- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। स्वदेशी बजारको माग ६० प्रतिसतसम्म धानेको जुत्ताचप्पल उद्योग कोरोनाभाइरस संक्रमणको असरले धरासायी अबस्थामा पुगेको छ । जुत्ताचप्पल उद्योगीहरुको छाता संगठन फुटवेयर मेनुफेक्चर्स एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभर १ हजार ५ सयभन्दा बढी उद्योगले जुत्ताचप्पल उत्पादन गर्दे आएका छन् ।
एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक झण्डै ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । यस उद्योगमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । कोरोना संक्रमणका कारण जुत्ताचप्पल उद्योग बन्द हुँदा ती श्रमिकहरु समस्यामा छन् । उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।
संघका अनुसार जुत्ताचप्पल उद्योगहरुमा ५० अरवभन्दा बढी लगानी छ। कच्चा पदार्थ आपूर्तीकर्ता, स्टकिस्ट, डिलर, रिटेललगायतको क्षेत्र समेत हेर्ने हो भने यस क्षेत्रमा अर्बौंको लगानी छ । अधिकांश उद्योग बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई संचालन भएका छन् । लामो समयसम्म उद्योग वन्द हुँदा उद्योगले बैंक व्याज तिर्न सक्ने अवस्था रहदैन ।
जुत्ता चप्पललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ३० प्रतिशतमात्र स्वदेशी प्रयोग हुन्छ । एउटा जुत्ता उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ चाहिनेभएकाले स्वदेशी कच्चा पदार्थले एक प्रतिशत पनि जुत्ताचप्पल उत्पादन हुँदैन । धेरै जसो कच्चा पदार्थ चीन र भारतबाट आयात हुने गर्छ । चीनबाट आयात हुने कच्चा पदार्थ चिनियाँ नयाँ वर्षको लामो विदाका कारण डिसेम्वर दोश्रो सातादेखि आयात हुन सकेको छैन । त्यसपछि कोरोना भाइरसको प्रकोपले कच्चा पदार्थ आउन नसक्दा कतिपय उद्योगहरु एक महिना अगाडीदेखि नै वन्द हुने अवस्थामा पुगेका थिए ।
तत्काल महामारी नियन्त्रणमा आए पनि कच्चा पदार्थ आयात गरेर जुत्ताचप्पल उत्पादन गर्न कम्तीमा ६ महिना लाग्न सक्दछ । स्थिति नियन्त्रणभन्दा जटिल वन्दै गएको वर्तमान अवस्थामा यो अवधि अझै लम्विन सक्ने देखिन्छ । मानवजीवन कष्टकर बनि रहेको अबस्थामा उत्पादित वस्तुले वजार पाउन सहज छैन । वजारमा भएको लगानी उठ्न पनि सम्भव छैन । उत्पादन नगर्दा पनि उद्योग डुव्ने, उत्पादन गर्दा पनि उद्योग नै डुव्ने यो परिस्थितिबाट उद्योगलाई कसरी वचाउने अहिले मुख्य चुनौति वनेको संघले जनाएको छ ।
जुत्ताचप्पल उद्योगलाई जनशक्तिको अभाव मुख्य समस्या हो । अधिकांश उद्योगहरुमा भारतबाट कामदार ल्याएर काम गराउनु पर्ने वाध्यता छ । अधिकांश कामदार होलीको विदा मनाउन घर गएका छन् । यस्तो परिस्थितिमा वाहिरबाट कामदार ल्याएर काम गराउन सकिने अवस्था छैन । एकातिर कच्चा पदार्थको अभाव छ, अर्कातर्फ उत्पादित वस्तुको वजारीकरणको समस्या छ भने कामदारको समस्या उस्तै छ ।
विदेशी उत्पादनलाई तीब्र रुपमा प्रतिस्थापन गर्दै बजार विस्तार गर्दै ६० प्रतिशतसम्म बजार कब्जा गरेका जुत्ताचप्पल उद्योगलाई २०७२ सालको वि नाशकारी भुकम्प, त्यस लगत्तैको अघोषित नाकावन्दी, भारतीय नोटबन्दी लगायतले ठूलो असर गर्यो । यसरी खुम्चिदै गएको नेपाली जुत्ताचप्पल उद्योगको बजार ४५ प्रतिशतमा सीमित भएको अबस्थामा कोरोना भाइरसको संक्रमणले तहसनहस बनाएको छ ।
संघले विज्ञप्ती निकाली भनेको छ, ' विपत्तिले एउटा मात्र क्षेत्रलाई प्रभाव पारेको होइन । यसको प्रभाव सवै क्षेत्रमा परेको छ । सवै मिलेर यसको सामना गर्नु पर्दछ । यो समस्या मात्र होइन, अवसर पनि हुन सक्दछ । परनिर्भर भएर अरुको भरमा बाँच्न खोज्दा मानव जीवनले कति कष्ट भोग्नु पर्दो रहेछ भनेर प्रत्यक्ष अनुभुती अहिले भइरहेको छ । जव स्थिति सामान्य वन्दै जान्छ, मानिसले आफूले भोगेका कष्ट भुल्दै जान्छ । नीति निर्माण गर्ने निकायले भुल्दै जान्छन् । बेलैमा सचेत नहुँदाको परिणाम मुलुकले पटकपटक यस्ता विपत्तिको सामना गरिरहनु पर्छ । यसबाट मुक्त हुन बेलैमा राज्यले सोच्नु आवश्यक छ ।'