राजनीतिमा युवाः संकटमा सामाजिक उत्तरदायित्व

विवेकलाई तिलान्जली दिएर सीमित घेरामा बसेका लठैतहरु युवा हुन सक्दैनन्

गोविन्द बीसी, प्रकाशित मिति : २०७७ बैशाख ३ बुधबार
गोविन्द बीसी

बौनिया। मानव जीवनको सबैभन्दा उर्जाशील, गतिशील र सामर्थ्यवान उमेर युवा अवस्था नै हो । प्रत्येक युवामा केही गर्ने एउटा सुन्दर सपना हुन्छ, एउटा विशाल आकांक्षा हुन्छ, अनि काम गर्ने तीव्र इच्छाशक्ति हुन्छ ।

हरेक संकटको घडीमा युवाशक्तिको सहयोग अपरिहार्य र अनिवार्य छ । १६ देखि ४० वर्ष उमेर समूहका युवाशक्तिले गरेको सहयोग र योगदान हरेक सामाजिक र राजनीतिक कालखण्डमा महत्त्वपूर्ण छ । नेपालमा भएका ठूला राजनीतिक परिवर्तन, लोकतन्त्र र गणतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरुमा युवाको महत्वपूर्ण योगदान रहिआएको छ । युवा भनेको परिवर्तनकारी शक्ति हुन्, देश विकासका मेरुदण्ड हुन् । युवाशक्ति राष्ट्रको अमूल्य नीधि अथवा सम्पत्ति हुन् । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका लागि परिवर्तनका संवाहक शक्ति हुन् । अदम्य साहस, सृजनशिलता र उच्च मनोबलका साथ काम गर्ने युवा देशको धरोहर र राष्ट्र निर्माणको प्रमुख स्रोत हुन् ।

शक्तिशाली युवाशक्तिलाई देशको विकास निर्माण कार्यमा संगठित गरि एकताबद्ध भएर लैजानु राज्यको प्रमुख दायित्व हो । देश विकासको मूलधार, प्रवाहमा रहेको युवा शक्तिलाई परिचालित गरि समस्या र संकटको जोखिमपूर्ण अवस्थामा जागरुक र सक्रिय तुल्याउने काम समेत राज्यका विभिन्न निकायले गर्नुपर्दछ ।

तर, पछिल्लो समय बलियो रूपमा रहेको युवाशक्ति कुनै न कुनै प्रकारले राजनीतिक पार्टी संगठन र शक्ति केन्द्रित भएको महसुस गर्न सकिन्छ । विशुद्ध गैरराजनीतिक गतिविधि भन्दा माथि उठेर संकटको घडीमा युवा जमातले समाज, देश र जनताका लागि एकताबद्ध भएर लाग्नुपर्छ । 

तरपनि, विडम्बना युवाशक्तिको प्रयोग प्रायः अवस्थामा राजनीतिक भावबाट दुरुत्साहित छ । समाजको विकास र राष्ट्रिय राजनीतिमा परिवर्तनका लागि अग्रमोर्चामा उभिने युवाशक्ति यही कारणबाट अलगअलग विचारमा उभिन्छ । नेतृत्वले समेत त्यही ढंगले पक्षपातपूर्ण व्यवहार र दृष्टिकोण राखेको पाइन्छ ।

यही कारण आजका नयाँ पुस्ताका शिक्षित युवा राजनीतिमा आउने चाहना गर्दैनन् । हिजोदेखिको राजनीतिक संस्कार वा पद्धतिको निरन्तरता नै युवाप्रति राजनीतिक आकर्षण र झुकाव कम हुनुको मुख्य कारण हो । राजनीतिप्रति नेपाली समाजको बुझाइ पनि त्यति सकारात्मक रहेको पाइदैन ।

अस्तित्वमा रहेका राजनीतिक दलको क्रियाकलाप यसको मूल जड हो । राजनीतिक आरक्षणमा मौलाएको गुण्डागर्दी, भ्रष्टाचार, ठेकेदारी, सरुवा बढुवा, पदीय गैरजिम्मेवारी आचरण तथा सामाजिक अपराधमा संलग्नलाई राजनीतिक संरक्षण हुनु जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदिन वितृष्णा फैलाइरहेको छ ।

राष्ट्र, राष्ट्रिय स्वाधीनता र अखण्डताका सवालमा युवाहरुबीच नै मतभिन्नता देखिन्छ । समाजभित्र देखिएका कतिपय विषयवस्तुमा अन्तर्दृष्टि, अन्तरद्वन्द, अन्तरधारणा छ । संस्थागत जिम्मेवारी र ओहदामा बहाल रहेका कतिपय मानिसहरु कर्तव्यबाट विमुख भएर पदीय गैरजिम्मेवारी, अनैतिक व्यवहार, अनियमितता, भ्रष्टाचार र हिंसाजन्य गतिविधिमा संलग्न भएका घटनाहरु एकपछि अर्को गरि सञ्चारमाध्यम आइरहँदा पनि युवाहरु संगठित रूपमा एकत्रित र एकताबद्ध भएर आवाज उठाउन सकिरहेका छैनन् ।

संगठित युवाशक्ति त्यहाँपनि राजनीतिक आस्थाका आधारमा उभिन्छ । सामाजिक तथा मानवीय सेवाको भावनाबाट स्थापित संस्थामा नेतृत्व गरिरहेका युवा समेत संस्थागत र सांगठनिक उद्देश्य भन्दा व्यक्तिगत लाभ लिनतर्फ उद्धत र अग्रसर रहेका देखिन्छन् । सामाजिक न्याय, वैयक्तिक स्वतन्त्रताबाट बिचलित भएर राजनीतिक दुरासायले स्थान पाउनु र गलत गर्ने पक्षको संरक्षण हुनु यो दुखद अवस्था हो ।

कुल जनसंख्याको ४०.३ प्रतिशत युवा रहेको नेपालमा लाभ लिने सन्दर्भमा युवा सम्बद्ध समस्या र चुनौतीलाई चिर्न आवश्यक छ । समय सापेक्ष रोजगार, व्यावसायिक सीप, शिक्षा, प्रविधिमा न्यून पहुँच, बेरोजगारी समस्या, अर्धबेरोजगारी, युवा पलायन, कमजोर आर्थिक र स्वास्थ्य अवस्था, उद्यमशील वातावरणको अभाव आज पनि देखिदै आएको छ ।  

आज जतिपनि सामाजिक या राजनीतिक सवालमा गम्भीर प्रकारका विषयवस्तुमा प्रश्न उठ्ने गर्दछन् त्यतिबेला आस्था र विचारको जगमा युवा विभाजनमा  देखिन्छन् । अधिकार, कर्तव्य र सामाजिक उत्तरदायित्व विपरीत गलत काम र प्रवृत्ति गर्नेलाई गलत भन्न नसक्नु, अनेकन तर्कवितर्क गर्ने कार्यशैलीले युवा आफैमा विचार बिहिन र कमजोर भइरहेको छ । 

आज सामाजिक सञ्जालमा अनेकौं तर्कवितर्कहरु छरपष्ट भइरहेका छन् । सकारात्मक सोच र रचनात्मक क्रियाकलाप गर्नुभन्दा आलोचनात्मक भूमिकामा युवाको अग्रसरता बढी भएको देख्न सकिन्छ । युवालाई राजनीतिक नेतृत्वले आफ्नो छाँया वा प्रभावमा पारेर विभिन्न किसिमले प्रयोग गरिरहेको कतिपय कुरा, व्यवहार र कार्यशैलीबाट बुझ्न र आत्मसात गर्न सकिन्छ । राजनीतिक दलका नेताप्रति आलोचनात्मक टिप्पणी र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिन समेत युवापिँढी पछि नपर्ने, लालायित हुने अहिलेको अवस्थामा कतिपयको बानी नै परिसकेको छ । 

यही परिपाटीको विकासले आपसी असमझदारी, असन्तुष्टि र मनमुटाव बढ्दै जाने र युवाको सामाजिक रुपान्तरण र परिवर्तनको साहसले उचाइ चुम्न सकेको देखिदैन । कतिपय पारिवारिक, सामाजिक र सांगठनिक अवस्थामा विश्वास र भरोसा समेत गुम्न थालेको छ । सामाजिक रूपमा लिइएको लक्ष्य र चलाइएको अभियानबाट युवाले गन्तव्य र लक्ष्य चुम्न सकेको छैन । सामाजिक रूपमा चलाइएको अभियानलाई सार्थक तुल्याउन असल नेतृत्वदायी भूमिका निर्वाह बहन गरि कुसल अभियन्ता बन्न सकेका छैनन् । युवामा सृजनशिलता, वैज्ञानिकता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशीलता नागरिक सोच र जवाफदेहिताको विकास गरि न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न उनीहरूभित्र अन्तर्निहित क्षमताको विकास गर्नु जरुरी छ । 

राजनीतिक दलहरुको अकर्मण्यताका कारण देश लथालिङ भएको छ । हिजो पञ्चायती व्यवस्थाको अन्त्यदेखि मुलुकमा विदेशी दलालहरुको हैकमवादी शासन चलिरहेको सबैलाई थाहा भएको नै छ । हाम्रो देशको स्वाभिमान गुमेको छ तर, हामी युवा किन मौन छौं ? के यही बेथिति देख्न पञ्चायती व्यवस्थार राजाको प्रत्यक्ष शासन का विरुद्ध हामी युवाले आन्दोलन गरेका थियौं ? परिवर्तन पछिका यतिका वर्ष हामीले के पायौं ? बढ्दो महंगी, कालोबजारी, विकास शून्य। युवा गाउँमा देख्नै मुस्किल छ । अनियमितता, भ्रष्टाचार मौलाएको छ । देशमा दुईतिहाइको जनमत प्राप्त बलियो सरकार छ । केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार छ । तर, देशका सीमा स्तम्भहरु भत्किदैछन् । नेपाली भूमि कालापानी र लिपुलेकलाई भारतले आफ्नो देशको नक्साभित्र देखाएर सार्वजनिक गर्दा होस वा चीनले सयौं हेक्टर जमिन आफ्नो नक्सामा पार्दा समेत युवाको मौनता रहस्यमयी छ। आखिर किन ? यस्तो अवस्थामा देशको स्वाधीनताको पक्षमा युवा एकजुट हुन नसक्नु कस्तो खालको राष्ट्रवाद हो ?  

सदियौंदेखि लादिएको अन्याय, विभेदकारी नीति, रुढीबादी परम्परा र सामन्तवादी संस्कारलाई जस्ताको त्यस्तै राखेर युवा परिवर्तनकारी शक्ति कसरी हुनसक्छ र ? अहिलेका युवाहरु शक्ति केन्द्रको पछाडि दौडिरहेका छन् । लगाम लगाएका घोडा जस्तो आफ्नो वुद्धि र विवेकलाई तिलान्जली दिएर सीमित घेरामा बसेका लठैतहरु युवा हुन सक्दैनन् । 

देश विकासको मेरुदण्डको रूपमा रहेका यस्तो युवाशक्तिलाई नेपालमा भने सही रूपमा परिचालन गर्न सकिएको छैन । लाखौँ नेपाली युवा कि त खाडी मुलुकमा आफ्नो रगत र पसिना कौडीको मोलमा बेचिरहेका छन् कि त अमेरिका, क्यानाडा, अस्ट्रेलियाजस्ता मुलुकको लागि डीभी र पीआरको सपना बुन्दै त्यसको लागि फारम भर्न व्यस्त छन् । देशमा महँगी, भ्रष्टाचार, बेरोजगारी, अशान्ति, राजनीतिक अस्थिरता, द्वन्द्व, व्याप्त छ । लगानीमैत्री वातावारणको अभावजस्ता कारणले दैनिक १२ सय देखि १५ सय युवा विदेशीने गरेको तथ्यांकले देखाउँछ । यसको अलावा बेरोजगारीकै कारणले लागूपदार्थ दुर्व्यसनी तथा विभिन्न आपराधिक गतिविधिमा युवा संलग्न हुने गरेको पाइएको छ। यसलाई रोक्न राज्यका महत्त्वपूर्ण निकाय र तहमा युवाको सशक्त भूमिका किन हुन सकिरहेको छैन ? त्यसैले, युवाहरूको आधारभूत अधिकारलाई प्रत्याभूत गर्दै राष्ट्रनिर्माण, सामाजिक सेवाका विविध पक्ष, आइपर्ने विपत्ति, दुर्घटना, प्राकृतिक, जैविक प्रकोप तथा आपतकालीन अवस्थामा राहत तथा उद्दार कार्यमा सहभागिता र परिचालनमा जोड दिइनुपर्दछ । 

संकट र सामाजिक उत्तरदायित्व
युवाहरूलाई राष्ट्र एवं राष्ट्रियता, जनता र लोकतान्त्रिक मूल्य र मान्यताप्रति समर्पित र प्रतिबद्ध बनाउँदै उत्तरदायी र जवाफदेही बनाउने राज्यको समेत भूमिका रहन्छ । उनीहरूलाई संकटको घडीमा सीपयुक्त तालिम प्रदान गरि परिचालन गर्ने दायित्व सरकारको नै हो । देश लोकतान्त्रिक संघीय संरचना अनुसार अहिले संघ, प्रदेश र स्थानीय तहमा तीन तहको सरकार छ । तीनै तहको सरकारले तय गरेका नीति, योजना तथा कार्यक्रम र स्थानीय स्तरमा हुने गतिविधिमा प्रतिनिधित्व सुनिश्चित गरि उनीहरूलाई आवश्यक पेसागत ज्ञान, दक्षता र तालिम प्रदान गरि युवाको सक्रिय सहभागितामा जोड दिइनुपर्दछ ।

समाजमा आइपर्ने सामाजिक गतिविधि र जोखिमको अवस्थामा नागरिकको उद्दार, राहत र सुरक्षाका लागि प्राथमिकतामा राखेर काम गर्नु युवाको कर्तव्य हो । समुदायमा शान्ति, सहअस्तित्व, सामाजिक सद्भाव र समानताका लागि युवा विमुख हुनुहुँदैन । प्राकृतिक तथा जैविक विपत्तिमा मानवीय सेवा, परोपकार  समाजप्रति बफादार र कर्तव्यबोधलाई आत्मसात गर्नुपर्छ । अहिले विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्त्रण तथा राहत उद्दारका काममा युवाले समूह निर्माण गरि आर्थिक सहायता, सुरक्षा सतर्कता र खाद्यान्न सहयोग गर्नु परोपकारी काम हो । युवाले नेतृत्व गरेका वा युवा विकासमा कार्यरत संघसंस्था, समूह, सञ्जाल, युवा क्लब, रेडक्रस  स्काउट र गैरसरकारी संस्थाले साझेदारी गरि प्रकोप र आपत विपदको घडीमा जोखिम न्यूनीकरण गर्न पहल गर्नुपर्दछ ।

नयाँ