arrow

मेरो प्रेमपत्र प्रकृतिलाई

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ वैशाख ५ आइतबार
sudarshan-aryal.jpg.jpeg
प्यारी प्रकृति,
आज धेरै समय वित्यो तिमीलाई सम्झिएर पत्र नलेखेको पनि। पत्र मात्रै लेख्न नसकेको हुँ, सम्झन त सधै तिमीलाई नै सम्झिरहेको छु। कति चाँडै वितेछ समय पनि, हिजो मात्रै जस्तो लाग्छ तिमीले मायाको चुम्बन गरेर काखमा मलाई खेलाउँदा म तिमीलाई प्रकृतिसम्म पनि भन्न जान्ने थिईन। मेरो तोतेबोली थियो, त्यतिबेला मैले ‘पल्किल्ती’ भनेर बोलाउँदा तिमी मुसुक्क हाँस्थ्यौ, म लजाउँथेँ। तिम्रो विशाल छातीमा आफूलाई खेलाउन पाउदा मलाई स्वर्गीय आनन्दको अनुभूति हुन्थ्यो। समय वित्दै जाँदा तिमीसँगको सम्बन्धमा झनै प्रगाढता आयो। 
त्यतिबेला तिमी मस्त तरूनी देखिन्थ्यौ, म निर्वोध शिशु। तर पनि किन हो तिम्रो कपाल केलाउन पाउँदा, तिम्रो गालामा चुम्न पाउँदा, तिम्रो छातीमा रमाएर खेल्न पाउँदा र आफ्नो सारा शरिर नै तिमीसँग समाहित गराउन पाउँदा म मा यस्तो काउकुती लाग्थ्यो कि सायद तिमीबिनाको जीवन मैले सोच्नसम्म पनि सक्दैनथेँ। 
 
जति उमेर बढ्दै गयो, मलाई तिम्रो सुन्दरता, आवरण र यौवन रस मनपर्दै गयो। तिमी थियौ नै त्यति सुन्दर, म किन भुल्दैनथेँ तिम्रो स्पर्शमा। सायद म कक्षा पाँच तिर पढ्थेँ होला, त्यो समय मेरो जीवनको साह्रै नरमाईलो क्षण बन्न पुग्यो। तिम्रो र मेरो प्रेमको बारेमा कसले कति चासो लिएका थिए, त्यो त मलाई थाहा भएन। तर, तिमीसँग मेरो सम्बन्ध विच्छेद भने हुने नै भयो। त्यतिबेला बाबुआमा इष्टमित्र सबै खनिए तिमी विरूद्ध, छोड्न नचाहेर पनि छोडेँ तिमीलाई। त्यतिबेलाको लाचार र निरीह म, तिम्रो लागि भनेर त्यति महान् त्याग गर्नसक्ने अवस्थामा पनि थिईन। मैले तिमीलाई छाडेँ, आफैंलाई भोको बनाएँ र आफैंलाई प्यासी बनाएँ।  जब तिमीसँग मेरो विछोड भयो, केही दिन त म तिम्रो यादमा तड्पिरहेँ। तिम्रो त्यो मायाको स्पर्श, त्यो मीठो चुम्बन र प्यारको अँगालोको यादमा मैले कति आँशु पनि बगाएँ। त्यतिबेला कतिले मलाई डरूवा, लाक्षी र काँतर भने। तिम्रो प्रसंशागान गाउँदा मात्रै पनि मलाई नौंलो तरंग प्राप्त हुन्थ्यो, नौलो उमंग प्राप्त हुन्थ्यो, त्यसैले तिमीबाट टाढा भएतापनि सधैं अतीतमा तिमीसँग विताएका स्वर्णिम पलहरूको कल्पना गरेर म दिनहरू कटाउँथेँ। कतिपटक त तिम्रो असाध्यै नियास्रो लागेर भेट्न पनि आउँथेँ। लामो समयपछि भेट्न आउँदा पनि तिमी मसँग कहिलै रिसाईनौ। कस्ती महान् तिमी कस्ती मायालु तिमी ? 
त्यतिबेलाको लाचार र निरीह म, तिम्रो लागि भनेर त्यति महान् त्याग गर्नसक्ने अवस्थामा पनि थिईन। मैले तिमीलाई छाडेँ, आफैंलाई भोको बनाएँ र आफैंलाई प्यासी बनाएँ। 
जब तिमीसँग मेरो विछोड भयो, केही दिन त म तिम्रो यादमा तड्पिरहेँ। तिम्रो त्यो मायाको स्पर्श, त्यो मीठो चुम्बन र प्यारको अँगालोको यादमा मैले कति आँशु पनि बगाएँ।
प्रकृति,
एउटा खबर अलि नौलो भनौं या त अलि अचम्मको घट्यो। जसले तिम्रो र मेरो भावनात्मक दूरी समेत बढायो। हेर न ‘नौ दिन नदेखे नौलो, बीस दिन नदेखे बिस्र्यो’ भन्ने त उखानै छ नि। समय त्यस्तै पर्‍यो तिमीसँग नित्य सहबास हुन नसक्दा मेरो प्यास बढ्दै गएको थियो। त्यसैबेला हो, मैले समृद्धिलाई भेटेँ, ऊ तिमीजस्ती राम्री त थिईन, तर चिटिक्क परेर हिँडेथी। उ धनी घरकी छोरी, उसलाई सहयोगको त कुनै कमि थिएन। ऊ आफूलाई परी या राजकुमारी बराबर ठान्थी। मेरो अगाडि आउँदा पनि उ खुबै नक्कल देखाउने र खुबै धाक लगाउने गर्थी। केही दिनसम्म त उसको त्यो आडम्बर बेकारको लाग्थ्यो। तर, समय वित्दै जाँदा तिम्रो विछोडको वेदनाले पिल्सीएको मलाई उसको प्रेमले आकर्षित बनाउँदै लग्यो। उसको बारेमा कतिले राम्राराम्रा प्रशंसाहरू गर्थे। म जस्ता केहीले तिम्रो प्रशंसागरेपनि पुँजीपतिकी छोरी समृद्धिसामु हाम्रो केही लागेन। म स्वयं पनि उसैको प्रेममा फसेँ, तिमीलाई विर्सिएँ।  त्यसपछि मैले विस्तारै तिमीलाई विर्सँदै गए, मेट्न आउन पछि छाडिदिएँ, समृद्धिसँग संगत गर्न थालेपछि उ तिम्रो बारेमा पनि नानाथरी ईष्र्या गर्थी, भएनभएका कुरा लगाउँथी,  सम्झाउन खोज्यो ठुस्स ठुस्किन्थी। उसलाई फकाउन मैले तिम्रो विरोध गर्नै पथ्र्यो, बाध्य भएर त्यसपछि मैले तिम्रो विरोध गर्न पनि थालेँ। जब मैले स्कुले शिक्षा सकेँ, त्यतिबेलासम्म म समृद्धिको प्रेममा निर्लिप्त भईसकेको थिए। उसले मलाई केही त्यस्ता उपहार पनि दिएकी थिई। जसले म झनै उसको पूजक बन्दै गए। 
 
प्रकृति, 
जब मैले विश्वविद्यालयको पढाई समेत पूरा गरेँ, तिम्रो सरलता भित्र लुकेको महानता मैले बुझेँ। तिम्रो सुन्दरता चोरेर या खोसेर समृद्धिले आफूलाई राम्री देखाएकी रहिछ भन्ने पनि थाहा भयो। तिमीमाथि उसका बाबुहरूले गर्नु नगर्नु शोषण गरे। बास्तवमा समृद्धि कुरूप रहिछे तर त्यो उनीहरूको सन्तान, त्यसैले होला उसलाई राख्नको लागि सबै मिलेर तिमीहरूलाई लखेटेछन्, तिमीलाई उसकी सौताको व्यवहार गरेछन्। 
 
प्रकृति,
यो मन भन्ने चिज पनि अपारको हुँदो रहेछ, जसले जे भन्यो त्यही साँचो हो जस्तो लाग्ने। कतिले तिमीलाई वेश्या भने, मैले त्यो पनि पत्याएँ, कसैले तिमीलाई आफ्नी ‘प्रिया’ भन्दा मलाई ईश्र्या लाग्थ्यो। तिमी समय अनुसार चल्न नसक्ने पिछाडे रे, त्यसैले सबैजना मिलेर तिम्रो अपगाल गर्दा पनि मैले कुनै प्रतिवाद गरिन, बरू हो मा हो मिलाउँदै गएँ। मलाई थाहा छ प्रकृति, म त्यतिबेला पुरापर अन्धो भएको थिए, समृद्धिको मायामा। 
 
अहिले त मेरा आँखाहरू स्पष्ट भईसकेका छन्। मलाई तिम्रो एकदमै माया छ, तिमी त मेरी प्राण हौ। तर, तिमी आजकाल के भएकी कत्तिले तिम्रो बलात्कार गरिरहेका छन्, कतिले तिम्रो अस्मिता लुटिरहेका छन्। कोही भन्छन्, सबैले अस्मिता लुट्दा लुट्दै तिमी त अब बुढी भईसक्यौ अरे, गालामा मासु घट्यो अरे, कपाल फुल्यो अरे, छाला चाउरियो अरे, कतिले त अझ थाहा छ तिमीलाई ‘अब धेरै बाँच्दिन प्रकृति’ भनेर भन्ने पनि गरेका छन्। जसले जे भनेपनि मेरो भने मुटुमा तीर बिझ्छ। तर तिमीले कसरी सहेकी छ्यौ प्रंकृति? त्यस्ता व्यभिचारी र बलात्कारीलाई किन माफी दिईरहेकी छ्यौ ? के साँच्चै निसहाय नै त भएकी होईनौं, मेरो अभावमा तिमी ? तिमीले सारालाई यौवन रसमा डुवाउँदा पनि तिमीलाई माया गर्नेहरू सकिएकै हुन् त ? नत्र किन प्रकृति किन खोज्दैनौ तिमी न्याय ? कि जीवनको आशा निभिसकेको हो ? धत् म पनि के भएको कस्तो प्रश्न गर्न पुगेछु। तिमी नै नबाँचे म कसरी बाँच्छु ? मेरो प्राण हौ तिमी त, त्यसो भए तिमीलाई न्याय दिलाउन म नै चाहिएको हो त ? 
तिमी आजकाल के भएकी कत्तिले तिम्रो बलात्कार गरिरहेका छन्, कतिले तिम्रो अस्मिता लुटिरहेका छन्। कोही भन्छन्, सबैले अस्मिता लुट्दा लुट्दै तिमी त अब बुढी भईसक्यौ अरे, गालामा मासु घट्यो अरे, कपाल फुल्यो अरे, छाला चाउरियो अरे,
प्रकृति,
तिमीलाई अर्को एउटा खबर पनि भनिहालौं। तिमी महान् छ्यौं साराले तिम्रो छातिमा कुल्चिएर मुटुमा बज्र प्रहार गर्दा समेत सहेर बसेकी तिमी यति जाबो सानो कुरामा लजाउली, डराउली र रिसाउली भन्ने त मलाई लाग्दैन। तिमी लुटिनाको कारण त्यही हो कि तिमी गरिबको घरमा जन्मियौ। तिमीले शान्ति दियौ तर रम्नेहरू समृद्धिको नक्कीपनामा रम्न थाले। ऊ साह्रै इष्र्यालु थिई, इष्र्याले तिमीलाई कसैले माया गरेको उ देख्न सक्दैन थिई। मोहनी जालो थापेर पनि उ सबैलाई फसाउँथी त्यसपछि तिम्रो वास्ता कसैलाई पनि हुँदैन थियो। मलाई पनि एकपटक त नराम्ररी फसाई उसले, मुटुमा राख्छु भनेर कसम खाई, आशाको ठूलाठूला सपना देखाई। यसो माया पनि गरेको हो तर विचरीसँग आफ्नो भन्ने कोही पनि रहेनछ। तिम्रो सुन्दरता ल्याएर उसले आफूलाई राम्री देखाएकी रहिछ। त्यसमा म उसको पनि केही दोष देख्दिन।  ए, मैले एउटा खुशीको कुरा भन्नै भुलेछु। अहिले त समृद्धिको मायामा फस्ने म जस्ताले मात्रै होईन। खुद समृद्धिका बाबुदाजुहरू अर्थात् तिम्रा बलात्कारीहरूसमेत पश्चातापको पीडामा जलेका छन्। अब त तिमीलाई माया गर्ने रे उनीहरूले पनि, उनीहरूको दरबारमा बोलाउने रे तिमीहरूलाई र महारानी बनाएर राख्ने रे। अस्ति भर्खर यसबारे ठूलो छलफल पनि भएको थियो। मैले तिम्रो बारेमा मन खोलेर बोलेँ, सबै एकमत भयौं हामी, अब तिम्रो बलात्कार हुन दिनेछैनौं। तिमी लड्न खोज या त नखोज हामी लड्छौं तिम्रालागि। 
 
प्रकृति,
मेरो एउटा गोप्य कुरा छ तिमी नरिसाउ ल। तिमी त पहिलैदेखि मेरी नै थियौं, म तिमीलाई त मरिगएपनि छोड्न सक्दिन। मैले अघि नै कति भनिसकेँ तिमी त मेरी प्राण हौ। एकैछिन पनि तिमीसँग छुटेर बस्दा मेरा परेला भिज्छन्, तिम्रो मायामा रमाएका ति पल सम्झदा, तर त्यति लामो समय समृद्धिसँग पनि विताएँ मैले। तिमीजस्तै उसको पेटमा पनि मेरो गर्भ छ, त्यसैले उसलाई मैले चाहेर पनि छोड्न सक्दिन। तिमीहरू सौतासौता जस्तो होईन रहेछौ, त्यो मैले बुझिसकेँ। तिमीबाट सारा माया र साथ पाएपनि म नजान्दा नजान्दै शारीरिक प्यासमा भित्रभित्रै छट्पटाईरहेको थिएँ। त्यो प्यास समृद्धिले पूरा गरिदिई, त्यसैले तिमीहरू दुईसँगको समागम नै मलाई पूर्ण लाग्छ।
तिमीबाट सारा माया र साथ पाएपनि म नजान्दा नजान्दै शारीरिक प्यासमा भित्रभित्रै छट्पटाईरहेको थिएँ। त्यो प्यास समृद्धिले पूरा गरिदिई, त्यसैले तिमीहरू दुईसँगको समागम नै मलाई पूर्ण लाग्छ।
त्यसो त, मैले तिम्रो बारेमा समृद्धिसँग पनि धेरै कुरा गरेको छु। उसले पनि पहिले जस्तो व्यवहार गरेको भएपनि अहिले तिमीलाई स्वीस्कार्ने बताएकी छे। अब तिम्रो र उसको राम्रो आवतजावत र बोलचाल हुनुपर्छ। बोलचाल र आवतजावतमात्रै किन तिमीहरूसँगै एकैठाउँमा बस्नुपर्छ। आखिर पहिला सबै तिमी नै त थियौ नि। उ आई मायाको जाल फालेर कति भुसतिघ्रेहरूलाई आफ्नो यौवनरसमा डुवाई। ती प्यासीहरूले तिमीलाई लखेटीछाडे। तिम्रो सुन्दरताको ईष्र्यामा उसले तिमीलाई चीर शत्रु ठानी। त्यसपछि जहाँजहाँ उ पुगी त्यहाँ तिमीलाई हटाउँदै गई। तिम्रो न्यानो मायाको स्पन्दनमा बाँच्ने र तिमीलाई नै आफ्नो ठान्ने म जस्ताहरूले समेत तिमीलाई गर्भिणी बनाएर चटक्कै विर्सियौं। अब जे भएपनि तिमीहरू एउटै दिदीबहिनी भएर बाँच्नुपर्छ। तिमीकहाँ पनि म उसलाई ल्याउँछु, तिमीले नदुत्कार्नु, उसकहाँ पनि तिमी आउनैपर्छ। 
उ आई मायाको जाल फालेर कति भुसतिघ्रेहरूलाई आफ्नो यौवनरसमा डुवाई। ती प्यासीहरूले तिमीलाई लखेटीछाडे। तिम्रो सुन्दरताको ईष्र्यामा उसले तिमीलाई चीर शत्रु ठानी। त्यसपछि जहाँजहाँ उ पुगी त्यहाँ तिमीलाई हटाउँदै गई। तिम्रो न्यानो मायाको स्पन्दनमा बाँच्ने र तिमीलाई नै आफ्नो ठान्ने म जस्ताहरूले समेत तिमीलाई गर्भिणी बनाएर चटक्कै विर्सियौं।
प्रकृति,
मैले एउटा सपना देखेको छु, सुन्दर भविष्यको। तिमीबाट एउटा छोरो जन्मिनेछ, तिमीजस्तै। उसको नाम सुन्दर राखौंला, त्यो तिमीले नै रोजेकी नाम हो। ऊ आदर्शवान पराक्रमी, लगानशील र धैर्यवान् हुनेछ। समृद्धिले पनि एउटा छोरो पाउने छे। उसको नाम विकास राखौला। ऊ सिपालु, जाँगरिलो र बुद्धिमान हुनेछ। त्यसपछि तिम्रो परिवारमा केहीको पनि कमि हुने छैन। शत्रुहरूले हाम्रोबीच भाँडभैलो ल्याएर फेरि पनि हाम्रो घर विगार्ने हर्कत गर्ने छैनन्। हाम्रो परिवार स्वर्गसरी हुनेछ पाँच जनाको परिवार, हो प्रकृति।  पत्र लेख्दालेख्दै अलिकति लामो पो भयो कि भन्ने पनि लाग्यो। तर जे भएपनि यो पत्र पढ्दा तिमी खुशी अवश्य हुन्छ्यौ भन्ने मलाई लागेको छ। अब म समृद्धिलाई लिएर तिमीकहाँ आउँदैछु। तिमीहरूबीच राम्रोसँग परिचय पनि भएको छैन। परिचय हुनुपनि कसरी तिमीलाई नभगाएसम्म उ कहिँ पनि गईन। उ आउँदा तिमी गईसकेकी हुन्थ्यौ। होस् छाडीदिउँ ती गन्थन्। अब एउटै परिवार हुने भएपछि के परिचयमात्रै सबै दुख-सुख साटौंला। आजलाई पत्रबाट बिदा माग्छु। छिट्टै आउँछु तिमीकहाँ समृद्धिसमेतलाई लिएर। आजलाई विदा। 
 
उही तिम्रो,
जीवन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ