arrow

कोरोना महामारीमा स्लोभाकीयाको अनुभव

logo
जय प्रसाद शिवाकोटी,
प्रकाशित २०७६ चैत २४ सोमबार
jay-prasad-shiwakoti.gif

स्लोभाकीया, युरोप । बीसौं शताब्दीको अन्तिम दशकको सुरुवातीतिर आधुनिक कम्युनिजम्को मध्यमार्गी सिद्धान्तको उद्गम स्थल मानिएको विशाल साम्राज्य सोभियत संघ शितयुद्धको परिणाम स्वरुप २६ डिसेम्बर १९९१ मा बिभिन्न १५ स्वतन्त्र राज्यहरुमा बाँडियो। त्यसमध्येको चेकोस्लोभाकीया पनि एक हो । त्यसको एक बर्ष ५ दिन पछि या अंग्रेजी नयाँ बर्ष १९९३ को पहिलो दिन जनवरी १ मा अत्यन्तै सौहार्दपूर्ण तरीकाले जसलाई बिना उत्पीडनको छुट्टानाम पनि भनिन्छ, उक्त स्वतन्त्र राज्य पुनः टुक्रिएर दुई गणराज्य चेक र स्लोभाकीयाको स्थापना हुन गयो । स्लोभाकीया मध्य युरोपको ४९ हजार वर्ग कि मि क्षेत्रफल ओगटेर लगभग ५४ लाख ५० हजार जनसंख्याले आवाद भएको पर्यटकीय स्थलहरुले भरिएको एक बिकसित गणराज्य हो ।

विश्व जगत कोरोनाको चपेटामा लपेटिएको हालको अवस्थामा मध्य युरोपेली गणराज्य स्लोभाकीयाले पनि अछुतो रहन सकेन । एक महिना अघि आजकै दिन या ६ मार्च २०२० को दिन राजधानी ब्रातिस्लाभामा एक ५२ बर्षीय पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि शुरु भएको यो महामारी यात्रामा शुरुका दिनमा न्यून संख्यामा देखियता पनि केही हप्ताको अन्तरालमै प्रतिदिन १५ देखी ४३ को संख्याले थपिंदै गएर हालसम्म १५१५५ जनामा परीक्षण गरिएको मध्य ४८५ जनालाई कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । पहिलो केस देखिएको २४ औं दिन या ३० मार्च २०२० मा मध्य स्लोभाकीयाको पर्यटकीय स्थल बोयनीचे अस्पतालमा हालसम्मको एकमात्र कोरोना संक्रमितको मृत्यु भएको छ । जम्मा संक्रमित मध्ये १० जना संक्रमण मूक्त भई अस्पतालबाट डिस्चार्ज भैसकेका छन् र हाल उपचाररत ४७४ जना मध्य ३ जना मात्र क्रिटिकल अवस्थामा भेन्टिलेटरमा उपचाररत छन् ।

संयोगनै मान्नु पर्छ जुन समयमा बिश्वका अधिकांश मुलुकहरु कोरोनाको चपेटामा फसिसकेका थिए, त्यही समयमा यहाँ संसदीय निर्वाचन (२९ फरवरी) हुँदै थियो । बिश्वका अधिकंश मुलुकहरुमा देखिएको राजनीतिक अनुशासनहीनताका बीचमा पनि यहाँ त्यस्तो केही महसुस हुन पाएन । फलत मतगणनामा कुनैपनि पार्टीलाई बहुमत प्राप्त नभएता पनि २१ मार्च २०२० को दिन राष्ट्रपति जुजाना चापुतोभाको आव्हानमा प्रमुख ४ दलको मिलीजुली सरकार गठन भयो जसको नेतृत्व ओलानो दलका नेता इगोर मातोभीच (हालका गणतन्त्र स्लोभाकीयाका प्रधान मन्त्री)ले गरेका छन् ।

कोरोनाको पहलो संक्रमण पुष्टी हुँदै गर्दा यहाँको राजनीतिक नेतृत्व ठिक जस्केलामा थियो । राजनितीक नेतृत्वको उच्च नैतिक जवाफदेहीता र सुजबुझको फलस्वरुप न त्यहाँ छोडेर जानेले कुनै अर्घेल्याईं गर्यो न त नयाँ गठन हुनेमा तछाड मछाड नै देखियो । नयाँ सरकार गठन हुनु अगावै सम्पूर्ण राजनीतीक नेतृत्व कोरोना रोकथामको निम्ति एक ढिक्का भएर लागिसकेको थियो ।

पहिलो संक्रमण देखीएको चौंथो दिन संक्रमित संख्या बढेर ७ पुगेको थियो भने अपनाइने सावधानीलाई थप कडा बनाउदै यहाँका सम्पूर्ण बिद्ध्यालयहरु १४ दिनको लागी बन्द गरिएका थिए । पब्लिक यातायात र सामुहीक जमघट हुने स्थलहरुको सरसफाईका साथै किटाणुनाशक औषधी छर्कने काम तिब्र बनाइएको थियो । मानिसहरुमा त्रास पैदाभई अनावश्यक दवाइ किन्ने र अस्पतालमा अनावश्यक चाप बउ्ने स्थितिलाई लक्षित गरी जनस्वास्थ्य कार्यालयले ति स्थानहरुमा भीडभाड नगर्न र अनावश्यक दवाईहरु खरीद नगर्न सार्वजनिक अपील गर्यो र बहिरङ्ग सेवा लिनुपर्नेहरुलाई आवश्यक परेको बेला आफ्ना सुचीकृत चिकित्सकहरुलाई टेलिफोनबाट सम्पर्क गरी प्राप्त ईरिसीप्ट मार्फत दवाई लिन मोवाईल म्यासेज सम्प्रेसण गरिएको थियो ।

सातौ दिन अर्थात मार्च १३ सम्म आइपुग्दा संक्रमित संख्या २ बालबालिका सहित ३२ पुगिसकेको थियो भने सावधानीका थप उपायहरु कडा बनाउदै तीन ओटै अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको थियो तथा स्थलमार्गबाट हुने कार्गो बाहेकका सम्पूर्ण अन्तर्राष्ट्रिय आवागमन बन्द गरिएको थियो । सीमाना पारी बसोबास गर्ने स्लोभाक तथा आवासीय अनुमति पाएका बिदेशी नागरीकहरुलाइ चेकजाँच गरी काम गर्न आउन दिइएको थियो । बिश्वबिद्यालय, बिद्यालय तथा सामुहीक जमघट हुने स्थलहरु सबै बन्द गरी देश बाहिरबाट आउने सम्पूर्णले अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्न र उलङ्घन गरेमा १६५० युरो जरीवाना गरिने सन्देश मोवाइल म्यासेज मार्फत सम्प्रेसण गरिएको थियो । यसै अवधिमा बिभिन्न उद्धेश्यले देश बाहिर रहेका लगभग बीस हजार स्लोभाक नागरीकहरु आफ्नो देश फर्किरहेका थिए, जसमध्ये दुई हजार जति कोरोना प्रभावित मुलुक इटलीबाट फर्किएकाहरु थिए । सरकारी कार्यालयहरु, खानासँग सम्बन्धित पसल, प्रशाधन सम्बन्धिका पसल, फार्मेसी, ग्याँस स्टेशन, पत्रिका पसल, घरपालुवा पंछी तथा जनावरको खानाका पसल, पोस्टल सेवा बाहेकका सम्पूर्ण ब्यवसाय बन्द गरिएको थियो । प्रख्यात होटलहरु सबै बन्द हुँदा शहर सुनसान थियो । महत्वपूर्ण सरकारी कार्यालयहरु बाहेकका अन्य सम्पूर्ण सरकारी र गैरसरकारी संस्थाहरुले सम्भव भएसम्म आफ्ना कर्मचारीहरुलाई ईन्टरनेटको माध्यमबाट घरमै बसेर काम गर्न निर्देशन दिइरहेका थिए । १६ मार्चसम्म आइपुग्दा छिमेकी चेक रिपब्लिकले आफुलाई क्वारेन्टाइनमा राख्यो भने युक्रेन र हङ्गेरीले आफ्नो सिमाना लक गरिएको घोषणा गर्यो ।

मार्च तेस्रो हप्ताको अन्तसम्म आइपुग्दा संक्रमितको संख्या बढेर १३७ पुगिसकेको थियो भने सावधानीका उपायहरु स्वतःस्फुर्त रुपमा कडाइका साथ पालना भइरहेका थिए । घरभन्दा बाहिर मानिसहरुको आवतजावत एक तिहाइले घटेको थियो । चीनबाट दशलाख थान माक्स र एक लाख थान टेस्ट कीट यसै हप्ता प्राप्त भएपनि माक्सको अभाव हुन नदिन घरमा बस्नेहरुले स्थानीयस्तरमै माक्सको उत्पादन गरिरहेका थिए । जहाँकी अस्पतालका नर्सहरु समेत आफै मास्क सिलाईरहेका थिए । जसमध्ये एक ८३ बर्षीय ईमरीख सोमोगेइ नाम गरेका बृद्धले आफ्नो जमानाको पूरानो सिलाइ मेशिन निकालेर मास्क सिलाउदै गरेको तस्बिरले धेरैको मन छोएको थियो । २३० जना इन्टर्न्सिप गरिरहेका मेडिकल स्टुडेन्टहरु स्वयम्सेवकको रुपमा खटिएका थिए । सम्पूर्ण अस्पतालहरुले अत्यावश्यक बाहेकका सबै उपचार र  अपरेसनहरु पोष्टपोण्ड गरेको थियो भने सम्पूर्ण बहिरङ् सेवा स्थगित गरिएको थियो । स्लोभाकीयाको अर्थतन्त्रको मुख्य स्रोत मानिएका बिभिन्न अन्तर्राष्ट्रिय कार कम्पनीहरुले आफ्ना उत्पादनहरु बन्द गरिसकेका थिए । नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहेको भएतापनि सबै आ–आफ्ना तर्फबाट समस्यासँग जुध्न प्रतिबद्ध देखिन्थे ।

२० मार्चको साँझ ८ बजे संक्रमणसँग लड्ने अग्रपङ्तीका डाक्टर, नर्स र यसमा प्रत्यक्ष परोक्ष होमिएका सबैको हौसला बढाउने उद्धेश्यले स्थानीय जनताले आ–आफ्नो घरबाट बाहिर निस्की ताली बजाएर सामुहिक प्रतिबद्धता ब्यक्त गर्दै एकअर्काको हौसला बढाएका थिए । मार्चको २१ मा नयाँ प्रधानमनत्रीले बागडोर सम्हाले लगतै सहकार्य गर्न प्रतिबद्ध दलहरुबाट टीम बनाई मन्त्रिमण्डल गठन गरी कामको बाडफाँड गरियो र जसले जुन अवस्थामा जुन मन्त्रालय पाए त्यहींबाट नयाँ जोश र जाँगरको साथ समय सापेक्ष नियमहरु बनाउँदै गए भने चेतनशील जनताले पनि त्यसलाई एक कदम अघि बढेर पालना गर्दै गए । मार्चको अन्तसम्ममा आइपुग्दा  संक्रमितको संख्या ४०० पुगिसकेको थियो । त्यसमध्ये एकजनाको मृत्यु भएको बिषयमा सरकारले जाँचबुझ गर्ने निर्णय गर्यो । सावधानीका उपायहरु समयानुकुल परिमार्जन गर्दै लगियो । सपीङ् सेन्टरहरुमा ९ देखी १२ बजेको समय ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि निर्धारित गरियो । सम्पूर्ण ब्यापार ब्यवसायलाई निश्चित मापदण्ड पूरागरी संचालन गर्ने गरी खुला गरियो जसमा बाहिर लाइनमा बस्नेले एकअर्का बिच २ मीटर दुरी कायम राख्नुपर्ने, सुपरमार्केट भित्र पस्दा एकजनाको लागि कम्तिमा २५ वर्ग मिटरको ठाउँ हुनुपर्ने, हरेकले भित्र पस्नु अघि गेटमा राखिएको स्यानीटाइजर प्रयोग गरी पन्जा लगाउनु पर्ने र घरबाट बाहिर निस्कँदा अनिवार्य माक्स लगाएको हुनु पर्ने आदी । रेस्टुरेन्टहरुले प्याकिङ्–टेकअवे मात्र बेच्न पाउने, भरसक कुनैपनि सामान खरीद गर्दा ईलेक्ट्रोनीक अर्डर र पेमेन्ट प्रयोग गर्न सुझाईएको थियो ।

हाल नजिकै आईरहेको ईस्टर पर्वको समयमा हुनसक्ने जमघट र त्यसबाट महामारी अझ फैलनसक्ने भएकोले त्यस सम्बन्धी आवश्यक सावधानी अपनाउन सम्पूर्णमा अपिल गरिएको छ । र सधैं बिशेष रौनकका साथ धुमधामले मनाइने यो पर्व यसपालि सुनसान नै रहने अनुमान गरिएको छ । मानिसहरुको मुभमेन्ट कम गर्न ईस्टर अगाबै ब्ल्याक आउट गर्ने सम्भावना छ, जसमा मानिसहरुलाई आफ्नो गाउँ छोडेर जान प्रतिबन्ध लाग्नेछ । एकदमै कम र बाहिर नगई नहुने अवस्थामा मात्र बाहिर निस्कन अनुरोध गरिनेछ भने सम्पूर्ण खाद्ध्य सामाग्रीको आपूर्ती सेनाले जिम्मा लिनेछ । अन्य पश्चिमा मुलुकहरुले जसरी महत्वाकांक्षी आर्थीक प्याकेजहरु नल्याए पनि सरकारको तर्फबाट बन्द भएका कम्पनीका कर्मचारीहरुलाई उनीहरुको खाइपाइ आएको तलबको ८० प्रतिशतले हुने गरी राहत दिइएको छ भने साना र मझौला सम्पूर्ण ब्यवसायीहरुलाई उचित क्षतीपूर्ती सहितको राहत प्याकेज घोषणा गरिएको छ । दैनिक या एक दिन बिराएर सम्बन्धित मन्त्रालयका मन्त्री सहित प्रधानमन्त्रीको उपस्थितिमा नियमित ब्रिफिङ हुन्छ जसमा सरकारको तर्फबाट भए गरेका सम्पूर्ण प्रगतीको बिबरण राष्ट्रिय टेलिभिजन मार्फत प्रसारण गरिन्छ । स्वास्थ्य जनसंख्या तथा खेलकुद मन्त्रालयको बिज्ञहरुको टोलीका अनुसार जुलाई महिनाको अन्तसम्ममा महामारी उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ भने स्थानीय सरकारको प्रक्षेपण अनुसार सो समयमा हरेक ५ मध्ये १ लाई संक्रमण हुने देखाईएको छ । बाटाघाटाहरु सुनसान छन्, लामा र बडेमानका सुबिधायुक्त सार्वजनिक यातायातमा मुश्किलले ५ जना मानिस यात्रा गरिरहेको भेटिन्छन् भने ट्याक्सी तथा कारहरुलाई प्यासेन्जर बोक्न बन्देज लगाइएको छ । केहि दिन अघि गरिएको एक नागरिक सर्वेक्षणले देखाए अनुसार सरकारलाई बहुसंख्यक नागरिकको यस कार्यमा समर्थन छ र भनिएको छ, नागरीकहरु महामारी रोक्ने काममा सरकारले कर्फ्यु घोषणा गरेपनि सहन तयार छन् । सम्पूर्ण बिध्यालयलाई ई–स्कुलिङमा परिवर्तन गरी इन्टरनेटको माध्यमबाट बिद्ध्यार्थीहरुलाई घरमै पढाइन्छ । सुबिधा सम्पन्न सरकारी भवनहरुलाई क्वारेन्टाइनको लागि प्रयोग गरीएको छ र बिध्यालयका क्यान्टिनहरुबाट खाना पकाई लक्षित समुहलाई बितरण गर्ने गरिएको छ । शहरका मूख्य भागहरुमा मानिहरुको चहलपहल नभएतापनि साईक्लिङ गर्ने र खुल्ला स्थानमा सयर गर्नेहरु अनुशासित भई घुमिरहेका हुन्छन् । भाईचारा र सामाजिक सौहार्दताको कहीं कतै कमी छैन ।  गैर सरकारी संस्थाहरु सकृय रुपमा सरकारका निकायसँग आवश्यकता अनुसारका सहकार्य गरी काम गरिरहेका छन् ।

( पारामेडिक समेत रहेका शिवाकोटीले स्थानीय पत्रपत्रिका, रेडीयो र सरकारी सुचना पोर्टलहरुका आधारमा तयार पारेको सो सामग्री तयार पार्न किसोर रिजालले पनि योगदान पुर्‍याएका छन्। शिवाकोटी स्लोभाकीयामा रहँदै आएका छन्।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ