arrow

युधिष्ठिरको अश्वमेध यज्ञभन्दा गरिब ब्राम्हणको दान प्रभावशाली

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
yagya1.jpg

काठमाडौं । महाभारतको युद्ध सकिएपछि महाराज युधिष्ठिरले ठूलो अश्वमेध यज्ञको आयोजना गरे । सो यज्ञको चर्चा यति टाढासस्म फैलियो कि टाढा टाढाबाट महात्मा, ऋषिमुनीहरु अश्वमेध यज्ञमा सहभागी हुन आए । यज्ञको यस्तो नियम थियो कि जसले जे माग्यो त्यसलाई सोहि कुरा दिइन्थ्यो ।

जब यज्ञ समाप्त हुन लागेको थियो । ऋषिहरु मन्त्रको उच्चारण गरिरहेका थिए ।  आहुति दिइरहेको अवस्थामा अचानक एक निकै विचित्र रुपको न्याउरी मुसा त्यहाँ आइपुग्यो र यज्ञ कुण्डमा घुम्न थाल्यो । सबै ब्राह्मण भयभीत हुदै भन्न थाले, ' के कस्तो अशुभ कार्य भएर यो न्याउरी मुसा यहाँ प्रकट भयो ?'

सो न्याउरी मुसाले त्यहाँ उपस्थित सम्पूर्ण जनसमुदायलाई मानवस्वरमै भन्यो, 'हे विप्रजन! म कुनै अशुभ सूचक होइन । तपाईहरुले जुन यज्ञ गर्नुभयो यो निकै नियमपुर्वक, वेदहरुको अनुकुल छ । म त एक साधारण न्याउरी मुसा हुँ । मैले जब सुने कि महाराज युधिष्ठिर एक विशाल, पुण्यशाली यज्ञ गरिरहनुभएको छ तब मैले सोचे कि शायद यस यज्ञको प्रभावबाट मेरो शरीरको जुन शेष भाग बचेको छ यो पनि सुनको होस यसकारण म यहाँ आएको हुँ ।'

ब्राह्मणहरुले भने, 'यसमा सन्देह गर्ने के कुरा छ र ? यहाँ त वास्तवमै पुण्यशाली, प्रतापी यज्ञ भइरहेको छ ।'

तब न्याउरी मुसा भन्छ, 'म पनि यस्तै सोचेर आएको थिए तर म देख्छु कि यो यज्ञ त त्यो निर्धन ब्राह्मणको यज्ञको बराबर पनि छैन ।'

यो सुनेर त्यहाँ उपस्थित ठूला-ठूला ऋषि मुनी ब्राह्मणजन जो थिए उनिहरुको मान मर्दन भयो । उनिहरुको अभिमान चुर भयो । उनिहरुले सोधे,' त्यो सवा सेरको यज्ञ के थियो ?'

तब न्याउरी मुसा भन्छ, 'सबैले ध्यान दिएर सुन म तिमीहरुलाई बताउदै छुँ । महाभारतको युद्ध सुरु हुनुभन्दा पहिलेको कुरा हो । एक ज्यादै गरीब ब्राह्मण थियो । जो चामलको कनीका मागेर ल्याएर आफ्नो परिवारको सदस्यहरुको पालन पोषण गर्थ्यो। सो ब्राह्मणका श्रीमती छोरा र बुहारी गरि उसको परिवारमा चार सदस्य थिए। एक पटक भयंकर अनिकाल परेको थियो। यति भयंकर अनिकाल कि खेती नै हुन सकेन । खेती नै नभएपछि अन्न पनि भएन । बिचरा ब्राह्मण  र उनका परिवार भोकै रहन थाले । एक दिन उनले मुस्किलले केहि कनीका मागेर ल्याए। जब उनिहरु भोजन गर्न लागेका थिए अचानक त्यहाँ एक भिखारी भिख माग्दै आउँछ । ब्राह्मणले जब देखे कि अतिथि आएका छन् । उनले अतिथिको निरादर हुनुहुन्न भन्दै आफ्नो भागको खाना भिखारीलाई दिन्छन् । भिखारीले त्यो खाना खाए तर पनि उनको अनुहारमा तृप्तिको कुनै झलक देखिएन ।'

सो देखेर ब्राह्मणी भन्छिन, 'पतिदेव पत्नीको धर्म पतिको अनुसार आचरण गर्नुमा हुन्छ  र तपाईले जुन दान दिनुभयो त्यो दानबाट मलाई यस्तो लाग्दैछ कि हाम्रो अतिथि संतुष्ट हुनुहुन्न । तपाईको दरबारमा कोहि अतिथि आए र सन्तुष्ट नभइ गए त्यो मेरा लागि पनि अपमानको बिषय हो । अत; म यो चाहन्छु कि म आफ्नो हिस्सा पनि भिखारीलाई दिउ ।'

ब्राह्मणले भने, 'होइन यस्तो कुरा होइन पालन पोषणको जिम्मेवारी मेरो हो मैले आफ्नो भाग दिएको छुँ तिमी किन भोकै मर्छौ ?

पत्नीले भन्छिन्, 'अह म यो भोजनलाई ग्रहण गर्न सक्दिन । आफ्नो घरमा आएका अतिथि असन्तुष्ट फर्किउन, यो मेरो लागि अशोभनिय कुरा हो ।' उनले आफ्नो हिस्सा पनि त्यो भिखारीलाई दिइन तर पनि भिखारीको भोक शान्त भएन उनि अतृप्त नै रहे ।

तब ब्रह्माण पुत्र भन्छन्, 'पिताजी, तपाईको घरमा आएको अतिथि मेरो पनि अतिथि हुन् यसैकारण कृपा गरे‍र मेरो हिस्सा पनि भिखारीलाई दिनुहोस ।'

ब्राह्मण भन्छन्, 'छोरा हेर हामी वयोवृद्ध मानिस हौ ।  बृद्ध मानिसहरुलाई खासै भोख पनि लाग्दैन । जवान मानिसलाई भोकले ज्यादा सताउछ । तिमी आफ्नो हिस्सा खाउ । हामी दुईले दियौ । अब अधिक दिनु आवश्यकता छैन ।'

तर छोराले मानेन र उसले पनि आग्रह गरेर आफ्नो हिस्सा भिखारीलाई दिए । अब बुहारी पनि भन्न थालिन्, 'सबैले दान दिनुभयो म पनि यस पुण्य मा सहभागी हुन चाहन्छु । मेरो भाग पनि भिखारीलाई दिनुहोस । जब चारैको हिस्सा भिखारीले पाए तब भिखारी तृप्त भए ।'

त्यो भिखारी अरु कोहि नभइ स्वयं भगवान विष्णु थिए जो भिखारीको रुपमा परिक्षा लिन आएका थिए । भगवानले प्रसन्न हुदै ब्राह्मणलाई भने, 'तिम्रो दानमा समर्पण भाव छ । दान त धनी मानिसहरुले पनि दिन्छन् तर तिमीले सर्वस्व दियौ । तिमी भित्र पूर्ण समर्पणको सर्वस्व अर्पित गरिदिने भाव छ । त्यसैले यस भावनाबाट म निकै प्रसन्न छुँ । म तिमीलाई आफ्नो धाम उपलब्ध गराउछु । त्यसपछि भगवान विष्णु अन्तर्ध्यान भए । देवताहरुले पुष्प बर्षाउन सुरु गरे र आकाशबाट ठूला- ठूला विमान आए जसमा बसेर ब्राम्हण परिवार बैकुण्ठ गए ।

न्याउरी मुसा भन्छ, 'संयोगवश म पनि त्यहाँ पुगे र मैले जब यति ठुलो पुण्य कार्य देखे तब मैले यस्तो महान यज्ञमा केहि प्रसाद अवश्य लिनुपर्छ भन्ने लाग्यो । तब वहाँ भोजन बनिरहेको थियो त्यसको केहि भाग जुन जमिनमा झरेको थियो मैले त्यसलाई सुँघे तब मेरो टाउको सुनको भयो । फेरी म त्यस चुल्हो भएको ठाँउमा गए जहाँ खाना बनिरहेको थियो । त्यो चुल्होमा मेरो शरीर पर्ने वित्तिकै मेरो आधा शरीर सुनको भयो ।'  

जब मैले सुने कि युधिष्ठिर महाराजकोमा महान यज्ञ हुन गइरहेको छ तब मैले सोचे कि त्यहाँ गएर केहि पुण्य प्राप्त गरु र बाँकी आधा शरीर पनि सुनको बनाउ । तर म यहाँ सम्पूर्ण यज्ञमा घुमे तर मेरो शरीरको शेष भाग सुनको भएन  । यसैकारण मेरो यो निष्कर्ष रहयोकी त्यो गरीब ब्राह्मणको यज्ञ यो अश्वमेध यज्ञ भन्दा कयौ गुणा ठुलो छ ।

निर्धनसँग केहि थिएन उनिहरुले सर्वस्व दिए तर युधिष्ठिरसँग जे थियो त्यसमध्ये उनले केहि मात्र दिए, सर्मपण र सर्वस्व भावले यज्ञ गरेनन् । यज्ञभित्र पूर्ण आशुति र सिद्धि जुन छ, त्यो सर्वस्व भावले आउछ ।

त्यसकारण सन्तहरुले भने जबसम्म तिमी भित्र पूर्ण समर्पण भाव हुनेछैन तबसम्म मुक्ति पनि मिल्ने छैन र तिमी त्रिशंकु जस्तै विच आकाशमा अड्कि रहनेछौ । न माथि जान सक्नेछौ, न तल आउन सक्नेछौ ।

यसैकारण भक्तिमा पूर्ण समर्पण हुनु नितान्त आवश्यकता छ । जीवनमा यदि हामी पूर्णरुपले भक्ति गरेनौ भने हाम्रो अधोगति नै हुनेछ । यसैकारण भक्तिमार्गमा समर्पण अत्यावश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ