लगभग साँढे चार अरब बर्षदेखि पृथ्वी अस्तित्वमा आयो । मह जस्तो लेदोबाट बिकसित हुँदै आज हामीले देखेको रुपमा आइपुग्दा पृथ्वीले धेरै कुरा जन्मायो र धेरै कुरा लोप भएर पनि गए । प्राणी, बनस्पतिदेखि बातावरण पनि परिवर्तित भएको अनुभव हामीले पनि छोटो समयमा नै गरिरहेका छौ भने यो चार अर्ब बर्षमा यसले के पायो होला के गुमायो होला हाम्रो कल्पना भन्दा बाहिरको कुरा हुन पुग्छ ।
अहिले पनि लगभग २ तिहाइ पानी रहेको पृथ्वीमा हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख भए जस्तै पक्कै पनि जलचरहरुको पहिलो जन्म भएको कथालाई नकार्ने ठाउँ छैन । मत्स्य, कुर्म, बराह हुँदै आज कल्की अवतार धारण भएको कलियुगमा हामी आइपुगेका छौ । मत्स्य अवतार देखि वामन अवतारसम्मको युगलाइ सत्ययुग भनिएको छ । बामनको अर्थ पुड्को वा सानो भनेर बुझिन्छ । शायद त्यो बेलासम्म मान्छे अस्तित्वमा आइसकेको थियो ।
बिज्ञानले पनि पत्ता लगाए जस्तो मान्छेको स्वरुप तेस्तै तेस्तै थियो पुड्को बाँदरसंग मिल्दो जुल्दो । त्यो भन्दा महत्वपूर्ण मान्छेमा स्वार्थ थिएन, सह अस्तित्वको भाव थियो । हाम्रो शास्त्रहरुले भने जस्तो व्यवहारमा आत्मा एउटै भएको देखिन्थ्यो । प्राणी जति सबै एउटै थिए । आफुलाई अलग राख्ने प्रयत्न कुनै प्राणिले गरेका थिएनन् । अग्लो हुने प्रतिस्पर्धा थिएन । स्वार्थ नभएको त्यो समय सबै होचा थिए तर सबैको पहिचान थियो । सबैको अस्तित्व र स्थान भने अग्लो थियो । त्रेतायुगको प्रवेशसंगै पहिचानको कुरा उठ्न लाग्यो । असल र खराब हुन लाग्यो र बलियो बन्ने प्रतिस्पर्धा बढ्यो । आफुलाई बलियो देखाउन अरुलाई कमजोर प्रमाणित गर्नुपर्ने भयो । समुन्द्रको गहना भएर बसेको शंखलाइ मान्छेले निकाल्यो, शुभ संकेतको ध्वनीको रुपमा चलायो । बिस्तारै युद्धघोषको लागि प्रयोग गर्न थाल्यो । आफ्नो प्रभाव बिस्तार गर्न खेतिदेखि युद्धसम्म जनावारहरुलाइ लगाउन थाल्यो । प्राणीहरुमा धेरै पछि अस्तित्वमा आएको मान्छेले उपलब्धिको नाममा करोडौं कृत्रिम कुरा त बनायो तर लाखौं प्राण भएका जीवहरुलाई लोप हुने बाटोतिर धकेल्यो । प्रकृतिमा भएका धेरै बनस्पतिहरुलाइ फाँडेर स्वादिलो तर पौष्टिक नभएका खाद्यान उत्पादन गर्न थाल्यो । स्वस्थ जीवन भन्दा अस्वस्थ तर लामो जीवन रोज्न पुग्यो ।
इतिहास भन्छ मान्छेले ३ लाख बर्ष अघिदेखि आगोको प्रयोग गर्न लागे । पकाएर खान लागे । ५० हजार बर्ष अघिदेखि त एउटा निश्चित स्थानमा पकाएर खाने गरेको प्रमाण भेटिएको पढ्न पाइन्छ । आफ्नो जोहो गर्न सक्ने हुदै जाँदा मान्छे सम्पूर्ण पृथ्वीप्रति जिम्मेवार भएको देखिएन । आगो होस वा गुरुत्वाकर्षण शक्ति ति कुनै पनि मान्छेले सिर्जना गरेको हैन । हामीले केवल प्रयोग गर्न सिकेका हौ । तर मान्छेले यो जगतमा रहेका हरेक कुरालाइ आफ्नो स्वार्थको लागि मात्र प्रयोग गर्यो । प्रकृतिप्रति क्रुर हुदै गयो । तर त्यसले हामीलाई नै पार्ने गम्भीर असरसंग हामी बेखर पनि भयौ र लापरवाह पनि हुन पुग्यौ । पृथ्वीमा रहेका प्रत्येक साना ठूला जीव उत्तिकै महत्वपूर्ण हुन्छन भन्ने कुरामा हामी गम्भीर हुन पुगेनौ । एउटा शासक अशान्त भैदिदा विश्व अशान्त हुन्छ भन्ने त हामीले बुझ्यौ तर पृथ्वीमा रहेका प्रत्येक चराचर त्यतिकै महत्वपूर्ण छन् भन्ने बुझ्न चाहेनौ । हाम्रा पुर्खाले भन्ने गरेको पृथ्वीलाइ शान्त रहोस,अन्तरिक्ष,बनस्पति,पानी,रुख सबैको शान्तिको कामनाको अर्थ खोज्नतिर लागेनौ । प्रकृतिमा भएका धेरै बनस्पतिहरुलाइ फाडेर स्वादिलो तर अपौष्टिक खाद्यान उत्पादन गर्न थाल्यो । स्वस्थ जीवन भन्दा अस्वस्थ तर लामो जीवन रोज्न पुग्यो । हाम्रा पुर्खाहरुले आफ्नो अनुभवको आधारमा बर्षौ लगाएर तयार पारेको ग्रन्थलाइ धार्मिक बिश्वास र अबिश्वासको घेराले विभाजित गर्न पुग्यो । बास्तवमा पुराना ति ग्रन्थहरुलाई अहिलेका बिशेषज्ञहरुले तयार पार्ने जर्नलकै रुपमा लिएको भए बिज्ञानको उपलब्धिसंगै बिबेकपनि मिसिने थियो होला । मान्छे बर्ग, जात, धर्म, लिङ्ग, राज्यको आधारमा विभाजित हुनुभन्दा प्राणी मात्रको भलो हुने कुरालाइ केन्द्र राखेर निर्णय गर्ने थिए होलान ।
रामायणकै कथामा पनि केहि यस्ता प्रसंग छन् जसले मान्छे र हामीले भन्ने गरेको जनवारदेखि बनस्पतिसम्मको सम्बन्धलाई राम्रोसंग देखाउँछ । बाँदरलाई हामि चंचल, अस्थिर जनावरको रुपमा लिन्छौ तर रामायणमा बाँदरले लगभग मृत भैसकेका लक्ष्मणको जीवन बचाउने देखि समुन्द्रमा पुल हाल्नेसम्मको काम गरेको कथा छ । द्रोणागिरि पर्वतबाट संजीवनी बुटी छुय़ाउन नसक्दा सिंगो पर्वत बोकेर ल्याएको कथाले हाम्रो प्रकृतिमा जीवन दिन सक्ने संजीवनीहरु प्रसस्त छन् भन्ने प्रष्ट पारेको छ । हाम्रा बनस्पतिहरुलाई औषधीको रुपमा भन्दा त्यसको दुरुपयोग गरेर नशाका रुपमा समेत प्रयोग गर्न थाल्यौ । हामीले हिन्दु ग्रन्थहरु हेर्दा शिवले भाङ्ग, धतुरो खाएको कथा सुन्छौ तर हामीले न त त्यसको प्रतीकात्मक शैलीलाइ बुझ्ने प्रयास गर्यौ न भाङ्ग, धतुरोको महत्व बुझ्नतिर लाग्यौ । रामायणको प्रमुख पात्र हनुमानले राजारामका लागि आफुलाई पुरै समर्पित गरे तर लंकाका राजा रावणले उनलाई केवल एउटा चन्चले जंगली जनावरको रुपमा हेर्दा सिंगो लंका जल्न पुग्यो । अहिले प्रकृतिसंग र अरु प्राणीसँग हाम्रो व्यवहार शायद लंका र रावणले हनुमानलाइ गरेजस्तो हुनपुगेको छ ।
कसैमा बल हुन्छ कसैमा बुद्धी, बिबेक र सहि कुरा सहि ठाउँमा प्रयोग गर्ने ज्ञान हुन्छ । मान्छे आफुलाई सबैभन्दा विवेकी भनेर दावी गर्छ, प्रगतिको फेहरिस्त देखाउँछ तर आफ्नो लागि प्रकृतिको बेवास्ता गर्छ प्राणीहरुको बेवास्ता गर्छ त्यति मात्र हैन एउटा धर्म मान्ने अर्कोप्रति मर्न मार्न तयार हुन्छ, एउटा ठाउँको मान्छे अर्को ठाउँको मान्छेको समस्यालाई हाँसोको बिषय बनाउछ । पछिल्लो समय कोरोना भाइरसलाई 'चाइनिज भाइरस' भनिनु, चाइनिजसँग मिल्दो जुल्दो रुप भएकाहरु माथि पनि आक्रामक हुनुले हामी कति क्रुर, अविवेकी हुदै छौं भन्ने देखाउछ ।
एउटा अर्को प्रसंग छ जटायुको रामायणमा । अपहरण गरेर लैजादै गर्दा बाटोमा जटायुले रानी सीतालाइ बचाउने प्रयत्न गर्छ तर रावणको अगाडी उ निरिह हुन्छ । उ रावणको हातबाट मारिन्छ । मर्नु अघि राजा रामलाई रावणले अपहरण गरको जानकारी दिएर उ मर्न पुग्छ । सूचना बिहिन, विवश र भौतारिदै हिडेको राजा रामलाई कुन बाटो तय गर्ने भनेर प्रष्ट पार्ने काम एउटा चराले गर्यो । शायद जटायुले रामलाई अपहरित सीताको र अपहरण गर्ने लंकापति रावणको बिषयमा जानकारी नदिएको भए उनले अझै कति संघर्ष गर्नु पर्ने थियो होला । जीवनको संघर्षमा प्रकृतिले दिएका बाँदर, जटायु देखि संजीवनी बुटी दिने जंगल सम्मले महत्व राख्छन । तिनको महत्व बुझ्न सके तिनले जीवन सहज बनाउछन् । रामयाणकालसम्म पनि प्रकृति र प्राणीलाई नजरअन्दाज गर्ने पराजित भएको र तिनलाई महत्व दिने बिजेता बनेको इतिहास छ । शासकहरुको बीचमा को ठुलो हुने प्रतिस्पर्ध सुरु भएपनि त्यो बेलासम्म पनि पशु पंक्षी र असल मानिसहरु बीच मित्रवत सम्बन्ध थियो । सुग्रिवलाइ राजामा स्थापित गराउन राजा रामको भूमिकाले त्यो प्रष्ट पार्छ ।
बाइबलमा जिसस पहिलो पटक मन्दिर जाँदा उनको साथमा परेवा थियो भन्ने कथा छ । उनले आफ्ना शिष्यहरुलाई चिन्ता, पिरबाट मुक्त हुन चरा हेरे पुग्छ भनेका छन् । संसारमा भएका लगभग सबै पुराना ग्रन्थहरुले प्रकृति र जीव जन्तुसंगको सम्बन्धलाइ उल्लेख गरेका छन् । जापानी फुजिन र सुजिन पानी, हावालाई ईश्वरको रुपमा मान्छन् । ग्रीक कथाहरुमा हाँसदेखि विभिन्न जनवारहरुको उल्लेख प्रशस्त गरेको पाइन्छ । सभ्यताको शुरुवात भएको मानिएको मेसोपोतामियामा त झन् बनस्पति, तरकारीलाइ पनि भगवानको नाम दिइएको छ ।
संसारमा यस्ता धेरै कथाहरु छन् जसले मान्छेको अहंकारनै उसको बिनासको कारण हो भनेर सम्झाइरहन्छन् । कुनै एउटा जाती, धर्ममा मात्रै हैन यो संसारभरिका ग्रन्थहरुले बताउने साझा कुरा हो । तर आफु विवेकी हुँ भन्ने अहंकारले मान्छे हरेक दिन संसारलाइ अस्थिर र अस्वस्थ बनाउदैछ । बिज्ञानको यो चामत्कारिक प्रगतिबीच प्राणी र प्रकृतिको अस्तित्वलाइ पनि स्वीकार गरेको दिन मान्छे बास्तवमा बिजेता बन्ने छ ।
अन्तमा हाम्रो ग्रन्थहरुले सिकाए जस्तै सबैतिर शान्ति होस् । समभाव र सह अस्तित्वले यो संसारमा फेरी खुशियाली छाओस । यहि छ शुभकामना ।
सारा त्रिभुवनमा शान्ति होस् । जलमा, थलमा, आकाशमा, अन्तरिक्षमा, आगोमा, औषधी, बनस्पति, बन उपबनमा सम्पूर्ण विश्वमा शान्ति होस् । सम्पूर्ण राष्ट्र, नगर, गाउ, घर र जीवको तन मनमा र सम्पूर्ण जगतको कणकण शान्ति होस