रुखको टोड्को जस्तो शरीर कसले संचालन गरिरहेछ ?

मुसलमानले शैतान भनेको मनलाई कसरी वशमा गर्ने, आत्मयोग के हो ?

ज्ञान, प्रकाशित मिति : २०७६ फाल्गुण २ शुक्रबार

काठमाडौं ।   संसारमा मनुष्यको जन्म पाउनु अत्यन्त दुर्लभ छ । यहि मनुष्य शरीर द्वारा परमात्माको प्राप्ति हुन सक्छ, तर यो शरीरको कुनै भरोसा छैन कि कहिले यसको अन्त्य हुने हो। यसकारण कालको भरोसा नगरेर बुद्धिमान मनुष्यले शीघ्र भगवान प्राप्तिको अनुष्ठान गर्नु पर्दछ । हुन त जीव जुनै पनि योनिमा रहन्छ, त्यसैमा आफ्नो प्रारब्धवश आफ्नो कर्मकै फल भोग्छ, तर मनुष्य योनिमा आएर आत्म-हितकारी मनुष्य कर्महरूको बन्धनबाट छूटनलाई भगवानको शरण पर्दछ।

भगवान समस्त प्राणीहरूको स्वामी र आत्मा हो अनि सर्वत्र उसको सत्ता छ। ब्रह्मादेखि लिएर कमिलासम्म अनि पञ्च महाभूतहरूमा एउटै अविनाशी परमात्मा स्थित छ। भगवान प्रसन्न भएपछि सबै कुरा सुलभ हुन जान्छ । जुन उपाय या साधन द्वारा भगवानमा स्वाभाविक तथा निष्काम प्रेम हुन्छ, त्यसैलाई भक्ति भन्छ। जसरी संसारको प्रपञ्चलाई चलाउनको निम्ति धनको परम आवश्यकता हुन्छ, उस्तै परमात्मासंग प्रेम गर्नका निम्ति गुरुको एकदमै जरुरत हुन्छ। जसले बिना गुरु भक्तिको अनेक साधन गर्दछन, उनीहरूलाई अन्त्यमा निराशा नै हुन्छ । यसकारण महात्माहरूको सत्संग, उनीहरूको सत्संग-कथामा रुचि, प्रेम-निष्कपटता हुन पर्छ अनि छल-कपट त्यागेर गुरुको चरणको सेवा गर्न पर्छ । जे- जति मिल्छ त्यसलाई गुरु अर्पण गर्नु पर्छ, फेरि गुरुको वचन अनुसार भगवानको कीर्तन-स्मरण गर्न पर्छ । जब हृदयमा यस्तो निर्मल भगवद बुद्धि जागृत हुन्छ, तब स्वभावत: परमात्मामा प्रेम हुन जान्छ।

हुन त संसारको मुख्य धर्म या मुख्य कर्म मनलाई वशमा गर्नु नै हो । मुसलमानले मनलाई शैतान भन्छन् । मनले नै परमार्थ मार्गबाट भट्काएर संसारको विषयहरुमा फँसाउछ । संसारका  सबै प्राणी मनकै बहकाईमा भटकिरहेका छन् । जति जति मन  संसारका चीजहरूतिर जान्छ, उति उति नै चञ्चल हुँदै जान्छ। भनेको छ-'मन जीता तिन जग जीता', जसले आफ्नो मनलाई वशमा गरेको छ, उसले मानौ सारा संसारलाई जीत्यो।

मनलाई जील या मनलाई एकाग्र गर्नु नै कर्म-धर्म, साधन- भक्ति या उपासना हो। मनलाई एकाग्र गर्ने साधन जान्नु-  सम्झनुको लागि नै गुरु धारण गरिन्छ । जसले गुरु धारण गरेर पनि मनलाई वशमा गर्ने साधन जानेन, त्यस्ताहरू झूटा गुरुहरूका  चंगलमा परेका छन अनि त्यस्ता गुरुहरूले बताएका झूटा साधनहरु गरेर उनीहरूको मनुष्य जन्म व्यर्थ जाने छ । जुन मनको कारण शोक, मोह, भय र क्रोध आदि दुख दिन  वृत्तिहरू उत्पन्न हुन्छन्, त्यो मनलाई अवश्य परमात्मातिर लगाउनु पर्दछ । भगवान कृष्ण अर्जुनलाई भन्नुहुन्छ-

मरुयासक्तमनाः पार्थ योगं युन्जन्मदाश्रयः।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छुणु।।७/१।।

 हे पार्थ। आत्मयोग नै मनुष्यको कल्याणको मुख्य कारण हो, यस द्वारा दुःख एवं संसारको सर्वथा निवृत्ति हुन जान्छ । जीवको बन्धन र मोक्षको कारण मन नै हो। जुन भक्तजनले ममा आफ्नो मनलाई लगाउँदछन्, उनीहरूलाई संसारका सन्तापहरूले कष्ट पुयाउँदैनन् । यसकारण भाव, प्रेम, आसक्ति  र मन ममा लगाऊ । मेरो आश्रित रहेर तथा संशय रहित भएर मलाई कसरी सबै प्राणीहरूको आत्मा रूप जान्ने छ, त्यो योग सुन । म यस आत्मयोग या आत्मज्ञान रहस्य सहित बताउने छु,  जसलाई जानेपछि संसारमा अरु केहि जान्न बाँकी रहँदैन । जुन मानिसहरूले शरीर सम्बन्धी अनेक पदार्थहरूको  संग्रहको मोहलाई त्यागेर अनन्यभावले यस आत्मयोग या आत्मज्ञानको साधन गर्दछन्, उनीहरू शीघ्र भवसागर पार भएर जान्छन् । जसले ईश्वरसिवा अरुको सहारा लिन्छन्,  उनीहरू मृत्युरूप संसारबाट कहिल्यै छुट्न सक्दैनन् । विषयहरूको संग र संसारको आसक्तिले नै आत्मालाई बाँध्छ, तर जब ऊ महापुरुषहरूको, सन्तहरूको संगतमा अनि महापुरुषहरुको  सेवा-भक्ति लाग्छ, तब उस भाग्यशाली जीवको मोक्षद्वार खुल्छ । जसमाथि भगवानको महान् कृपा हुन्छ, उसैलाई सन्तहरू र गुरुजनहरूको दर्शन हुन्छ, किनभने संसारका अनेक मनुष्यले शरीरलाई नै अजर-अमर सम्झेर ऐश्वर्य, यौवन र शासनको मदमा आत्मालाई भुल्छन् अनि शरीरको लागि अरुसँग छलकपटको व्यवहार गर्दछन् । सन्तहरूतिर त यस्ता मानिसहरूको ध्यान नै जाँदैन।

भगवान कृष्ण भन्नुहुन्छ, हजारौं मनुष्यमा कोहि-कोहि मात्र यो आत्मयोगको सिद्धि प्राप्त गर्ने प्रयत्न गर्दछन अनि तिनी सिद्धि प्राप्त गर्नेहरूमा पनि कोहि विरलै पुरुषले मलाई तत्त्व द्वारा जान्दछ अर्थात् म सबै प्राणीहरूको हृदयमा स्वयं प्रकाश, चेतन रूपले स्थित छु, यो रहस्यलाई विरलै योगीजनले जान्दछन्, सम्झन्छन् । किनभने संसारको मोह-मायामा फँसेका प्राणीले म चेतन आत्मालाई जान्दै-जान्दैन।

अग्नि, वायु, जल, पृथ्वी, आकाश, मन, बुद्धि र अहंकार यी आठ प्रकारका अपरा प्रकृति छन् जसलाई देखेर यो सारा संसार मोहित भइरहेको छ। भगवान नै मोहिनी माया हो, जसको मोहमा जीवले नाना प्रकारको कष्ट भोग्छन् अनि जन्म-मरणको चक्करमा फँसेर बस्छन् । अर्को परा चेतन प्रकृति छ, जसले सम्पूर्ण जगतलाई धारण गरेको छ । सबै भुत-प्राणी यहि दुई प्रकृति द्वारा उत्पन्न हुन्छन् । म नै सारा जगतको उत्पत्तिको मूल कारण हूँ। म सिवाय संसारमा किंचित मात्र पनि अर्को कुनै वस्तु छैन । जसरी धागोमा मालाका दानाहरू उनिएका हुन्छन्, उस्तै यो सारा संसार ममा उनिएको छ। दानाहरूमा धागो छुपेर रहनको कारण देखिदैन ।

उस्तै सर्व अन्तर्यामी, सर्वव्यापक सबैको हृदयमा स्थित रहने आत्मा यस आँखाले देखिदैन । यद्यपि आँखामा रहेर त्यहि ज्योतिले यति ठूलो संसार देख्छ, कान द्वारा उसैको सत्ता द्वारा सुन्छ, नाकले उसैको शक्ति द्वारा सुगन्ध र दुर्गन्धको अनुभव गर्छ, जिब्रोले उसैको सहायताले स्वाद बताउँछ, तर मनुष्यले आफ्नो अन्तर्यामी परमात्मालाई नचिनेर स्वयंलाई कर्ता सम्झन्छ ।

संसारमा अनेक शरीरको निर्माण हुन्छ, सबैको शरीर अलग-अलग छन्, तर सबै शरीरमा एउटै कलाले काम गर्दछ। शरीर पनि चराको गुडँ या रुखको टोड़का जस्तो छ, जसमा परमात्मा र जीव रूपी दुई पक्षी निवास गर्छन् । जीवले अहं भाव गरेर भोग्छ अनि परमात्मा अकर्ता हुनको कारण केवल द्रष्टा हो। जीवले प्रारब्ध कर्मअनुसार राम्रो-नराम्रो कर्महरूको भोग भोगिरहन्छ । सूक्ष्म इन्द्रियहरू द्वारा अनि मन-बुद्धिदेखि अति पर सबैको रक्षण, पालन-पोषण गर्ने (शक्ति) यदि शरीरमा रहेन भने यो शरीर मुर्दा कहलाईन्छ । चेतनलाई परमात्मा शिव अथवा आत्मा भन्छ। त्यो आकाश समान एक समान व्यापक छ। जसरी माटोले आकाश मैला हुँदैन अनि पानीले भिज्दैन, उस्तै आत्मा स्वच्छ विकार रहित छ । पहिले सदगुरुको शरणमा गएर त्यो आत्माको स्वरूपलाई जान्नु पर्छ अनि त्यसमा मनलाई लगाउनु पर्दछ । यसैलाई आत्मयोग भनिन्छ। समाप्त

नयाँ