arrow

तीक्ष्ण बुद्धिका लागि हामीले के गर्नुपर्ला ?

एकान्तबास

logo
स्वधर्म,
प्रकाशित २०७६ माघ २९ बुधबार
sivapuri-baba.jpg

प्रश्न: प्रभु, तीक्ष्ण बुद्धिका लागि हामीले के गर्नुपर्ला ?
उत्तर: बुद्धि तेज गर्न खोज्ने हो भने जति सकेको एकान्तबास गर्नुस् र मौनताको सङ्गीतको आनन्द लिनुस् । स्वधर्मपालन गर्नु पनि एक किसिमको एकान्तबास जस्तै हो । साँच्चै एकान्तमा बस्न सकिन्छ भने फलदायी नै हुन्छ । हामी जङलमा धेरै समय बसिरहँदा त्यहाँका जनावरहरूसँग प्रेम बढ्दै जान्छ, जसको फलस्वरूप एक-अर्कासँग डर हुँदैन । जङ्गलको शुद्ध वातावरणमा जीवन बिताउँदा त्यस स्थानको प्रभाव पनि हामीमा पर्दछ।

प्रश्न: बाबा, हामीलाई ईश्वर-चिन्तन गर्न एकान्त ठाउँ नै चाहिन्छ त ?
उत्तर: ईश्वर-चिन्तनमा मग्न हुनुहुन्छ भने जतिसुकै व्यस्त, हल्ला वा खलबल भए पनि तपाईं अलमलिनु हुन्न । ध्यानमा मग्न हुन सक्नु हुन्न भने एकान्त ठाउँमा नै भए पनि अलमलमा पर्नुहुन्छ किनभने एकान्त ठाउँमा पनि मनमा अनेक दूषित विचारहरू भरिएकै हुन्छन् । मनबाट रागद्वेष खाली गर्नुस् । जतिसुकै व्यस्त ठाउँमा पनि परमात्माको ध्यान र चिन्तन गर्न सक्नुहुन्छ । भनिन्छ, हामो शरीर ८४ लाख कोषिकाहरू छन् । यिनीहरूमध्ये कुनैलाई मात्र हामीहरु विषय वा अन्य इन्द्रियसुखमा या जिबोको स्वादहरूमा मात्र लगाइरखेका हुन्छौं । एकनासले श्वास फेर्नाले, मधुर सङ्गीत सुन्नाले र नाच आदि हेर्नाले केही रूपमा यी कोषिकाहरूलाई फाइदा पनि हुन्छ ।

वशिष्ठ ऋषि गुफामा गएर ध्यान गर्न लाग्नुभएको थियो । तर त्यहाँपनि एउटा भ्यागुतोले आएर अलमल्यायो । मनमा शान्तिलाई बास गराउनुपर्छ। म को हुँ ? परमात्मा के हो, को हो र कस्तो हो भनी जिज्ञासा (Inquiry) राखेर परमात्मा-दर्शन गर्ने इच्छा मात्र लिइरहनुपर्छ । जब मौन ध्यानमा रहेर परमात्मा-चिन्तनमा नै मनलाई रमाइराख्नुहुन्छ तब परमात्माको जाज्वल्यमान् ज्योति तपाईंको अगाडि प्रकट हुन्छ। जुन स्थिति स्वयंले अनुभूति गर्न मात्र सक्नुहुन्छ तर त्यसलाई शब्दमा वर्णन गर्न भने सक्नुहुन्न। उमेरमै घुम्न गए भने मानिसहरू अनुभव सँगाल्न सक्छन् । यस प्रकारका अनुभवले उनीहरू विनम्रता, कार्यकुशलता र धैर्यजस्ता गुणहरू सञ्चय गर्न सक्छन्, जुन भविष्यमा उनीहरूलाई फाइदा दिने नै हुन्छ ।

प्रश्नः हामीलाई किन शङ्का नआएको त प्रभु ?
उत्तर: किनभने तिमीहरू आफूले गरेका कार्यहरू के गरें र कसरी गरे भनी खोजी गर्दैनौ । ठीक कि बेठीक भन्ने विचार गर्दैनौ । बेठीक पनि गरिराखेका हुन्छौ । आफ्नो प्रहरी आफै बनेर आफूले गरेको गल्ती समातेरबाहिर फाल्नू । गल्ती गरेकोमा आफूलाई नै धिक्कार दिनू ।

प्रश्नः हामीलाई तामसिक विचार किन र कसरी आउँछ प्रभु?
उत्तर: तममसिक कुराहरू पनि मनबाटै उब्जिएका हुन् । धानको बेर्ना रोपे पछि साथसाथमा घाँस पनि उमेर आउँछ तर जान्ने मानिसले घाँस उखेल्दै जान्छ र धानको बोट मात्र बाँकी राख्छ । त्यसै गरी मनमा आएका तामसी कुराहरू हटाउँदै सात्त्विक मात्र बाँकी राख्नू । सात्त्विक विचार र तामसिक विचारका बारेमा गीतामा पढ्नू । (गीता अनुसार सात्त्विक विचारमा भोगादिमा संयम, तीर्थ, व्रत, दान, आदि शुभकर्म र तामसिक विचारमा अरूको निन्दा, प्रमाद, कपट, चोरी इत्यादि हुन् ।)

एकदिन श्रीबाबा बाक्लो कम्बल ओढेर राज भएका बेलामा एक भक्त आइपुग्नुभएछ । उहाँले त्यो कम्बलमा भएका मोटा र कडाकडा रौंहरू टिपेर मिल्काउन थाल्नुभएछ। प्रसङ्गबस उहाँले “प्रभु, मनभित्रका दूषित तत्त्वहरूलाई पनि हामीले यो कम्बलबाट कडा रौंहरू फालेजस्तै बाहिर फाल्नुपर्ने हो त ?" भनी प्रश्न गर्दा जवाफ बक्सेछ, “हो।"

प्रश्न: बाबा, हाम्रो उमेर पनि गइसक्यो । हामीले अनेक कठिनाइहरू पनि पार गरिसक्यौं । कति गुरुहरूबाट हामीलाई मद्दत पनि मिलिसक्यो तैपनि हामी यो संसारमा किन आयौं र हाम्रो कर्तव्य के हो ? आदि कुराहरूको उत्तर हामीले पाएनौं। हामीले मृत्यु के हो ? भनेर बुझन सक्यौं भने त हाम्रो मन शान्त हुन्थ्यो र ध्यानमा बस्न पनि सजिलो हुन्थ्यो कि ?
उत्तर: तपाईंको प्रश्नको जवाफ म कहिल्यै पनि कसै गरे पनि दिन सक्तिनँ । परमात्मा-दर्शन गरेपछि सबै थाहा हुन्छ। त्यसैले उहाँकै दर्शन गर्नुस् । परमात्मा-दर्शन गर्ने कसरी हो त्यो उपाय म बताईदिन सक्छु र प्रश्नको उत्तर भने म दिन सक्तिन । दैवी गुणहरूको पालन गरेपछि मन  शान्त भइहाल्छ र ध्यानमा सजिलैसँग बस्न सकिन्छ।

छोटकरीमा भन्ने हो भने मनुष्य-जीवन पाएर विचार गर्नुपर्ने मुख्य कुरा इच्छा, राग, द्वेष आदिमा नफस्नु र अकर्म गर्दै नगर्नु । कर्म कुशलतापूर्वक गर्नु र गुणको अधीनमा नपरी ब्रह्मको चिन्तन गर्नु । प्रार्थना गर्दै जानुस परमात्माप्रतिको प्रेम बढ्दै जान्छ। परमात्मा जहाँ पनि छन् । सदासर्वदा चौबीसै घण्टा उनैसित प्रार्थना गर्नु । उहाँको कृपाले सबै ठीक हुन्छ । मानिस शक्तिमान त छ तर परमात्मा सर्वशक्तिमान होइबक्सन्छ । त्यसैले अत्यावश्यक कामहरू मात्र गरेर परमात्मा-चिन्तनमा लागेर उहाँकै भर पर्नुस । यही मात्र भवसागरबाट पार हुने उपाय हो ।


जुनसुकै पहाडमा पनि मणि पाइन्न ।
जुनसुकै हात्तीमा पनि मोती पाइन्न ।
साधुहरू पनि सबैतिर पाइन्न ।
त्यस्तै जुनसुकै वनमा चन्दन पाइन्न ।
- सुभाषितरत्नभाण्डागारम्

(शिवपुरी बाबासँग गरिएका कुराकानी, संकलक बिष्णुप्रसाद तिमिल्सिनाको स्वधर्म पुस्तकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ