arrow

कर्मभूमी कोरिया फर्काउने वातावरण मिलाइदिन सरकारसँग हारगुहार

६१ प्रतिशत अप्रिलभित्रै कोरिया आउन चाहन्छन, ९१ प्रतिशत पहिलो उडानमै

logo
हाम्राकुरा बिशेष संवाददाता,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-relief-korea-nrn.jpg

कोरिया। विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाई प्रत्येक देशले उद्धार गरिरहेको छ। संकटको बेलामा आफन्तहरुसँगै बस्न चाहने मानविय  चाहनालाई पुरा गर्न सम्वन्धित देशहरुले पहल पनि गरेका छन्। नेपालबाट पनि कैयौं देशले आफ्ना नागरिकलाई चार्टर फ्लाइट मार्फत स्वदेश लगेको छ। 

नेपालले पनि चीनको वुहानबाट शुरुका दिनमा केहि नेपालीहरुलाई ल्याए पनि त्यसपछि भने स्वदेश फर्काउने बारेमा अनिच्छा देखाएको छ। अष्ट्रेलियन नागरिकलाई लिएर गएको चार्टर फ्लाइटबाट केहि नेपाली आएको बताइए पनि अन्य देशबाट आउन चाहनेहरुलाई ल्याउने इच्छा देखिएको छैन।

खाडीका कतिपय राष्ट्रले आफ्ना देश छाड्न प्रवासी मजदुरहरुलाई सर्कुलर गरेको छ। त्यहाँ रहेका नेपालीहरु पनि मरुभूमी भन्दा मर्नु परेपनि आफ्नै देशमा मर्ने भन्दै स्वदेश फर्कने वातावरणका लागि नेपाल सरकारलाई आग्रह गरिरहेका छन्। तर नेपाल सरकार विदेशमा रहेका नेपालीहरुलाई ल्याउन अनिच्छुक देखिएको छ। 

सर्वोच्च अदालतको आदेशले भने सरकारको निर्णय परिवर्तन हुनसक्ने अपेक्षा छ। विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि सर्वोच्चले बिहिवार आदेश जारी गरेको हो। यो आदेशपछि विदेशमा रहेका नेपालीहरुमा झिनो आशा भने पलाएको छ। 

कोरोना संक्रमण शुरु भएको समयमा स्वदेश फर्किएकाहरु यतिखेर फेरि कर्मभूमी फर्कने समय भएको छ। हाल नेपालमा रहेका कोरियामा अध्ययन, काम तथा व्यापार गर्दै आएकाहरु सरकारले स्वदेश ल्याउने र विदेश जाने दुबै कुरामा रोक लगाएपछि अहिले मारमा परेका छन्। अहिले सयौंका संख्याका कोरिया जान चाहने त्यस्ता व्यक्तिहरु समस्यामा परेका छन्। 

स्वदेश फर्काउन आनाकानी गर्ने सरकारले कर्मभूमी जान चाहनेहरुलाई सहजीकरण गर्न उनीहरुले माग गरेका छन्। छुट्टी तथा अन्य कामको सिलसिलामा नेपाल आएका यस्ता व्यक्तिहरु कर्मभूमी जान नपाउँदा छटपटाएको आफूहरुले गरेको एक सर्वेमा देखिएको एनआरएनए कोरियाका संस्थापक केपी सिटौलाले बताए। ३ बर्षसम्म इपीएस अध्ययन गरि दुई बर्ष कुरेर कामका लागि कोरिया गएकाहरु, अध्ययन तथा त्यहाँ व्यापार गर्नेहरु अहिले आफ्नो भीसा सकिने अवस्थाका कारण चिन्तित बनेको सिटौलाले बताए। 

अप्रिलको अन्तिमबाट भिसा सकिने भएका कारण अहिले उनीहरु कुनै पनि हालतमा कर्मभूमी कोरिया फकर्न चाहन्छन। तर सरकारले कोरिया जानलाई प्रतिवन्ध लगाएका कारण उनीहरु फर्कन पाएका छैनन्। कोरोनाकै बीचमा पनि कोरियाले संसदीय चुनाव गरि नयाँ सरकार गठन प्रक्रियामा गइसकेको छ। कोरोनाको राम्रो उपचार भएको देशमा कोरिया अग्रपंकिमा छ। तर सरकार यो कुरा सुन्न चाहिरहेको छैन।   

कोरियामै रहेका नेपाली अभियन्ता र व्यवसायीहरुले नेपालमा रहेका नेपाली श्रमिक, व्यवसायी र विद्यार्थीहरुलाई नेपाल ल्याउने वातावरण बनाइदिन दक्षिण कोरियास्थित नेपाली दुतावासमा ध्यानाकर्षण पनि गराएका छन्।

कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, नेपाली बिध्यार्थी समाजका उपाध्यक्ष श्री सत्याल, दोङ्देमुन ब्यापारी संघका अदक्ष्य भिम गुरुङ सहित नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधी सहित रहेका सिटौलाले संयुक्त रुपमा कार्यबाहक राजदुत राम सिंह थापालाई अनुरोध पत्र हस्तान्तरण गर्दै जति सक्दो छिटो नेपाल सरकारको सम्बन्धित मन्त्रालयमा पठाइदिएर नेपालिहरुको कर्म भुमी जाने बाटो खुलाइदिन अनुरोध गरेका छन्।

उनीहरुले कोरिया फर्कन चाहनेहरुको एक सर्वेको नतिजा पनि दुतावासमा बुझाएका छन्। अप्रिल भित्रै आउन चाहनेहरुका लागि र अप्रिल पछि मे ३ तारिखको दुईवटा मिति दिएर गरिएको सर्वेक्षणमा सहभागी ११सय ३५ जनामा ६५ प्रतिशतले अप्रिल २२ मा कोरिया आउन चाहेको बताएका छन् भने ३५ प्रतिशतले मे ३ मा कोरिया आउन चाहेका छन्। 

यहि समयमा कोरियाबाट काठमाडौं जान चाहने ७५१ जनामा गरिएको सर्वेक्षणमा ६१ प्रतिशतले अप्रिल २२ मा र बाँकी ३९ प्रतिशतले मे ३ मा जाने बताएका छन्। सर्वेको यहि प्रवृतीले पनि जन्मभूमीबाट कर्मभूमी कोरिया फर्कन चाहनेहरु बढी देखिएको एनआरएन अभियानकर्मी केपी सिटौलाले हाम्राकुरालाई बताए।  

कोरिया आउन चाहने १३ सय ६८ जनामा गरिएको सर्वेमा ९१ प्रतिशतले जसरी भएपनि पहिलो उडानमै कोरिया जान चाहेको बताएका छन्। लकडाउनकै बीचमा पनि ८२ प्रतिशतले काठमाडौं एयरपोर्ट आउन सक्ने दावी समेत गरेका छन्।  

कोरियामा रहेका हजारौं नेपाली मध्ये अहिलेसम्म कोहि पनि कोरोना संक्रमित नभएको र कोरियन सरकार पनि कोरोना संक्रमण रोकथामको लागि गम्भिर रुपमा लागिरहेको बेलामा आत्तिनु नपर्ने अवस्था रहेको स्थानिय नेपाली अगुवाहरुले पनि बताएका छन्। यो परिस्थितिमा कोरिया आउन चाहेनहरुलाई आउने वातावरण बनाइदिन उनीहरुले माग गरेका छन्। 

खासगरि नेपाली विद्यार्थीहरु पनि आफ्नो भीसा सकिने डरले समस्यामा छन्। नेपाली विद्यार्थी समाज कोरियाका अध्यक्ष प्रकाश देवकोटाले कोरोनाबाट बच्ने चिन्तासँगै भीसा अवधी सकिने विद्यार्थीहरुलाई आफ्नो भीसा रद्ध हुने डर समेत रहेको बताए। 

२०२० मार्च सत्रका लागि कोरियाका विश्वविद्यालयमा भर्ना भई शुल्क बुझाइसकेका तर नेपालमा लकडाउनमा फसेका र एनओसीमा गरेको प्रतिवन्धका कारण कैयौं विद्यार्थी कोरिया आउन वञ्चित रहेको देवकोटाले बताए। कोरिया आउन वातावरण बनाइदिन आफूहरुलाई विद्यार्थीहरुले अनुरोध गरेको उल्लेख गर्दै उनले १५० भन्दा बढी विद्यार्थी चार्टड फ्लाइटबाट आउन चाहेको सर्वेक्षणको नतिजा पनि उनले बताए। उनले कोरिया आउन चाहने अन्यसँगै विद्यार्थीहरुलाई पनि सहजीकरणका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ