मानिसले अर्काको निन्दा र स्तुतिबाट पर बस्नु नै उत्तम

विष्णुप्रसाद तिमिल्सिना, प्रकाशित मिति : २०७६ चैत २० बिहिबार

काठमाडौं । भिष्मपितामह र युधिष्ठिरका वीचमा धर्म, अधर्म लगायतका विभिन्न विषयमा चर्चा चल्दै थियो । युधिष्ठिरले गरेका प्रश्नका उत्तर पितामहले दिदै थिए । एकपटक युधिष्ठिरले के गर्नाले मनुष्यको कल्याण हुन्छ भन्ने प्रश्न पनि गरेका थिए । 

भिष्म पितामहले पराशर ऋषि र राजा जनकबीच भएको प्रसंग उनलाई बताएका थिए । राजा जनकको प्रश्नको उत्तरमा ऋषिले भनेका थिए,  मनुष्यले आफ्नो कल्याण हुने काम आफै गर्नुपर्दछ । 

त्यसकालागि धर्मको विधिवत अनुशरण गर्नुपर्छ । यसरी धर्मको अनुष्ठान गरेमा यो लोक तथा परलोक दुवैमा कल्याण हुन्छ । चारै वर्णले आ आफ्नो कर्म अनुसारको जीविका चलाउनु पर्दछ । 

मनुष्यले पुण्य र पाप दुवै गरेको हुन्छ र त्यही अनुसारको फल भोग गर्नुपर्दछ । तामाको भाँडामा लगाएको सुनको लेप भाँडोभरि लतपतिए जस्तै कर्मको भोग मानिससँग लिपिएकै हुन्छ । कुनै अनाज नभई टुसा आउन सक्दैन, त्यसरी नै पुण्यकर्म नगरिकन मानिसले सुख पाउन सक्दैन । मनुष्यले आंखा, मन, वाणी र कर्मद्वारा चार प्रकारको कर्म गर्दछ र त्यसको फल पाउँदछ । पुण्य वा पाप जे गरोस्, त्यसको फल उसले भोग गर्नुनै पर्छ । 

इन्द्रिय संयम, क्षमा, धैर्य, तेज, सन्तोष, सत्यभाषण, लज्जा, अहिंसा आदि कर्महरु सुख दिने वाला हुन् ।  मनुष्यले आफ्नो प्राण रहेसम्म पाप, पुण्यमा आशक्त नभई आफ्नो कर्म गरेर परमात्मा चिन्तनमा रमाई रहनुपर्दछ । जीवले अरुले गरेको पापको भोग गर्नु पनि पर्दैन, पुण्यको भोग पनि गर्नुपर्दैन, जे गर्‍यो, आफूले नै भोग्ने हो । मनुष्यले अर्काको निन्दा र स्तुतिबाट पर बस्नुपर्दछ । यो हाड छालाले बनेको शरीरको नाश अवश्य हुन्छ । जुन जातिमा जन्मेपनि मानिसले आफूलाई कहिले पनि नीच सम्झनु हुन्न । उ पनि मनुष्य हो, उसले पनि कर्म गरेर आफूलाई संसारबाट पार तर्न सक्दछ ।
 
प्रश्नोत्तर चल्दै थियो, यत्तिकैमा जनकराजाले फेरि पनि श्रेयको साधन के हो र केलाई उत्तम गति भनिन्छ भन्ने विषयमा जिज्ञाशा राखे । 

पराशरले भन्दै गए । आशक्ति नहुनु नै श्रेयको साधन हो । ज्ञान नै उत्तम गति हो । तपस्या आफैं गर्नुपर्छ । सुपात्रमा दान दिनुपर्छ । यहि नै कहिल्यै नष्ट नहुने बस्तु हुन् । जति गाईदान, घोडा दान गरेपनि जसले सव प्राणीलाई अभय प्रदान गर्दछ, त्यो नै उत्तम मानिन्छ । बुद्धिमान पुरुष विषय संसर्गमा रहेपनि त्यसमै लिप्त हुँदैन, जसरी कमलको पातमा रहेको पानी । विषय भोगमा आशक्ति रहने मानिसको वल्छीको लोभमा परेको माछा जस्तै गति हुन्छ । जसरी जन्मेदेखि नै अन्धो भएको मानिसले आफ्नो बाटो देख्दैन, त्यसरी नै इन्द्रिय सुख परायण जीवले मायाले गर्दा परमात्मातर्फको बाटो देख्दैन । 

चाहे आमा हुन् चाहे वावु, परलोकमा कोही कसैको साथी बन्न सक्दैन । जे भोग गर्नुपर्ने हो, जीव आफैंले भोग्नु पर्दछ । संसारमा स्वार्थका लागि नै मित्र वन्छन्, शत्रु वन्छन् । पति, पुत्र, सेवक, जो पनि स्थार्थले नै बाधिएका छन् । पूर्व जन्ममा गरिएको सम्पूर्ण शुभाशुभ कर्म नै जीवको पछि पछि लाग्दछ । 

त्यसैले आफ्नो मनलाई जसले अन्तर्मुखी बनाउँछ र पछि दुःख पाउदैन  जो पुरुष उद्योगी, शुरवीर, धीर विद्वान छ, उसलाई सम्पत्तिले कहिल्यै छा्ड्दैन जसरी सूर्यको किरणले सूर्यलाई । त्यसैले जे जति भएको छ र हुन्छ मनुष्यले आफूले गरेको शुभ अशुभ कर्मको फल नै भोग गरिरहेको हुन्छ । यसरी ऋषि पराशरको ज्ञान, विवेकयुक्त कुरा सुनेपछि राजा जनक प्रसन्न भएका थिए । श्रोतः महाभारत ।

नयाँ