- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लण्डन, (जीएनएन) । ब्रिटेनमा कार्यरत एकजना वरिष्ठ नेपाली चिकित्सक डा. सम्पूर्णानन्द ढुंगानाले कोरोना भाइरस संक्रमणसंग जुध्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नियमहरु पालना गर्नुपर्ने कुरामा जोड दिएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्कसँग कुरा गर्दै डा. ढुंगानाले पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट (पीपीइ) जस्ता सामग्रीको गुणस्तरमा कुनै सम्झौता नगर्न पनि सुझाव दिए ।
“बेलायत, अमेरिकाजस्ता मुलुकमा काम गर्ने स्वास्थ्यकर्मी हुन् वा नेपालमा काम गर्ने, सबै स्वास्थ्यकर्मीको जीवन उत्तिकै मूल्यवान छ । त्यसैले स्वास्थ्यकर्मीहरूलाइ दिइने पीपीइ जस्ता सामग्रीको गुणस्तर डब्लुएचओले तोके अनुसार नै हुनुपर्छ,” उनले भने।
डा. ढुंगानाले काठमाडौँ बाहिर बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज़, धरानमा परीक्षण शुरु गरेकोमा खुसी व्यक्त गरे। “अब सरकारले काठमाडौँ बाहिर अरु ठाउँहरुमा पनि जति सक्दो चांडो परीक्षण शुरु गर्नु पर्छ। डब्लुएचओले भनेको छ - टेस्ट, टेस्ट, टेस्ट । त्यसैले जतिसक्दो बढी कोभिड-१९ संक्रमित आशंका गरिएका मानिसहरुको टेस्ट गरेर, उनीहरुलाई एकान्तवास (आइसोलेसन) मा बस्न लगाएर संक्रमण कम गर्न सकिन्छ,” उनले भने। “त्यस्तै संक्रमितहरुको सम्पर्कमा आएका सबै मानिसहरुको पहिचान गरेर उनीहरुको टेस्ट गर्न पनि त्यतिकै जरुरी छ । यसका लागि तीनै तहका सरकारहरु, जनप्रतिनिधिहरु तथा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालन गर्नुपर्छ ।“
इंगल्याण्डको वेस्ट सफोक अस्पतालको क्यान्सर विभागमा प्रमुख व्यवस्थापकको रुपमा काम गरिरहेका डा. ढुंगानाले अहिले नेपालमा युद्धस्तरमा काम गर्नुपर्ने अवस्था आएको बताए। “सरकारले चाह्यो भने नेपाल प्रहरी, नेपाली सेना तथा स्वयम्सेवक पनि परिचालन गर्न सक्दछ । सत्ता पक्ष, प्रतिपक्ष मिलेर काम गर्नुपर्छ । सरकार र निजी क्षेत्रबीच पनि सहकार्य हुनुपर्यो । यदि महामारी फैलियो भने सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु मिलेर काम गर्ने वातावरण बनाउनु पर्छ ताकी हामी उपलब्ध साधन उपयोग गर्न सकौं,” उनले भने।
डा. ढुंगाना स्थानीय अस्पतालहरुलाई आफै योजना बनाउन दिने र सरकारले चाहीं के सहयोग चाहिन्छ भनेर सोध्नु उपयुक्त हुने ठान्दछन् । यस्तो बेला विशेषज्ञ डाक्टर भएका अस्पतालहरुसंग बसेर के के चाहियो भनेर सहजीकरण गर्ने काम राज्यको हो। बाहिरबाट सामान झिकाउने, स्वास्थ्यकर्मीहरुका लागि यातायात सहज पारी दिने, तत्काल दिन सकिने तालिमहरु संचालन गर्ने पनि गर्नु पर्दछ," उनले भने। “त्यस्तै कोरोना संक्रमितहरुको उपचारको बन्दोबस्ती मिलाउंदै गर्दा अन्य रोगका बिरामीहरु अत्यावश्यक स्वास्थ्य सेवाबाट वन्चित हुने अवस्थामा राख्नु हुंदैन। अहिले कतिपय ठाउंमा विदेशबाट घर फर्केकाहरुलाई छिछि दूरदूर गर्ने खालको व्यवहार पनि देखिएको छ, त्यसलाई तत्काल रोक्न सबैले पहल गर्नुपर्छ ।” हामी जनशक्तिको हिसाबले त्यति पछाडी छैनौं, हामीसंग जे साधनश्रोत उपलब्ध छ, त्यसैलाई परिचालित गर्ने हो, डा. ढुंगाना भन्छन् ।
“निश्चित अस्पतालहरु तोकेर, सिकिस्त बिरामीहरूलाई आइसीयुमा राखेर, भेन्टिलेटरको प्रयोग गरी बचाउनु पर्ने हुन्छ । अस्थायी अस्पतालहरू पनि बनाउनु पर्ने हुनसक्छ,” उनले भने। उनले सरकारलाई लकडाउनको समयको उपयोग गरेर कोरोना संक्रमण फैलन नदिन एकीकृत कार्य योजना बनाएर अगाडी बढ्न तथा आम जनसमुदायलाई घर भित्रै बसेर सघाउन पनि आग्रह गरे।
“नेपालमा सन् २०१५ को भूकम्प पछि संसारभर रहेका नेपाली डाक्टर, नर्सहरुले नेपालमै गएर सेवा पुराएका हुन्। तर अहिले विश्वव्यापी संकटको अवस्था हुनाले आफ्नो अनुभव, सीप र दक्षता आदानप्रदान गर्न हामी पछि पर्ने छैनौं,” डा. ढुंगानाले भने।