- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काँचको शिशिको बिर्कोमा किलोले प्वाल पारी झुम्रो झुन्ड्याई मट्टितेल हालेर भिजाएपछी बल्ने त्यो टुकी बत्ती,
हाम्रा पालाका कुलमान तिनै टुकिबत्ती थिए।
अली धनी घरका कुलमान मेन्टुल हुन्थे तर हाम्रा कुलमान तिनै टुकिबत्ती थिए।
कम्मर भन्दा ठुलो मोता भएका बेलिबटम र प्यारालाल पाइन्ट,
हाम्रा पालाका फेशन थिए।
२ चोटि हिड्दा आङ्गन बढारे जस्ता हुन्थ्यो।
हरेक दसैंमा नयाँ लुगा हालिदिन्थे, अली ठुलो, आगम लाई हुने गरी।
उही निलो पाइन्ट अनी आकासे निलो शर्ट, स्कुल ड्रेस भनौ कि दसैं का लुगा।
आगमलाई ठीक हुने गरी किने पनी, घुँडामा र पछाडिको बगली मुनी यसै पाली च्यातिन्थ्यो।
रफ्फु गरेर आगम सम्म लगाइन्थ्यो।
पानी परेको दिन कागजको डुंगा बलेसिमा चल्थे, हावा लागेको दिन कागजकै जहाज उडाइन्थ्यो, धनी छु झै लाग्थ्यो।
ओठ फुटे पनि, खुट्टा फुटे पनि त्यही चाइनिज BUTTERFLY क्रिम लगाइन्थ्यो।
LACTO FUN, YOYO, पहेला सुन्तला जस्ता पिपलामेट हुँदै अली बुझ्ने भै सक्दा भसक्कै पिरो हुने चुइङ्गमले सातो खान्थ्यो।
लुगा भित्र चुरा फुटाएर भाग्य जाँचिन्थ्यो,
मुठ्ठी बटारेर कान्छी औँलाको फेदमुनिको रेखा हेरेर कती छोराछोरी हुन्छन भन्ने निर्क्योल गरिन्थ्यो।
कठै त्यो बालापन
टुकिवाला कुलमान बिजुली बनेर आए,
छिमेकी काकाले BLACK AND WHITE टि.भी भनेर कालो बाकस किनेर ल्याए।
अगाडिको सिसामा XRAY जस्तै प्लास्टिक टासेपछी टि.भी आँफै रङ्गिन लाग्थ्यो।
टि.भीमा रामायाण हेर्दा हिन्दी सुनेका हामी महाभारत हेर्दा सम्म हिन्दी फरर बोल्ने भै सकेका थियौं।
बाल कार्यक्रम, प्रहरी अनुरोध हेर्दा, प्रहरिले चेलीबेटी बेचबिखन गर्नेलाई समातेको हेर्दा,
हामी सबैको सपना त्यही पुलिस बन्ने हुन्थ्यो।
TOM & JERRY त हेर्न पाइएन, मिमोन कार्टुन अझै याद आउछ,
हाम्रो पालाको GAME OF THRONES चन्द्रकान्त थियो।
टि.भीका बिज्ञापन पनि अझै याद छन, नहुन पनि कसरी?
पहिलो माया,
THE TASTE OF SUCCESS वाला शिखर चुरोट कि महिमा चौधरी मेरो पहिलो crush तिनै हुन।
खुकुरी चुरोटको "साहसिको एक मात्रा चाहना" वाला बिज्ञापन सम्झिदा अझै आङ्ग शिरिङ्ग गर्छ,
धन्न बिज्ञापन हेरेर धुम्रपान चाँही शुरु गरिएन।
अली बुझ्ने भएपछी घर मै सि.डि भाडामा ल्याएर हेर्दा आफ्नै घर HOME THEATRE झै लाग्थ्यो।
HOMEALONE र TITANIC हेरेको बिसौँ बर्ष भै सकेछ।
कान्छी, चिनो, बिजय पराजय ब्ल्याक मा टिकट काटी हेर्दा राज्य जितेको जस्तो लाग्थ्यो।
कठै त्यो बालापन
पूजा साबुन, टोकला चिया, कृष्ण पाउरोटीका बिज्ञापन रेडियोमा बजिरहन्थे,
हरी शरणम भन्ने कृषि कार्यक्रम कि ति आमै र जेटिए बाबु अझै होलान कि?
डबल स्पिकर वाला २ वटा चक्का हाल्न मिल्ने क्यासेट हर घरमा हुन्थे।
शम्भु दाहाल हाम्रा पालाका MOTIVATIONAL स्पिकर थिए, सबैका घरमा उनका गाइजात्रे क्यासेट हुन्थे।
तारा भएका छ वटा पेप्सि कोलाका बिर्को जम्मा पारेर बिस रुपैया थपी पाइने गिती क्यासेट,
SONY को WALKMAN मा हालेर दुबै कानमा तार घुसारेर सुन्दा,
अहिलेका तार बिहिन BLUETOOTH मा सुने भन्दा बढी फुर्ती आउथ्यो।
अझ एन्टेना लामो पारेर सुन्न मिल्ने चाइनिज एफ.एम रेडियोमा फ्रिक्वेन्सी जुधेर,
अरुले मोबाइलमा बोलेको सुन्दा आफु ह्याकर भएको FEELINGS आउँथ्यो।
कठै त्यो बालापन
गोडा फाट सतर्क भन्दा पहिलेको त्यो राष्ट्रिय गान,
श्रीमान गम्भिर नेपाली,
अझ काँडा उम्रिन्छन हातमा, सम्झिदा पनि।
फाउन्टेन पेनमा सिरिन्जमा औषधी ताने जसरी अनी
चाइनिज पेनको पेट थिचेर भरिने त्यो चेल्पार्क मसी हुँदै STARLINE डटेपन।
GEOMETRY बक्सको त्यो २ सियो भएको औजारले स्कुलको डेस्कमा गोलो बाहेक केही बनाइएन।
त्यतिबेलाका मासिक पत्रीका जाँचमा कापी ओच्छाउने CLIPBOARD थिए।
दसैं तिहारमा लिङ्गे पिङ्ग र लङ्गुर बुर्जा खेल्नुअघी १ रुपैया का पोष्टकार्डमा ४ लाइन शुभकामना पंक्त्ती मिलाउदा
आफुलाई देवकोटा नै पो हुँं कि झैँ लाग्थ्यो।
बिना हुलाक टिकटका ति पोष्टकर्डमा पाउने र पठाउनेको नाम लेखेर हातमै दिइन्थ्यो, अली मन परेकिलाई हातमा दिन डर लाग्थ्यो।
EAGLE वाला हार्डकभर कापिमा लुसुक्क राखिन्थ्यो, उनी पनि त्यसै गरी फिर्ता गर्थिन।
सानो हाते दुरबिनले घाममा देखाएर साथीको हात पोलिदिदा आफु नासाको बैज्ञानीक झै लाग्थ्यो।
बाघचाल, बुध्दिचाल होइन लुडो र नागपास हुन्थे स्कुलमा।
आज ल्याउथे, अर्को हप्ता गायब हुन्थ्यो।
कठै त्यो बालापन
हाम्रो पालामा PUBG थिएन, तर BRICKGAME वाला भिडियोगेम PUBG भन्दा कम थिएन।
हाम्रा पालामा TIKTOK थिएन, खल्याङ्गखुट्टी, चुङ्गी, अनी गट्टा खेलेर फुर्सद पनि थिएन।
हाम्रा पालामा SELFIE थिएन, तर SELFISH नभै ३६ वटा आउने रिलको क्यामेराले गनी गनी सबैको सिङ्गल सिङ्गल फोटो खिचिन्थ्यो, बराबर ।
YAHOO MASSANGER र HOTMAIL MESSANGER का अफलाइन म्यासेजले अहिलेका WHATSAPP र INSTAGRAM का NOTIFICATION भन्दा बढी महत्व राख्थे।
DISKET हाल्ने PENTIUM4 कम्प्युटर किन्ने सपना बुन्दा बुन्दै सकिएछ, कठै त्यो बालापन।