स्मृतिमा भण्डारी सर !

प्रमोदहरी गुरागाई,  प्रकाशित मिति : २०७६ चैत १३ बिहिबार

–आवाजमा–
 वटुकहरु किन हल्ला गर्छन् ? 
वाल्मिकी क्याम्पसको सभा कक्ष
अनुभव बताउँदै हुनुहुन्थ्यो
गएँथे हिन्दूस्तान, संस्कृत पढ्न 
कर्म गर्थें
गुरु स्नानार्थ, नरम माटोको जोहो
दैनिक गाली खान्थेँ गुरुको
माटोमा मिसिएको ढुङ्गाले जिउ कोरेकोले
झोँक चलेछ 
मिसाइ दिएँ धुलो खुर्सानी, गेगर ढुङ्गासहित
भागेँ आश्रमबाट, फर्किएँ नेपाल ।

खल्वाट चिने चिने जस्तो लाग्छ ?
बानेश्वरको मधुशाला 
हो सर ! वक्तृत्वकलामा भाग लिएको थिएँ
सर निर्णायक मण्डलमा हुनुहुन्थ्यो
जितिस् होइन ?
हो सर !
आशीर्वचन, निरन्तर मेहनत गर्नू ।

–अक्षरहरुमा–
यौवन
क्षण भंगुर
पानीमा कोरिएको रेखाजस्तो 
वैंश भूतपूर्व भएपछि 
पुरानो ऐना फोर्न मन लाग्छ 
हेलेनले यसै गरिन्
चाउरी परेको मुहार ऐनामा हेरेपछि ।

–जीवन–
एक अज्ञातबाट
अर्को अज्ञाततिरको यात्रा 
जटिलताको पोको
भ्रम र ढोङ मिश्रित नाटक
लाटो (श्रवणविहीन) ले बजाएको बाँसुरी जस्तै
धुनयुक्त, ध्वनिरहित
संगीत कम, विसंगति ज्यादा ।

–सवक नेतृत्वलाई–
जीवनको गहिराई र उचाइको मापन
अखबारे सूचनाबाट प्राप्त हुन्न 
तसर्थ, तुच्छ लाग्यो उनलाई 
हाम्रो राजनेताको नाक
पशुपतिको जोगीको लिङ्ग भन्दा
निष्कर्ष निकाले
कोलाहलमा मौन रहनु उचित ।

–मेरो विश्वास– 
रङ्गिल बन्यौ, विश्वज्योति सिनेमा गृहमा
विद्यार्थीसंगै रङ्गिला हेरेर
समकक्षीहरुको निद चोर्यौ
छात्रा विद्यार्थीसंग रङ्गिला हेरे भनेर
ए बुढा !
तिमी पक्कै 
स्वर्गमा मेनका, ऊर्वशी......लाई
लठ्ठाइ रहेछौ र शब्द संगीतद्वारा
होस गर, ईन्द्र रिसाउलान्
ईन्द्र रिसाए भने
दुःख दिएको सम्झन्छन् 
यहाँ जस्तै, त्यहाँ पनि
अर्को पत्र कोर्ने नै छु
तिमीद्वारा रचित
त्यो धर्ती, यो आकाश  
मृगस्थली, फूल र रोटी
नीरो बाँसुरी बजाइ रहेछ
पुनः अध्ययन गरेर ।

नयाँ