्, उनीप्रति कहिल्यै पनि मनमा शंका राख्नु हुँदैन ।
नेपालमा अवतारी लामा हुन्छ जसलाई रिम्पोचे भनिन्छ, जो भगवानको सन्देश दिन समय-समयमा अनेक रूपमा आउने गर्दछन् । निराकारको मात्र हैन कागभुशुण्डि भन्छन् साकार महापुरुषको दर्शन मात्रले जीवको पाप काटिन्छ। केवल साकार महापुरुषमा मात्र त्यो क्षमता हुन्छ, उनले मानवको मनको शंकाहरूको सामाधान गर्न सक्छन् जीवनमा समरुपताको, समन्वयको ज्ञान गराउदछन् ।
पहिलेको जन्ममा कागभुशुण्डि ब्राह्मण थिए। उनलाई भगवान शंकरले आफ्नो गुरुको अवहेलना गरेको कारण काग हुने श्राप दिए। उनी काग बने अनि उडेर विश्व नियन्ता प्रभु रामको बाल्यकालमा अयोध्या गएर दर्शन गरेर मनै मन प्रसन्न भए। यहि कारण रामचरितमानसमा सन्त तुलसीदासले लेखेका छन--
'भए प्रगट कृपाला दीन दयाला कौसल्या हितकारी।'
अर्थात् जहिले-जहिले अधर्म रूपी महामारी संसारमा फैलिन्छ, तब उनै परमब्रह्म परमात्मा मनुष्य शरीरमा आएर ज्ञान अनि आफ्नो दर्शन दिएर मनुष्य मात्रलाई जन्म-मरणको चक्रबाट मुक्त गर्दछन ।
एकदमै महामारी फैलिंदा डाक्टरहरू स्वयं जनताको बीचमा गएर क्याम्प लगाउँछन् अनि बिरामीहरुको औषधि उपचार गर्दछन् । जसरी नेपालमा डा गोविन्द केसी माहामारी फैलिएसँगै औषधि लिए गाँउ ठाँउमा पुग्छन् ।
जब जब होइ धरम कै हानी।
बाढ़हिं असुर अधम अभिमानी।।
तब तब प्रभु धरि बिबिध सरीरा।
हरहिं कृपानिधि सज्जन पीरा।।
जब धर्मको हानि अर्थात् लोप हुन्छ, तब महापुरुषहरू संसारमा मानव रूप लिएर आउँदछन् । महापुरुष मानवलाई बचाउँन आउँदछन् अनि आएर ईश्वरको ज्ञान फैलाउँदछन्, ताकि मानवको हृदयबाट अज्ञानको अन्धकार दूर हुन सकोस् अनि उनीहरूको आत्माको विकास होस् ।
कागुभुशुण्डि भगवान शंकरको श्रापले काग बने । उनी भन्छन ममाथि प्रभु रामको विशेष कृपा भयो र म अयोध्याको राजमहलमा पुगें अनि वहाँ प्रभु रामको बाल रूपको दर्शन गरे। यस प्रकार कागको योनिमा पनि उनको भक्ति सफल भयो ।
वनवास कालमा प्रभु राम र लक्ष्मण नाग-फाँसमा बाँधिन्छन् अनि नारदजीले गरुडलाई प्रभु राम र लक्ष्मणलाई नाग-फाँसबाट छुटाउन लगाउँछन् । गरुडले मनमा सोच्छन् ,'प्रभु राम कस्ता विश्व नियन्ता हुन् जो मेघनाथको साधारण मायावी नाग फाँसमा बाँधिए अनि मैले यिनलाई नाग फाँसबाट मुक्त गर्न परिरहेको छ?'
तब गुरुडले नारदलाई भन्छन्,'मेरो मनमा प्रभु रामप्रति शंका हुन गयो ।'
त्यसपछि गरुड ब्रह्माजीकोमा जान्छन् अनि अभिमानवश भन्छन्, 'प्रभु राम कस्ता प्रभु हुन्, जसलाई मैले लक्ष्मण सहित मेघनाथको नाग फाँसबाट छुटाउँनु पर्यो? मेरो शंकाको निवारण गरिदिनुहोस् ।'
ब्रह्माजी भन्छन्, 'मेरो चार मुख छन, यस चार मुखले चार वेद पढिरहन्छु, यदि पाँच मुख भएको भए तपाईलाई केहि भन्ने थिएँ ।'
तब ब्रह्माजीले गरुडलाई भगवान शंकरकोमा पठाए । गरुडले गएर भगवान शंकरलार्ड सोधे, 'मेरो मनमा एक शंका छ जसको निवारणको लागि पहिले म नारदजीकोमा गएँ, नारदजीले मलाई ब्रह्माजीकोमा पठाउनुभयो अनि ब्रह्माजीले फेरि मलाई तपाईंकोमा पठाउनुभयो, अत: म जान्न चाहन्छु कि प्रभु राम कस्ता विश्व-नियन्ता हुनुहुन्छ जो नाग फाँसमा बाँधिए अनि मैले उहाँलाई छुटाएँ?'
भगवान शंकरले भन्नुभयो, 'हे गरुडजी, अहिले म त कैलाश पर्वततिर जाँदैछु, अलिक पहिले आएको भए म तिम्रो शंकाको समाधान गरिदिने थिएँ । अँ म तिमीलाई एउटा उपाय बताउँछु, तिमी नीलगिरि पर्वतमा जाऊ, वहाँ कागभुशुण्डि ऋषि बस्छन्, उनले प्रभु रामको कथा सुनाउँने गर्छन, तिमी वहाँ जाऊ, उनले तिमीलाई कुनै उपाय वा तरीका अवश्य बताउने छन् ।'
भगवान शंकर भन्छन्-‘समुइ खग खग ही की भाषा', अर्थात् पक्षीले पक्षीकै भाषा सम्झन्छ, तिमी पनि पंक्षी हौ अनि उनी पनि पंक्षी हुन्, यसकारण उनले तिम्रो शंकाको समाधान गरिदिने छन ।'
तब गरुड नीलगिरि पर्वतमा जान्छन जहाँ कागभुशुण्डिले धेरै समयसम्म सत्संग सुनाए, तब उनको मनको शंकाहरुको समाधान भयो।
भगवान शंकरलाई माता पार्वतीले सोध्नुभयो, प्रभु! त्यहाँ यस्तो के चीज छ?'
उता नीलगिरि पर्वतमा कागभुशुण्डिले गरुडलाई आफ्नो राम कथा सुनाउदै भनिरहेका थिए पहिले म ब्राह्मण थिएँ। म भगवान शंकरको पूजा गर्थे । एक दिन भगवान शंकरको पूजा गरिरहेको समय मेरो गुरु महाराजजी आउँनु भयो, मैले उहाँलाई प्रणाम गरिन आखा बन्द गरेर 'ॐ नमः शिवाय ॐ नमः शिवाय' मन्त्र उच्चारण गरिरहे। तब भगवान शंकरले मलाई श्राप दिदै भन्नुभयो, तैले गुरु महाराजलाई प्रणाम गरिनस, गुरु महाराजको अवहेलना गरिस्, यसकारण जा, सयौ योनिसम्म अजिंगर जस्तो भएर एकै ठाउँ बस।
यी सबै तिरस्कार देखेर पनि दयावन गुरु भगवानसँग प्राथना गर्नुहुन्छ र क्षमा माग्दै भन्नुहुन्छ,' प्रभु यो अबोध बालक हो जब यसलाई गुरुमहिमा नै थाहा छैन भने यसबाट अपेक्षा के राख्न सकिन्छ ?'
त्यसो त भगवानसँग न्याय हुन्छ जस्तो जस्तो कर्म हुन्छ उसलाई त्यस्तै फल तत्काल दिनुहुन्छ तर गुरु महाराजसँग दया हुन्छ । तब भगवान शिव जसलाई आशुतोष भनिन्छ जो चाडै मान्नुहुन्छ। नभन्दै उहाँले मान्नुभयो र भन्नुभयो, 'ठीक छ तिमी भन्छौ भने म मान्छु । तिमीमा ठुलो दया छ । यसलाई म यस्तो आशीर्वाद दिन्छु कि यसले हरीको भक्ति गर्नेछ र ती योनीबाट मुक्ति प्राप्त गर्नेछ मेरो आशिर्वादबाट यसलाई अघिल्लो जन्मका सबै कुरा याद रहनेछ ।'
कागभुशुण्डिले भन्छन्- म अनेक योनिहरुमा घुम्दै अब यो योनिमा आएको छु। तब गरुडलाई कागभुशुण्डिले भन्छन्-
आजु धन्य मैं धन्य अति जद्यपि सब बिधि हीन।
निज जन जानि राम मोहि संत समागम दीन।।
अर्थात् यद्यपि म सबै प्रकारले अत्यन्त नीच हुँ, तर पनि आज म धन्य भएँ, किनभने प्रभु रामले मलाई आफ्नो सम्झेर सन्त-समागम दिनुभयो । भगवानको विशेष कृपाले हामी सत्संग सुनेर, भजन-सुमिरण गरेर आफ्नो जीवन धन्य बनाउन सक्छौं।'
गुरु नानकदेवले भनेका छन्-
कल आयो कल आयो, नाम जप नाम जप'
अर्थात् कलिकालको भयावह समय आइरहेको छ, प्रभुको नाम जप ।
संसारलाई विनाशबाट बचाउँन समय-समयमा यस धराधाममा प्रभुको अवतार अनेक रूपमा हुदै आएको छ। प्रभु पहिले मत्स्यको (माछा), कच्छपको (कछुवा) रूपमा, फेरि वाराह, नरसिंह, वामन, राम, कृष्ण, बुद्धको रूपमा आउनुभयो । यस्तो विकट समयमा संसारलाई बचाउँन प्रभु मनुष्य रूपमा आउनु हुन्छ । सन्त तुलसीदासले रामचरितमानसमा उल्लेख गरेका छन्-
गौ धन गज धन बाज धन और रतन धन खान।
जब आवे सन्तोष धन, सब धन धूरि समान ।।
सबैभन्दा ठूलो सन्तोष धन हो जसको बराबरी अर्को कुनै धन छैन । किनभने तपाईले हृदय परिवर्तनको कुरा गर्नुहुन्छ, यसैले भनेको छ संसारमा परिवर्तन ल्याउनको चाहनु हो भने सबैभन्दा पहिले आफैंले-आफैमा परिवर्तन ल्याउनु पर्छ।