arrow

पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगामा गाभियो, संयुक्त कारोबार शुरु

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
mega-Bank-Merger-anil.jpg.jpeg
काठमाडौं। रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग आजबाट औपचारिक रुपमा गाभिएको छ। सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए। आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने उनले विश्वास व्यक्त गरे। 
 
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर आजबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए। यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए। उनका अनुसार, मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान (स्वाप) गर्ने निर्धारण भएको छ। मेगा बैंकको यो पहिलो मर्जर हो। 
 
मेगा बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै उनले सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने बताए। बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने उद्देश्यले वुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको उनले बताए। 
 
मेगा बैंकका सिइओ अनिलकेशरी शाहले मर्जरसँगै मेगा बैंकलाई अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुल्ला गरेको बताए। पश्चिमाञ्चलका १४ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन्। यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ। कतिपय शाखालाई बजारको अध्ययन गरि पुनःस्थानान्तरण गरिने सिइओ शाहले जानकारी दिए। 
 
मर्जरपछि मेगा बैंकको चुक्ता पुँजी ३ अर्ब २४ करोड, ३१ अर्ब निक्षेप, कर्जा २५ अर्ब ५ करोड रहेको छ। अब मेगा बैंकको देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १३ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ