arrow

मृत राजासँगै आगोमा जलाउदा भाग्छन भनेर रानीलाई साङ्गलोले बाधिन्थ्यो

नारी : हिजो र आज

logo
पूर्णीमा पन्थी घिमिरे,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
satii.jpg

भरखरै उहिलेका कुरा र अहिलेको कुरा किताव पढेर सके । लेखक महेश्वर शर्माद्वारा रचिएका थुप्रै कृतिहरु मध्ये एक हो । यसमा लेखकले केही सुनेको र केही देखेभोगेको कुरामा विशेषतः नारीको कथा–व्यथाहरु उल्लेख गरेका छन् ।

मुख्यतः नारी समाजमा छोरी, श्रीमती, बुहारी र आमाका रुपमा चिरपरिचित छन् । आज पनि नारीहरु समाजमा सुरक्षित छैनन् । नारीको सम्मान हुनुपर्ने ठाउँमा शोषण र हिंसा बढिरहेको छ । आमा नै सुरक्षित नभएको ठाउँमा महिला अधिकारको बारेमा कुरा गर्नु झन् बालुवामा पानी खन्याउनु जस्तै भएको छ । आजपनि समाजमा नारीहरु यौन शोषण, बलत्कार र अपहरणको सिकार भइरहेका छन् । यसैगरी चेलीबेटी बेचविखन, एशिड काण्ड, पेट्रोल–मट्टितेल छर्केर मार्ने जस्ता अपराधिक घटनाहरुको क्रम बढ्दो नै छ । नेपालको कानुन फितलो भएका कारणले अपराधीहरु बढेका हुन् की ! कडाभन्दा कडा सजाय नपाएर यी घटनाहरु बढिरहेका हुन् की ! कडा सजायको कानुनी व्यवस्था भए अपराधीहरु कम हुन्थे की ! यस्तै कुराले यतिखेर मेरो मनमा प्रहार गरिनै रहेको छ ।

उहिलेका कुरा र अहिलेका कुरालाई तुलनात्मक रुपमा हेरौं । हाम्रा हजुरबुवा र हजुरआमाहरुको पालामा छोरीलाई मान्छे नै गनिदैनथ्यो रे ! छोरी जन्मिदा शोक मनाएजस्तो गर्दथे । स्वास्नी मान्छे एक प्रकारले दासीकै रुपमा थिए । छोरीमात्र जन्माउनेलाई हेला गरेर छोराको अर्को विवाह गराउथे । विशष गरेर बाहुन जातिमा बहुबिबाहको चलन छोरी मात्र जन्माउनाले चलेको बुझिन्छ । छोरी जन्मिनुमा आइमाइको मात्र दोष मानिन्थ्यो । यो सबै अशिक्षा र अन्धविश्वासकै परिणाम हो । तर आजभोलीको समाजमा छोरी–छोरी जन्माउनेलाई सम्मान गरिन्छ । छोरी त भाग्यमानीले मात्र पाउँछन् भन्ने मानिसहरुको धारणा विस्तारै विकसित हुदै आइरहेको छ । किनभने छोराले गर्न सक्ने काम छोरीले गरेर देखाएका छन् । अझ हाम्रै समाजको उदाहरण दिनुपर्दा छोरीमात्र जन्मेको घरमा छोरी आफ्नो बाबु आमाको क्रियापुत्री भएर बसेका छन् । यस्ता असल काम गर्ने छोरीलाई मेरो आत्मैदेखि सम्मान छ । आफुले आटेपछि जे कुरा पनि सम्भव छ भन्ने उदाहरण पनि यि हुन् ।

त्यसैगरी बालविवाह पनि अन्धविश्वासकै एउटा उदाहरणीय नमुना हो । उहिलेका कुरा गर्दा ८ वर्षकी छोरी पार्वती समान र ९ वर्षकी छोरी गाई समान पवित्र हुन्छन् भन्ने कपोलकल्पित कुराहरु समाजमा फैलिएको थियो । १० वर्षसम्मकी कन्या हुन्छिन् र त्यसपछि रजस्वला हुन्छिन् । रजस्वला छोरी पाल्ने बाबुआमा नर्क जान्छन् भन्ने मान्यताको अन्धविश्वासले गर्दानै समाजमा बालविवाह चलेको मान्यता रहेको छ । वास्तवमा यो स्वर्ग र नर्कको कुरा पनि अन्धविश्वासकै रुपमा फैलिएको छ । मलाई यो मिथ्या नै हो जस्तो लाग्छ । अचम्मको कुरा, न को ही गएर फर्केर नै आएको छ यस्तो छ उस्तो छ भन्नलाई ? राम्रो घर परिवार भएको ठाउँमा यहि स्वर्ग छ । विग्रेको घर परिवारमा नर्क पनि यहि छ । अहिलेको कुरा गर्दा बालविवाह लगभग समाप्त भएको छ । अझै पनि कताकति धेरै नै पछाडि पारिएका पहाड, तराईतिर यस्तो प्रचलन रहेको सुन्न, पढ्न पर्ने हुन्छ । अहिलेको समाजमा यो बर्जित बनेर पूर्ण रुपमा हट्दै आएको छ ।

हाम्रो समाजमा दाइजो प्रथा पनि एउटा विकृतिकै रुपमा फैलिरहेको छ । यो आजको महङ्गी भन्दा पनि चर्को छ । दाइजो नल्याएर सम्बन्ध विच्छेद गर्न खोज्ने र सम्बन्ध विच्छेद गर्न नमानेका कारण जिउदै जलाइएको घटना आइनै रहेको छ । थोरै दाइजो भएका कारण बोक्सीको आरोप लगाएर हत्या गरिएका खबर पनि उत्तिकै आइरहेका छन् । यस्ता घटनाहरु सुन्दा कति निर्दयी र क्रुर मानिसहरु रहेछन् हाम्रो समाजमा भन्ने लाग्छ । धेरैजसो शिक्षित र आधुनिक मानिसहरुकै घरमा यस्ता घटनाहरुले ठाउ ओगटिरहेका छन् । कति अबुझ हुन् ति मानिसहरु । छोरीलाई हुर्काएर, पठाएर, सीपसिकाएर विहे गर्दा पनि दाइजो नै चाहिने ?

छाउपडी पनि समाजमा कलङ्ककै रुपमा फैलिएको छ । विशेषगरी पहिले महिला पर सर्दा छुनु हुदैन भनेर गाईवस्तु बाध्ने गोठमा लगेर बसाल्ने चलन रहेछ । अझै पनि कताकति पहाडी भेगका गाउँमा अझै पनि यस्तो गरेको पाइन्छ । जब महिलालाई पशुबराबर व्यवहार गरिन्छ भने मानवताको नाता नै कहाँ रह्यो र ! यो सबै अशिक्षित र अचेतन मानिसहरुले गर्दा भइरहेको हो । अझै पनि यसलाई सबै ठाउँहरुमा बार्ने चलन भने विद्यमान छ । यसमा मेरो धारणा के रहेको छ भने यो शरिरको प्राकृतिक नियम हो । यो अवस्थामा शरिरलाई आरामको अत्यन्त आवश्यकता हुन्छ । तर छुन हुने र नहुने कुरा सँग कुनै ठोस कारण भेटिएको छैन । यो प्रसङ्ग पढ्दा मेरो मनमा प्रश्नहरु पनि उठे ! देवीहरु पनि त महिला नै हुन् उनीहरु पनि त पर सर्थे होलान् ! किन हामी पर सरेको बेलामा उनीहरुलाई छुन हुदैन भनिन्छ ?

पर्दा पनि महिला माथि थुपारिएकै प्रथा हो । पहिले पहिले बुहारीले ससुरा, जेठाजु, श्रीमान्को नाम लिनु हुदैन । उनीहरुलाई छुन हुदैन । उनीहरुलाई देख्ने वित्तिकै सधै टाउको छोप्नु पर्छ । आफुले मान्नु पर्ने मान्छेलाई ढोग्दा स्वास्नी मान्छेले निहुरिएर मात्र नभै भुईमै घोप्टो परेर दुबै हातले भुईलाई ढोग्नु पर्ने चलनलाई मान्यजन प्रतिको मर्यादा भनिन्थ्यो भन्ने कुरा हाम्रै बुढापाका आमाहरुबाट सुनिन्छ । यसलाई वास्तवमा महिला माथि लादिएकै चलन भन्नुपर्छ । नत्र शिष्टतापूर्वक अभिवादन गरे नहुने केनै छर ! सबै भन्दा ठूलो कुरा मनबाट सम्मान गर्नुपर्छ । बाहिर मात्र देखाउने कुराले केही अर्थ राख्दैन । विस्तारै विस्तारै टाउको छोप्नु पर्ने, नाम लिननहुने, छुन नहुने चलन हरायो तर यो भुईमा ढोग्ने चलन किन हट्न सकेको छैन । खासमा हातमा ढोगेर आर्शिवाद पो लिनुपर्छ भन्ने मेरो तर्क छ । भुईमा ढोग्नु त भुईलाई ढोग्नु बराबर नै मानिन्छ । त्यसैगरी ससुराले जुवाईका खुट्टामा ढोग्ने चलन पनि सुहाउदो छैन । जुवाई त छोरा सरह हो बरु जुवाईले नै सासु–ससुरालई मान्ने परम्परा बसाल्न सुहाउछ ।

आजभन्दा २ सय वर्ष अघि सतीप्रथा जस्तो अन्धविश्वासी कुरितीले ठाउँ लिएको थियो । विशेषगरी यो प्रथा राजपरिवार र कतै ब्राह्मण समुदायमा रहेछ । राजाहरुको पत्नी धेरै हुन्थे । रोलक्रममा आफ्ना सन्तानलाई अघि पार्ने हेतुले कतीपय रानीलाई सती पठाएर उनका सन्तानलाई रोलमा पछि बनाउथे । अनि आफ्ना सन्तानलाई अधिकार सम्पन्न गराउने दाउमा हुन्थे । कहिलेकाहि त धेरै रानीलाई पनि सती जान बाध्य पारिन्थ्यो रे ! सतीलाई लोग्नेको लासका साथ सुताएपछि आगोले पोल्दा उठेर भाग्छन कि भनेर साङ्गलोले बाधेर आगो लगाउथेरे भन्ने पनि सुनिन्छ । मानिसलाई जिउदै पोल्ने कस्तो क्रुरता हो यो ? सँगसँगै लोग्नेसँग जलेर मर्न पाए स्वर्गमा सँगै बस्न पाइन्छ भन्ने अन्धविश्वास फैलाउने पनि उत्तिकै दोषि ठहरिन्छन् यो विषयमा । मानवतालाई मध्य नजर राख्दै चन्द्र शंशेरले सान् १९२०मा सतिप्रथा बन्द गराएका हुन् ।

उहिलेको कुरा गर्दा नारीको ब्रतबन्ध हुन्थ्यो रे, जनै लगाउथे रे, गायत्री मन्त्र जप्थे रे, वेद पढ्ने पढाउने गर्थे रे भन्ने मैले यो उहिलेका कुरा र अहिलेका कुरा भन्ने किताबबाट थाहा पाए । यसमा पछिपछि विकृति आएको मानिएको छ । त्यसैले अधिकारको उपभोग गर्न नारी पछि परेपनि अहिलेका नारी शिक्षित भएका कारण अधिकारका लागि सचेत हुदै आएका छन् । आजैका नारी पनि अनेक ब्रत–उपवास गरिरहेकै छन् । तर नारीको भलाइका लागि पुरुषले पालना गर्नुपर्ने नियमको ख्यालनै छैन । नारीले नै घरको काम गर्नुपर्छ भन्ने सोच पनि छ । किन आजभोलिको शिक्षित समाजमा पनि कतै कतै असमानता र भेदभाव देखिन्छ ? किन यस्ता भेदभावका कुराहरु जरैदेखि उन्मुलन हुन सकेका छैनन् ? भन्ने प्रश्न मलाई उठाउन मन लाग्यो । भन्ने बेलामा नारी र पुरुष बराबर भनिन्छ तर यो व्यवहारमा उत्रिन सकेको छैन । मलाई लाग्छ सर्वप्रथम मानिसले आफ्नो सकारात्मक सोच बृद्धि गर्न तर्फ लाग्नु पर्छ । सबैले आफ्नो नकारात्मक सोचलाई त्याग्नु पर्छ । साथै छोरीका साथसाथै छोरालाई पनि घरको काम गर्ने तालीम दिनुपर्दछ ।

वास्तवमा यि सबै तीता सत्यहरुलाई मननगरि उहिलेका कुराबाट अहिलेका कुरासम्म आइपुग्दा आकाश र पातालको फरक देखिन्छ । साथै नारीको स्थितिमा पनि प्रसस्त सुधार र प्रगति भएको देखिन्छ । तर पनि आजको समयमा कल्पना गर्न नसकिने घटनाहरु पनि हामी बेहोरिरहेका छौं । हिजो भन्दा सुधार भयो भने पनि आज ढुक्क हुने अवस्था छैन । अन्तमा प्रस्तुत सबै समस्यालाई निर्मूल पार्न मानिसले आफ्नो सोचलाई सुधारी मुखले भनिने कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्न अति आवश्यक छ । अनि बल्ल घर, समाज हुदै देशको विकास हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ