arrow

सांसद डा यादबका तीन ‘अपहरणकारी’ को नालिबेली

logo
जगदिश नरसिंह केसी,
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
sarbendra-kishan-mahesh.jpg

संसदमा दुईतिहाई समर्थनले बनेको सरकार। “अब ५० वर्ष हामी शासन चलाउँछौँ” भन्ने ढोल–नगरा बजाउँदै बनेको सरकार। “समृद्ध नेपाल सुखी नेपाली” को नारा। २०७२ मा सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री चुनिँदै थिए । वर्तमान संविधान जारी भएको तीनहप्ता मात्र भएको थियो । २०७२ असोज २४ गते संसद्मा दिएको भाषणमा ओलीजीले भनेका थिए, “मतदान गर्नेलाई किन गरिछु भनेर पछुतो हुन दिने छैन, मतदान नगर्नेलाई किन गरिएनछ भनेर सम्झीसम्झी बाडुली लाग्ने अवस्था सिर्जना गर्छु ।”

ओली पहिलोपटक प्रधानमन्त्री भएसँगै भारतले नाकाबन्दी गरिदियो । नाकाबन्दी बिरुद्ध उनले लिएको अडानलाई सारा जनताले समर्थन गरेका थिए । नाकाबन्दी खुलाउँदैमा उनको पहिलो कार्यकालको अधिकांश अवधि बितिहाल्यो । जनताले, उनको त्यही अडानको पुरस्कारस्वरुप गर्नसक्ने मान्छे (क्यान–डु–म्यान) का रुपमा चिनेर दोस्रोपटक प्रचण्ड बहुमतसहित सत्ता सुम्पिने जनादेश दिए । मनमोहन अधिकारी (फोटो) जस्ता सादगीका प्रतिमूर्ती अध्यक्ष रहेको पार्टीमा नौलो युग र अवसर फर्कियो भन्ने सहज चेतनाले सबैलाई हर्षित बनाएको पनि हो ।

नेपालको इतिहासमा २०१६ सालमा बीपी कोईरालाको प्रधानमन्त्रित्वमा गठित दुईतिहाई बहुमतको सरकारभन्दा लगभग ६ दशकपछि मुलुकले २०७४ सालमा दुईतिहाई बहुमतको सरकार देख्न पाएको थियो । आसा, अपेक्षा र कौतुहलता जागृत थियो । अस्थिर र फोहोरी राजनीतिले वाक्क–दिक्क भईसकेका जनताले सन्तोषको सास फेर्न पाएका थिए । बहुसंख्यक नयाँ पुस्ताले भरिएको नेपालका लागि पहिलोपटक यो गजबको अवसर आएको थियो । रेल, पानीजहाज, सुरुङ्मार्ग जस्ता ठूलठूला विकासका कुरा हुनथाले । “म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न” जस्ता प्रधानमन्त्रीका अभिव्यक्ति पहिलोपटक वा पटकपटक गुन्जिँदै थिए । सरकारले केही गर्ने तरखर पनि देखायो, सर्वसाधारण जनतालाई अब के चाहियो १ शुरूका ६ महिना सन्तोषजनक नै बिते । भैगो त्यतातिर नजाऔँ ।

विषय प्रवेशः
शान र उल्लासका साथ गठन भएको वर्तमान सरकार आज कुन हालतमा पुग्यो ? मनग्गे समर्थन भएको सरकारका लागि अन्य पार्टी त्यसमा पनि साना पार्टी फोरेर, सांसद चोरेर, फर्काएर, फकाएर, थकाएर वा थर्काएर सांसदलाई सोहोरेर स्याहारेर सत्ताको समर्थनमा ल्याउनुपर्ने के जरुरी थियो ? बैशाख ८ गते सरकारले तुफानी गतिमा दुईवटा विवादास्पद विधेयक ल्यायो । राष्ट्रपतिबाट पनि त्यसरी नै हतारहतार स्वीकृत गरी कानुन बनाईयो । अध्यादेश प्रकरणलाई धेरै मानिसले सहज रुपमा नै लिएका थिए ।

बैशाख १० गते पूर्वमन्त्री महेश बस्नेत, पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद किसन श्रेष्ठ र एक संदीग्ध सहयोगी, लक–डाउनलाई चिर्दै पूर्वमन्त्री तथा सांसदलाई, आवश्यकता परे जबरजस्ती उठाएर ल्याउने तयारीका साथ जब गुण्डागर्दीको शैलीमा महोत्तरी पुगे र धम्की तथा प्रलोभनका भाषा प्रयोग गर्दै ती सांसदलाई ‘अपहरणको शैली’ मा जब रातारात राजधानी ल्याउने, भर्खरै जारी अध्यादेश लगाएर उनी सम्बद्ध पार्टी, संघीय समाजवादी पार्टीलाई फुटाउने योजना उनले थाहा पाए तब घटनाले उल्टो रुप लियो । अब घटनाको दुष्प्रभाव षड्यन्त्रकारीतिरै फर्किएको छ । कस्ता हुन् त ‘अपहरणकारी’ तीन चरित्र ? उनीहरूको ट्राक रेकर्डसहित नालिबेली हेरौँ ।

महेश बस्नेतः
संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यले बैशाख १० गतेको बिहानै सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र सर्वेन्द्र खनाल ‘डा सुरेन्द्र यादवलाई जसरी भए पनि काठमाडौँ लिएर जान’ महोत्तरीस्थित उनको निवासमा पुगेको कुरा महेशले स्वीकार गरिसकेकै हुन् । सांसद डा यादव वाध्य भएर महेशहरूका साथ रातारात काठमाडौ आइपुगेको इतिवृतान्त उनले सार्वजनिक रुपमा खुलस्त बताईसकेका छन् ।
०७४ को आमनिर्वाचनमा भक्तपुरको २ नं क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेद्वार पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पराजित गरी निर्वाचित यिनी, तत्कालीन नेकपा एमालेको युवा संघका हर्ताकर्ताका रुपमा एमालेको राजनीतिमा सक्रिय भए र ओली निकटका भए । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ऊर्फ प्रचण्डले २०६४ सालमा माओवादी लडाकूको नक्कली सूचि तयार गरी त्यसै आधारमा पौने तीन अर्ब रुपैयाँ राज्यकोषबाट लिएर हिनामिना गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालेपछि यिनी चर्चामा आए ।

यिनको बाहुबली आनिबानीका सन्दर्भमा २०६७ मा भएको सिन्धुलीको एउटा घटनालाई लिएर नवगठित जनता समाजवादी पार्टीमा सरुवा भएका पूर्वमाओवादी नेता गंगानारायण श्रेष्ठ भन्छन्,“आफ्ना कार्यकर्ताहरू माओवादीबाट पिटिएपछि त्यसको बदला लिन महेश बस्नेतलगायतका तत्कालीन एमालेका कार्यकर्ताहरू पेस्तोललगायत हतियारसहित सिन्धुली गए । हुन त त्यहाँ एमालेका नेताहरू पनि गएका थिए । एमालेको क्षेत्रीय अधिवेशन पनि थियो त्यसबेला। राजन दाहाल रामेछापमा माओवादी पार्टीको ईन्चार्ज भएको बखत उनकै नेतृत्वमा पार्टी कार्यक्रममा गएका वर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बाटोमा ढुंगामुढा गरेर लखेटेका थिए । तसर्थ रामेछाप र सिन्धुलीमा एमाले पार्टी्भित्र “राजन आतंक” थियो । “राजन आतंक” का विरुद्ध “महेश आतंक” स्थापित गराउने उद्देश्यले त्यतिबेला एमाले पार्टीले महेशलाई मोहोरी बनाएको हुनसक्छ ।”

“जे होस् राजनसँग जुध्न महेश बस्नेत आफ्ना सहयोगीहरूका साथ सिन्धुली रमाना भए । महेश बस्नेत आफ्नो लडाकु टिमसहित जब अप्ठेरो घुम्तीमा पुगे, तब राजनलगायत उनको टोलीले महेश बस्नेतको टोलीमाथि अकस्मात आक्रमण गरे । महेशलगायत उनको टोली राजनको कब्जामा पर्‍यो । गुठबजारमा लगेर महेशलगायत उनको सबै टोलीलाई राजनको टोलीले बामधुलाई गरे । महेश बस्नेत सिंहबाट एकाएक मुसा बने । राजनसँग जीवनको भीख मागे । विजयी भावमा राजनले महेशलाई जीवनको भीख दिए । राजनको बल प्रयोग गर्ने प्रवृत्ति मलाई पटक्कै मन परेको थिएन । आफ्नै पार्टीको कार्यकर्ता भए पनि त्यतिबेला राजनभन्दा महेशमाथि मेरो सहानुभूति रह्यो । मैले राजन प्रवृत्तिको तीखो आलोचना गरें । तर अस्ति १० गतेको घटनापछि त्यतिबेला राजनले महेशमाथि जुन व्यवहार गरेका थिए, त्यो सही नै रहेछ भन्ने लागिरहेको छ।” ९अनलाईन खबर, बैशाख १३, ०७७।

किसन श्रेष्ठः 
नेकपाको तर्फबाट तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यको लागि निर्वाचित ‘किसन’ भनिने कृष्णकुमार श्रेष्ठ जग्गा व्यवसायी हुन् । उनलाई ‘भूमाफिया’ का रुपमा औँल्याउनेहरू पनि कम छैनन् । बाराको सिमरामा इच्छाराज वाग्ले (नगरकोट र सिमरामा होटल पनि चलाईरहेका), वीरगञ्जका काशिम भनिने जग्गा ब्यापारीसँग यिनको सर्कल छ। सिमरासहित ठाउँठाउँमा जग्गा किनेर, मौका परे सरकारी जग्गा मिचेर पनि प्लटिङ् गरी बिक्रि गर्ने व्यवसाय छ यिनको ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई करिब सातहजार मतको अन्तरले पराजित गरेको कारणले पनि ओलीको भित्रिया बन्न पुगेका यिनलाई प्रधानमन्त्रीले च्यापेको र व्यवसायमा संरक्षण पु‍र्या‍एको बताईन्छ । उनी पनि प्रधानमन्त्री ओलीलाई आफ्नो भूमिका देखाउन र गुन लगाउन मरिमेटेर लागिपरेका छन् । अघिपछिका राजनीतिक गतिविधिमा खासै नचिनिएका र ‘लो–प्रोफाईल’ मा रहेर काम गर्ने मान्छे भए पनि हालैको ‘अपहरण’ काण्डमा तीनजना अभियुक्तमध्ये उनी पनि एक भएर चिनिए ।

पूर्व आईजीपी सर्वेन्द्र खनाल
गत माघमा अवकाश प्राप्त नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पुख्र्यौली जिल्ला कृष्णकुमार श्रेष्ठकै तनहुँ हो । प्रहरीमा रहँदा यिनी निर्विवाद प्रहरी महानिरिक्षकका रुपमा छवि बनाउन सकेनन् । कञ्चनपुरकी किशोरी निर्मला पन्तको अपहरण, बलात्कार र हत्याको अपराधी प्रहरीको हातकै दूरीमा भए पनि यिनकै कारणले अपराधी पत्ता लाग्न नचाहेको भन्ने आरोप पनि ताजै छ । गुण्डा नाईके कुमार श्रेष्ठ (घैँटे)को हत्यामा उनको प्रयास छ । घैँटे शान्तिपूर्ण र व्यावसायिक जीवनमा लाग्नथालेको अवस्थामा छोरीलाई स्कूल पुर्या‍एर तरकारी किनी घर फर्किँदा घरै अगाडि घैँटे मारिएका थिए ।

धेरै प्रहरी अधिकारीहरूको क्यारियरमा गम्भीर असर पुर्या‍एको दोषमा यिनको अवकाशपछिको विदाईमा कुनै पनि प्रहरी उच्च अधिकारीहरू उपस्थित नभएको, प्रहरीमा पहिलो पटकको घटनाका रुपमा देखापर्यो‍ । प्रहरीमा जागीर लम्ब्याउन, अनिवार्य अवकाशको लागि उमेरको हद बढाउन पनि उनी लागे । त्यो सफल नभएपछि पाँच महिनाको कार्यकाल पाएका बहालवाला आईजीपी ठाकुर ज्ञवालीको सट्टा आफ्नै पदावधि ५ महिना बढाउने प्रयासमा पनि लागे । त्यो पनि नभए पछि आजकाल उनी पाएसम्म राजदूत, अख्तियारको आयुक्त वा कुनै गतिलो संवैधानिक नियुक्तीका लागि प्रधानमन्त्रीको चाकरीमा लागेका छन् ।

‘अपहरित’ सांसद तथा चिकित्सक सुरेन्द्र यादब       
वर्तमान सरकारमै यसअघि स्वास्थ्य राज्यमन्त्री भएका डा सुरेन्द्र यादब पेशाले दक्ष चिकित्सक हुन् । उनको क्लिनिक निकै राम्रोसँग चलेको थियो । सादगी र आदर्श छवि हुनुपर्छ भन्ने दृढ मान्यतामा रहेका र भ्रष्टाचारमा नमुछिएका यी डाक्टर राज्यमन्त्री रहेकै अवस्थामा बिमारी भए, जुन बेला प्रधानमन्त्री केपी शर्मा ओली लगायत कतिपय नेताहरू उपचार गर्नको लागि दिल्ली, बैंकक र सिंगापुरतिर दौडेका थिए । उनी वीर अस्पतालमा भर्ना भए र आफ्ना मतदातालाई देखाउन सरकारी अस्पतालमा उपचार गराईरहेको फोटो सामाजिक सन्जालमा हाले ।

उता प्रधानमन्त्री ओलीले यो काम आफ्नो विरोधका लागि गरेको अर्थ लगाएर उनलाई बिमारी अवस्थामै पदबाट बर्खास्त गरिदिए । वास्तबमा उनले प्रधानमन्त्रीको विरोध गर्ने नियतले त्यसो गरेको नभएर सोझो दृष्टिकोणका साथ आफ्ना मतदातालाई देखाउन मात्र गरेका थिए । तर त्यो नै उनको लागि समस्या भयो ।

यसो पनि भनिन्छ, वास्तबमा उनी महोत्तरीबाट हिंड्दा पार्टी फुटाएर भए पनि मन्त्री पद पाईने अपेक्षाले नै काठमाडौँ आउन राजि भएका थिए । तर काठमाडौँ आएपछि उनलाई ज्ञात भयो, पार्टी फुटाउन कसरत गरेका र प्रधानमन्त्रीको धेरै नजिक पुगिसकेका रेणुकुमारी यादब र ईस्तियाक राई मन्त्री पद पाउनकै लागि पार्टी फुटाउन लागिपरेका थिए भने उनीहरूलाई छोडेर सीमित सिटका रुपमा पाईने मन्त्री पद आफ्नो भागमा नपर्ने ठहर भएपछि उनले आफ्नो निर्णय फेरे ।

सांसद डा यादवलाई अपहरण गरेको भन्दै यसमा संलग्न उपरोक्त सांसद र पूर्वआईजीपीबिरुद्ध जाहेरी लिएर जनता समाजवादी पार्टीबाट, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, सांसद यादवलगायतका नेता प्रहरीसमक्ष पुग्दा एसएपसी श्याम ज्ञवालीले मुर्दा दर्ता गर्न मानेनन् । उनका अनुसार यो मुद्दा महोत्तरी प्रहरीको कार्यक्षेत्रको काम हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ