शास्त्रार्थ गरेर दुनियाँलाई हराएका आदि गुरु शंकराचार्य रोकिनु परेको एक घटना

प्रकाशित मिति : २०७७ बैशाख १६ मंगलबार

काठमाडौं। आदि गुरु शंकराचार्य वेदान्तका ज्ञाता एवं अभूतपूर्व क्षमताका एक विद्वान थिए। आदि शंकराचार्यको जन्म ईस्वी संवत ५०७ पुर्व अक्षय तृतीयाको दिन (अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ।) वर्तमानमा भारतको केरल राज्यमा भएको थियो । ८ बर्षको उमरदेखि शास्त्रार्थ गरेर दुनियाँलाई हराएका आदि शंकराचार्यले गुरु गोविन्द पाध्याचार्यको शरणमा गएर आत्मज्ञानको दिक्षा लिएका थिए । सन्यास धर्मलाई स्विकार गरेर गुरुको अनुमति लिएर आदि शंकराचार्यले वैदिक धर्मको ध्वजा फैलाउनका लागि भारत लगायत विभिन्न देशको भ्रमण गरे ।

आध्यात्मिक ज्ञान हासिल गरेका आदि शंकराचार्यले ३२ वर्ष मात्रै पृथ्वीमा जीवित रहेका उनले हिन्दू धर्मका विविध पक्षमा ठूलो योगदान दिएका थिए। उनी वेदान्तमा अद्वेत मतका प्रणेता हुन्। जसले आत्मा र परमात्मालाई एकरूपतामा आधारित मान्दै परमात्मा एउटै समयमा सद्गुण र निर्गुण दुइटै स्वरूपमा देखिन सक्ने तर्क प्रस्तुत गरेका छन्। पूर्वीय दर्शनमा अद्वैत मतलाई लोकप्रिय बनाउन सक्नुमा शंकराचार्यको अभूतपूर्व क्षमताको योगदान रहेको छ भन्न सकिन्छ। 

एउटा किंवदन्ती अनुसार उनका पिता शिवगुरू भट्ट नामपुद्रिको विवाहको धेरै वर्षसम्म पनि सन्तान नभएपछि उनले भगवान शिवको कठोर तपस्या गर्न थाले । त्यो तपस्याबाट प्रसन्न भएका शिवसँग उनले एउटा दीर्घायू सर्वज्ञ पुत्र मागेका थिए । त्यतिबेला भगवान शिवले भने 'बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ ?' त्यतिबेला ठूलो सोचविचार गरी शिवगुरूले सर्वज्ञ पुत्रको माग गरे । त्यसपछि भगवान शिवले ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउने छौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।' भनेपछि भगवान शिवको अवतारको रुपमा पृथ्वीमा शंकराचार्य आएको विश्वास छ । उनी ज्ञान प्रसारको लागि नेपाल पनि आएका थिए र पाटनमा केही दिन बसेका थिए भन्ने मत पनि पाईन्छ भने कसैले उनले आफ्ना शिष्यहरुलाई मात्रै पठाएका हुन् भन्ने गर्दछन् । 

आदि शंकराचार्य मण्डन मिश्रसँगको शास्त्रार्थमा ६ महिनासम्म रोकिनुपरको थियो। ब्रह्मचारी शंकराचार्यलाई मण्डन मिश्रकी अर्धाङ्गिनी शारदा भारतीले सोधेको सम्भोग सम्बन्धी अनुभव र कामशास्त्रको बारेमा उनी जानकार रहेपनि अनुभव सम्बन्धि प्रश्नको उत्तर दिन नसकेपछि उनी छ महिनासम्म रोकिएका थिए। 

मण्डन मिश्र मैथिली समुदायका एक विद्वान थिए । उनी विद्वान भएर पनि गृहस्थ आश्रममा गएका थिए । उनकी धर्मपत्नी पनि उनी जस्तै विदूषी थिईन् । कुमारिल भट्टका शिष्यको रुपमा रहेका उनको आश्रममा काम गर्ने कामदारहरु समेत पूर्णतया संस्कृतमा वार्तालाप गर्दथे । निधि विवेक, भावना विवेक, विभ्रम विवेक, मीमांसा सुत्रानुमनी, स्फोटसिद्धि, ब्रम्हसिद्धि आदि प्रसिद्द ग्रन्थका रचयिता मिश्रलाई व्याकरणको प्रसिद्ध पुस्तक “स्फोटसिद्धि” को लेखक पनि मानिन्छ। सातौं शताब्दीमा हिन्दू धर्मको पुनर्स्थापनाको क्रममा शंकराचार्य भारत भ्रमणमा निस्किएका थिए ।

त्यतिबेला अहिलेको दक्षिणी भारतमा पुरै बौद्ध धर्मको दबदबा थियो । शास्त्रार्थ गरेर अरु धर्म र सम्प्रदायका मानिसलाई समेत आफूप्रति आकर्षित गराउने क्षमता भएका शंकराचार्य सोही क्रममा सहरसा जिल्लाको महिषी ग्राममा पुगेका थिए । जुन मिथिला प्रान्तमा पर्दथ्यो । पछि सोही ठाउँमा भएको शास्त्रार्थमा मण्डन मिश्रले शंकराचार्यसँग पराजीत भएपछि सुरेशाचार्य नाम राखेर शंकराचार्यको शिष्य बन्नुपरेको थियो।  

प्रयाग काशीका संगममा शंकराचार्य र आचार्य कुमारिल भट्टसँगको भेटपछि शंकराचार्य महेश्वरमा नर्मदा तटस्थित मण्डन मिश्रको निवासमा पुगेका थिए । शंकराचार्यले मण्डन मिश्रसँग भने 'उनी विषाद रूप भिक्षा लिनको लागि उनको साथमा आएका हुन् ।' त्यतिबेला महर्षि वेद व्यासको आज्ञाबाट दुबैजनाबीच शास्त्रार्थको लागि समय तय गरिएको थियो।

मण्डन मिश्रकी पत्नी उभय भारती देवीले शास्त्रार्थको क्रममा मध्यस्थ पद ग्रहण गरिन् । शंकराचार्य र मण्डन मिश्रकोबीच २१ दिनसम्म शास्त्रार्थ चलेको थियो। दुबैले आफ्नो आफ्नो पक्षको सिद्धिको लागि एकदमै तर्क वा प्रमाण दिए, तर अन्तमा शंकराचार्यले मण्डन मिश्रलाई निरुत्तर गरेर शास्त्रार्थमा परास्त गरिदिए। 

त्यसपछि मण्डन मिश्रकी पत्नी उभय भारती देवीले शंकराचार्यसँग भनिन् 'तपाईंले अहिलेसम्म पुरै शास्त्रार्थ जितिसक्नु भएको छैन । अहिले त तपाईंले आधा अंगलाई मात्रै जित्नु भयो। किन कि म मण्डन मिश्रकी अर्धांगिनी हुँ, त्यसैले भारती देवीसँग जितेपछि मात्रै उहाँ(मण्डन मिश्रलाई) तपाईंले शिष्य बनाउन सक्नुहुन्छ।' त्यसपछि शंकराचार्यले भारती देवीसँग पनि शास्त्रार्थ सुरु गरे । यस दौरान भारती देवीले शंकराचार्यसँग काम शास्त्र र सम्भोगको अनुभवसँग सम्बन्धित प्रश्न सोधिन्। किनकी शंकराचार्य अविवाहित थिए। त्यसैले उनले यस प्रश्नको उत्तरको लागि केही समय मागे र बाहिर निस्किए। 

विद्वानहरुका अनुसार शंकराचार्यले महेश्वरको पश्चिम दिशास्थित एक गुफामा आफ्नो शरीर छोडे र शिष्यहरुलाई त्यहिँ रोकिनको लागि भने। त्यसपछि सूक्ष्म रूप धारण गरेर उनी आकाशमा भ्रमण गर्नको लागि निस्किए। यस दौरान उनले राजा अमरूकको मृत शरीरलाई देखे। जसको आसपासमा १०० भन्दा धेरै सुन्दरीहरु विलाप गरिरहेका थिए। 

तब शंकराचार्यले सूक्ष्म रूपका साथ राजाका शरीरमा प्रवेश गरे। राजालाई जीवित देखेर रानीहरु तथा मन्त्रीहरु समेत खुशी भए।  राजाले पुन: राज्यकाज सम्हाल्न सुरु गरे र यही समयमा काम शास्त्रसँग सम्बन्धित तथ्यको अनुभव पनि शंकराचार्यले लिए। राजाको स्वभावमा परिवर्तन आएको देखेर रानीले कुनै स्थानमा शव देखिए जलाउन आदेश दिएकी थिइन शंकराचार्यको आत्मा पुन प्रवेश गर्न नपाओस भनेर । शंकराचार्यका शिष्यहरुले ६ महिना पुरा भएको गुफामा पुगेर बताउछन् ।

अनुभव लिएपछि पुन: राजा अमरूकको शरीरलाई छोडे र उनी गुफामा पुगेर आफ्नो मूल शरीरमा प्रवेश गरे। त्यसपछि उनी सिधै मण्डन मिश्रको घरतिर लागे। त्यहाँ उभय भारती तथा शंकराचार्यकोबीच पुन: शास्त्रार्थ सुरु भयो। त्यसपछि मात्रै शंकराचार्यले उभय भारतीलाई सन्तुष्ट  पारेका थिए।

आदि गुरु शंकराचार्यलाई शास्त्रार्थमा तीन जनाले मात्र हराउन सक्थे । ती हुन्  गुरु गोविन्द पाध्यचार्य, भगवान शंकर र महर्षी वेद व्यास । 

शंकराचार्यसँग शास्त्रार्थमा हारेपछि मण्डन मिश्र गृहस्थ जीवन त्यागेर सन्यास ग्रहण गरे । सुरेशाचार्य नाम राखेर शंकराचार्यको शिष्य बने । पत्नी उभय भारती शरीर त्यागेर ब्रम्ह लोक गइन् । उभय भारतीलाई सरस्वी, मण्डन मिश्रलाई ब्रम्हा र शंकराचार्यलाई शंकरको अवतार बताउने गरिन्छ ।   

नयाँ