arrow

लकडाउनमा अभ्यस्त बन्दै नेपालगञ्ज

logo
काशीराश शर्मा
प्रकाशित २०७६ चैत १२ बुधबार
nepaljung-road.gif

बाँके। चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’का लागि नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन्। तीन दिनयताका निकै प्रयासबीच नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका हुन् । नेपालगञ्जमा अटेरी गर्नेहरुका कारण नेपाल र सशस्त्र प्रहरीको तैनाथी बढाएपछि ‘लकडाउन’ प्रभावकारी हुँदै गएको हो। भित्री सडकमा एकाध मानिस मोटरसाइकलमा देखिए पनि मुख्य सडकमा एम्बुलेन्स र प्रहरीका गाडीमात्र कुदेका देखिन्छन्। कोराना भाइरसबाट उत्पन्न महामारी भित्रन नदिन चौतर्फी सतर्कता आह्वान गरेको सरकारले मङ्गलवारबाट नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ।

चैत १८ गते बिहान ६:०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आदेश गर्दै लकडाउन घोषणा गरेको हो। “न्यूरोड क्षेत्र ठप्प छ”, स्थानीयवासीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने। “रानीतलाउ, मङ्गलपथ सामान्य छ”, स्थानीयवासी साजिदा शाहले भनिन्।

सडकमा मानिस देखिए प्रहरीले भगाउने गरेको छ। साविकको डिएसपी रोडमा अलिक चहलपहल देखिएपछि प्रहरीले हप्काएको छ। सडकमै क्रिकेट खेलिरहेका युवाहरुलाई प्रहरीले लखेटेको थियो। सुर्खेतरोडको धम्बोेझी क्षेत्र सुनसान छ। बिहानदेखि पुष्पलाल चोक क्षेत्र पनि बन्द रहेको होटल व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए।

सदरलाइन त्रिभुवन चोक क्षेत्रमा मङ्गलबार एकाध मानिसहरु देखिए पनि आज विहान घरबाट बाहिर कोही निस्किएका छैनन्। भृकुटीनगर परसपुर रोडमा मानिस अनावश्यक डुलिरहेका देखेपछि प्रहरीले लखेटेको छ। स्थानीयवासी, युवा व्यवसायी अवधराज शर्माका अनुसार, लकडाउनको अवज्ञा गर्नेलाई तह लगाउन प्रहरी परिचालन अझै बढाउनुपर्ने देखिन्छ। “पुरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ”, बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले भने, “अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ।” उनले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको बताए।

प्रहरी उपरीक्षक ओलीका अनुसार, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन। आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्ने सरकारको आदेशानुसार प्रहरी परिचालन भएको प्रहरी उपरीक्षक ओलीले बताए।

मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको थियो। औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने यो बेला संक्रमण रोग ऐन–२०२० अन्र्तगत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था छ।

सुत्केरी र वृद्धवृद्धा विमानस्थलमा अलपत्र
बाँकेबाट घर हिँडेका डोल्पावासी नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन्। सरकारले मंगलवारदेखि देशभर ‘लकडाउन’ गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण विमानस्थलमै रोकिएका हुन्। डोल्पाका लागि जहाज नउडेपछि टिकट लिएका करीब ५० जना नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन्।

टिकट लिएर पनि जहाज नउडेपछि नेपालगञ्जका होटेलमै बस्नुपरेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताउनुभयो। अझै एकसाता बस्नुपरे आफूहरू खर्च सकिएर अलपत्र पर्ने उनीहरुले गुनासो छन् । विमानस्थलमा अलपत्र पर्ने अघिकांश उपल्लो डोल्पाका नागरिक रहेका छन् ।

९२ नेपाली जमुनाबाट नेपाल प्रवेश
कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन भएपनि बाँकेमा भारतबाट नेपालतर्फ आउने नेपालीहरुको क्रम रोकिएको छैन। नेपाल सरकारले नेपालभर ‘लकडाउन’ लागू गरेपनि भारतका विभिन्न सहरहरुबाट नेपालतर्फ आउने नेपालीहरु अझैं रोकिएका छैनन्। मंगलबार मात्र ९२ नेपालीहरु जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन।

अध्ययन तथा रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपालीहरुलाई भारतीय प्रहरीकै सक्रियतामा सीमा नाकासम्म पुर्‍याउने गरिएको छ । जसले गर्दा नेपालतर्फ कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा नाकामा रहेको नेपालीहरुको उद्धार गरिने बताए।

होम क्वारेन्टाइनमा बस्ने शर्तका साथ उद्धार गरिएका हरेक नागरिकलाई उनीहरुकै गृहजिल्ला पुर्‍याउने तयारी भइरहेको उनले बताए। नाकाबाट नेपाल प्रवेश गरेकाहरुलाई बसमार्फत सिधै उनीहरुको घर लैजाने र त्यहाँको स्थानीय प्रशासनको रेखदेखमा होम क्वारेन्टाइनमा राख्नका लागि अनुरोध गरिने खड्काले बताए।

सोमबारमात्र ५०० भन्दा बढी नेपालीहरुलाई सिमानाकाबाट उद्धार गरिएको थियो। उद्धार गरिएकाहरु नेपालगञ्जस्थित महेन्द्र क्याम्पस परिसरमा रहेको क्वारेन्टाइनबाट भागेका थिए। भारतबाट असुरक्षितरुपमा आएका नेपालीहरु क्वारेन्टाइनबाट भागेपछि सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ