arrow

जहाँ प्रेम त्यहाँ जीवन 

logo
युवराज रेग्मी,
प्रकाशित २०७६ चैत २४ सोमबार
yubraj-regmi.jpg

विश्व आक्रान्त छ,
  सहर खाली खाली जस्तो छ,
 सुन्यता छ,
 सन्नाटा छ,
 उद्योगधन्दा बन्द छ्न्,
मेसिन कलपुर्जाहरु रोकिएका छन्,
सडक सुनसान छ,
चराहरु आफ्नै गतिमा उडिरहेका छ्न्, 
 माछा स्वतन्त्र रुपमा पानीमा आफ्नै चालमा डुबुल्की मार्दैछ्न्
गन्तव्य टाढा हुँदै गर्दा लक्ष्यविहीन यात्राहरु तय भएका छन् ।
चुपचाप मौनता भित्रका समयका पाउबन्दीहरुमा  
मानौ कुनै जेल जीवन व्यतित हुँदैछ । 
प्रत्येक उषाका लाली रस रंगसंग नयाँ जोस
जांगर र उमंगले स्वतन्त्र उडान भर्दै गरेका
आत्मविस्वासी मनहरु
आज कैदी  झै बनाइएका छन् । 
पिंजडाभित्रका पन्छीहरु स्वतन्त्र जीवन बाँचिरहेका छन् ।  
तर फगत प्राणी मध्येकै चेतनशील प्राणी  मानिस ऐले स्तब्ध छ,
त्रसित र भयभित छ ।
प्रत्येक व्यक्तिका पाइलाहरु
जन्जिरले बाँधिएका छन्
यी जन्जिर तोड्दै हिड्नलाई
लडखडाउने छन् पाइलाहरु।
सायद अब विश्वले बुझ्ने छ
मान्छेका स्वतन्त्रता खोसिएका पल, 
आनन्दानुभूति बुझ्ने छ
बन्दी जीवनका कष्टहरु 
दुनियाँको उन्मुक्त स्वतन्त्र हाँसोका रहस्यहरु,
आँसु पछिका वेदनाका लहरहरु ।
हुन सक्छ विश्व अब दशौं वर्ष पछि धकेलिने छ ।
हाम्रो यो धर्ती सयौं वर्षसम्म  खुशीले बाँच्ने छ ।
अब मात्र एउटा आशा छ
हामीले आफ्ना घरभित्र दबाएका सासहरुले
सयौं वर्षसम्म हाम्रा सन्ततिलाई  
स्वच्छन्द
निश्चल यी पवनहरु
आफ्नो शरीर भित्र प्रवेश गराउन पाउने छन् ।  
हामीले आफ्नै घरभित्र थुनिएर लडाइँ गरेका यी युद्धहरुले 
भोलिका दिनमा हाम्रा सन्तानले खुल्ला मैदानहरुमा 
इतिहास सम्झेर धन्य हाम्रा पुर्खा भन्न सक्ने छ्न् ।
प्रफुल्लित हुँदै उन्मादमा बिरक्तिएर रमाउने छ्न् ।
तर दुःख  त्यो कुरामा लाग्छ,
हामीले त्यति  धेरै स्वतन्त्रपूर्वक उडिरहँदा 
हाम्रा पखेटाहरुलाई मजबुत बनाउन सक्नेछौं 
आज एउटा अदृश्य शक्तिले हामीलाई परास्त गरिदिएको छ । 
विज्ञानको युगमा विस्वास गर्ने वैज्ञानिकहरुलाई निरीह साबित गरिदिएको छ ।
आशा छ भोलिका दिनहरु स्वछन्द संगीतमय प्राकृतिक सौन्दर्य  फर्केर आउनेछ ।
बगैचाहरुमा  नयाँ नयाँ  बसन्तरुपी पालुवाहरु फक्रने छ्न्,
फूलबारीमा नयाँ नयाँ फूलहरु फुल्ने छ्न्  र पुनः धरतीमा नयाँ परिवेश छाउने छ ।
वास्तवमा यो सम्पूर्ण सृष्टि ३३ कोटी देवताहरुको अपूर्व देन हो । 
जब जब पृथ्वीमा महासंकट आइपर्छ, 
तब तब देवताहरु आफ्नो स्वरुप परिवर्तन गरि धरतीमा आउने छ्न् ।
‘कृष्ण’ रुप धारण गर्दै  
धरतीमाताको त्यो विकराल बिचलनलाई 
साम्य गराउन धरतीमा आइ 
भगवान कृष्ण भन्नुहुन्छ, –हे अर्जुन !, 
जे भयो हुन देउ, जो हुँदैछ राम्रैका लागि हुँदैछ र अब जे हुने छ त्यो सब राम्रैका लागि हुने छ ।
आज त्यही भगवानको अमृत बचनले विश्व भ्रमण गर्दैछ निरन्तर निरन्तर । 
हामी भगवानको त्यो अदृश्य भ्रमणलाई सार्थक गराउन 
हरेक सहरका बस्तीबस्ती  
गल्लीगल्ली  र चोक चोकलाई खाली गरि 
वरपर यत्रतत्र असरल्ल रहेका फोहोरलाई नियन्त्रण गर्दै 
भगवानलाई नतमस्तक भइ दुई हात जोडि  
नमस्कार गर्दै भगवानको धरती यात्रालाई 
अन्तरमनबाट नियाल्न खोजी रहेका छौं
निरन्तर निरन्तर  ।
पृथ्वी लोकमा रहेका मानव जाति हामी
हिजो आध्यात्मिकवाद  भन्दा भौतिकबादमा ज्यादै अलमलिइ रहेका  रहेछौ !
भौतिकवादको कहालीलाग्दो दुस्चक्रमा 
कंकृटको जंगल तयार गर्ने ध्याउन्नमा
 जहाँ जहाँ प्रकृतिलाई बिछिप्त बनाइएको छ,
संस्कृति बेवास्ता गरिएको छ, 
अझ भनौं प्रकृतिलाई आफू अनुकुल बनाउने गलत प्रयत्न गरिएको छ,
त्यहा त्यहा आज ठूला ठूला भयानक नरशम्हारहरु हुँदैछन् 
निरन्तर निरन्तर ।
अझै धेरै धेरै देख्न बाँकी नै छ,
अझै भगवानले पृथ्वीको त्यो बिकराल असन्तुलनलाई 
आफ्नो अनुकुल बनाइ प्रकृतिलाई हस्तान्तरण गर्दै हुनहुन्छ ।  
अन्ततः चाडै त्यो एक दिन
स्वर्णिम उज्यालो बिहानी लिएर  धरतीमा आउने छ, 
प्रकृति पुनः विश्राम लिनेछिन् । 
धन्य छ प्रकृति  
माफ देउ हामी र हाम्रो त्यो ठूलो भुललाई !
जब तिमीले विश्राम लिने छौ  फेरि  
ती बिचलनकारी नर पिसाचहरुले तिम्रो त्यो प्राकृतिक स्वरुपलाई 
आफ्नो फाइदाका निमित्त  परिबर्तन गर्न अहोरात्र लागि पर्ने छन् । 
हामी कहिल्यै सुध्रने छैनौं ।।।
बिर्सने छौ यो विचलनलाई 
                                        अनि त्यो अतीतलाई ।                                          
फेरि  सोही विचलन पुनः यस्तै यस्तै
नयाँ नयाँ  स्वरुपमा
कहिले आधी बेहरी बनी,
कैले भुकम्प बनी,
कैले भारी बर्सात् त कहिले भु–छ्यय आदि आदि ।
स्वरुप अनुरुप पृथ्वी सन्तुलित बन्न ठुला ठुला  प्रकोपहरु निम्तिने छ्न् ।
यस्तै यस्तै  जिबात्माका जीवन चक्रहरु 
भित्र भगवान ‘श्री कृष्ण’ बिराजमान हुनु हुनेछ ।
हे भगवान ! हामीलाई प्रेम गर,
किनकी ‘जहाँ प्रेम छ त्यहाँ जीवन छ । 
प्रेम बिनाको जीवन केबल  वास्तविक जीवन होइन
तब मात्र तिम्रा राधाहरु नदी पार गर्दै  
हस्याङ फस्याङ गर्दै 
हतारिदै हतारिदै
 तिम्रो सामु आउने छ्न् । 
तिम्रो मिठो बासुरिको  सुरिलो सुमधुर  धुन सुनी 
मन्त्रमुग्ध हुने छन्  ।
अनि गाउने छन् तिम्रा ती राधाहरुले एकै स्वरमा भन्ने छ्न् 
‘हे कृश्न तपाईले त माया मार्नु भो   
भो कृश्न माया मार्नु भो
जब भगवानले हामीलाई माफ गर्नु हुनेछ 
तब  ती मन्दिरहरु देबालयहरु खुल्ला हुने छ्न् 
र पुनः बिगत जस्तै हामी पनि भेला भएर मन मन्दिरमा रमाउने छौ ।                                   
हे कृष्ण– अपरम्पार छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ