arrow

आमा नरुनुस है !

logo
रामकृष्ण पुडासैनी, 
प्रकाशित २०७६ चैत ६ बिहिबार
ramkrishna-pudasaini.jpg

पुजनीय आमा 
साष्टांग दण्डवत, 
आमा, हजुर कस्तो हुनुहुन्छ ? हजुरको गाथमा आराम रहोस् भन्ने कामना गर्दछु । ढुक्क हुनुहोस् आमा, हजुरको जेठो छोरो ज्यूँदै छु  र रोल्पाकोटको एकलाश जंगलबाट यो पत्र लेख्दैछु। शायद यो पत्र हजुरसम्म पुग्छ कि पुग्दैन । फेरि अर्को पत्र लेख्ने रात आउँछ कि आउँदैन म केहि भन्न सक्दिन आमा । त्यसैले बिगतदेखि आज सम्मका साबि कुरा सम्झी लेख्न मन लाग्यो। आमा, मेरो चिठ्ठी पढी नरुनुहोस् है । 

कति आनन्दित थियो त्यो दिन जुन दिन तपार्इका दुवै छोराले एकै दिन एउटै स्कुलबाट एसएलसी पास भएका थिए । नौ गाउँ हल्लिएको थियो त्यो खबरले । शायद प्रजातन्त्रका लागि लड्दा लड्दै वीरगति प्राप्त बुबाको आत्माले पनि त्यहि दिन शान्ति पायो होला। 

हाम्रो विद्यालयबाट प्रथम श्रेणीमा प्रथम पटक उत्तीर्ण हुने हामी दुर्इ भाइ नै थियौं । विद्यालयले सिन्दुर जात्रा गरी हामीलाई गाउँ घुमाएको थियो । अघि र पछि हाम्रो रिस र डाहले मर्ने पनि त्यो दिन खुशी देखिन्थे। आफु प्रजातन्त्र ल्याउने भएर पनि ठुल्दाइको त्यति नाम चलेको थिएन तर आज स्वर्गीय ठुल्दाइको छोराहरुले एसएलसी पास गर्दा त्यति चर्चा चल्यो। सबैको मुखमा यहि कुरा सुनिन्थ्यो। 

सबैले बुबालाई हामी जस्तो छोरा पाएकोमा बधाई अनि धन्यबाद दिएका थिए । बुबाको आफ्नै अभिलाषा थिए, केहि गर्ने वा बुबा प्रजातन्त्रलाई राम्रो संग बुझ्नु भएको थियो । पंचायत भन्दा प्रजातन्त्र ले देश, नरेश र जनताको भलो अधिक गर्छ भन्ने पक्का बिश्वास थियो, वा बुबा बुझेर या नबुझेर लहैलहैमा प्रजातन्त्रको लडाइमा होमिनु भयो वा पंचहरूको दुःख र हेपाइको विरुद्ध प्रजातन्त्रको लडाईमा होमिनु भयो वा पंचहरूको अन्याय अत्याचार सहन नसक्ने तिनीहरुको बिरुद्ध बोलेको हुनाले पंचायती व्यवस्थाले बुबालाई दुःख दिन थालेका थिए । 

त्यहि भएर बुबा प्रजातन्त्रको पक्षमा लाग्नु भयो । के कारणले बुबा प्रजातन्त्रको पक्षमा लाग्नु भयो यी कुरा हामी दुवै भाइले पटक्कै बुझेका थिएनौं । हामीले हाम्रो बाल मनोभाव अनुसार सोधेका पनि हौं । बुबा यो प्रजातन्त्र भनेको के हो ? किन पंचायती व्यवस्था फाल्नु पर्यो ? त्यति बेला बुबाले दिनु भएको जवाफ हामीले पटक्कै बुझेनौंं र बुझ्ने कोशिश पनि गरेनौं।

हामी दुर्इ भाइको बाल मष्तिष्कमा बुबाले भन्नु भएको ‘जनाधिकार, समानतार स्वतन्त्रता’ भन्ने शब्दहरु मात्र घुसे । तर हामीले ती शब्दको अर्थ भने बुझेनौं र बुझ्ने कोशिश पनि गरेनौं किनकि ती सबैको लागि बुबा र बुबाका साथीहरुले प्रजातन्त्र ल्याउँदै हुनुहुन्थ्यो। बस हामीलाई यत्ति थाहा थियो । जनआन्दोलनको क्रममा बुबा पटक पटक जेल पर्नु भयो। 

जेलबाट फर्किदा बुबाको शरीरमा निलडाम देख्दा लाग्थ्यो सिपाही भनेको राक्षस हो तर बुबा भन्नु हुन्थ्यो –बाबु हो असल सिपाही राष्ट्रको सेवक हो। त्यसबेला बुबाको त्यो कुरा सुनेर हामी दुवै भाइ सिपाही हुने अठोट गर्यौं । 

प्रजातान्त्रिक आन्दोलनको क्रममा बुबा लगायत बुबाका साथीहरुलाई गोली लाग्यो । बुबा बित्नुभयो तर बुबाका अरु साथीहरु बाँचे। 

त्यहि साल देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र घोषणा भएको दिन ओहो आमा कति रमाइलो हगि । हजुर सेतो पहिरनमा हुनु हुन्थ्यो। हामी दाजु भाइ अबिर र फूलले राताम्मे थियौं।  सबै गाउँले जम्मा थिए । ठुल्दाई जिन्दाबाद, प्रजातन्त्र आयो–आयो, अमर सहिद जिन्दाबाद, ठुल्दाइको सपना साकार पार्छौं । हामीले यस्तै नारा धेरै सुन्यौ त्यो दिन । त्यो दिन सबै जना खुशी देखिन्थे। 

के ले गर्दा र के का लागि प्रजातन्त्र आयो यी कुरा नबुझे पनि सबैको कुरा सुन्दा लाग्थ्यो कि हाम्रो बा र सहिद मिलेर प्रजातन्त्र ल्याउनु भएको हो। आमा त्यस बेलादेखि देशमा प्रजातन्त्र त आयो तर हाम्रो घरमा भने अनिकाल आयो । कमाउने भन्ने बुबा बितेपछि घर लथालिङ्ग भयो । दुई छाक टार्न धौ धौ पर्यो। हाम्रो पढाइ यहिनिर रोकियो । 

देशमा चुनाव भयो। जनान्दोलनका बुबाका साथीहरु मन्त्री बने तर तिनलाई त्यो पद सम्म पुर्याउने हाम्रो बुबालाई चाहिं बर्षको एक दिन बाहेक कहिल्यै कसैले सम्झेन । सहिद दिवसको एक दिन सहरमा भब्य समारोह हुन्छ। सबैले बुबा लगायत सहिदको गुनगान गाउँछन् । 

महँगो फूल चढाउछन् र  मिठाइ खाएर घरतिर लाग्छन् । आमा यहीबाट शुरु भयो हाम्रा दुःखका दिन। यी दिनसम्म त हामी पनि बुझ्ने भै सकेका थियौं। हामी दुर्इ भाइ नै सैनिक भर्ति केन्द्रमा भर्ना हुन जान्छौं। भाइ मभन्दा धेरै सुन्दर, बलवान र पढाइमा तेज हुँदा हुँदै पनि सैन्य जाँचमा अनुत्तीर्ण हुन्छ र म चाहिं उत्तीर्ण हुन्छु। यसरी म सिपाहीको जिन्दगी शुरु गर्छु भने भाइ घर चलाएर बस्छ। 

देशमा प्रजातन्त्र आएको ५–६ बर्ष बियो । त्यो बिचमा देशमा अन्य तन्त्र पनि आयो र तिनले पनि बन्दुक बोके। ती अरु तन्त्रको मुख्य दुश्मन हामी सिपाही र हाम्रा बाले ल्याएको प्रजातन्त्र भयो। शायद भाइले कुरा नबुझेर हो कि बढी बुझेर हो त्यहि तन्त्रको बन्दुक बोक्यो। शायद भाइले त्यहि तन्त्रको बन्दुक नबोकेको भए आज मैले यो चिठ्ठी हजुरलाई लेखिरहन पर्दैन थियो होला। 

मैले नेपाली सिपाहीको बन्दुक बोक्ने बेलामा जनाधिकार, समानता र स्वतन्त्रताको लागि सपथ खाएँ भने मैले सुनें कि भाइले पनि त्यहि जनाधिकार, समानता अनि स्वत्रन्त्रता को लागि सपथ खायो रे । प्रजातन्त्रवादी र भाइको तन्त्रवादी बीच धेरै पटक युद्ध भैसके । दुवै पट्टि अनगिन्ति मान्छे मारिइसके । मैले आफ्नो पक्षको रक्षाको लागि भाइको पक्षका धेरैलाई मारिसकें भने भाइको पक्षले पनि हाम्रो पक्षका धेरैलाई सिध्याइसके। 

आमा बाल्यकालमा हामीले कहिल्यै झगडा गरेनौं। दुई दाजु भाइ बीच कुटाकुट त के भनाभनसम्म पनि भएको थाहा छैन। भाइलाई मैले माया नगरेको र भाइले मलाइ आदर नगरेको कुनै क्षण थाहा छैन। हामी दुइ हजुरको कोखबाट जन्मी हजुरकै काखमा हुर्कियौं। 

आजसम्म हाम्रो मुखमा मासु परेको छैन। अझ भाइ त काटमार सुन्ने नहुने, खसी बोका काटेको देख्यो कि बेहोस हुन्थ्यो। यस्तो अहिंसावादी मेरो भाइ आफ्नै दाजु र दाजु जस्ता सिपाही अनि निर्दोष निहत्था जनताको धमाधम ज्यान लिँदैछ। थाहा छ आमा, हाम्रो सैन्य सुराकीको अनुसार हामी दाजुभाइ लाइ बाह्रखरीदेखि एसएलसीसम्म पढाउने कपिल गुरुको हत्या भाइले नै गराएको हो किनकि भाइको तन्त्र कपिल गुरुको शिक्षा लाइ बुर्जुवा शिक्षा भन्दै उहाँले पढाउने त्यो स्कुल बन्द गराउन चाहन्छ । जुन स्कुलमा भाइ र मैले दस बर्ष पढेका थियौं। आमा हजुरको जेठी छोरीका पति, हाम्रो भिनाजुलाई मार्न पनि भाइकै हात छ किनकि भाइको तन्त्र भिनाजुले राजनीति गरेको देखि सहदैन। 

बुबाको मृत्यु पश्चात जुन भिनाजुले हाम्रो अभिभावक बनेर हामीलाई साथ दिनुभयो ती भिनाजु मार्दा दया न आए पनि आमा समान दिदीको ख्याल नगरेपनि कमसेकम दिदीको कोखको बच्चाको बारेमा केहि सोच्नु पर्ने हो। जुन भिनाजुले हामीलाई सहारा दिनुभयो, जुन गुरुले हामीलाई शिक्षा दिनु भयो, त्यस्ता गुरु र भिनाजु मार्ने कस्तो तन्त्र हो यो आमा । मैले त केहि बुझ्न सकिन। अब दिदीले कोखको बच्चा कसरी हुर्काउने । हाम्री बहिनी पढ्न कहाँ जाने । आमा हाम्रो तन्त्रसंग त यसको जवाफ छैन । के भाइको तन्त्रले यसको जवाफ देला त ? 

आमा, आज हामी यहाँसम्म आइ पुगी सक्यौं कि अब म  मेरो प्रजातन्त्रको अस्तित्वको लागि र भाइ उसैको तन्त्रको अस्तित्वको लागि लड्दैछौं । मैले पाएँ भने भाइलाई र भाइले पाए मलाई मार्न तम्सिएका छौ । थाहा छैन त्यो समय कहिले आउँछ तर त्यो दिन नजिकै आइसक्यो। मैले लडेको तन्त्र (प्रजातन्त्र) जनाधिकार, समानता र स्वतन्त्रताको लागि हो भने भाइको तन्त्र पनि त्यहि जनाधिकार, समानता र स्वतन्त्रता कै लागि हो भन्ने सुनिन्छ। 

आमा म स्वीकार्छु कि मेरो बुबाले ल्याउनु भएको प्रजातन्त्रले सम्पूर्ण जनाधिकार बाँडेन होला । समानताको नाउमा असमानता अनि स्वतन्त्रताको नाममा बन्धक पनि बनायो होला तर भाइको तन्त्रले जस्तो कयौ  कपिल गुरु अनि कयौ भिनाजु लाइ मारेको छैन । कयौ दिदीको सिन्दुर पुछी काखे नानी  घर न घाटको बनाएको छैन । स्कुल सुधारको नाउँमा पैसा जरुर बढाएको होला तर आफ्नै बहिनी जस्ताले पढ्ने स्कुल बन्द गराएको छैन। 

हाम्रो तन्त्रले पानि लिन जाने पंधेराको बाटो पिच गर्न सकेको छैन होला तर त्यहि पान लिन जाने बाटोमा एम्बुस राखेको छैन ताकि आफ्नै आमा जस्तालाई तारो बनाउन सकियोस। शायद पक्कि पुल बनाउन सकेको छैन होला तर आमाले गहुँ पिँध्न पानी घट्ट जाँदा तर्ने खोलाको झोलुङ्गे पुल पनि भत्काएको छैन । हामीले जनयुद्धको नाममा शुरु भएको यो समयमा हतियार बोक्नेलाई मार्यौ होला तर निहत्था बालक र बृद्धलाई मारेको छैन । आमा ब्रतबन्धपछि पुरोहितले सिकाएको गायत्री मन्त्र पाठ गरिएन होला तर लाखौ मन्त्र र ज्ञान भएका ती पुस्तक र पुस्तकालय हामीबाट जलाइएको छैन ।  

आमा हाम्रो तन्त्रले देश विकासको नाममा कर चन्दा उठायौ होला तर भाइको तन्त्रले जस्तै नदिनेलाई घांटी रेट्ने काम पनि गरेका छैनौं। नयाँ उद्योग खुलेन होला तर भएका कलकारखाना बन्द पनि गराएका छैनौं। यी त केहि उदाहरण मात्र हुन् आमा। यस्ता कयौ उदाहरण छन् जसमा भाइकै तन्त्रको गल्ति देखिन्छ, स्पष्ट रुपमा। 

हुन त भाइ र भाइको तन्त्रको पनि आफ्नै बिचार, सिध्दान्त र स्पष्टिकरण होलान। भाइको तन्त्रको बिचारमा यहि प्रजातन्त्र गलत होला, के सहि र के गलत म छुट्याउन सक्दिन। तर मा आफ्नो कर्तब्यबाट चाहिं विचलित हुँदिन । 

मैले आफ्नो शरीरमा एक थोपा रगत होउञ्जेल लडिरहने प्रतिज्ञा लिएको छु र लडिरहने छु। यसमा मेरो ज्यान जावोस या भाइको ज्यान जावोस् केही मतलब छैन । यसमा आफ्नो कर्तव्यपथबाट बिचलित हुँदिन । म अहिले यस्तो परिस्थितिमा उभिएको छु कि मैले आफ्नो लागि भन्दा पनि आफ्नो देशको लागि केहि गर्ने बेला भएको छ। यदि अहिले बा ले ल्याउनु भएको प्रजातन्त्र र यो देशको अस्तित्व को कुरा न आएको भए मा स्वयं पराजित भएर भाइलाई बिजयी घोषित गरिदिन्थे, तर मेरो भन्दा पनि यो देश र यो देशको शहिदको कुरा उठेको छ, त्यसैले आमा  मेरो व्यक्तिगत जिन्दगि अहिले केहि पनि होइन। मा यो देशको नुन खाएको सिपाही हुँ र म नुनको सोझो गर्छु। शायद भाइको पनि यस्तै सोच होला।

आमा, मलाइ कति कुरा गर्ने रहर थियो। बहिनीलाई एसएलसीसम्म पास गराई राम्रो घरमा बिहे गराई दिने, दुवै भाइको घरजम बसाउने, सयुक्त परिवार, आमा, छोरा, बुहारी, अब यी कुरा त परे जावोस् यदि यो युध्द चलिरह्यो भने मर्ने बेलामा आमाको मुखमा दुइ थोपा गंगाजल पनि हाल्न नपाउने भएँ। आमाको पनि रहर होला, सपना होला, दुइ छोरा, दुइ बुहारी, नाति नातिना, रमाइलो परिवार बिचको बुढ्यौली, तिर्थबर्त , दानधर्म, र अन्त्यमा दुइ छोरा बुहारिकै काखमा परमधाम सवारी हुने तर खै हजुरको भाग्य त्यस्तो होकी हाम्रो कर्म त्यस्तो हो, मर्ने बेलामा न छोराले आमाको मुख देख्न पाउने भए न आमाले नै छोराहरुको मुख हेर्न पाउनुहोला।   

तिन चार बर्ष भैसक्यो दशैंमा आमाको हातको टिका र आशिर्बाद नथापेको। हरेक बर्ष तिहारमा दाइ आउछन कि भनि बहिनि मखमली रोप्दी हो। बिचारी बहिनि बोटैमा मखमली सुकेर जादा कति रुदि होलि। दशैंमा एकसाथ टिका टाला गर्ने आमाको कत्रो रहर होला।   तिहारमा दाइ हरु संग रमाइलो गर्ने बहिनीको कत्रो आश होला। तर यी सबै कुरा यो  जुनीमा यत्तिकै रहला जस्तो छ। आमा तपाई साच्चिकै धर्तीमाता हुनुहुन्छ। बुबा बित्नुहुदा जसरि हामीलाई अर्ति उपदेश दिनुहुन्थ्यो, र भन्नुहुन्थ्यो, ‘बाबुहो बुबा त देशको लागि लड्नुभएको ।’

आमा आज मा पनि हजुर संग त्यहि कुरा गर्दैछु। हजुरको पतिले जनाधिकार, समानता र स्वत्रन्त्रता का लागि लड्दा लड्दै बीरगति प्राप्त गर्नुभयो र आज हजुरका दुइ छोराले पनि त्यहि जनाधिकार, समानता र स्वतन्त्रता का लागि लड्दै छन्। तर हामि दुवै बिचको बाटो बिलकुल फरक छ। मा भन्छु मैले रोजेको बाटो ठिक हो, भाइ भान्छा उसले रोजेको बाटो ठिक हो। मलाइ थाहा छैन के ठिक हो के बेठिक तर मलाई यत्ति थाहा छ कि मा मेरो कर्तव्यबाट छाही बिचलित हुनु हुदैन। आमा चाडै नै हजुरका दुवै छोराहरु मारिदैछन। शायद त्यो दिन अब धेरै टाढा छैन होला , त्यसैले आमा हजुर सम्हालिएर बस्नुहोला। हजुरको एक थोपा आशु हामी दुवै भाइको लागि सात समुन्द्र भन्दा बढी हुन्छ। त्यसकारण हाम्रो मृत्युमा नरुनुहोला, मा भन्दिन कि मेरो बाटो असल हो, र भाइको बाटो गलत हो, सहि र गलत मा छुट्टाउन सक्दिन तर मा यत्ति जरुर जान्दछु कि मैले रोजेको बाटो गलत थिएन र होइन पनि। 

आमा डाडा पारीबाट फायरिंग को आवाज सुनियो।  रातको पौने एक बजेछ। शायद आतंककारी हामीकहा धावा बोल्दै अगाडी बढ्दैछन।  हिजो  सुनेको थिए कि आतंककारीको कमान्डर मेरै प्यारो भाइ, तपाई कै कान्छो छोरो हो रे। यता पट्टिको कमान्डर म आफै छु । यो कस्तो बिडम्बना, एउतै कोख बाट जन्मेका दुइ छोरा बिपरित दिशाबाट एकले अर्कोलाई मार्न भनि तम्सिरहेका छन्। शायद भाइ लाइ पनि यो कुराको पूर्ण ज्ञान छ। मा उसलाई पनि दोष दिन्न किनकि हामि दुबैको उमेर, शिक्षा अनि बुध्दि लगभग उस्तै हो। भाइ उसैलाई सहि ठान्छ होला मा आफैलाई सहि ठान्दछु। आम के सहि के गलत फुर्सदमा आफै छुट्टयाउनु होला किनकि हामि दुबैको शरीरमा हजुरको र बिर सहिद ठुल्दाई को रगत छ, जसले कहिल्यै हार्न जान्नु भएँन। हजुरको पनि दुर्भाग्य भन्नु पर्ला आमा बुढी भएर दुवै छोरा हरु मरेको सुन्नु पर्ने भयो, तर आमा दुख नमान्नु होस्, हजुरका छोराहरु देशका लागि मर्दैछन। बिन्ति आमा, मेरा लागि सम्पूर्ण भगवान हजुर नै हुनु हुन्छ, कृपया एक थोपा आँशु पनि नाझारिदिनुहोला। शायद मेरो लाश हजुर समक्ष केहि घन्टामै पुग्छ होला, दुख नमानी हासेर बिदा दिनुहोला। निबृति भरण बाट आएको केहि रकम मैले पढेको स्कुल लाइ दाङ दिएर त्यो स्कुल पुन संचालन गर्न लगाउनु होला। यति गर्नु भयो भने मेरो आत्माले शान्ति पाउनेछ। फौज नजिकै आइसक्यो आमा, मलाइ आशिर्बाद दिनुहोस कि अर्को जुनीमा पनि हजुरकै सन्तान हुन पाउँ।  आमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, गाउभरिका सबैलाई अन्तिम अवस्था सम्म सम्झेको सुनाईदिनुहोला।  बहिनीको मुहार सम्झने बित्तिकै भक्कानो फुटेर आउछ, आमा मलाइ हासेर बिदा दिनुहोला, बहिनीलाई मखमली र सयपत्री रोप्दै गर भन्नु, मरे अर्को जन्ममा हजुर र बहिनीलाई भेटौला, बाचे यसपाली टिका थाप्न आउँला।  

हजुरको अभागी छोरो 
धने। (लेखक स्पेनमा छन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ