arrow

प्रेमका कुरा: घरमा श्रीमती भएपनि सबैलाई बिहे गर्छु भनेर झुक्काउँथें

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
ishori-prasad-ghimire.jpg.jpeg
प्रेम मानव जीवनको एउटा अभिन्न अंग हो। फ्रायडीय मनोविज्ञानको सिद्धान्त अनुसार पनि कुनैपनि केटामान्छे केटी मान्छेको अगाडि पर्दा सामान्य भन्दा भिन्न अनुभव हुनु अस्वभाविक होईन। तर, कतिपय अवस्थामा समाजको स्थिती अनुसार पनि मनोविज्ञान परिवर्तन हुनसक्छ।
 
मेरो जीवनमा पनि सामाजिक परिस्थितीको कारणले मैले कुनैपनि केटीहरूप्रति गाउँको विद्यालयमा पढुन्ज्याल समाजको स्थिती, सामाजिक बन्धन र मेरो व्यक्तिगत स्वभावले पनि हुनसक्छ विपरित लिङ्गीहरूसँग मायाप्रेमका कुरा त के सामान्य कुरा पनि गर्न समेत सकिएन विद्यालय जीवनमा। 
 
प्रायडीय मनोविज्ञानको कुरा गर्दा त विद्यालय जीस्वनमा त मैले त्यो सिद्धान्तलाई नै फेल गराईदिएँ। जव एसएलसी सकेको मात्रै थिएँ, मैले घरपरिवारको दबाबले पनि विवाह गर्नुपर्ने भयो। विभिन्न कारणले दुईवटी केटी हेर्दा पनि मेरो विवाह हुन सकेन। के मिलेन कुन्नी आफूले त हेर्न पाएको पनि होईन। खानदानी मिलेन भनेको सुनेको हो। तर तेस्रो पटक हेरेको मान्छे चाहिँ लगन जुरेको रहेछ, विवाह गरियो। विवाह गरेपनि आफ्नो त केटीमान्छेसँग बोल्ने बानी नै थिएन। श्रीमतीलाई हेरेको पनि एकैपटक घुम्टो खोलेर विवाहमा मात्रै हो। तर, मैले श्रीमती जस्ती होलिन् भन्ने सोचेको थिएँ मैले त्यो भन्दा कम भेटिन। विवाह त भयो तर खुलेर कुरा भने गर्न सकिएन। झण्डै चारपाँच वर्षसम्म त श्रीमतीसँग खुलेर बोल्नै सकिएन। 
 
जव विद्यालय तहको पढाई सकेर म क्याम्पस पढ्नको लागि काठमाडौं आएँ। यहाँ मैले नयाँ रहनशहन र नयाँ परिवेश भेटेँ। गाउँमा रहेको सभ्यसंस्कृति मैले विस्तारै शहरीया छाडा संस्कृतिमा भुलाउँदै लगेँ। त्यसपछि बल्ल भने ममा पनि फ्रायडीय मनोविज्ञानको सिद्धान्तले मेल खाँदै गयो। मैले पनि केटीहरू देख्दा छुट्टै ‘इमोशन’को महसुश पनि गर्न थालेँ। कानून पढ्नको लागि ल क्याम्पसमा भर्ना भएको मैले धेरै केटीसाथिहरू त देखिन। तै पनि ५-६ वटा सेक्सन मध्ये ‘ए’ सेक्सनमा भएका झण्डै पाँच दर्जन विद्यार्थीहरूमा आठ-नौ जना साथीहरू मात्रै केटीहरू थिए। त्यहाँ पुग्दा मैले पनि केही शहरीया प्रवृत्ति अँगाल्न थालिसकेको भएपनि म मा केही गाउँले पनभने पक्कै देखिन्थ्यो। मैले आफू विवाहित हो र मेरी श्रीमति घरमा छ भन्ने कुरा भने कहिलै पनि भुलिन। त्यसैले होला एउटी केटी पनि पट्याउँन पनि सकिएन त्यतिबेला। 
 
त्यो बेलामा पनि खासै पछि लागेको भनेर अति नै त गरिएन तै पनि एकदुई जना केटीहरू मन भने परेकै हो। तर के गर्नु ? ऊ बेलाका टोलेकेटाहरूको तुजुकले गर्दा हामी त छायामा परियो। केटीहरू त एकाएक उनीहरू तिरै पछि लाग्ने हाम्रो काम त पछि लाग्ने मात्रै रह्यो। उनीहरू क्यान्टिनमा खाजा खान जान्थे, उनीहरूको छुट्टै लाईन थियो। कुनै दिन त उनीहरू जिस्किँदै हिँड्थे, आफू पछि लाग्दै हिँडिन्थ्यो। यसरी नै वित्यो ती क्याम्पसका दिनहरू, न त ती केटाहरूले ती केटीहरूलाई छाडे न त आफूले नै उनीहरूलाई पट्याउन सकियो। 
 
तर, आफूलाई मनपरेको केटीले मनपराईन भने आफूलाई मनपराउनेहरू धेरै भेटिन्छ भन्ने चलन त छँदैछ नि, त्यस्तै भयो। जनप्रशासन क्याम्पसमा हुँदा खेरीपनि धेरै केटाकेटीहरूकोबीचमा मायाप्रितीका कुराहरू भएको खेखिन्थ्यो। केही केटीहरू मसँग पनि त्यस्ता कुरा गर्नमा चासो दिने गर्दथे। तर, त्यतिबेला पनि आफू भने मायाप्रेममा निर्लिप्त भएर खासै कुरा गरिएन। तर पनि हल्का हाँसखेल र कुराकानी त भईहाल्थ्यो।
 
उत्तः क्याम्पसपछि मैले स्टाफ कलेजमा जागिर खान थालिसकेको थिए, त्यहाँ जागिर खाँदा म पनि केटीहरूसँग राम्रैसँग बोल्नसक्ने र फकाउन पनि सिपालु भैसकेको थिएँ, कि के हो, पछि लाग्ने केटीहरूको त कमि नै भएन त्यहाँ। अनि त आफ्नो पनि छाती फुलेर कहा पुग्ने पुग्ने। ‘आफू सबैभन्दा भिन्न छु’ भन्ने लाग्थ्यो तर घमण्ड कहिलै गरिएन। क्याम्पस र जागिरखाने अफिसमा मलाई मन पराउनेहरूको संख्या आधा दर्जन भन्दा बढी नै थियो जस्तो लाग्थ्यो मलाईचाहिँ। उनीहरूको म र अन्य साथीहरूप्रति गर्ने व्यवहार हेरेर थाहा पाएको। तर दुईवटीले भने मलाई भनेकै हुन्, एउटीले त म तपाईँलाई मनपराउँछु भनेर सीधै भनेकी थिई, नामै चाहिँ नभनौं उनीहरूको पनि गोपनीयताको कुरा हुन्छ। तर, तिनीहरू अहिले कहाँ छन् पत्तो छैन। केटीहरू पनि नराम्री त होईन, तर मैले एउटा जिम्मेवारी पहिले नै पूरा गरिसकेको थिएँ, भनेको मेरो एसएलसी सकिने वित्तिकै विहे भईसकेको थियो। त्यसैले ल्याउन पनि सकिएन। फेरि मेरो एउटा बानी चाहिँ के भने मैले जोसँग जस्तो कुरा गरेपनि कुरा नै गरिरहँदा पनि घरकी श्रीमती सम्झिने र मैले यस्तो नराम्रो काम गरेँ भने यसको अवस्था के होला भनेर सोच्ने बानी भएकोले उनीहरूसँग मात्रै कुराकानी भन्दा सम्बन्ध बढी भएन। 
 
भन्नुको अर्थ म हाँसखेल मात्रै हो त्यो भन्दा माथि जानुहुन्न भन्नेमा सचेत थिएँ। तर के गर्नु पापी मनले त्यो बेला कसैलाई पनि बिहे गर्दिन भने भन्न सकिन। हुन्छ, तर पछि भन्दै टारियो सधैं।  उनीहरू पनि केही समयसम्म त ‘तपाईँसँगै विहे गर्ने हो’ भन्दै बस्दैथे पछि त यसले विहे गर्दैन भन्ने थाहा पाएछन् कि के हो, अहिले कहाँ छन् पत्तै भएन। उनीहरूसँग छुट्नुको पनि कहानी रोचक छ।
 
सुब्बाको र स्टाफ कलेजमा नाम एकैपटक निस्किएपछि मैले सुब्बाको जागिर छाडेर स्टाफ कलेज तिर गएको थिएँ जागिर खान। त्यहाँ त काठमाडौं बाहिरका कर्मचारीलाई बस्न पनि दिने व्यवस्था थियो त्यतिबेलापनि। तर, एक्लै कसरी बस्नु भनेर त्यसपछि मैले घरबाट श्रीमतीलाई काठमाडौं ल्याएँ।  श्रीमती काठमाडौं ल्याएपछि त त्यसरी केटी मान्छेलाई विहे गर्छु भनेर झुक्काउने दिन पनि सकियो। कहिलेकाँही त जिस्किन मन लाग्थ्यो तर श्रीमती ल्याएपछि भने मैले कुनैपनि केटीलाई त्यसरी आँखा लगाउन भ्याएको पनि छैन। 
 
अहिले त घरपरिवार पनि राम्रैसँग चलिरहेको छ। श्रीमतीसँग झगडा त पर्दैन, कहिलेकाहीँ कुनै कुरामा मनमुटाव सुरूभयो भने म आफैँ उसलाई मन नपर्ने कुरा गर्दिन। कहिले काँही अफिसको कामले ढिला घर आएँ भने पनि किन ढिला भनेर कारण चाहिँ सोध्ने उनकोबानी छ। तर खासै धेरै शंका भने गर्ने गर्दिनन्। हुन त आफू नराम्रो काममा लागेको भए बढी शंका गर्ने न हो। 
 
तर हाम्रो समाज पनि कस्तो छ भने आफू घरबाट आउँदै गर्दा केहीगरी बीचबाटामा कुनै महिला कर्मचारी बसिरहेको छ र उसलाई आफ्नो खाली गाडीमा लिएर अफिस आयो भने पनि भोलिदेखि अनेक कुरा काट्ने प्रचलन छ त्यो भने पूर्णतः गलत हो जस्तो मलाई लाग्दछ। महिला र पुरूषबीच चाहिँ कुराकानी मात्रै भयो भने पनि लौ त यसले त त्यसलाई ल्याउने नै भयो भन्ने कुरा गर्नु कसैको लागि पनि जायज हो जस्तो भने मलाई लाग्दैन। कुनै केटीसँग बसेर फोटो खिच्दैमा, उनीहरूसँग बसेर चिया पिउँदैमा लौ त यसले वितायो भन्ने भनेको त्यो पुरातनबादी सोचका मानिसहरूले सोच्ने मात्रै हो जस्तो लाग्छ। तर, खुल्ला हुने भनेर छाडा हुने भनेको पनि होईन। हामीले आफूलाई आफैंले नियन्त्रण गर्नुपर्छ। के सही हो र के गलत हो भन्ने सबैले बुझ्नु पर्छ भन्ने मलाई लाग्दछ। 
 
प्रस्तुतिः सुदर्शन अर्याल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ