arrow

इस्लामभित्रको लडाईंमा पक्ष र विपक्ष

logo
बर्नाड अन्री लेभी,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Ramadan-at-Jama-Masjid.jpg.jpeg
पेरिस। फ्रान्सेली प्रधानमन्त्री मानुऐल भाल्सले हालै जिहादवादका लागि राम्रो बहाना छैन भन्दा उनी सही थिए । भाल्सको विचारमा बहानाहरूको संस्कृतिलाई अस्वीकार गर्नुको अर्थ जिहादी उत्तेजनाको व्याख्यामाथिको छलफलमा सहभागी हुने लालसालाई रोक्नु पनि हो । युरोप (र युरोपभित्र पनि फ्रान्स)लाई धर्म वा आस्था परिवर्तनका लागि मुख्यस्थलका रुपमा हेर्ने जिहादवादको अन्तर्निहित सिद्धान्त सल्फीजमका लागि वैचारिक जितको खतरा विरुद्ध यही अप्रिल ४ का दिन चेतावनी दिंदा भाल्स फेरि पनि सही थिए । 
 
यो बहसमा सहभागी हुने जिम्मेवारीबाट विगतको तीन दशकका फ्रान्सेली सरकारहरू तर्किदै आएका छन् । तर निष्क्रियताले तत्कालका लागि सामाजिक शान्ति सुनिश्चित गरे तापनि त्यसले गणतन्त्र भन्दा बाहिरको मुल्यमान्यताहरुलाई फ्रान्सेली सहरहरुको कुनाकाप्चामा जरा गाड्न ढोका खोल्ने काम गरिदियो । यसपछि सरकारहरुले उग्रवादी इम्लामिक रुढिवाद वास्तवमा इम्लामिक फासीवाद हो भन्ने वास्तविकतालाई अस्वीकार गरेर स्वेच्छिक अन्धोपनालाई स्वीकार्ने सरहको काम गरे । आलोचकहरुले इस्लामिक फासीवादलाई अधिनायकवादको तेस्रो विश्वव्यापी रुप हो भनी निन्दा गर्दै आएको दुई दशक भन्दा बढी भइसकेको छ । 
 
सरकारको यो असफलतामाथि राजनीतिक वृत्तको चरमसीमामा विद्यमान अदूरदर्शिताले मलजल गर्ने काम गर्यो । सन् २०१२ मा उग्र दक्षिणपंक्ती नेसनल फ्रन्टका नेता मरिन ले पेँले (दुवैलाई निन्दा गर्न) धार्मिक प्रतीकका रुपमा रहेको यहुदीहरुले लगाउने घोप्टे टोपी अर्थात यारमुल्के र राजनीतिक प्रतीकका रुपमा रहेको बुर्कालाई एकैठाउँमा राखेका थिए । यसै महिनामात्र ग्रीन पार्टीका सिनेटर ऐस्थर बेनबास्साले एक्लाउने काममा मिनिस्कर्ट घुम्टो भन्दा कम नभएको दावी गरे । मानिसहरुले त्यसैको नाममा हत्या, अंगभंग र बलात्कार गर्ने काम गरिरहेका छन् भन्ने कुरा कदापि बिर्सन नदिने बर्बरताको एउटा रुपलाई स्वीकार्य बनाउने काम गरेका छैनन् भन्ने हो भने ले पेँ र बेनबास्साले के गरिरहेका छन् त ? 
 
सबैभन्दा ठूलो स्वरमा चिच्याएकै कारण मध्यमार्गीभन्दा उग्रवादीहरुमा रहेको तुलनात्मक लाभले समस्यालाई अझ जटील बनाउने काम गरिरहेको छ । फ्रान्सेली क्रान्तिको समयमा विधानसभामा मोन्टागनार्ड्सहरुले गिरोन्डिस्हरुलाई अव्यक्त बनाउने काम गरेको जस्तै कट्टरपन्थी जिहादीहरुले शान्तिका साथ र अन्य व्यक्ति तथा कानुनको सम्मान गर्दै आफ्नो आस्थाको अभ्यास गर्न चाहने ठूलो संख्यामा रहेका मुस्लिमहरुलाई चुप लगाउने काम गरिरहेका छन् । 
 
अन्त्यमा आएर आफूलाई अपमान गर्नेहरुलाई धार्मिक कट्टरपन्थीहरुले कलंकित गर्दा हाम्रा नेताहरु डराएर गरेको वाचाबाट पनि पछाडि फर्कने प्रवृत्ति हामीले देख्न थालेका छौं । हिजो भारतीय उपन्यासकार सलमान रुस्दी थिए ; आज अल्जेरियाली उपन्यासकार कामेल दाउद छन् । त्यस्तो अवस्थामा धेरै नेताहरुको पहिलो प्रतिक्रिया त्यसका लागि उनीहरु नै जिम्मेवार छन् भन्ने हुनेगर्छ, जसले पीडितहरुलाई दोस्रो पटक पीडित बनाउने काम गर्छ । 
 
कुनै पनि अवस्थामा त्यसको परिणाम स्पष्ट छ : हिंसात्मक अतिवादको परितोषणले त्यसैलाई अझ बढी प्रोत्साहित गर्ने काम हुन्छ । परिणामस्वरुप हामी आफूलाई अघोषित बौद्धिक सङ्कटकालको अवस्थामा पाउँछौं जसले दुःखद रुपमा आतङ्कवादी हमलापछि हाम्रा सरकारहरुले घोषणा गर्ने सङ्कटकालको स्थितिलाई निम्त्याइरहेको छ । 
 
यो सङ्कटकालको स्थितिलाई समाधान गर्न सबैभन्दा पहिला हामीले प्रायः भनेको र गरेको भन्दा ठिक विपरित भन्नु र गर्नु हो । विशेषगरी, हामीले कोदालोलाई कोदालो नै भन्नुपर्छ । एउटा इस्लाम धर्मावलम्बी हराएको मुस्लिम वा भड्किएको मुस्लिम हुनसक्छ, तर ऊ सबै समान मुस्लिम नै हो । हामीले यी पथभ्रष्ट मुस्लिमहरुको “इस्लाम धर्मसँग कुनै लेनादेना” छैन भन्ने घृणित वाक्यलाई दोहोर्याउने काम बन्द गर्नुपर्छ । 
 
अर्का शब्दमा भन्नुपर्दा हामीले दुई वटा इस्लाम मृत्युसम्मको लडाइँमा जुटेका झन् भन्ने कुरा स्वीकार गर्नुपर्छ र त्यो किनपनि भने युद्धस्थल पृथ्वी हो र युद्धले पश्चिमले अवलम्बन गर्ने मुल्यमान्यता जोखिममा पारेको छ । यो युद्ध मुस्लिमहरूको मात्र मामिला होइन । 
 
यो कार्यपछि हामी इस्लामिक घृणा र आतङ्कको सञ्जालको पहिचान गर्ने, सुल्झाउने र सार्वजनिक गर्ने काममा कर छल्नेहरुको विश्वव्यापी सञ्जाललाई सार्वजनिक गर्ने कार्यमा हाल परिचालन भइरहे सरहकै उर्जा र चलाखीपनका साथ केन्द्रित भएर लाग्नुपर्छ । सल्फिजमको पानामा पेपर्स बाहिर आउनका लागि हामीले कति लामो समय पर्खनुपर्ला ? विश्वव्यापी जिहादका मोस्साक फोन्सेका र त्यसका आपराधिक र दूरदराजमा सञ्चालित कम्पनीको कालो जालोलाई सफा गर्नमा ती महान पत्रपत्रिकाहरुलाई के कुराले रोकिरहेको छ ? 
 
हामीले महिला, उनीहरुको अनुहार र उनीहरुका अधिकारका साथै समग्रमा मानवअधिकारको सम्मान गर्ने इस्लामको पक्षमा उभिएर घृणा फैलाउने इस्लामलाई अस्वीकार गर्ने मुस्लिमहरूलाई सहयोग, प्रोत्साहन र वैचारिकरुपमा सुदृढ बनाउनुपर्छ । यही कुरा हामीले तत्कालिन सोभियत संसारमा हामीले भिन्न विचार राख्ने व्यक्तिहरु भन्ने गरेको साहसी व्यक्तिहरुका सम्बन्धमा गरेका होइनौं ? र त्यति बेला ती भिन्न विचार राख्ने व्यक्तिहरु अल्पसंख्यक हुन् र सामन्तवादको कठोर सिद्धान्तविरुद्ध कदापि हावी हुनसक्दैनन् भन्नेहरुलाई उपेक्षा गर्दा हामी सही थिएनौं । 
 
त्यसको अर्थ (अहिलेको एउटा उदाहरणलाई लिने हो भने) दाउदको संरक्षण र प्रतिरक्षा गर्नु हो । मुस्लिम मूलका फ्रेन्च लेखक दाउदले युरोपमा आश्रय खोजीरहेकाहरुले युरोपेली मुल्यमान्यताहरुलाई स्वीकार गर्न सिकेमा राम्रो गर्ने छन् भन्ने विचार अभिव्यक्त गरेका थिए । त्यसका लागि दाउद विरुद्ध दोहोरो फतवा जारी भएको छ : पहिलो अल्जेरियाली–फ्रेन्च पत्रकार मोहमद सिमाउको शब्दावली उधारो लिने हो भने “हत्यारा दाजुभाई”बाट र दोस्रो उनले अरब पुरुषहरुलाई महिलाको निष्ठाको सम्मान गर्न आग्रह गर्दा “प्राच्यवादको सबैभन्दा सस्तो विचारलाई दोहोर्याएको” आरोप लगाउने सानो समूहमा रहेका कथित प्रगतिशाली र नश्लवादी विरोधी फ्रेन्च विद्धानहरुबाट । 
 
वास्तविक नश्लवादी विरोधी, साम्राज्यवादी विरोधी, र गणतन्त्रात्मक प्रजातन्त्रमा आस्था राख्नेहरुले सल्फिजमवादीहरुको आपराधिक इस्लामविरुद्धको युद्धमा मध्यमार्ग र शान्तिको इस्लामको पक्षमा उभिनुपर्छ । यो वैचारिक, आध्यात्मिक र राजनीतिक युद्ध हो, यस्तो युद्ध जसले सबै विश्व, संस्कृति र हामीले सम्भ्यताहरु भन्न सही हुने प्रबुद्ध इस्लाम अझै पनि जीवित र राम्रै अवस्थामा रहेको कुर्दिस्तान, मोरोक्को, बोस्निया र बङ्लादेशदेखि फ्रान्सका विलीन हुनपुगेका सहर छिमेकलाई गाँजेको छ । सामान्य भाषामा भन्नुपर्दा यही नै हामीले अविलम्ब गर्नुपर्ने काम हो । यो हाम्रो युद्ध हो । 
 
बर्नाड अन्री लेभी “नोभु फिलोसोफे” (नयाँ दार्शनिकहरु) आन्दोलनका प्रतिपादकमध्ये एक हुन् । उनका प्रकाशित पुस्तकहरुमा लेफ्ट इन डार्क टाइम्स : ऐ स्ट्याण्ड एगेन्स्ट न्यू बार्बिजम पनि एक हो । (प्रोजेक्ट सिन्डीकेट) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ