- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रधानमन्त्री केपी ओलीको बोली र व्यवहार हेर्दा उनी आफूलाई मात्र सर्वज्ञानी, महाज्ञानी, दिव्यदृष्टिकर्ता ठान्दछन् र मान्दछन् पनि। किनकि सबैजसो उनका भाषण, बोलाई आदिमा यस्तै कुरा झल्किन्छ र दुनियालाई केहि न केही कुरा अर्ती उपदेश दिइरहेकै हुन्छन्।
हालै मुख्य मन्त्रीसँगको एक ब्रिफिङमा त कोरोना भाइरसबारे आफू वरिष्ठ भारोलोजिष्ट नै भए झैं गरी प्रस्तुत भए। कोरोना भाइरस निर्जीव तत्व भएको ठोकुवा गर्दै तातोपानीले पखाले मर्छ भन्ने दाबी गर्दै ज्ञान प्रस्तुत गरे।
हालैको एक पत्रकार भेटमा पनि उनले नेपालमा कोरोनाकालमा कोहिपनि नेपाली भोको नभएको तथा सरकारले पर्याप्त व्यवस्था गरेको भन्दै मिडियामा आएका कुरा प्रोपोगान्डा मात्र भएको बताए। सरकारले नदेखेको चिजलाई पत्रकारले कसरी देखें भन्ने प्रश्न नै गरेर यस्तो हुनै नसक्ने ठोकुवा पनि गरे। जहाँ पुग्दैन रवि(सूर्य) त्यहाँ पुग्छ कवि भन्ने उखान विर्सिएछन प्रमले।
सूचना प्रविधीको यत्रो विकासले सबैको हातमा इन्टरनेट पुगेको बेलामा काठमाडौंबाट कसरी एकैछिनमा धादिङ पुगेर भिडियो रेकर्ड गर्न भ्याए पत्रकारले भन्ने प्रधानमन्त्री को प्रश्नले त उनको सोचाई उनी भूमिगत हुँदाको अन्तर पार्टी निर्देशन (अपानि) पठाउने समयकै रहेछ देखाएको छ। आफूलाई अति बाठो ठान्ने प्रधानमन्त्रीको बौद्धिक क्षमता माथि जोकोहीले सजिलै प्रश्न उठाउन सक्छन् नै। मानार्थ डाक्टर केपी ओलीलाई जनता बर्दी बिनाका सिपाही र लाईसेन्स बिनाका पत्रकार हुन भन्ने कुरा पो कसले सिकाइ दिने?
सरकारले आफूहरुलाई बेवास्ता गरेको, आफ्नो आवाज सिंहदरबारले सुन्दै नसुनेको भन्दै रोइकराइ गरेका, आँसु झार्दै भक्कानो फुटेर बोल्नै नसकेका यात्रुको भिडियो देख्दा जोकोहीको मन दुख्छ। पानी समेत नदिने काठमाडौं साच्चिकै निर्दयी रहेछ भनेर कहिल्यै नफर्किने कसम खाएर गाउँ फर्किरहेका जनतालाइ के बालुवाटार र सिंहदरबारले नदेखेकै हो त? पक्कै होइन। आफ्नो शासनकाल अब्बल रहेको देखाउने कुचेष्टा मात्रै हो। जति ढाकछोप गरेपनि जनताले हिसाबकिताब गरिरहेकै छन्। विशेष गरी ती मजदुर जनता जसमाथि नदेखेजस्तो निर्मम ब्यङग्य प्रहार भएको छ प्रधानमन्त्रीबाट नै।
काठमाडौंमा खानबस्न समस्या भएरै भोकभोकै रातारात आफ्नो गाउँघरतिर हिडेरै फर्किरहेकाहरुलाई आँखाले देख्ने कष्ट नगर्नु, लोकको आवाज सुन्ने प्रयास नगर्नु, सिंहदरवार र बालुवाटार भन्दा बाहिर पनि नेपाल छ भन्ने नसोच्नु, नदेख्नु तथा जेकुरामा पनि विरोध गरेको देख्नु, सत्यलाई ढाकछोप गर्न खोज्नु, आफूमात्र जान्ने बुझ्ने ठान्नु, अरूले दिएका सुझावलाई हासो मजाकमा उडाउनु केपी ओली जनताको प्रधानमन्त्री नभएर संकीर्ण मानसिकताले ग्रसित अहंकारी शासक हो भन्ने प्रमाणित हुँदै गएको छ। बिग्रिएको अझै केही छैन, अझैपनि आफू लोककल्याकारी जनसेवक नै हो भनी प्रमाणित गर्नलाई समय छ।
तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पञ्च, दरबारिया र आसेपासे, सल्लाहकारले सरकार ! मौसुफ सरकारको शासनमा जनता अत्यधिक खुसी छन्। बहुदलवादी भन्दा मौसुफ सरकारको शासनमै आफ्नो भविष्य देखेका छन्, जताततै मौसुफकै जय जयकार छ हेरिबक्सियोस् सरकार भनेझै प्रधानमन्त्री केपी ओलीका सीमित दलाल सल्लाहकार, भारदारहरु र देशभरि रहेका भजनमण्डलीहरुले पनि दरबारियाहरुले जस्तै गरी गलत रिपोर्टिङ गरी अथवा ढाकछोप गरी, अलिक कामकारबाहीलाई पनि बढाई चढाई गरी अहिलेसम्मकै चमत्कारिक कार्य गरेको भनी अलौकिक प्रधानमन्त्रीको पगरी गुथाई दिदाकै परिणाम हो जनताले भोगेको अपमान। कोरोना कहरलाई परास्त गर्ने काम राष्ट्रिय एकतालाई मजबूत गरेर मात्र हुनसक्छ नकी एकले अर्कालाई असहयोग गरेर। त्यसको लागि सरकारले जनताको आवाज सुन्ने प्रयास गर्नुनै उत्तम विकल्प हुनजान्छ नकी हेप्ने काम।
वचनै पिच्छे मलाई कमाउन केही छैन, जनताको सेवा गर्न बाहेक मेरो केही स्वार्थ छैन भन्ने प्रधानमन्त्रीले जनताको भावना चाहना बुझून् पनि कसरी? विगत तेह्रथुम भएपनि बालुवाटारमा घेरामा राजसी ठाँट जमेकै छ। चौरासी व्यञ्जन पाकेकै छ। अहिले खाए भरे के खाऊ भन्ने केही छैन। कसरी थाहा हुन्छ त जनताको पीडा, रोग, भोक, शोक र सुर्ता। बालुवाटार र बालकोट दरबारले भोक, रोग शोक के हो भोगेकै छैन। अभाव भएपो थाहा हुन्छ। न त कोठा भाडानै तिर्नु परेको छ। नत राशनको जोहो नै गर्नुपरेको छ। मिर्गौला बिग्रियो मिर्गौला दिने मान्छे छन्। अनि कसरी देख्छन् त रातदिन पानी पनि खाना नपाई तड्पिएर हिँडिरहेका र भोकै मेर परेका जनता? फूलको आँखामा फुलै संसार भनेझै चिर निद्रामा डुबेको सरकार र प्रधानमन्त्रीले कसरी देख्छन त बाहिरी दुनियाँ? समाचारका कुराले अलि दवाव दिएपछि न्युजमा आएका देखिएका, बोलिएका, खिचिएका भिडियो सब सरकारलाई बद्नाम गर्नलाई भनेर आरोप लगाइदियो भइहाल्यो।
सरकारले नदेखेको कुरा मिडियाले देख्न पाइन्छ जस्तो भाकामा प्रश्न गर्ने कुरालाई सरकार असफल पार्ने ग्रान्ड डिजाइनको रुपमा प्रधानमन्त्तीले बुझ्दासम्म यो समय वर्वादीमा जानेछ। यस्तो संकीर्ण सोचक भएको प्रधानमन्त्रीले अनि प्रश्न गर्ने सबैलाई पूर्वाग्रही मात्रै देख्ने नै भए। जे गर्दा पनि चित्त नबुझाउने प्रधानमन्त्रीलाई खुसी पार्न उनले ले जे जे भन्छन्, गर्छन्, त्यसैमा होमा हैंसे गर्दै सही थापौ। यसो गर्न सके डुब्नै लागेका प्रधानमन्त्रीलाई वैतरणी तार्न सकिन्छ की?
(मार्कु अछाम बोगटी हाल अत्तरिया कैलाली बस्छन।)