arrow

सडकका दृश्यले मन पोलेन प्रधानमन्त्रीज्यू, तपाई निदाउन पनि सक्नुभयो ?

महामारीको सामना सँगै मिलेर गरौ, देश गुटका कार्यकर्ताको मात्र हैन

logo
ईश्वरी न्यौपाने,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
ishwari-neupane.gif

विश्व कोरोना भाइरसको चपेटामा छ। उत्तरी छिमेकी राष्ट्र चीनको वुहानबाट सुरु भएर विज्ञान र प्रविधिले धनी मानिएका अमेरिका, ईटली, स्पेन, जापान, दक्षिण कोरीया, फ्रान्स, बेलायत लगायत राष्ट्रलाई समेत गलाएको यो भाइरसले दक्षिणको छिमेकी भारत हुँदै नेपालमा समेत तर्साएको छ। मित्रराष्ट्र भारतमा समेत दिनानुदिन कोभिड १९का बिरामीको संख्यामा वृद्धी हुँदै जादा हाम्रो पनि धडकन बढिरहेको छ। नेपालमा पनि पहिचान भएका कोरोना संक्रमितहरुमा भारतबाट आएका धर्म बिशेषका व्यक्तिहरुको संख्या आधा भेटिनु अझ चिन्ताको विषय भएको छ। 

विश्व कोरोनाको महामारीसँग जुध्दै जाँदा नेपालमा यो महामारी भित्रिन नदिन एवं त्यसबाट बच्ने उपायमा छलफल र तयारी गर्नुको सट्टा त्यसको प्रकृति नै नवुझि सामान्य रुघाखोकि जस्तो गरेर भिजीट २०२०को नारा फलाकेर हिडियो। पर्यटन मन्त्री योगेश भट्टराई त अझ नेपाल कोरोना मुक्त देश हो भन्दै घुम्न आउनुस भनेर प्रचारमा नै लागे। कोरोनासँग लड्ने तयारी गर्नुपर्ने शुरुवाती महत्वपूर्ण दिनहरुमा हाम्रो सरकारको तयारी शून्य रह्यो। सर्वोच्चले दिएको आदेश पनि पालना भएन। एयरपोर्ट बन्द गरिएन। नभन्दै सात समुन्द्रपारीबाट आएकाहरुमा एक पछि अर्को कोरोना संक्रमित पाइन थाल्यो। विदेशबाट आएकाहरुलाई क्वारेन्टाइन गरिएन। सबै भगवान भरोसा छोडियो। न त कसैको ट्राभल हिस्ट्री राख्न भनियो। न त्यस अनुसार निर्देशिका नै जारी गरियो। फाल्तुका गफमै सरकारले महत्वपुर्ण दिनहरु बितायो।

सरकारको लापर्वाहीले देशमा एक किसिमले विषम परिस्थिति सिर्जना त भइसकेको छ। यो बिषम परिस्थितिमा अब सत्तापक्ष प्रतिपक्ष सबै एकजुट भएर काम गर्नुको विकल्प छैन। यो महामारीसँग जुध्न ऐक्यबध्दता जनाएर सरकारलाई कांग्रेस लगायत अन्य दलहरुले सहयोग समेत गरिरहेका छन्। कोरोना राहत कोषमा पैसाको कमि पनि छैन तर सरकार अलमलिएको छ।

यो महामारीबाट बच्न लकडान आवश्यक्ता थियो । तर एकाएक लगाइएको लकडाउनबाट आफ्नो घर आँगनबाट कोषौं दुर रोजगारीको लागि गएका मजदुर एवं गरिखाने बर्ग साह्रै मर्कामा परेका छन्। न काम गरेको ठाउँमा बास र गाँसको ठेगान छ न त आफ्नो घर फर्कने साधन छ। काँखमा बच्चा बोकेर मिलौ पैदल हिडिरहेकाछन्। हिड्नेहरुको हुलमा गर्भवती महिला, काखे कलिला बालकालिकासम्म छन्। तर तिनको पीडा न केन्द्र सरकारले देखेको छ न प्रदेश सरकारले। दुखी पिडित नागरिकहरुलाई भोकै प्यासै सडकमा छोडिदिएको छ। पिडित नागरिकको दुखमा सरकारको मन पग्लिदैन, सर्वोच्च अदालतले आदेश दिनुपर्छ। सडकका ती दृश्यले जो कोहिलाई सुत्न नसक्ने बनाउँछ। यस्तो दृश्य देखेर प्रधानमन्त्री कसरी सुत्न सके होलान म आफैलाई प्रश्न गरिरहेछु।

स्वास्थ्य सामाग्री आपूर्तीको ढिलासुस्ति त छदै थियो त्यसैमा पनि भ्रष्टाचारको घटना उदाङगियो। दुखको समयमा पनि सामान्य मानविय संवेदना देखाइएन। यस्तो बेलामा पनि धन उपार्जनमा ध्यान दिइयो। भ्रष्टाचार बिरुद्ध शून्य सहनशिल भनिएको केपी सरकारको मन पराइएको मन्त्रीहरु एकपछि अर्को भ्रष्ट्राचार काण्डमा मुसिदा प्रधानमन्त्री उल्टो उनीहरुकै बचाउ गरिरहेका छन्। यो भन्दा विडम्वना नेपाली जनताको लागि अरु के हुनसक्छ। 

सरकारले कोभिड १९ को उपचारको बहानामा अधिकांश गरीखाने बर्गलाई नै असर हुने निशुल्क सुत्केरी सेवामा समेत कटौति गरेको छ। दिनरात नभनी खट्ने सुरक्षाकर्मिको तलव कटौति गरेको छ। सामान्य रोगको समेत उपचार असम्भव प्राय भएको छ। कोभिड १९को वहानामा अन्य रोगको पनि उपचार नगर्ने अस्पताल कारवाहिको दायरामा आएका छैनन। सरकार ध्यान यता भन्दा पनि अन्यत्रै छ। कसरी कमाउने र आसापासका मानिसलाई सुरक्षित गर्ने भन्दा ध्यान सरकारको अन्यत्र छैन। आफ्ना नेता कार्यकर्तालाई जागिर दिने, चुनावको बेलामा प्रभावित गर्न कार्यकर्तालाई जग्गा दिने गरि अहिल्यै सुकुम्वासी आयोग गठन सरकारको प्राथमिकतामा पर्छ। तर जनतालाई कोरोनबाट सुरक्षित राख्ने नागरिकलाई सुरक्षीत रुपमा पुर्‍याउने उसको प्राथमकितामा पर्दैन। यो विषम परिस्थितिमा पनि सरकार आफ्नो र आफ्नाको फाईदाको बाटोमा लागेको छ। सरकार आफ्नो र पराई गर्नमै उद्यत छ। 

सरकारमा रहेकाहरुको हर्कत हेर्दा यो सरकार जनताको कि पार्टीभित्र गुटका कार्यकर्ताको भन्ने प्रश्न आम नागरिकले सोध्न थालेका छन्। लकडाउनको पालना जनताले ईमान्दारी पुर्वक गरेका छन्। घरभित्रै बसेका छन्। अझै जतिदिन परेपनि बस्न तयार छन्। तर शहरमा घर नभएका र घर जान चाहनेको व्यवस्थापन नगरेर आँसु झर्ने र मुटु नै भक्कीने सडकका दृश्य कायम राख्ने छुट सरकारलाई छैन। यिनिहरुको छिटो भन्दा छिटो व्यवस्थापन र उद्धार होस। निशुल्क सुत्केरी सेवा कटौती एवं गरीखाने वर्गको स्वास्थ्यमा असर पर्ने जस्ता निर्णय सरकारले नगरोस। सरकार हामी सबै नेपालीको हो। यो समस्याको समाधान पनि हामी सबै मिलेर नै गर्नुपर्छ भन्ने बातावरणको सृजना गर्नु आजको आवश्यक्ता हो। चुनावको नतिजा र राजनितिक दल र त्यसको नेतृत्व त बदलिरहन्छ। आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)छ भोलि अरु नै पनि हुन सक्छ। तर पनि हामी सबै पहिला नेपाली हौं,नेपाली भएरै सोचौं। 

(न्यौपाने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला विभाग संयोजक हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ