arrow

नर्सरीमा आगो लगाएर फुलवारी खोज्दै

logo
विष्णु प्रसाद पोख्रेल,
प्रकाशित २०७६ चैत १८ मंगलबार
bishnu_pokhrel2.jpg

राजनितिक चेतनाको कारण ब्यक्तिगत स्वतन्त्रताका लागि मानव जाति चरणवद्ध रुपमा आन्दोलित भए । फ्रान्सको क्रान्ति होस, अमेरिकाको स्वतन्त्रता संग्राम होस वा भारतको स्वतन्त्रताको आन्दोलन नै किन नहोस्। नेपालको विस २००७, २०४६ र २०६२/०६३ का आन्दोलन मानव स्वतन्त्रता र समानता केन्द्रित थिए । आजसम्म संसारमा गरेका महत्वपुर्ण आन्दोलन व्यक्ति तथा मानव केन्द्रित थिए । तत्कालिन शासक विस्थापित गरि आफ्नो सत्ता स्थापित गराउनु प्रमुख उद्धेश्य थियो । स्वतन्त्रता मानवको मात्र नभई संसारमा भएका प्रत्येक जीवको स्वतन्त्रतासँग जोडिनुपर्नेमा सो हुन सकेन् । यसप्रकारको सोचको जन्मिन र हुर्किन सकेन । जीव र प्राकृतिक स्वतन्त्रताको नर्सरीमा आगो लगाइयो ।

हाम्रो राजनितीक सचेतना पाश्चात्य भौतिक एवं पूँजीवादी चिन्तन र व्यबहारबाट प्रभावित छ । जुनदिन सम्म भौतिक र पूँजीवादी चिन्तनबाट प्रकृतीप्रेमी समाजवादी चिन्तनतर्फ उन्मुख हुदैन प्राकृतिक बस्तुहरु, प्राणीहरुलाई भाईचाराको भावना सृजना हुदैन, मानव अस्तित्व समाप्त हुने संकेत छिटो छिटो देखा पर्न सक्दछ । आजको आवश्यकता मानवपुजा होइन, प्रकृति संरक्षण हो । प्राकृतिक वस्तुहरुलाई स्वतन्त्ररुपमा बाँच्ने अधिकार स्थापित गरिनु पर्ने हो । तर मानव दृस्टिकोण उपभोक्तावादी अभिप्रायबाट प्रेरित रह्यो । नर्सरी सुरक्षित भएन ।

पूर्विय संस्कृतिमा, प्रकृतिमा पाईने बस्तुहरुलाई संरक्षणका हेतु पुजा गरिन्छ । नागदेवाताको रुपमा सर्प, गौमाताको रुपमा गाई, सन्देश वाहाकको रुपमा काग,क्रुकुर आदि आदि । हामी गाईको गोवर, गहुत, दुध,महि, घिउलाई उपभोक्ताबादी सोचबाट हेर्यौ, प्राकृतिक चक्रमा यि यस्ता जीव लोप हुदा आइपर्ने असरको बारेमा सोचेनौ अध्ययन गरेनौ । मानव केन्द्रित उपभोक्तावादी सोचले विश्वले नै पटक पटक धोका खाएको पाइन्छ । सार्स, इबोला कोरोना, यस्तै यस्तै रोगहरु विज्ञान भन्दा एक पाइला अगाडि छन् । कारण छ प्राकृतिक नर्सरी संरक्षण भएन।

टोप्रे लेकजस्ता चुरे भावर क्षेत्रका सयौं पहाडमा डोजर लगायौं । विकासको नाममा विनास गर्दै वर, पिपल र स्वामीको रुख ढाल्यौ । तर पानीको मुल, अक्सिजन खोजि राख्यौ । असुरो, निम, दालचिनि, तुलसी, चरीम्लो, गुर्जो, पाँचऔंले, हर्रो, बर्रो, अमला, टिमुर, ज्वानो, लसुन, रुदिलो, पारिजात, कुस, दत्तिवन, जटामसी जस्ता प्राकृतिक उपहारहरुलाई बैदिक सनातन संस्कृतिले प्रतिपादन गरी पहिचान गरायो र महत्व बतायो । तर हामीले ब्यक्ति माटो र परिवेश नसुहाउदा औषधि सेवन गर्दै गयौ । एउटा गल्ति ढाकछोप गर्न अर्को गल्ति गरेजस्तै, एउटा गलत कार्य ठिक हो भनि पुस्टी गर्न सयौं गल्ति गदै गयौं । नर्सरीको महत्व महसुस भएन ।

आर्थिक र सामाजिक रुपले ब्याक्तिले अन्य ब्यक्तिमाथि शासन गर्न खोजी राजनितिक रुपमा अग्रसर भयौ । ब्रमाण्डलाई प्राकृतिक,सामाजिक, राजनितिक, आर्थिक एव साँस्कृतिकरुपले सवल बनाउने दायित्व चेतनसिल प्राणीको हो । तर चेतनसिल प्राणीले जंगलमा आगो लगाएर घरबासमा सुरक्षित छौ भनि भ्रममा परिबसेका छौ । पानिको मुलमा डोजर लागाएर स्वच्छ पिउने पानी, वर पिपलका रुख काटेर बातानुकुलित कोठामा अक्सिजन खोज्नु महामुर्खता थियो र छ पनि ।

किन भुल्यौं त जीव स्वतन्त्रता, संस्कार, नैतिकता ? प्रकृती प्रेमप्रति हाम्रो अल्पकालिन ५०–१०० बर्षको दृष्टिकोण नै दिगो विकास हो भन्ने भ्रम पालिरहेका छौ । सोही कारणले हाम्रो दिगो भनिएको दृष्टिकोण अल्पकालिन भयो । बायुमण्डल शुद्धिकरण गर्ने बस्तु र परम्परालाई अन्धविस्वास देख्दा हामी रोगी मात्र भएनौ हजारौ जीवलाई विस्थापित गर्यौं र आफु पनि विस्थापित हुने मूलढोकाको संघारमा पुग्यौ । जुन दिनदेखि समाज र प्रकृतिको विचमा विभेद देखियो सोहि दिनदेखि मानिस समाज केन्द्रित बन्यो । प्रकृतिलाइ पर ठान्यौ । प्रकृति नर्सरी थियो जसमा डढेलो लगायौं, आज खोज्दैछौ स्वच्छ, सफा, प्रदुषण रहित हावा पानी।

पानीका मुल सुकेर जंगलमा जनावरहरु मरेको चिन्ता छैन बजारमा ट्राफिक जाम परेकोले आधा घण्टा ढिलो भएको चिन्ता चेतनशिल प्राणीमा छ। हामी मानवकेन्द्रित चेतनशिल प्राणी भएरपनि ब्रमाण्ड केन्द्रित चेतनशिल हु्न सकेनौं। आज मानिसको ध्यान बाह्रय अनुदान केन्द्रिकृत हुन गयो। जसलाई ज्ञानको मुल मन्त्र मानियो । तर ज्ञानको मुल भौतिकवादी चिन्तनबाट ग्रसित छ। सोहि चिन्तनबाट बनाएको पाठ्यक्रम, पाठ्यबस्तु, शिक्षण पद्धति, विज्ञान, प्राकृतिक साधन संरक्षणप्रति ध्यान नदिनु स्वभाविक नै थियौ र छ पनि ।

नर्सरी जोगाउने जिम्मा पूर्विय दर्शन संस्कार र संस्कृतिको हो । पूर्विय संस्कृति र सभ्यतामा आगो लगाइ दिएर पाश्यात्य प्रवृतिको फुलवारी खोज्दै हिड्यौ भने भविश्यमा अहिलेको पुस्तालाई धिक्कार्ने छ । कहिल्लै हामीले सोच्यौ कि समाजको समन्वय प्रकृतिसँग हुनुपर्दछ भनेर, कहिल्यै सोच्यौ त पानीको मुल श्रोत टोप्रे र सिस्नेजस्ता ठूला हरियाली पहाड र लेकमा डोजर लगाउदा पानीको सतह सुक्दै गई हजारौं जीव लोप हुन्छ भनि ? अवको खोज र अनुसन्धान ऋषीहरुले ध्यान र तपस्याबाट प्रतिपादित सैद्धान्तिक एवम व्यवहारीक ज्ञानप्रति हुनुपर्दछ ।

आजको विश्व औधोगिक, प्राविधिक र भौतिक रुपममा विकासले फड्को मारेर एकिकृत विकास र मानव प्रकृतिको बीचमा तादम्यता नभएकोले विशाक्त भाइरसहरुले विश्वमा शासन जमाउन थाले । १८ औ शताब्दीदेखि २०औं शताब्दीसम्म मानिसको विस्वास विज्ञानमा केन्द्रिकृत थियो तर २१औं शताब्दीमा आइपुग्दा विश्वासमा गिरावट आएको छ । गिरावट आउनाको प्रमुख कारण उधोगपतिदेखि कृषकसम्म नेतादेखि जंगलका सिकारीसम्मका क्रियाकलापले निम्त्याएको हो । प्राकृतिक र सामाजिक सम्वन्धको दुरी बढाइ दुवै पक्षलाई एक अर्कादेखि टाढा बनायौ । समाज र बातावरणका विचमा कित्ताकाट भयो । विज्ञान बस्तु, शक्ति र संचारप्रति आशक्त भयौ । यि तीनै पक्ष मानव केन्द्रिकृत थिए र छन् पनि ।मानव केन्द्रित विज्ञानको कार्यदिशा प्रकृति मानव सहअस्तित्वतर्फ मोडिनु पर्दछ ।

उपलब्ध साधन र स्रोतलाइ उधोगसँग जोड्दा सिर्जित ज्ञानको प्रयोगले पृथ्वीको भ्रुणमा रहेको प्राकृतिक सम्पतिको विनास भयो । १४औं र १५औं शताव्दीमा सुरु भएको ब्यापारीकरणले औधोगिक उत्पादनलाई बजार खोज्दै ब्यापारिक मार्गको खाजी गर्दा जमिनको अत्याधिक दोहन सुरु भयो । यातायातको साधनकालागि सडकमार्ग निमाण गर्दा रुख कटान सुरु गरियो तर बृक्षारोपण भएन । नेपालमा बैज्ञानिक बन ब्यबस्थापनको नाममा लाखौं रुख काटिरहेको छ तर नांगा डाडाहरुमा विरुवा नरोपि रुख कटान गर्नु नर्सरिमा आगो लगाउनु हो । जंगलमा आगो लगाउदा रुख विरुवा जडिबुटी जनावर र जीवजन्तुको स्वतन्त्रता हरण भयो । पानीको मुहानमा डोजर लगाउदा मुहानको स्वतन्त्रता खोस्यौ । विद्युत र सिंचाइका लागि बाध र नहर निमार्णले पानीको बहावलाई नियन्त्रण गर्दा पानीको स्वतन्त्रता गुम्यौ । यि पक्षहरुको स्वतन्त्रतामा असर गर्दा परिपूर्तिको योजना भएन । प्राकृतिक बस्तुका निवासमा ध्वंस गरी मानव जाती खु्सिका साथ थप विध्वंसमा लाग्यो । परिणाम रुवरुप अनिस्चित द्धन्द चलिरहेको छ । यो द्धन्दमा मानव जातिको होइन, प्रकृतिको जीत हुनेछ र मानव जातीलाइ प्रकृतिले डाईनोसर बनाउने छ । गुमेको स्वतन्त्रताले दीर्घकालिन असर जीवाणुमा पर्दछ भन्ने दिगो अवधारणा नहुन नै भाइरसको जन्म हुने प्रमुख आधार हो ।

शुरुमा जमिनमा शासन गरेको मानव जाति जंगल, बायुमण्डल हुँदै समुन्द्रमा समेत शासन गर्दा सवै पक्षसंग द्धन्द भएको थाहै भएन । सो द्धन्दलाई न्युनिकरण गर्नका लागि प्रकृतिक र बातावरणिय क्षयमा कमि गर्नुपर्दछ । दिगो उत्पादन, उपभोग र प्राकृतिक साधनहरुलाई दिगो रुपमा ब्यवस्थापन आजको आवस्यकता हो । समाज र प्रकृति विचको द्धन्द ब्यबस्थापन गर्न सक्ने नेतृत्व नै अवको विश्वको नेता हुनेछ । अहिलेको कृयाकलापले हजारौ बर्ष पछि पर्न सक्ने असरलाइ मध्यनजर गर्न सक्ने नेतृत्व नै दूरदर्शी नेतृत्व देखिने छ । 

मानवजातिको कृयाकलापले अहिले विश्व कोभीड १९को त्रासमा छ । यो अवस्थाबाट मुक्त हुन युद्धस्तरमा कार्य गर्नु पर्ने हामी सवैको सामुहिक दायित्व हो । लाखौ मानिस प्रभावित छन भने हजारौ ब्याक्तिहरको ज्यान गइरहेको छ । नेपाल भारत लगायतका सरकारले सम्पुण ब्यक्तिहरुलाई घरमै बसि भाइरसबाट बच्न आव्हान गरेको छ । निश्चित सुरक्षा कवज विना, सामाजिक दुरी कायम नगरी अति आवस्यक काममा समेत सम्पर्कमा नरहनु पर्ने अवस्था छ । भौतिक लडाईको मैदानमा जादा विश्वका अधिकाँस सुरक्षाकर्मी पहिलो घेरामा रहि युद्ध गर्न तत्पर देखिन्छन किनकि सुरक्षाकर्मीसंग हतियार हुन्छ र संगसंगै उच्च मनोवल सिर्जना गर्ने संयन्त्र हुन्छ । तर युद्धका सेनाको रुपमा रहेका हस्पिटलमा कार्यरत कर्मचारी, अहेव, अनमी,नर्स,मेडिकल अधिकृत र विशेशज्ञ डाक्टरहरुसँग आत्मवल कमजोर देखिन्छ । आत्मवल कमजोर हुनमा आवस्यक सुरक्षा सामाग्रि र मनोवल उच्च राख्ने राष्ट्रिय संयन्त्र नहुन हो । यो जनशक्तिलाई ब्यक्तिगत सु्रक्षा सामाग्री पीपीई उपलब्ध गराइ म सरक्षित छु भन्ने भावना विकास गर्नु पर्दछ । पीपीई ब्यक्तिगत सुरक्षा कवज हो। सरक्षित र व्यबस्थित प्रयोगशाला र रोकथामका अवयवहरु नभएमा स्वास्थ्यकर्मी आफुमात्र सुरक्षित रहि युद्ध क्षेत्रमा जाने पूर्ण सम्भावना कमि हुन्छ । तसर्थ व्यबस्थित प्रयोगशाला र रोकथामका अवयवहरु त्यत्तिकै महत्वपूर्ण हन्छ। आईसीयू र भेन्टिलेटर कक्षको बृद्धी गरी सरकारी,सामुदायिक तथा निजि सम्पुर्ण स्वास्थ्य संस्थामा सुरक्षा सामग्री सहित कोरोना विरुद्धको युद्ध मैदानमा अधिक मनोवलका साथ लाग्नु आजको आवश्यकता हो । 

प्राकृतिक र बातावरणीय क्षयमा कमि गर्न दिगो रुपमा उत्पादन र उपभोग गर्नुपर्ने प्राकृतिक फुलबारीमा अन्धाधुन्ध आक्रमण बन्द गरी समाज केन्द्रित दिगो विकासलाई बातावरण केन्द्रित दिगो विकासमा परिवर्तन गर्नुपर्दछ । पाश्चात्य विकासको ढाँचा असफल जस्तै भएकोले दिगो विकासको सोचलाई सार्थक बनाउनु पर्दछ । नर्सरीमा आगो लगाई फुलबारी खोज्ने विकासको ढाँचाले विनास मात्र निम्त्याउने हुदा सनातन सस्कृतिको संरक्षण गर्दैे हजारौै बर्षसम्म दिगो रहने विकासको ढाँचालाई अवलम्वन गनु पर्दछ । वर्तमान महामारीलाई परास्त गर्न एकिकृत योजना बनाई विशेषज्ञ समुहलाई जिम्मा दिनुपर्दछ । घरमै बसौ, आफ्नो सुरक्षा आफै गरौ।

(पोखरेल प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव हुन।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ